छिमेकबाट कहिले सिक्ने ?

छिमेकबाट कहिले सिक्ने ?

चिनियाँ सरकार मात्र होइन, स्थानीय निकाय, गैसरकारी संस्था र सहकारीसमेत सम्पन्नता ल्याउन लागिपरेका छन् । चिनियाँहरूको एउटै लक्ष छ- हाम्रा कुनै पनि क्षेत्र विकासको पछाडि नछुटून् । हाम्रो नेपालले यो मोडेल अपनाउन किन सक्दैन ?स्वभावैले मानिस जीवनका हरेक युगमा विकास चाहन्छ । त्यसैले त ढुंगेयुग, सिकारी युग, कृषि युग पार गर्दै आजको औद्योगिक र आधुनिक युगमा प्रवेश गरेको छ । सबै राष्ट्रको मानव विकासको इतिहास हेर्ने हो भने यिनै युगहरू पार गर्दै आजको सभ्य, भव्य र आधुनिक मानिसको परिचय पाएको पाइन्छ अनि आफूलाई हरेक क्षेत्रबाट विकासको कसीमा अगाडि नै बढाएको पाइन्छ ।

आज औँलामा गनिने मुलुकहरू जसले आफूलाई आर्थिक रूपले सम्पन्न पाएका छन् र त्यहाँका जनताको जीवनस्तर हाम्रोभन्दा राम्रो देखेका छौं, त्यही हाम्रो स्थिति होस् भन्ने चाहेका पनि छौं । विश्वका विकसित मुलुकको इतिहास हेर्ने हो भने ३०–४० वर्षको संघर्ष र निरन्तर संकल्प अनि राष्ट्र र जनताका आधारभूत आवश्यकता पु¥याउनमा कटिबद्ध भएकाले आजको विकसित राष्ट्रको रूपमा कहलिन सफल भएको पाइन्छ ।

सन् २०१२ देखि चाइना फाउन्डेसन फर पिस एन्ड डेभलपमेन्ट संस्थाले छिमेकी मित्रराष्ट्रको हैसियतले नेपाली जनताको जीवनस्तर उकास्ने, शिक्षा, स्वास्थ्य, खानेपानी, सञ्चारलगायतका आयोजनाद्वारा सहयोग गर्दै आइरहेको छ ।

यही अक्टोबर १६ देखि २३ सम्म नेपालका विभिन्न क्षेत्रमा काम गर्ने, अनुसन्धानकर्ता, समाजशास्त्री, सञ्चारकर्मी, पत्रकारहरू, राजनीतिज्ञहरू र समाजसेवी गरी २० जनाको टोलीलाई निम्तो दिएर नेपालको दीर्घकालीन विकास विषयमा अन्तरक्रिया, आफ्ना धारणा र वर्तमान परिप्रेक्षमा छलफल र चीनका विकट गाउँहरूको भ्रमण गर्ने अवसर जुटाइदियो ।

 

चाइना फाउन्डेसन फर पिस एन्ड डेभलपमेन्टका सदस्यहरूको अनुभव, विकट गाउँका किसानहरूको अनुभव र विश्वबिद्यालयका प्राध्यापकहरूको अनुसन्धानले बताउँथ्यो– चाइना आजको अवस्थामा आइपुग्नुमा उनीहरूको ठूलो सपना थियो ।

४० वर्षअगाडिसम्म पुरानो कृषि प्रणालीमा आधारित, ग्रामीण अर्थ व्यवस्था थियो । निर्वाहमुखी खेती प्रणाली र सामान्य जीवनस्तर बिताएका थिए चिनियाँहरूले । विकासका कुरा मात्र नगर, छिमेकी राष्ट्रको विकास कसरी भएको रहेछ, त्यसबारे जानकारी राख र त्यो कुरा सम्बन्धित क्षेत्रबाट आफ्नो राष्ट्रमा लागू गर्न निरन्तर संकल्पसहित अगाडि बढ भन्ने शिक्षा यो भ्रमणले प्रदान गर्‍यो ।

आजभन्दा ४० वर्ष अगाडिसम्म चीनको जनजीवन पुरातन कृषि प्रणालीमा आधारित र निर्वाहमुखी खेती प्रणालीले धानेको रहेछ । आजको चीनको सभ्यता र विकास हेर्दा हामीलाई त पत्याउनै गाह्रो पर्छ तर वास्तविकता यही हो ।



राजनीतिक, सामाजिक, धार्मिक, राष्ट्रिय सबै क्षेत्र केवल जनताको जीवनस्तर सुधार्दै राष्ट्र विकास गर्नमा उनीहरू कटिबद्ध भएको देखियो । कोही पनि व्यक्ति विकासको फलबाट पछाडि पर्नु हुन्न । राष्ट्रका जनताको जीवनस्तर माथि उठ्नु भनेको राष्ट्रको इज्जत, गौरव र विकास हो भन्ने मूल मन्त्र बनाए उनीहरूले ।

के हामीले हाम्रा नेतृत्व वर्गबाट यो भावना रहेको महसुस गर्न पायौं कहिल्यै ? आज राष्ट्रमा ठूला माछा र साना माछाको मात्र बहस चलिरहँदा, राष्ट्र भ्रष्टाचारको चक्रमा पिसिइरहँदा र प्राकृतिक विपत्तिको कारण सर्वसाधारण जनताले आङ ढाक्ने र टाउको लुकाउने सुविधा नपाउँदा ती विकसित राष्ट्रका जनताप्रतिको उत्तरदायित्व र हाम्रो आफ्नै स्वार्थीपनलाई कसरी कुन हिसाबले तुलना गर्ने ? चीनका दुर्गम गाउँ घुमघाम गर्दा देख्न पाइयो चीन पनि गरिबीको रेखा पार गर्दै आजको सम्पन्न र समृद्ध मुलुकको रूपमा गनिएको छ ।

