लेखकहरू आश मात्रै देखाउँछन्

लेखकहरू आश मात्रै देखाउँछन्

रंगमञ्च कुनकुन विधाको सान्निध्यमा हुन्छ ?
रंगमञ्च सबै कला मिसिएर बन्ने दृश्य हो । रंग, संगीत, काव्य, नृत्य र प्रविधि मिसिएर समग्र रंगमञ्च तयार हुन्छ ।

तर, अरु विधासँग राम्रो सम्बन्ध नबनेको हो ?
त्यसो गर्न हामी रंगमञ्चमा प्रयासरत र अभ्यासरत छौं । भौतिक रूपमा पनि नाटकघरहरूले कवितावाचन, चित्रकला कार्यशाला, संगीतका कार्यक्रम आदि गरेर वा तिनलाई नाट्यप्रस्तुतिमा समेटेर फराकिलो हुने कोशिस गरिरहेका छन् ।

रंगकर्मी हुनुको आनन्द र दुःख के हो ?
कलाकारका रूपमा दर्शकको स्वाश–प्रस्वाश महशुस गर्दै मञ्चमा भूमिका निर्वाह गर्दाको क्षण सबभन्दा आनन्ददायी लाग्छ । निर्देशक वा अन्य भूमिकामा रहँदा नाटकको दृश्यसँगै दर्शकको अनुहारमा आउने परिवर्तन र संवेग नियाल्दा बडो सुख अनुभूत हुन्छ । नाटकको मञ्चनपछि जब मञ्च भत्काइन्छ, विस्तारै त्यसअघिका अनुभूति, घटना र दृश्य स्मृतिमा मात्रै रहन्छन् । केही दिनसम्म नमिठो लाग्छ । एक किसिमको रिक्तता महशुस हुन्छ । तर, रंगकर्मी हुनुमै दुःखचाहिँ केही देख्दिनँ म । किनभने यो मलाई कसैले जबर्जस्ति भिराइदिएको होइन ।

रंगमञ्चबारे सर्वसाधारणबीच गएर प्रतिक्रिया सुन्नुभएको छ ?
नाटक लिएरै लगभग ५० जिल्ला पुगेको छु । काठमाडौँमा पनि नियमित नाटक मञ्चन हुँदा हरेक दिन दर्शकसँग अन्तरक्रिया हुन्छ । बानी परेका दर्शक अचेल राम्रो नाटक पर्खी बस्छन् । तर, अझै ठूलो जमात नाटकलाई सामान्य ठट्यौली ठान्छन् । उनीहरूले परिस्कृत रंगमञ्चको स्वाद चाख्न पाएकै छैनन् ।

नेपाली रंगमञ्चमा नेपाली नाटक किन कम ?
नाटक छन् तर ज्यादै सीमित । छनोटको अवसर कम छ । अर्कातिर, हामी संसारका राम्रामध्येका गीत सुन्न चाहन्छौं, किताब पढ्न चाहन्छौं । राष्ट्रियता र सांस्कृतिक सीमाहरू भत्काएर राम्रा फिल्म हेर्न चाहन्छौं । एउटा रंगकर्मी वा निर्देशकले पनि नाटक छान्दा त्यही गर्छ ।

नेपाली नाटकमा लेखिनैपर्ने तर छुटिरहेका विषय के हुन् ? कसले लेखे हुन्थ्यो भन्ने अपेक्षा गर्नुहुन्छ ?
विषय अथाह छन् । हाम्रा स्थानीय ‘मिथोलोजी’ र संस्कृतिमाथि नाट्य लेखन हुन सक्छ । अझ, नेपाली समाज र राजनीतिको पछिल्लो विसंगति आइदिए हुन्थ्यो । अभि सुवेदी, सरुभक्त, अशेष मल्ल, कुमार नगरकोटी, खगेन्द्र लामिछाने, विजय विस्फोट, कृष्ण शाह यात्री, फूलमान बल, शिव रिजाल, केदार श्रेष्ठ आदिले लेखिरहनु भएको छ । रंगमञ्च बुझेका लेखक अविनाश श्रेष्ठ, नयनराज पाण्डे, नारायण ढकाल, उपेन्द्र सुब्बा, शारदा सुब्बाजस्ता लेखकबाट मेरो अझै अपेक्षा हो । कवि मनु मञ्जिलले लेखे भने गज्जब हुन्थ्यो । धेरै पटक भनेको पनि छु । कवि सरिता तिवारी, सीमा आभास, विमला तुम्खेवासँग पनि नाटक लेखनबारे धेरै कुरा भएको छ । आश मात्रै देखाउँछन्, लेख्दैनन् ।

तपाईंको निर्देशनमा अभि सुवेदीको नाटक ‘चिरिएका साँझहरू’ मञ्चन हुँदैछ । उहाँको नाटक निर्देशन गर्नुका चुनौति र सजिला के–के हुन् ?
उहाँका प्रायः नाटकले कतै न कतै सांस्कृतिक यात्रा गर्छन् । जसले हाम्रो समय र समाज बोल्छ । उहाँ प्रायः नाटकमा मिथ र सांस्कृतिक पात्रलाई विनिर्माण गरेर उभ्याउनुहुन्छ । तिनले चेतनाको कुरा गर्छन् । उहाँका नाटक अलिक ओख्खर जस्ता हुन्छन् । बाहिर साह्रो जस्तो लाग्ने तर गुदी भएका, काव्यिक । यस्ता नाटक गर्दा चुनौति त हुन्छ नै । किनभने यस्ता नाटक गर्दा लेखेको संवाद बोलेर मात्रै हुन्न । दृश्य निर्माणका निम्ति अनुसन्धान र मिहिनेत गर्नु पर्छ । 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.