मधुमेहबाट दृष्टि गुम्ने खतरा !
‘मधुमेह रोगमा आँखा’ भन्ने नाराका साथ यस वर्ष विश्व मधुमेह दिवस संसारभरि मनाउन लागिएको छ । सन् १९९१ देखि नोभेम्बर १४ देखि हरेक वर्ष मधुमेह रोग र यसले पार्ने शारीरिक जटिलताका बारेमा यो दिवस मनाउन लागिएको हो । अन्तर्राष्ट्रिय मधुमेह महासंघले इन्सुलिन अर्थात् मधुमेह रोगको उपचारमा प्रयोग हुने औषधिको आविष्कारक फ्रेडरिक ब्यान्टिनको जन्म दिन पारेर विश्व मधुमेह दिवसको घोषणा गरेको थियो ।
मधुमेह रोगको अवस्था
मधुमेह रोग संसारभरि नै नसर्ने रोगमध्ये प्रमुख स्वास्थ्य समस्याको रूपमा देखिएको छ । अन्तर्राष्ट्रिय मधुमेह महासंघका अनुसार सन् २०१५ मा चार सय १५ मिलियन मानिसहरू मधुमेहबाट प्रभावित भएको र यो संख्या सन् २०४० मा ६ सय ४२ मिलियन पुग्ने अनुमान गरेको छ ।
हाल दक्षिणपूर्वी एसिया महादेशमा ७८.३ मिलियन मानिस मधुमेहबाट प्रभावित छन् । यो संख्या सन् २०४० झन्डै दोब्बर पुग्ने आँकडा छ । हाल विश्वमा प्रत्येक ११ जना वयस्कमध्ये एकजना मधुमेहबाट प्रभावित भएको पाइन्छ । प्रत्येक दुई मधुमेहका बिरामीमध्ये एकजना बिरामीलाई आफूलाई मधुमेह भएको जानकारी छैन ।
यस प्रकार संसारभर नै विकराल रूपमा बढ्दै गइरहेको मधुमेह रोगका तीन चौथाइ बिरामी संसारका न्यून र मध्यमवर्गीय देशहरूमा पाइएको छ । संसारभर प्रत्येक ६ सेकेन्डमा एकजना व्यक्तिको मधुमेहका कारण मृत्यु हुने गर्दछ । सन् २०१५ मा मात्र पाँच मिलियन व्यक्तिको मधुमेह रोगबाट मृत्यु भएको थियो । संसारमा करिब ६ सय ७३ विलियन अमेरिकन डलर अर्थात् स्वास्थ्यमा हुने गरेको कुल खर्चमध्ये १२ प्रतिशत खर्च मधुमेहको उपचारमा हुने गरेको देखिन्छ ।
के हो मधुमेह ?
शरीरको प्यांक्रियाज भन्ने ग्रन्थीबाट निस्किने इन्सुलिन ग्रन्थीरसको उत्पादन नभएमा अथवा उत्पन्न इन्सुलिनले राम्रो काम गर्न नसकेमा रगतमा चिनीको मात्रा आवश्यकताभन्दा बढी हुने अवस्थालाई मधुमेह रोग अर्थात् चिनी रोग भन्ने गरिन्छ । इन्सुलिन उत्पादन बन्द भई हुने मधुमेहलाई पहिलो प्रकारको मधुमेह भनिन्छ जुन ३० वर्षअगावै देखा पर्दछ ।
वयस्क अर्थात् ३० वर्षको उमेर माथिका व्यक्तिहरूलाई दोस्रो प्रकारको मधुमेह हुने गर्दछ, जसमा इन्सुलिन उत्पादन भए पनि यसले राम्रो काम गर्न सक्दैन । मधुमेहमा शारीरिक तौल बढी हुने, व्यायाम कम गर्ने र वंशानुगत बढी हुने गर्दछ । गर्भावस्थामा कतिपय महिलालाई रगतमा चिनीको मात्रा बढ्ने गर्दछ । जसलाई जेस्टेस्नल डाइबिटिज भन्ने गरिन्छ ।
