पछिल्तिरका एकजनालाई साह्रै झोक चलेछ, चिच्याए, ‘एई, बेमान, बेमानीको रकम खाएर साउनको मुला झैं फुलेको छस्, गुड्डी हाँक्छस्।’ मञ्चबाट डनजस्ता लाग्ने केही पहलमान कुद्दै अगाडि बढे। अब पर्यो बित्याँस !
राति उनी आएर भने, ‘मित्र सुपर्णखा, भोलि मेरो भाषण छ, सुन्न आउ है ?’
मैले उनलाई बस्न अनुरोध गरें। उनी ‘भाषणको तयारी गर्नु छ, फुर्सद छैन, बस्नेगरी पछि आउँला’ भनेर भाषण गर्ने ठाउँ र समयको
जनाउ दिएर हिँडिहाले।
मित्र हुन् जानै पर्यो। तर उनले नदेख्नेगरी म छेलिएर पछाडिपट्टि बसें। देखे भने फेरि मञ्चमा बोलाइहाल्छन्। त्यस्तो अपवित्र मञ्चमा मलाई बस्न मन लाग्दैन। श्रोतादीर्घा खचाखच भइसकेको रहेछ। उनी आइपुगेका थिएनन्। म सँगैका एकजनाले सँगै बस्ने (सायद उनका साथी होलान्)लाई भने, ‘खै, हामीलाई भनेको समय आधा घण्टा गइसक्यो, अझै आका छैनन्।’
ती दोस्रा व्यक्तिले जवाफ दिए, ‘भन्या समयमा आए त उनको के महत्त्व भयो र ? कामै रहेनछ, फुर्सद भएकाले पो ठीक समयमा आए भन्दैनन् ? आफ्नो मर्यादा, महत्त्व, रवाफ देखाउन पनि त मिलेसम्म ढिलो आउनु पर्यो। कस्तो कुरा नबुझेको !’
उद्घोषक माइकबाट श्रोतालाई सम्मोहित गर्ने दुष्प्रयासमा कराउँदै थिए, ‘श्रोतामहानुभावहरू, हाम्रा नेता साह्रै व्यस्त हुनुहुन्छ भन्ने उहाँको पदीय दायित्वबाटै तपाईंहरूलाई थाहा छँदैछ। मैले के भनिराख्नु पर्छ र ? उहाँको अति व्यस्तता हुँदाहुँदै पनि तपाईंहरूप्रति उहाँको श्रद्धा र मायाले गर्दा यहाँ आउने कुरामा उहाँले आनाकानी गर्नुभएन।’
सबै मुखामुख गर्न थाले। ‘बरु खुसीसाथ हाम्रो अनुरोधलाई स्वीकार्नु भो। यो उहाँको महानता हो। अहिले भर्खर मलाई आएको सूचनाअनुसार पोहोरको भुइँचालोले तहसनहस बनाएको क्षेत्रमा आज बिहान हेलिकोप्टरबाट निरीक्षण गर्न जानुभएको थियो। त्यो ठाउँको आकाशमा पुग्नेबित्तिकै तपाईंहरूलाई दिएको समय सम्झिनुभएछ, त्यहाँ नओर्ली हेलिकोप्टर फर्काएर आउनुभएछ।’ उता बोलिरहेका थिए।
‘फेरि खाना नखाई जानुभएकाले भोकै त आउनुभएन, त्यसैले अहिले खाना खाँदै हुनुहुन्छ। अब एकैछिनमा आइहाल्नुहुन्छ। तपाईंहरूको कति श्रद्धा र माया रहेछ उहाँमा, अब मैले भनिराख्नै पर्दैन। एकछिन, अब एकछिन धैर्यधारण गरिदिनुहुन म अनुरोध गर्दछु।’
यतिन्जेल मेरा पछाडि पनि मान्छे थुप्रिसकेछन्। त्यतैबाट एउटाले फुस्फुसायो, ‘साला चम्चा, उसको आडमा लुट्न पाएको छ मस्तले, अनि प्रशस्ती गाउँछ।’
अर्कोपट्टिबाट अर्को फुस्फुसाहट आयो, ‘दिक्क लागिसक्यो, हिँड्न पनि मिलेन। दाम लिसकिएको छ।’ दिएको समयभन्दा एक घण्टा नाघेको अलि बढी मात्र के भएको थियो, मेरा मित्र जन्तीजस्तो जुलुसमा अघि अघि हुँदै आइपुगे। मञ्चमा उक्लिएर उनले राजा त्रिभुवनको शैलीमा पाँच औंला ठाडो पारेर हत्केला दर्शन गराए। अगाडिका तीन, चार हरपमा बसेकाहरूले परर्र दुई हात पड्काए त्यसभन्दा पछाडिकाले कसैले अलिअलि कसैले गाह्रो माने जसरी बिस्तार हत्केला पड्काए।
