अमेरिकी शक्ति र गौरव यात्रा
अमेरिकाका अत्यन्त सम्मानित सेनाध्यक्षको रूपमा परिचित जर्ज क्याट्लेट मार्र्सलले सेनाध्यक्षको पद ग्रहण गरेकै दिन जर्मन सेनाले पोल्यान्डमाथि आक्रमण गरेर दोस्रो विश्वयुद्ध प्रारम्भ गरेको थियो ।
हजारौं ट्यांकहरूसहित पन्ध्र लाख जर्मन सेना एकैपटक पोल्यान्डका सडक, रेल, सहर, उद्योग तथा व्यापारका संरचना र हतियार कारखानालाई ध्वस्त पार्दै अगाडि बढ्यो । सेप्टेम्बर २७ मा पोल्यान्ड पराजित भयो र केही महिनाभित्रै सिंगो युरोप हिटलरको प्रभुत्वअन्तर्गत साँघुरियो ।
पूर्व अमेरिकी उपराष्ट्रपति डिक चेनीद्वारा लिखित एक पुस्तकमा उल्लेख भएअनुसार त्यसबखत अमेरिकी सेनाभन्दा पोल्यान्डको सेना संख्या र हातहतियारको दृष्टिले धेरै ठूलो र श्रेष्ठ थियो । अमेरिकी सेनाको आकार र क्षमता रुमानियाको भन्दा पनि सानो थियो ।
अमेरिकी सेनाले प्रशिक्षणको लागि चलाउने बन्दुक चार दसक पुराना थिए, तर त्यस्ता बन्दुक पनि सबैलाई नपुग्ने भएर सैनिकहरूले बन्दुकको चित्र र काठको बन्दुकको भरमा प्रशिक्षण लिने र अभ्यास गर्ने गर्दथे ।
पोल्यान्डमाथिको आक्रमणलगत्तै सेनाको आधुनिकीकरणको आवश्यकताबारे राष्ट्रपति फ्र्यांकलिन रुजबेल्टलाई अनुरोध गर्न अर्थमन्त्री हेनरी मर्गेन्थु र सेनाध्यक्ष मार्सल सँगै गए । तर अर्थमन्त्रीले सेनाको आधुनिकीकरणको लागि गरेको बजेटको मागलाई रुजबेल्टले ठाडै अस्वीकार गरे । नयाँ सेनाध्यक्षका कुरासम्म सुनिदिन उनले गरेको आग्रहलाई पनि रुजबेल्टले सुनेनन् । बिदा हुँदै गर्दा मार्सलले तनक्क तन्किएर राष्ट्रपतिसमक्ष तीन मिनेट समय मागे ।
अमेरिकी प्रभाव र प्रेरणा अनि जापानको विकासको मोडेल अनुशरण गरेर दक्षिण कोरिया, सिंगापुर, ताइवान आदि मुलुकहरू मात्र नभएर स्वयं चीनको आजको विकास र समृद्धिमा पनि अमेरिकी ज्ञान, प्रविधि र प्रेरणाको ठूलो योगदान रहेको छ ।
रुजबेल्ट सेनाध्यक्षको अप्रत्यासित मागबाट चकित भए र उनका कुरा सुन्न बसे । मार्सलले उनलाई हिटलरका २० लाख सेना पश्चिम युरोपको विजय अभियानमा रहेको तर आवश्यक पर्दा अमेरिकाले तैनाथ गर्नसक्ने सैनिक संख्या पन्ध्र हजारभन्दा बढी नभएको बताए । युद्ध क्रमशः अमेरिकी भूमिमा समेत विस्तार हुनेबारे आफू विश्वस्त भएका आधारहरू प्रस्तुत गर्दै मार्सलले उनलाई बताए– तत्काल राष्ट्रपतिबाट उचित कदम नचालिने हो भने अमेरिकाको सुरक्षा असम्भव छ ।
मार्सलको मागअनुसार १६ मे १९४० मा रुजबेल्टले कांग्रेससमक्ष सेना र अन्य रक्षा सामग्रीको लागि नौ करोड डलरजति माग गरे । ८ डिसेम्बर १९४० मा ब्रिटिस प्रधानमन्त्री विन्स्टन चर्चिलले अमेरिकी राष्ट्रपतिलाई चार हजार शब्दको एउटा पत्र पठाए, जसमा उनले फ्रान्स, बेलायतलगायत सिंगो युरोप हिटलर र मुसोलिनीको आक्रमणसामु समाप्तिको स्थितिमा पुगेकाले अमेरिकाले मात्र बेलायत र युरोपको रक्षा गर्न सक्ने लेखेका थिए ।
उक्त पत्रमा रुजबेल्टसमक्ष नियमित रूपमा लाखौं टन जहाज निर्माणका सामग्रीहरू, हरेक महिना दुई हजार हवाईजहाज र ठूलो परिमाणमा बन्दुक, गोला बारुद र तोपहरू पठाउन माग गरेका थिए, तर बेलायत ती सामग्रीबापत कुनै मूल्य चुक्ता गर्ने अवस्थामा नरहेको पनि उनले लेखेका थिए ।
रोय जेन्किन्सले चर्चिलबारे लेखेको पुस्तकमा उल्लेख भएअनुसार अत्यन्त प्रभावकारी भाषा–शैलीमा लेखिएको उक्त पत्रलाई याचना पत्रको रूपमा नलिन रुजबेल्टलाई आग्रह गर्दै अमेरिकाको सुरक्षासमेत युरोपको सुरक्षासँग आबद्ध भएको कुरालाई उनले स्पष्टसँग उल्लेख गरेका थिए ।
अमेरिकाले चर्चिलको आग्रहलाई हार्दिक र गम्भीर भएर लियो । मार्सलको दूरदृष्टि र रुजबेल्टको प्रतिबद्धतायुक्त आग्रहको परिणामस्वरूप बिल नुडसेन र हेनरी केसरजस्ता उद्योगपतिहरूले आफ्ना औद्योगिक प्रतिष्ठानहरूलाई यसअघि नै रक्षा उद्योगहरूमा रूपान्तरण गरिसकेका थिए ।
केही महिनाको कठोर परि श्रम र प्रतिबद्धताको परिणामस्वरूप अमेरिकाले हजारौं पानीजहाज तथा हवाईजहाजको उत्पादन क्षमता आर्जन गरिसकेको थियो । छोटै अवधिमा मार्सल, ड्वाइट आइजनआवर र ओमार ब्राड्ले जस्ता सेनानायकहरूले अमेरिकी सेनाको संख्यामा ठूलो वृद्धि गरेर उनीहरूलाई संसारकै उत्कृष्ट सैनिकमा रूपान्तरण गरिसकेका थिए । अमेरिकी सेनाको विलक्षण युद्ध कौशल, धैर्य र साहसले छोटो अवधिमै युद्धलाई अलग दिशानिर्देश गरिसकेको थियो ।
विश्वमा यसरी स्थापित भयो अमेरिकी नेतृत्व
११ मार्च १९४१ मा जापानले अमेरिकाको पर्ल हार्बरमा आक्रमण गर्यो । अमेरिकी जनमत जापानविरुद्ध आक्रमणको लागि रुजबेल्टमाथि निरन्तर दबाब बढाइरहेको थियो । तर आफूमाथिको आक्रमणविरुद्ध जापानसँग लड्नुभन्दा युरोपका मित्रहरूको रक्षाको लागि हिटलरविरुद्धको युद्धमै सम्पूर्ण सैन्य क्षमता लगाउनुपर्नेमा अमेरिकी राष्ट्रपति र सैनिक नेतृत्व सहमत भए । ब्रिटिस इतिहासकार एन्ड्र्यु रोबट्र्सको शब्दमा यो बीसौं शताब्दीको अमेरिकी राजनेतृत्वको महानतम् उदाहरण थियो ।
युद्ध अवधिमा एउटा सन्दर्भमा अमेरिकी सेनाका तत्कालीन कर्णेल ड्वाइट आइजनहावर (पछि सेनाध्यक्ष तथा राष्ट्रपति) ले आफ्ना सेनाध्यक्ष मार्सललाई भनेका थिए- अमेरिकामाथि भर र आशा गरेर बसेका मुलुकहरूले अमेरिकी असफलतालाई सहन गर्लान् तर अमेरिकाको उपेक्षा उनीहरूलाई सह्य हुँदैन । ती मुलुकहरूको विश्वास र मित्रता अमेरिकाको लागि अत्यन्त महत्वपूर्ण रहेकोबारे उनले जे भनेका थिए, त्यो पछि आएर अमेरिकाको विदेश र रक्षा नीतिको मूल मर्म बन्न पुग्यो र अमेरिकाको विश्वव्यापी प्रभाव र सम्मानको मुख्य आधार पनि ।
१२ अप्रिल १९४५ मा मस्तिष्कमा भएको रक्तस्रावका कारण रुजबेल्टको निधन भयो । युद्धको नेतृत्व गरिरहेको मुलुकको लगातार चार कार्यकाल राष्ट्रपति रहेका विराट् व्यक्तित्वको निधन विश्वकै लागि भयानक त्रासदी थियो । त्यतिखेर अमेरिकाका उपराष्ट्रपति ह्यारी ट्र्युमन थिए ।
उनी सो पदमा निर्वाचित भएको तीन महिना पनि भएको थिएन र उनले युद्ध र अन्य राज्य सञ्चालनको विषयमा संलग्न हुने अवसर पाएका थिएनन् । राष्ट्रपतिसँग उनको भेट केवल तीन औपचारिक समारोहमा मात्र भएको थियो । उनको कार्यालयसमेत व्यवस्थित भइसकेको थिएन ।
त्यस अवस्थामा ट्र्युमनको नेतृत्व र निर्णय क्षमताबारे आशंका र त्रास पलाउनु अस्वाभाविक थिएन । तर तिनै ट्र्युमनले राष्ट्रपतिको कार्यकालको पहिलो दिनदेखि नै असाधारण इच्छा शक्ति, निर्णय क्षमता र भविष्यदृष्टि प्रदर्शन गरे र युद्धमा मित्रराष्ट्रहरूको अन्तिम विजय सुनिश्चित गराए ।
तीन–चार वर्षको अवधिमा काठको बन्दुकबाट सैनिक अभ्यास गर्ने मुलुक आणविक हतियारले सुसज्जित भइसकेको थियो । १५ हजारभन्दा बढी सेना परिचालन गर्न नसक्ने मुलुक एकैपटक सात लाखभन्दा बढी सेना परिचालन गर्नसक्ने सामथ्र्य राख्ने हैसियतमा पुगेको थियो । यो आजसम्मको मानव इतिहासको सबैभन्दा ठूलो उपलब्धि हो ।
जनताले निश्चित मानवीय मूल्य र सिद्धान्तका आधारमा आफ्ना लागि गठन गरेको संसारको पहिलो राज्यको रूपमा अमेरिकाले प्रथम घोषणा गरेको थियो— संसारका हरेक मानिस जन्मजात स्वतन्त्र छन् र स्वतन्त्रता उनीहरूको प्राकृतिक अधिकार हो ।
त्यो स्वतन्त्रताको रक्षा गर्न नै राज्यको जन्म भएको भनेर राज्यलाई घोषितरूपमा जनताप्रति उत्तरदायी बनाउने घोषणा पनि अमेरिकाले आफ्नो स्वतन्त्रताको घोषणासँगै गरेको थियो । यो नै अमेरिकाको पहिचान र उसको राजनीतिक संस्कृतिको आत्मा बन्न पुग्यो । दोस्रो विश्वयुद्धमा अमेरिकाले त्यसलाई उच्चतम् साहस र विवेक प्रदर्शन गरेर सावित गर्यो र अमेरिकी जनताले युद्धसम्बन्धी सबै राज्य लक्ष र निर्णयहरूको स्वामित्व लिए । अमेरिकालाई महान् विजय दिलाए र महाशक्तिका रूपमा अमेरिकाको उदयलाई सम्भव बनाए ।
युद्धको, शान्ति र समृद्धिको असाधारण नेतृत्व
युद्धले युरोपको सबै आधारभूत संरचना ध्वस्त पारेको थियो । राज्यकोष रित्ता थिए । लाखौं युरोपेलीहरू भोकै र नांगै आफ्नो ढलेको घर कहाँनेर थियो भनेर घरि यता घरि उता गरिरहेका हुन्थे । भोकमरी, अनिकाल र महामारीको सम्भावनाले सरकारहरू आकुल–व्याकुल थिए ।
लगत्तै तुर्की र ग्रिसमा चरम राजनीतिक, आर्थिक र मानवीय संकट उत्पन्न भयो । मार्च १९४७ मा राष्ट्रपति ट्र्युमनले ४० करोड डलरको सहयोग उपलब्ध गराए र ती मुलुकलाई संकटबाट पार लगाए ।
५ जुन १९४७ मा हार्वर्ड विश्वविद्यालयमा दिएको संक्षिप्त भाषणमा मार्सलले अमेरिकाको तर्फबाट एउटा ऐतिहासिक र साहसिक सहायता कार्यक्रमको घोषणा गरे ।
मुलुकहरूले सामान्यरूपमा स्वस्थ आर्थिक स्थिति प्राप्त गर्न नसकुन्जेल राजनीतिक स्थिरता र दिगो शान्ति स्थापना हुन नसक्ने उनको भनाइ थियो । आर्थिक संकटले सामाजिक असन्तोष उत्पन्न गर्दछ र त्यस्तो असन्तोषले निरन्तरको राजनीतिक अस्थिरता आमन्त्रण गर्ने भएकाले त्यसप्रति अमेरिकाको दायित्व निर्माण हुने उनको निष्कर्ष थियो ।
मार्सलको भनाइ थियो– अमेरिकाको एकान्त वासको परिणाम दोस्रो विश्वयुद्ध थियो । त्यसैले अमेरिका विश्वका ज्वलन्त समस्याहरूबारे आँखा चिम्लिएर बस्न सक्दैन । युद्धजन्य अराजकता र निराशाविरुद्ध अमेरिकाको दायित्व त्यहाँ उनले स्वीकार गरे ।
पूर्व अमेरिकी विदेशमन्त्री हेनरी किसिन्जरको शब्दमा मार्सलको उक्त भाषण अमेरिकी विदेश नीतिको प्रस्थान विन्दु थियो । उक्त सम्बोधनले त्यत्रो तरंग ल्याउँछ र विश्व राजनीतिलाई मार्गदर्शन गर्छ होला भनेर त्यतिखेर आफूले अनुमानसम्म गर्न नसकेको हार्वर्ड विश्वविद्यालयका तत्कालीन अध्यक्षले स्वीकार गरेका छन् ।
युरोपमा प्रजातन्त्रको भविष्य सुनिश्चित गर्न, त्यहाँका जनतामा आशा जगाउन, अमेरिका र युरोपका मित्रराष्ट्रहरूबीचको साझा दायित्व हो भन्ने उनको घोषणा पश्चिम युरोपको नवनिर्माण र एउटा नयाँ विश्व व्यवस्थाको आधारस्तम्भ थियो भन्ने किसिन्जरको मान्यता छ ।
मार्सल प्लानको नाउँले चर्चित उक्त कार्यक्रमअन्तर्गत १९४८ देखि १९५१ बीचको अवधिको लागि अमेरिकाले १३ अर्ब डलरको सहयोग घोषणा गर्यो । डिक चेनीका अनुसार उक्त रकम २०१५ को मूल्यमा एक सय तीस अर्ब डलरबराबर थियो । थप विशिष्ट पक्ष के थियो भने मार्सल प्लानअन्तर्गत सहयोग प्राप्त गर्ने मुलुकमा हिजोसम्म अमेरिकासँग युद्धरत पश्चिम जर्मनी र इटाली पनि थिए । मार्सल प्लानले युरोपको युद्धको घाउ पुर्यो । एउटा नवीन, समुन्नत र सबल प्रजातान्त्रिक युरोपको आधार निर्माण गर्यो ।
एसियामा पनि अमेरिकाले शान्ति र समृद्धिको नेतृत्व गर्यो । युद्धले जापानको ७० प्रतिशत उद्योग, कृषि र व्यापारलगायतका सबै भौतिक संरचना ध्वस्त पारेको थियो । डेढ करोड मानिस बेरोजगार थिए । युद्धपछिको जापानको जिम्मेवारी लिएका जनरल डग्लस म्याकार्थरले भूमिसुधार, श्रम व्यवस्थाको प्रजातन्त्रीकरण र औद्योगिक तथा व्यावसायिक एकाधिकारको अन्त्य गराए ।
अमेरिकाको डेट्रोइट बैंकका अध्यक्ष जोसेफ डजले जापानमा आर्थिक र मौद्रिक सुधारका कार्यक्रमहरूको नेतृत्व लिए । यसरी अमेरिकाले जापानमा प्रजातन्त्रको स्थापना, विकास र स्थिरतासँगै जापानी जनताको राष्ट्रिय स्वाभिमान जगायो । जापान थोरै समयमै अमेरिकासँग आर्थिक क्षेत्रमा प्रतिस्पर्धा गर्न सक्ने राष्ट्रका रूपमा उठ्यो ।
अमेरिकी प्रभाव र प्रेरणा अनि जापानको विकासको मोडेल अनुशरण गरेर दक्षिण कोरिया, सिंगापुर, ताइवान आदि मुलुकहरू मात्र नभएर स्वयं चीनको आजको विकास र समृद्धिमा पनि अमेरिकी ज्ञान, प्रविधि र प्रेरणाको ठूलो योगदान रहेको छ ।