धेरैजसोमा शिशुको जन्मपछि ठीक भए पनि केही व्यक्तिमा यो मधुमेहको रूपमा पछिसम्म रहन्छ । यस्तो मधुमेहमा आमा र बच्चा दुवैलाई धेरै जटिलता आउन सक्दछ । अन्य रोगमा उपचारको लागि प्रयोग गरिने औषधि जस्तै कोरटिकोस्टेरोइड समूहका औषधिको सेवन गर्दा पनि रगतमा चिनीको मात्रा बढ्न सक्छ । पहिलो प्रकारको मधुमेहलाई उपचारमा इन्सुलिन सुईको आवश्यकता पर्छ भने दोस्रो प्रकारको मधुमेहमा खाने औषधिको माध्यमबाट रगतमा चिनीको मात्रा नियन्त्रणमा राख्न सकिन्छ ।
लक्षण र मधुमेह
मधुमेह रोग लागिसकेपछि पनि लक्षणहरू नहुन सक्छन् । धेरैजस्तो देखिने लक्षणहरूमा धेरै पानी प्यास लाग्ने, भोक धेरै लाग्ने, छिनछिनमा पिसाब लाग्नु, दुब्लाउँदै जानु र हातखुट्टा झमझमाउने हुन्छन् । रगतमा चिनीको मात्रा बढ्दै जाँदा यसले शरीरका अत्यन्त संवेदनशील महत्वपूर्ण अंगहरू जस्तै मिर्गौला, मुटु, आँखा र स्नायुहरूमा असर गरी व्यक्तिलाई मृत्युको मुखसम्म पुर्याउँछ ।
मधुमेहमा आँखा
मधुमेहका बिरामीहरूमा अन्य व्यक्तिको तुलनामा दुई गुणा बढी आँखाको समस्या हुन्छ । २५ औं गुणा बढी अन्धोपनाको सम्भावना हुन्छ । रगतमा चिनीको मात्रा बढ्दा आँखा धमिलो हुने र लगाएको चस्माले काम नदिने हुन सक्छ । मोतीबिन्दु, जलबिन्दु र आँखाको स्नायु नसाको समस्या मधुमेहका बिरामीमा बढी देखिन्छन् ।
मधुमेहको खास असर भने आँखाको भित्री भागमा रहेको दृष्टि पर्दामा हुने गर्दछ । दृष्टिपर्दा स्नायु तन्तुले बनेको एक संवेदनशील भाग हो । मधुमेहले शरीरका अन्य अंगहरूमा जस्तै रक्तनसामा असर गरी आँखाको पर्दामा रक्तस्राव हुने, सुन्निने र नयाँ कमजोर रक्तनसाको विकास हुन थाल्छ । समयमै आँखाको उपचार नभएमा आँखाभित्र अत्यधिक रक्तस्राव हुने, पर्दा खुम्चन गई दृष्टि पूर्णरूपमा बिग्रने हुन्छ । मधुमेहले गर्दा आँखाको दृष्टि पर्दामा पुर्याउने असरलाई डाइबेटिक रेटिनोपेथी भनिन्छ ।
महत्वपूर्ण कुरा के छ भने आँखाको पर्दामा असर भए पनि रोगको अन्तिम अवस्था नभएसम्म बिरामीलाई यसका कुनै पनि लक्षणहरू देखिँदैनन् । आँखाको पर्दामा धेरै नै क्षति भइसके पछि मात्र बिरामीलाई आँखाको दृष्टि धमिलो अनुभव हुन थाल्छ ।
अन्य लक्षणहरूमा आँखाको भित्री पानीमा (भिट्रीयस) रक्तस्राव हुँदा आँखा अगाडि कालो छायाँ देखिने दृष्टि एक्कासि धमिलो हुने र पर्दा सुन्निएको अवस्थामा आँखा धमिलोको साथै सिधा चिजहरू बांगो देखिने हुन सक्छ । मधुमेहका बिरामीमा अन्धोपनको प्रमुख कारण यही डाइबेटिक रेटिनोपेथी हो ।
संसारमा हुने गरेको अन्धोपनमध्ये विश्व स्वास्थ्य संगठनका अनुसार डाइबेटिक रेटिनोपेथी पाँचौं कारणमा पर्दछ । रगतमा चिनीको मात्रा नियन्त्रणमा नहुने साथमा उच्च रक्तचाप रगतमा चिल्लनेको अधिकता, मिर्गौलामा असर भएका व्यक्तिहरू, धूमपान, रक्तअल्पता आदिबाट प्रभावित मधुमेहका व्यक्तिहरूलाई डाइेटिक रेटिनोपेथीको समस्या छिटो र बढी हुने गर्दछ ।
