रोल्पाका १० पालिकाले ल्याए पाँच सय १५ करोडको बजेट
रोल्पा : रोल्पाका १० वटै स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि कुल करिब ५ सय १५ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेका छन् । विकास निर्माण, कृषि उत्पादन, रोजगारी सिर्जना, शिक्षा, स्वास्थ्य तथा पूर्वाधार विकासलाई केन्द्रमा राख्दै स्थानीय तहहरूले नीति तथा कार्यक्रमसहित बजेट ल्याएका हुन् ।
रोल्पामा एक नगरपालिका र नौ वटा गाउँपालिका रहेका छन् । सबै पालिकाले बजेट सार्वजनिक गरेका छन् । जिल्लाको एक मात्र नगरपालिका रोल्पा नगरपालिकाले सबैभन्दा बढी ८० करोड २५ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । त्यसपछि सुनिलस्मृति गाउँपालिकाले ५८ करोड ५७ लाख ८० हजार रुपैयाँ, त्रिवेणी गाउँपालिकाले ५२ करोड ४४ लाख ३४ हजार रुपैयाँ तथा परिवर्तन गाउँपालिकाले ५२ करोड १३ लाख ७७ हजार रुपैयाँ बजेट सार्वजनिक गरेका छन् ।
रुन्टीगढी गाउँपालिकाले ५१ करोड ४२ लाख ७८ हजार रुपैयाँ, लुङ्ग्री गाउँपालिकाले ४८ करोड ८४ लाख रुपैयाँ र गंगादेव गाउँपालिकाले ४७ करोड ४४ लाख ३४ हजार रुपैयाँ बजेट ल्याएका छन् । त्यसैगरी थवाङ गाउँपालिकाको बजेट ४३ करोड ५२ लाख १५ हजार रुपैयाँ तथा सुनछहरी गाउँपालिकाको ४१ करोड ६३ लाख ७२ हजार रुपैयाँ रहेको छ ।
सबैभन्दा कम बजेट माडी गाउँपालिकाले सार्वजनिक गरेको छ । गाउँपालिकाले आगामी वर्षका लागि ३९ करोड २४ हजार रुपैयाँ बजेट विनियोजन गरेको जनाएको छ । ‘स्थानीय सरकारको सफलता बजेटको आकारले होइन, बजेट कार्यान्वयनको प्रभावकारिता र नागरिकले महसुस गर्ने परिवर्तनले मापन हुने’ नागरिकको प्रतिक्रिया छ । नीति तथा कार्यक्रम सार्वजनिक गर्ने क्रममा नागरिकको अपेक्षा अनुसार नै बजेट ल्याईएको रोल्पा नगरपालिकाका प्रमुख सुरेन्द्र थापा (घर्ती) दावी गरे ।
अधिकांश पालिकाले कृषि तथा पशुपालनको व्यावसायीकरण, पर्यटन प्रवर्द्धन, स्थानीय सडक विस्तार, खानेपानी, शिक्षा र स्वास्थ्य सेवाको गुणस्तर सुधारलाई प्राथमिकतामा राखेका छन् । युवालाई स्वदेशमै रोजगारी र स्वरोजगारका अवसर सिर्जना गर्ने कार्यक्रमलाई पनि बजेटमा स्थान दिइएको छ । यद्यपि त्यो पर्याप्त नभएको नागरिकको प्रतिक्रिया छ । त्यसो त महिला, बालबालिका, ज्येष्ठ नागरिक, दलित तथा विपन्न समुदाय लक्षित कार्यक्रमलाई निरन्तरता दिँदै सामाजिक सुरक्षालाई थप प्रभावकारी बनाउने प्रतिबद्धता स्थानीय तहहरूले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस !