पुनः मैत्रीस्थापनामा क्लिन्टनको ध्यान केन्द्रित
![पुनः मैत्रीस्थापनामा क्लिन्टनको ध्यान केन्द्रित](https://annapurnapost.prixacdn.net/media/albums/Campaign-2016-Clinto-58214bfe604be7.42704644_6YTPHyv73x.jpg)
म्यानचेस्टरः इमेल काण्डबाट हिलारी क्लिन्टनको शिरमाथि मडारिइरहेको कालो बादलको पर्दा अमेरिकी संघीय अनुसन्धान केन्द्र (एफबिआई) ले हटाइदिएपछि हिलारी क्लिन्टनले मैत्रीस्थापनामा जोड दिएको बताएकी छन् ।
लगभग दुई वर्षदेखिको निर्वाचन अभियान समाप्त हुनै लागेको र मतदान गर्ने दिनको पूर्वसन्ध्या अत्यन्तै संवेदनशील अवस्थामा आइपुगेको छ । केही दिनदेखि परिवर्तित नाटकीय लहर आँकलन गर्दा दुई उम्मेदवारमध्ये साह्रै थोरै मतान्तरले मात्र एकको विजय हासिल हुने देखिएको छ ।
विदेशमन्त्री छँदा आफ्नो एकाउन्टमा रहेका हजरौँं इमेल मेटाएर भ्रष्टाचारजन्य कार्य र राष्ट्रघात गरेको भनी ट्रम्पले क्लिन्टनलाई कडा शब्दमा आरोप लगाउँदै आएका थिए । एफबिआइको निष्कर्ष र प्रतिवेदनबाहिर आएपछि इमेल काण्डको चर्चा गरी आरोपलाई निरन्तरता दिन ट्रम्पले छाडेका छैनन् ।
यता, ट्रम्पको योग्यता र तुरुन्तै आक्रोशित हुने स्वभावको धेरै दिनसम्म कडा आलोचना गरेपछि क्लिन्टनले अब आफ्नो ध्यान ‘बाझाबाझ र झै-झगडाको अन्त्य र पुनः मैत्रीस्थापना'मा केन्द्रित रहने जनाएकी छन् । अमेरिकी राजनीतिमा दीर्घकालसम्म वर्चस्व कायम राख्न सफल हिलारी क्लिन्टन विश्वका उच्चपदमा पुग्न सफल थोरै महिलामध्ये एक मानिन्छिन् ।
उनी आफ्नो प्रचारप्रसार अभियान तीव्र बनाउन आइतबार दिनभरी नै लागिपरेकी थिइन् । फिलाडेल्फियास्थित अफ्रिकी मूलका अमेरिकीको चर्चमा लगभग आध्यात्मिक प्रवचन जस्तो लाग्ने भाषणबाट सुरु भएको उनको अभियान यात्रा न्युह्याम्पसायर राज्यको म्यानचेस्टरमा आयोजित चुनावी- र्यालीलाई सम्बोधन गरेपछि टुंगियो ।
म्यानचेस्टरमा र्यालीमा एक छोटो सांकेतिक कार्यक्रम पनि सम्पन्न भएको थियो । त्यहाँ उनले इराक-युद्धमा वीरगति प्राप्त गर्ने अमेरिकी सेनाका कप्तानका पिता, कानुन व्यवसायी, अमेरिकी- इस्लाम खिजर खानको छोटो अभिनन्दन गरी लोकगीत गायक जेम्स टेलरको प्रस्तुति- सफ्ट रक गायनमा भाग लिएकी थिइन् । निर्वाचनको अन्तिम अभियानमा क्लिन्टनको साथमा देशभरी ठूला राजनीतिक हस्ती तथा संगीत क्षेत्रका सेलिब्रिटी पनि खटिएका छन् । राष्ट्रपति बाराक ओबामा स्वयं विभिन्न राज्यमा डेमोक्र्याटको पक्षमा मत माग्दै हिँडिरहेका छन् ।
संगीतज्ञ स्टिभ वन्डर, रकस्टारः ब्रुस स्प्रिङ्स्टिन र जोन बोन जोभिजस्ता प्रख्यात कलाकारले भोट माग्न क्लिन्टनलाई सघाइरहेका छन् । अन्तिम अभियानको क्रममा उनी सोमबार ग्य्रान्ड र्यापिड्स, पिट्सवर्ग र र्यालीमा सहभागी भइन् ।
त्यसैगरी डोनाल्ड ट्रम्प पनि मतदान हुने दिनसम्मै प्रचारप्रसार अभियानमै व्यस्त रहने जनाइएको छ । उनको निर्वाचन अभियान प्रबन्धक केल्यान कोन्वेका अनुसार सोमबार फ्लोरिडा, नर्थ क्यारोलिना, पेनसिल्भानिया र न्यु ह्याम्पसायर भ्रमण गरेका छन् ।
मंगलबार बिहान न्युयोर्कमा भोट खसालेपछि उनको फेरि पेन्सिल्भानिया, मिसिगन, ओहायो, नर्थ क्यारोलिना र न्युह्याम्पसायर जाने व्यस्त भ्रमण तालिका रहेको कोन्वे बताउँछन् । —रासस÷एपी
निर्वाचनमा हाम्रो भूमिका छैनः रूस
मस्कोः रूसले अमेरिकी निर्वाचन अभियानमा हस्तक्षेप गर्ने अधिकार पनि नरहेको इच्छा पनि व्यक्त नगरेको सोमबार रूसी प्रशासन केन्द्र क्रेमलिनले जनाएको छ । अमेरिकी निर्वाचन ‘अमेरिकीहरूको आन्तरिक मामिला' भएको तर त्यहाँ कैयौं समस्या बाहिर आएको क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले बताए ।
उनले अमेरिकी विभिन्न समूहले अमेरिकी राष्ट्रपतीय निर्वाचन अभियानमा डेमोक्रेटिक पार्टीका उम्मेदवार हिलारी क्लिन्टन वा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पसँग रूसलाई मुछेर हेरिएको भन्दै रूस कसैको पक्षमा नलागेको बताए । जुलाईमा अमेरिकी डेमोक्रेटिक नेसनल कमिटीका इमेल चुहावट भएपछि यसमा अमेरिकी राजनीतिज्ञले रूसी ह्याकरलाई दोष लगाएका र राष्ट्रपति बाराक ओबामाले अमेरिकी निर्वाचनमा रूसले प्रभाव पार्नसक्ने भनी प्रतिक्रिया दिएका थिए ।
त्यसैगरी अक्टुबरमा अमेरिकी गुप्तचर तथा सुरक्षा संघसंस्थाहरूले संयुक्त रूपमा विज्ञप्ति जारी गरी रूसलाई अमेरिकी राजनीतिक संघसंस्थामाथि आक्रमण गरेको भनी रूसको आलोचना गरेका थिए । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले तत्कालै उक्त भनाइको खण्डन गरेका थिए ।
पुटिनले जसले मस्कोमाथि अमेरिकी निर्वाचन अभियान प्रभावित पार्ने प्रयास गरेको भनी रूसको आलोचना गर्ने शक्तिले अमेरिकी निर्वाचनलाई वास्तविक विषयबाट ध्यान भंग गर्ने प्रयास गरेको बताएका थिए ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)