मधुमेह भएको समय अवधि बढ्दै जाँदा आँखाको पर्दामा हुने असर बढ्दै जान्छन् । विकसित मुलुकमा गरिएका अध्ययनअनुसार मधुमेह रोग पत्ता लाग्दा करिब पाँच प्रतिशतको पर्दामा असर भएको पाइएको छ भने हाम्रो देशमा गरिएको अध्ययनले यो संख्या दोब्बरभन्दा बढी देखाएको छ ।
यसको मुख्य कारण रगतमा चिनीका मात्रा नियन्त्रणमा नहुनु र रोग समयमै पत्ता नलाग्नु हो । मधुमेह रोग भएको २० वर्षका अवधिमा पहिलो प्रकारका मधुमेहको करिब सबै र दोस्रो प्रकारको मधुमेहका दुई तिहाइ बिरामीमा आँखाको पर्दामा असर हुने गरेको देखिएको छ ।
मधुमेहले शरीरका अन्य अंगहरूमा जस्तै रक्तनसामा असर गरी आँखाको पर्दामा रक्तस्राव हुने, सुन्निने र नयाँ कमजोर रक्तनसाको विकास हुन थाल्छ । समयमै आँखाको उपचार नभएमा आँखाभित्र अत्यधिक रक्तस्राव हुने, पर्दा खुम्चन गई दृष्टि पूर्णरूपमा बिग्रने हुन्छ ।
विश्वमा गरिएका अध्ययन र विश्व स्वास्थ्य संगठनको प्रतिवेदनअनुसार मधुमेहका बिरामीमध्ये एक तिहाइ बिरामीलाई डाइबेटिक रेटिनोपेथी देखिन्छ जसमध्ये एक तिहाइ बिरामीको दृष्टि जोखिमको कारण तुरुन्त आँखाको उपचार चाहिन समूहमा पर्दछन् ।
मधुमेहको अवस्था
नेपालको सन्दर्भमा खासगरी सहरी क्षेत्रमा मधुमेह भयावह रूपमा बढ्दै गइरहेको र हाल करिब १० लाख मानिस मधुमेहबाट प्रभावित भएको अनुमान गरिएको छ । यसअनुसार पनि करिब तीन लाख व्यक्तिलाई डाइबेटिक रेटिनोपेथी भएको र करिब एक लाख मानिसहरू यसको कारण दृष्टि जोखिममा रहेको सहजै अनुमान गर्न सकिन्छ । ८० प्रतिशतभन्दा बढी मधुमेहबाट हुने अन्धोपन नेपालजस्तो अल्पविकसित देशहरूमा हुने गरेको छ ।
डाइबेटिक रेटिनोपेथीको उपचार
डाइबेटिक रेटिनोपेथीको मुख्य उपचार लेजर पद्धति हो । यो विशेष खालको प्रकाशले आँखाको पर्दामा सेकाई गरिने अत्यन्त सजिलो र सस्तो उपचार पद्धति हो जसले पर्दाको असरलाई बढ्न नदिई दृष्टि बिग्रनबाट बचाउँछ । यसर्थ डाइबेटिक रेटिनोपेथीको सुरुको अवस्थामै पहिचान गरी लेजर उपचार गर्न सके दृष्टि जोगाउन सकिन्छ ।
पछि रोगको गम्भीरताअनुसार पर्दाको मुख्य भागमा बढी सुजन भएमा आँखाभित्र विशेष सुई दिई उपचार गर्नुपर्ने हुन्छ भने आँखाभित्र अत्यधिक रगत धेरै लामो समयसम्म रहेमा र पर्दा उप्किएको अवस्थामा आँखाको शल्यक्रियामार्फत उपचार गर्नुपर्ने हुन्छ ।