रकम लिएको भन्नेहरूले त हत्केला पड्काउन त परै जाओस्, काखीमा हात घुसारेर बसे। औपचारिकता पूरा गरेपछि उद्घोषकले उनका बारेमा विशेषणमाथि विशेषण थपेर प्रशंसा गरिसकेपछि उनलाई आफ्नो मुखारविन्दबाट उद्गार व्यक्त गर्न अनुरोध फर्माए।
मेरा मित्रले सुरु गरे, ‘साथी हो।’
मेरो अर्को छेउका एकजनाले फुस्फुसाए, ‘अहिले साथी भन्छ, भेट्न गयो भने भेट नै दिंदैन। ठूलठूला भुँडीवालालाई भेट्न जहिले समय हुन्छ यसलाई।’
मित्रले यो फुस्फुसाहट सुन्ने कुरै आएन। उनले भने, ‘देशको विकास हाम्रो प्रतिबद्धता हो।’ मेरो नजिकै अर्को फुस्फुसायो, ‘उद्योग जति स्वाहा पारेर देश विकासको डिंग हाँक्छ।’ उनको भाषण चलिरहेकै थियो, ‘युबा स्वरोजगार कार्यक्रममार्फत देशमा रोजगारी सिर्जना गरी विदेश गएका जनशक्ति फिर्ता ल्याउन हामी प्रतिबद्ध छौं।’
मेरो अर्को छेउमा एकजना बोल्यो, ‘युवाहरूलाई बेचेर कुम्ल्याउन पाएका छौ, ल्याउँछौ फिर्ता।’ उसलाई कतिले सुने थाहा छैन। उनको भाषण लम्बिँदै गयो, ‘काठमान्डुमा रेल ल्याउने हाम्रो प्रतिबद्धता हो।’ मेरो पछाडिबाट अर्को आवाज आयो, ‘भृकुटीमण्डपको बाल रेल त धराशायी छ, ल्यायौ रेल।’
उनको स्वर झन् घन्कियो, ‘पानीजहाज चलाउने हाम्रो प्रतिबद्धता हो।’
नजिकै अर्को बोल्यो, ‘नमच्चिने पिङको सय झड्का !’
उनको स्वर गर्जिंदै थियो, ‘स्तरीय शिक्षा र सर्वसाधारणसम्म सुलभ स्वास्थ सेवा
हाम्रो प्राथमिकता हो।’
मेरै अगाडिको एउटा बोल्यो, ‘माफियासँग कमिसन अँचेट्न तिनलाई महँगो अस्पताल र विद्यालय खोलेर लुट्न छुट दिएको छ। यहाँ फुइँ लगाउँछ।’
उनको स्वर गुञ्जिँदै थियो, ‘आज देशमा जताततै सडक बनेको छ।’
म सँगैको एकजना बोल्यो, ‘सारा राजमार्ग जताततै क्षतिग्रस्त छ। ठाउँ, कुठाउँ बाटो खनेर दुर्घटना अनगिन्ती भएर धनजनको व्यापक नोक्सानी भइरहेको छ, गुड्डी हाँक्छ।’
पछिल्तिरका एकजनालाई साह्रै झोक चलेछ, चिच्याए, ‘एई, बेमान, बेमानीको रकम खाएर साउनको मुला झैं फुलेको छस्, गुड्डी हाँक्छस्।’
मञ्चबाट डनजस्ता लाग्ने केही पहलमान कुद्दै अगाडि बढे। अब पर्यो बित्याँस सोचेर पछाडिको त्यो मानिसतिर फर्केको के थिएँ, त्यो त कता टाप कसिसकेछ। एकछिन ती लडाकुले यताउति खोजतलास गरे। भेट्टाउन नसकेपछि वरिपरिकालाई धम्काउन थाले। त्यत्तिकैमा मेरा मित्र माइकबाट चिच्याउन लागे, ‘शान्त हुनुस्, शान्त। यो केही होइन। हाम्रो योजना सुनेर आत्तिएका विरोधीहरूको घुसपैठ हो।’
त्यतिञ्जेलमा लडाकुको धम्कीले तर्सिएका श्रोताहरू बिस्तार तितरबितर भइसकेका थिए। म पनि उनले नदेख्ने गरी निस्किएँ। थाहा भएन पछि के भयो।
प्रतिक्रिया दिनुहोस !