असन्तुलित कूटनीति

असन्तुलित कूटनीति

सामान्य अर्थमा कूटनीति भनेको राष्ट्र–राष्ट्रबीचको सम्बन्ध दक्षतापूर्वक सञ्चालन गर्ने नीति हो । यो एक देश र अर्को देशको बीचमा चल्ने राजनीतिक सम्बन्ध पनि हो ।

अन्तर्राष्ट्रिय राजनीतिमा कूटनीतिलाई कुनै पनि देशको अन्य मुलुकलाई हेर्ने आँखा र सुन्ने कानको रूपमा स्वीकार गरिएको छ । तर आजभोलि कूटनीतिलाई सामान्यभन्दा बढी विशेष रूपमा बुझ्ने र व्याख्या गर्न थालिएको छ ।

पछिल्लो समय कूटनीतिको अर्थ अन्तर्राष्ट्रिय राजनीतिक दाउपेच, व्यवहार, राजनीतिक चलाखी, आफूलाई चोखो र अरूलाई बिटुलो तुल्याउने वा देखाउने अन्तर्राष्ट्रिय राजनीतिक खेल, गुप्त चालबाजी वा विश्व राजनीतिलाई आफ्नो प्रभावमा पार्ने सीपको रूपमा बुझने गरेको देखिन्छ ।

विश्वव्यापीकरणको युगमा विश्व राजनीतिको घेरा साघुरिँदो छ । एक देशको राजनीतिले अर्को देशको राजनीतिलाई प्रभाव पारिरहेको छ । जतिसुकै निरपेक्ष र तटस्थ रहन्छु भने पनि अन्तर्राष्ट्रिय राजनीतिबाट अब विश्वको कुनै पनि मुलुक अछुतो रहन सक्दैन ।

शक्तिशाली मुलुकहरूबीच विश्व राजनीतिलाई आफ्नो पक्षमा पार्न र शक्ति आफूमा केन्द्रित गर्न होडबाजी चलि नै रहेको छ । त्यसैले शक्तिशाली मुलकको लागि कूटनीतिको अर्थ अरू मुलुकलाई आफ्नो प्रभावमा पार्नु नै एक मात्र उद्देश्य भइसकेको छ ।

खासगरी बाह्य राजनीतिमा हस्तक्षेप गर्न चाहने देशका सन्दर्भमा कूटनीति अब सामान्यभन्दा विशेष अर्थ दिने भएको छ । शक्ति राष्ट्रहरूबीच अरू देशलाई अल्मल्याउने र विश्व राजनीतिमा आफू सधैँ हाबी हुने चाललाई कूटनीति भनेर बुझिन्छ । हरेक देशको कूटनीति कुनै न कुनै रूपमा विश्वका शक्ति राष्ट्रहरूबाट प्रभावित हुन थालेको छ ।

यसको चपेटामा भने विकासोन्मुख मुलुकहरू पर्ने गरेका छन् । त्यसैले यस्तो शक्तिको होडबाजीको कूटनीतिबाट असंलग्न रहँदै सबै राष्ट्रहरूबीच समदूरी कायम गरी सन्तुलित हुन सक्नु नै नेपालजस्तो विकासोन्मुख मुलुकको लागि कूटनीतिक सफलता हुन्छ । अहिले विकासोन्मुख मुलुकको लागि विश्व राजनीतिमा आफ्नो हिस्सा सुरक्षित गर्ने विषयसमेत चुनौतीको रूपमा देखिएको छ ।

कूटनीति अब राजनीतिक विषय मात्र रहेन । विश्वमा अब आर्थिक कूटनीतिले महत्वपूर्ण स्थान ओगट्न थालेको छ । जापान, कोरियाजस्ता राष्ट्रहरू राजनीतिक कूटनीतिभन्दा पनि आर्थिक कूटनीतिको माध्यमबाट विश्वका गरिब मुलुकहरूलाई आफ्नो प्रभावमा पार्ने होडबाजीमा अगाडि बढिरहेका छन् ।

नेपाल भारतसँगको कूटनीतिक सम्बन्धमा भुटान नै जस्तो भइसकेको त छैन, तर अरू स्वतन्त्र राष्ट्रसँग हुनुपर्ने जस्तो कूटनीतिक सम्बन्ध पनि भारतसँग हुन सकेको छैन ।

कतिपय युरोपेली मुलुकहरूसमेत आर्थिक कूटनीतितर्फ आकर्षित हुन थालेका छन् । गरिब राष्ट्रमा आर्थिक सहायता र ऋणका माध्यमबाट आफ्नो कूटनीतिक प्रभाव विस्तार गर्न धनी राष्ट्रहरू लागिपरेका छन् । यस्तो अवस्थामा नेपाल जस्ता विकसित मुलुकहरूले ती धनी राष्ट्रहरूको कूटनीतिक स्वार्थको प्रभाव आफ्नो देशमा कमभन्दा कम मात्र पार्न दिई आर्थिक सहयोगलाई चाहिँ बढीभन्दा बढी भित्र्याई सदुपयोग गर्न सक्नुपर्छ ।

देशलाई गरिबीबाट माथि उकास्न धनी राष्ट्रको आर्थिक सहायताले ठूलो भूमिका खेल्छ । तर ती राष्ट्रहरूको कूटनीतिक प्रभाव मात्र नेपालमा बढ्दो छ । धनी मुलुकको त्यो कूटनीतिक स्वार्थबाट नेपालले लिन सक्नुपर्ने जति फाइदा लिनबाट नेपाल चुकेको छ ।

कूटनीतिमा समानता र सन्तुलनको प्रश्न कति जायज हुन्छ ? यो प्रश्न पनि आफैँमा विवादित छ । जति विवादित भए पनि यतिचाहिँ स्पष्ट हो कि समान हैसियतका राष्ट्रहरूबीच कूटनीतिक हैसियत पनि समान हुनु जरुरी छ ।

हरेक राष्ट्रसँग स्वार्थ फरक हुने भएकाले धनी राष्ट्रसँग हामी कूटनीतिक प्रभावबाट मुक्त रहेर सम्बन्ध विस्तार गर्न सक्नुपर्छ । तर नेपाल यो अवस्थाबाट पनि चुक्दै आएको छ ।

खासगरी भारत प्रभावित कूटनीतिले हाम्रो कूटनीति अन्योलग्रस्त छ । भारत र चीन हाम्रा दुवै छिमेकी हुन् । तर ती दुवै छिमेकीबीच समान व्यवहार हुन सकेको छैन र दुवै छिमेकीमध्ये चीनले बढी नेपालको आर्थिक समृद्धि र सहयोगतर्फ हात बढाएको देखिन्छ भने भारतले नेपालको आन्तरिक राजनीतिमा हस्तक्षेप गर्न चाहेको प्रस्टै देखिन्छ । नेपालका नेताहरूले नै भारतलाई परोक्ष त्यो अवसर जुटाइदिएका छन् ।
नेपालको राजनीति जहिले पनि प्रत्यक्ष–परोक्ष भारतसँग जोडिन्छ ।

ब्रिटिस इन्डियाको समयदेखि बेलायतमा आश्रित नेपालको राजनीति भारत स्वतन्त्र भएपछि भारत निर्भर हुन पुग्यो । सत्ता संकट पर्दा लैन (तत्कालीन ब्रिटिस दूतावास) मा धाउने शासक अहिले पनि सत्ता धराप पर्नासाथ लैनचौर (भारतीय दूतावास) र दिल्लीसम्मको दौडधूप गर्ने गरेकै कारण नेपालको राजनीतिलाई हस्तक्षेप गर्ने भारतको आदत नै बनिसक्यो । नेपालको राजनीतिमा प्रभाव पार्न सक्नुलाई भारत कूटनीतिक सफलता मान्छ ।

नेपाललाई कसरी हुन्छ आफ्नो प्रभावमा राख्ने अघोषित नीति भारतले लिएको छ । तर नेपालसँग भने वैदेशिक मामिलामा कुनै स्पष्ट नीति छैन । खासगरी भारतको सन्दर्भमा नेपालको कुनै स्पष्ट अडान नै छैन । भारतसँगको सम्बन्धमा नेपाल सधैँ अल्मलिएको देखिन्छ । बरु नअल्मलिने चाहिँ के छ भने नेपालका हरेक नेता भारतका नेताहरूलाई खुसी पार्न चाहन्छन् । हरेक नेता भारत खुसी पार्न सक्नु र त्यहाँबाट आशीर्वाद पाउनुलाई सफलता ठान्छन् । देशको कुनै नीति नहुनु तर देशका नेताचाहिँ अर्को देशका नेता खुसी पार्न दौडधूप गर्नु भनेको नीतिविहीन नीति हो । यसलाई अन्धकार परराष्ट्र नीतिको संज्ञा दिन सकिन्छ ।

भारतसँग नेपालले कहिल्यै पनि समान हैसियत खोज्नै सकेन । एउटा सार्वभौमसत्ता सम्पन्न मुलुकले अर्को मुलुकसँग गर्ने व्यवहारमा जबसम्म समानताको दाबी गरिँदैन तबसम्म कूटनीतिमा समानता हुँदैन । उदाहरणको लागि भर्खरै सम्पन्न भारतीय राष्ट्रपतिको नेपाल भ्रमणलाई लिन सकिन्छ ।

भारतीय राष्ट्रपति नेपाल आउँदा नेपालले जति महत्व दियो, त्यति नै महत्व आसन्न नेपालका राष्ट्रपतिको भ्रमणमा भारतले देला ? न भारतका राष्ट्रपतिको भ्रमणलाई नेपालले दिए झैँ महत्व नेपालका राष्ट्रपतिको भ्रमणलाई भारतले दिन्छ न भारतबाहेक अन्य देशका राष्ट्रपतिको नेपाल भ्रमण भएमा भारतका राष्ट्रपतिलाई झैँ नेपालले महत्व दिन्छ । यो असमानता किन ? हाम्रो कूटनीति कति असन्तुलित छ, यहीँबाट देखिन्छ ।

राष्ट्रसंघमा नेपाल भारत समान हैसियतका राष्ट्र हुन् । तर नेपालले संयुक्त राष्ट्रसंघमा आफ्नो प्रभावकारी भूमिका खोज्न सकेको छैन । भुटानको जस्तो भारतमा निर्भर परराष्ट्र नीति नभए पनि नेपाल अघोषित रूपमा भारतीय परराष्ट्र नीतिको एउटा हिस्सा बनेको सन्देश विश्वभर जाँदैछ । कतिपय पश्चिमा मुलुकहरूले आज नेपाललाई भारतीय आँखाले हेर्ने दृष्टिकोण बनाएका छन् । यो नेपालले राष्ट्रसंघमा प्रभावकारी भूमिका खेल्न नसक्नुको परिणति हो ।

कूटनीति एउटा कला पनि हो । हाम्रो कूटनीति कलाविहीन छ । दूतावासहरू अधिकांश समय खाली हुन्छन् । राजदूत नियुक्ति राजनीतिक भागबन्डाले ध्वस्त छ । पार्टी झन्डा बोकेकै भरमा कूटनीति नबुझेकाहरू राजदूत नियुक्त हुन्छन् र सरकार परिवर्तन हुनासाथ मन्त्री सरकारबाट फर्केजस्तो गरी फर्कन्छन् । अनि कसरी हात लाग्छ, कूटनीतिमा सफलता ? अनि कसरी हुन्छ देशको स्थिर परराष्ट्र नीति ?

यो भन्न हिच्किचाउनु पर्दैन कि नेपालको कुनै स्पष्ट परराष्ट्र नीति नै छैन । विगतमा भन्ने गरिएको असंलग्न परराष्ट्र नीति पनि व्यवहारमा त्यस्तो छैन । भारतप्रति बढी नै झुक्ने र अरू देशसँगको कूटनीति भनेको आर्थिक सहयोग भित्र्यउने मात्र हो भन्नेजस्तो बुझ्ने सरकार भएसम्म नेपालको कूटनीति मस्त निद्रामा हुन्छ ।

अहिले कूटनीति भनेकै मात्र भारतसँगको सम्बन्ध हो जस्तो देखिन थालेको छ । नेपाल भारतसँगको कूटनीतिक सम्बन्धमा भुटान नै जस्तो भइसकेको त छैन, तर अरू स्वतन्त्र राष्ट्रसँग हुनुपर्ने जस्तो कूटनीतिक सम्बन्ध पनि भारतसँग हुन सकेको छैन । नेपालले चीनसँग सम्बन्ध विस्तार गर्दा पनि भारतले के प्रतिक्रिया दिने हो भनी डराई चीनतिर हात बढाउनुपरेको छ । यसले नेपालको कूटनीतिको तराजु असन्तुलित भएको प्रस्टै देखिएको छ ।

कूटनीति राष्ट्रिय हितको लागि हो । तर नेपाल भारतबीचको कूटनीतिले स्वतन्त्र देश नेपाललाई दिनप्रतिदिन भारत आश्रित गराउँदैछ । भारत निर्भरता झन्झन् बढाउँदैछ । भनिन्छ– समान संस्कृति भएका मुलुकबीच कूटनीतिक सम्बन्ध बढी सुदृढ हुन्छ । नेपाल भारतजस्तो समान संस्कृति र परम्परा भएका मुलुकबीच विश्व राजनीतिमा मात्र नभएर द्विपक्षीय सम्बन्धमा पनि समान एजेन्डा हुनुपर्ने हो ।

तर नेपाल भारतबीच त्यस्तो एजेन्डागत समानता छैन । भारत प्रभाव विस्तारमा छ । हामी भारतीय प्रभावबाट मुक्ति खोज्नुभन्दा बढी उसलाई खुसी पारेर देशको राजनीति चलाउने नीति लिइरहेका छौँ । यसले नेपाल भारतबीचको कूटनीतिमा मात्र नभएर विश्व कूटनीतिमै नेपाल असन्तुलित र असफल हुँदै गइरहेको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.