यस्तो अवस्थासम्म आइपुग्दा पर्दामा धेरै क्षति भइसक्ने हुँदा उपचारपश्चात् पनि राम्रो दृष्टि जोगाउन भने सकिँदैन । पर्दामा असर भए पनि बिरामीलाई सुरुमा कुनै पनि लक्षण नहुने भएकोले रोग गम्भीर अवस्थामा पुग्नुअगावै सुरुको अवस्थामा पर्दाको असर थाहा पाउन मधुमेह रोग पत्ता लाग्दा साथ र नियमित वर्षमा एक पटक तथा आँखाको पर्दामा असर देखा परेमा रोगको गम्भीरताअनुसार उपचारपश्चात् पनि नियमित नेत्र विशेषज्ञको सल्लाहअनुसार आँखा परीक्षण गराइराख्नुपर्ने हुन्छ ।
आँखाको उपचारसहित रगतमा चिल्लोको नियन्त्रण, उच्च रक्तचापको उपचार, धूमपानबाट टाढै रहनु, मिर्गौलाको समयमै उपचार हुनु, रक्तअल्पताको उपचार र गर्भावस्थामा छिटोछिटो आँखा परीक्षण गर्नु पर्दछ । यसले पर्दाको असर बढ्नबाट जोगाउन सक्छ ।
अतः नेत्र चिकित्सकसँगै अन्य सम्बन्धित चिकित्सकको नियमित निगरानीमा रही उपचार गर्नुपर्ने हुन्छ । नेत्र चिकित्सकबाहेक सामान्य चिकित्सकको कक्षमा पनि आँखाको पर्दाको फोटो खिची तथा अन्य मेसिनबाट असर तुरुन्त पत्ता लाग्दछ र दृष्टि जोखिममा रहेका बिरामीलाई परिचान गरी तुरुन्त आँखा अस्पतालमा पठाउँदा आँखाको समयमै उपचार सम्भव भई दृष्टि जोगाउन धेरै सहयोग हुन्छ ।
चिकित्सकको निगरानीमा मध्यमवर्गीय स्वास्थ्यकर्मीहरूलाई विशेष तालिम दिई उनीहरूले पर्दाको फोटो खिच्न सक्छन् भने दृष्टि जोखिममा रहेको डाइबेटिक रेटिनोपेथीको पहिचान गरी आवश्यक परामर्श दिन पनि सम्भव भएको हाम्रो देशमा गरिएका अध्ययबाट पृष्टि भएको छ ।
जनचेतनाको अभाव
मधुमेहको आँखामा असरको ज्ञानको कमी, आँखा परीक्षण सेवाको अभाव, आँखामा असर परेका व्यक्तिको उपचारको लागि चाहिने दक्ष जनशक्ति तथा साधनस्रोतको कमीहरू मधुमेहको आँखामा पार्ने असरको उपचारमा चुनौतीको रूपमा रहेका छन् । बिरामी निकै ढिलो गरी आँखा अस्पताल आइपुग्ने हुँदा धेरै बिरामीको दृष्टि जोगाउन सकिएको छैन । समयमै आँखाको पर्दाको असर पहिचान गरी उपचार गर्न सके मधुमेहजन्य अन्धोपनाबाट पूर्ण रूपमा बच्न सकिन्छ ।
मधुमेहको बिरामीमा समयमै आँखा परीक्षण गरिनुपर्ने कुराको महत्वको कारण यस वर्षको विश्व मधुमेह दिवसको नारा ‘मधुमेहमा आँखा’ राखी यससम्बन्धी व्यापक प्रचारप्रसार गर्न खोजिएको छ । मधुमेह रोग र यसबाट उत्पन्न दृष्टिविहीनता एक प्रमुख स्वास्थ्य समस्याको रूपमा देखा परेको हाम्रो देशमा पनि विश्व मधुमेह दिवसको नीलो आकारको गोलाकार चिन्हको अर्थ जस्तै मधुमेह रोगसँग सम्बन्धित सम्पूर्ण व्यक्तिहरू, संघसंस्था तथा सरकारी निकाय एकजुट भई लागेमा मधुमेहजन्य अन्धोपनालगायत सम्पूर्ण शारीरिक असर तथा यसबाट उत्पन्न अकाल मृत्युलाई न्यूनीकरण गर्नमा अवश्य सफल हुनेछौं ।
(लेखक तिलगंगा आँखा प्रतिष्ठानमा वरिष्ठ नेत्र तथा रेटिना रोग विशेषज्ञका रूपमा कार्यरत छन् )