चीनको इतिहास केलाउँदै जाँदा सन् १९४९ मा प्रतिव्यक्ति आम्दानी २७ अमेरिकी डलर रहेछ जबकि भारतको प्रतिव्यक्ति आम्दानी ५७ अमेरिकी डलर रहेछ । सन् १९७८ सम्म आइपुग्दा २५० मिलियन जनता गरिबीको रेखामुनि रहेछन्, जसलाई खाना र वासको लागि संघर्ष गरिरहेको पाइन्छ ।

सन् १९८६ मा आइपुग्दा थोरै माथि उठ्यो र सन् २००० मा ३२ मिलियन ९० हजार जनतालाई गरिबीबाट मुक्त गराउन सफल भएको रहेछ । सन् २००७ मा आइपुग्दा १४ मिलियन ७९० हजार जनता गरिबीको रेखामुनि बाँकी रहेका थिए भने सन् २००८ मा ४० मिलियन ७९० हजारले रोजगार पाइसकेका थिए ।

सन् २०१४ मा आइपुग्दा ७० मिलियन १७० हजार जनता गरिबीको रेखाबाट मुक्त भएका थिए । सन् २०१५ को आँकडा हेर्ने हो भने ५५ मिलियन जनता अझै गरिबीको रेखामा रहेको पाइन्छ तर उनीहरूले गरेको द्रूत विकासबाट हामी छिमेकी जनताले के सिक्न सक्छौं ? हाम्रो राष्ट्रले के सिक्न सक्छ ? निरन्तर संकल्प र स्रोतसाधनको प्रयोग गर्दै जनताप्रतिको उत्तरदायी भावना विकासको पहिलो कडी हो । सन् १९७८ मा ३३ प्रतिशत जनता गरिबीको रेखामुनि रहेकोमा सन् १९९३ मा आइपुग्दा १४.८ प्रतिशतमा झरिसकेको थियो ।

प्राकृतिक विपत्ति, भौगोलिक कठिनाइ र उद्योगधन्दाको विकास हुन नसक्नु गरिबीको कारण बनेको र त्यसलाई चुनौतीका साथ सुधार्दै लग्ने नीतिअनुरूप उनीहरूले सफलता हासिल गरेका थिए । मुख्य केन्द्रबिन्दु गरिब जनता बनाएर उनीहरूको हितमा कम गरेकोले नै आज राष्ट्रले विकसित राष्ट्रको संज्ञा पाएको उनीहरूको धारणा छ । ग्रामीण क्षेत्रको उत्थानविना विकास सम्भव छैन र सार्थक छैन भन्ने मान्यताले चीन आजको विश्वको दोस्रो आर्थिक सम्पन्न मुलुकमा उभिएको छ ।

अविकसित जिल्लालाई प्राथमिकतामा राखेर गरिबी घटाउने र आर्थिक सम्पन्नता ल्याउने कार्यक्रमको सुरुआत नै आजको स्थिति रहेको बताए । वर्तमान सरकारको नीति पनि गरिबी निवारणमै केन्द्रित छ । नयाँ सोच र कार्यक्रमका साथ ग्रामीण र पिछडिएका समुदायको उत्थान नै चीनको प्रयास हो, जसले अबका केही वर्षमै विश्वमै सम्पन्न मुलुकको रूपमा चिनिने कुरामा ग्रामीण जनतासमेत विश्वस्त पाइयो । सरकार मात्र होइन, स्थानीय निकाय, गैसरकारी संस्था र सहकारीसमेत यसमा बराबर लागिपरेका छन् ।

चीनका कुनै पनि क्षेत्र विकासको पछाडि नछुटोस् यही उनीहरूको लक्ष्य छ । हाम्रो नेपालले के यो मोडेल अपनाउन सक्दैन ? जहाँ जे स्रोतसाधन र शक्ति छ, त्यसको प्रयोगमा विकेन्द्रीकरणको नीतिद्वारा सबै क्षेत्रलाई राष्ट्रको विकासमा समेट्न सकिन्न ?

दिगो विकास नीतिद्वारा मात्र राष्ट्रको आर्थिक उन्नति सम्भव हुने हुँदा सबै सामाजिक संघसंस्था, गैरसरकारी संस्थासँग सहकार्य गर्दै विकासको पाइलामा अगाडि बढेकाले यो सफलता प्राप्त गरेको र यो अझै निरन्तर चलिरहने उनीहरूको धारणा पाइयो । दिगो विकासको अवधारणा र ग्रामीण विकासको प्राथमिकता अनि कृषि उत्पादन र बजारीकरणको व्यवस्थालाई निरन्तरता दिनु नै आर्थिक सम्पन्नतातिरको पहल हो भन्ने चिनियाँहरूको ठम्याइ छ ।

दुइ शक्तिशाली र सम्पन्न छिमेकी राष्ट्र पाएको मुलुकले तिनका दिगो विकास मोडेल अपनाएर अगाडि बढ्नु ज्यादै आवश्यक र ढिलो नगरी त्यसतर्फ ध्यान पुर्‍याउनु जरुरी भइसकेको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.