आज संसारभर हुने आर्थिक कारोबारहरूमा ८० प्रतिशत अमेरिकी डलरमा गरिन्छ । अन्तर्राष्ट्रिय मुद्रा बजारको कारोबार ८७ प्रतिशत कारोबार पनि डलरमै गरिन्छ । विश्वको मुद्रा बजार र आर्थिक स्थिरता अमेरिकी अर्थतन्त्र र अमेरिकी मुद्रा प्रणालीमा निर्भर छ । संसारका १० प्रमुख प्राविधिक कम्पनीहरूमा सात अमेरिकी छन् । संसारका २५ श्रेष्ठ विश्वविद्यालयहरूमा १७ अमेरिकी छन् । विश्वका १० श्रेष्ठतम् ब्रान्डहरूमा आठ अमेरिकी छन् । अमेरिकी वस्तु, शिक्षा र प्रविधि आफैं श्रेष्ठता र विश्वसनीयताका मानदण्ड हुन् ।
विश्वको कुल सैनिक खर्चमा अमेरिकी हिस्सा ३७ प्रतिशत छ । संसारका सबै स्थल, जल र आकाश मार्ग र अन्तरिक्षमा उसको प्रभुत्व छ । हरेक भूगोलमा जस्तोसुकै प्रतिकूल स्थान र समयमा युद्धको अनुभव भएको सेना अमेरिकासँग मात्र छ । भौगोलिक अवस्थितिले उसलाई संसारका दुवै प्रमुख महासागरमा समान पहुँच र स्वामित्व प्रदान गरेको छ ।
भूमध्य रेखादेखि उत्तरध्रुवीय प्रदेशसम्म विस्तारित यस्तो विशिष्ट भूराजनीतिक लाभ संसारको कुनै दोस्रो मुलुकलाई उपलब्ध छैन । इयान ब्रेम्मरका अनुसार संसारभरका मुलुकहरूलाई वार्षिक आथिक सहयोग गर्ने राष्ट्रमा अमेरिका पहिलो छ । ऊ संसारमा सबैभन्दा बढी तेल र ग्याँस उत्पादक राष्ट्र भएको छ । ज्ञान, विज्ञान र प्रविधिको अध्ययन, अनुसन्धान र विकासमा अमेरिकाले जति लगानी गर्छ, त्यति विश्वका बाँकी सबै राष्ट्रहरू मिलेर पनि गर्दैनन् ।
राष्ट्रहरूको महानताको कसी भनेको उसले आफ्ना जनता र विश्व समुदायलाई उपलब्ध गराएको मानवीय स्वतन्त्रता र सुख हो । संसारभरका मानिसका लागि संयुक्त राज्य अमेरिकाले जति मानवीय सुख र स्वतन्त्रता अर्काे कुनै राष्ट्रले उत्पादन गरेको छैन । त्यसैले अमेरिका विश्वका हरेक कुनाका मानिसको सपनाको संसार बनेको छ ।
प्रजातन्त्र र स्वतन्त्रताका मूल्यहरूका लागि संघर्षरत हरेक मानिसका लागि अमेरिका प्रेरणा बनेको छ । यही नैतिक शक्तिको बलमा अमेरिका संसारको सर्वाधिक शक्तिशाली राष्ट्र बनिरहेको छ । युरोप, मध्यपूर्व वा पूर्वी तथा दक्षिणपूर्व एसियामा जहाँजहाँ अमेरिकी सेना तैनाथ छन्, त्यस क्षेत्रका अधिकांश राष्ट्रहरू अमेरिका आफ्नो क्षेत्रमा रहिरहोस् भनेर चाहन्छन् ।
हिजो सोभियत नियन्त्रणमा रहेका पूर्वीयुरोपका मुलुकहरूको मुख्य चिन्ता फेरि त्यो दिन नआओस् र अमेरिकाले त्यसको प्रत्याभूति गरोस् भनेर नाटोमा आबद्ध छन् र त्यस्तो आबद्धताका लागि लालायित छन् ।
दसकौंदेखि अमेरिका विश्वभरका मानिसहरूको स्वतन्त्रताको आधिकारिक प्रवक्ता र संरक्षक बनेको छ । तर अमेरिकाका दृष्टिहीन नीतिहरूका कारण संसारले बेहोरेका क्षति पनि कम छैनन् । अमेरिकाको एउटा निर्णयले विश्वभर राजनीतिक, सामाजिक र आर्थिक उथलपुथल ल्याउन सक्छ । विश्वभर स्थिरता र समृद्धि ल्याउन र हर्न सक्छ । त्यसैले आज हुन गइरहेको अमेरिकी राष्ट्रपतिको निर्वाचन विश्वभरका मानिसहरूको साझा सरोकार बनेको छ ।
—भट्टराई नेपाल इन्स्टिच्युट फर स्ट्राटिजिक स्टडिजसँग आबद्ध छन् ।