बीपीको विदेश नीति
हालै ९३ वर्षको उमेरमा निधन भएका इजरायलका नवौं राष्ट्रपति सिमोन पेरेस र बीपीको इरालाको व्यक्तिगत जीवन र राजनीतिक विचार धारामा धेरै समानता थियो । त्यसैले होला पेरेस बीपीका प्रशंसक थिए । दुवैको जीवन बाल्यकालदेखि नै संघर्षमय रह्यो । पेरेस युरोपमा जताततै यहूदीविरुद्ध सामाजिक/राजनीतिक क्रियाकलाप बढिरहेका बेला पोल्यान्डमा जन्मेका थिए । सन् १९३४ मा ११ वर्षको उमेरमा उनको परिवार प्यालेस्टाइन स¥यो , जतिखेर इजरायलको स्थापना भइसकेको थिएन ।
बीपी भारतको बनारसमा जन्मिएका थिए । राणा प्रधानमन्त्री चन्द्रशमशेरले बीपीका पिताजी कृष्णप्रसादको सर्वस्वहरण गरी देशनिकाला गरे पछि कोइराला परिवार उत्तर भारतको मैदानी भागमा यायावर जीवन बिताउन बाध्य थियो । बीपीको बाल्यकाल/ किशोरावस्था त्यस्तै वातावरणमा बित्यो ।
एकातिर महात्मा गान्धीको नेतृत्वमा चलिरहेको भारतको स्वतन्त्रता आन्दोलनको प्रभाव, अर्कोतिर आफ्नै परिवारले भोग्नुपरेको कष्ट । बीपीको मनमा राजनीति स्वभावतः आउने नै भयो । बीपीले क्यान्सरसित जुध्दै सन् १९८२ मा ६८ वर्षको उमेरमा देहत्याग गरे ।

पेरेस ९३ वर्ष बाँचे र इजरायलको राजनीतिमा ७० वर्ष सक्रिय रहे । सन् १९५९ मा नेपालमा भएको प्रथम आमनिर्वाचनमा बीपी निर्वाचित भई प्रधानमन्त्री बने, त्यही वर्ष पेरेस पनि इजरायलको संसद् नेसेटमा निर्वाचित भए । पेरेस इजरायलको स्थापना र अस्तित्वको राजनीतिमा आजीवन सक्रिय रहे भने बीपी नेपालमा प्रजातन्त्रको स्थापना र अस्तित्वका लागि ।
मैंले पेरेसलाई सन् १९९४ मा संयुक्त राष्ट्रसंघ न्यूयोर्कमा भेटेको थिएँ । उनलाई भनें, ‘ सन् १९८२ मा बीपीको इरालाको देहावसान हुँदा तपाईंले पठाउनुभएको शोक सन्देश मैंले अनुवाद गरेको थिएँ ।’ त्यो सुनेर उनले भने , ‘ त्यसो भए तपाईं नेपालको मानिस हुनुहुन्छ ।’ मैंले ‘ हो ’ भने पछि उनले भने , ‘ बीपी एक महान् व्यक्तित्व हुनुहुन्थ्यो ।’ हाम्रो कुराकानी हुँदा बीपीको देहावसान भएको १२ वर्ष भइसकेको थियो तर बीपी हामी दुवैको मनमा उच्च आदरका साथ रहेका थिए ।
बीपी कोइराला नेपाललाई साँच्चै स्वतन्त्र र सार्वभौमसत्तासम्पन्न देश मानेर चलेका थिए ।
सन् १९६० मा नेपाल–इजरायल दौत्य सम्बन्ध सामान्य अवस्थामा स्थापित भएको थिएन । सन् १९४८ मा स्थापित इजरायल राज्य सन् १९६० मा जम्मा १२ वर्षको थियो र विश्व समुदायसामु स्वतन्त्र अस्तित्व स्वीकृति र पहिचानको चुनौतीमा थियो । भारत र चीनले त सन् १९९२ मा मात्रै स्वतन्त्र राष्ट्र स्वीकारेर दौत्य सम्बन्ध स्थापना गरे । नेपालले स्वतन्त्र अस्तित्व स्वीकारे र दौत्य सम्बन्ध स्थापना गर्नु इजरायललाई ठूलो महत्वको विषय थियो । त्यसयताका करीब तीन दशकसम्म दक्षिण एसियामा नेपालमा मात्रै इजरायली दूतावास थियो ।
राणा शासनको एक शताब्दीसम्म विश्व समुदायबाट पृथक् रहेको नेपाल सन् १९५१ मा प्रजातन्त्र स्थापनापछि स्वतन्त्र पहिचानलाई विश्व समुदायमा प्रक्षेपण गर्ने क्रममा बढिरहेको थियो । सन् १९५५ को वाङडुङ सम्मेलनमा भाग लिनु, त्यसै वर्ष चीनसित कूटनीतिक सम्बन्ध स्थापना गर्नु, राष्ट्रसंघको सदस्यता लिनु आदि काम त्यसैका कडी थिए । दुई हजार वर्षदेखि स्वतन्त्र रहेको नेपाल कहिल्यै कसैको उपनिवेश थिएन । तथापि, राणाशासन कालको पृथकतावादी परराष्ट्र नीतिले गर्दा नेपाललाई विश्व समुदायका धेरैले चिन्दैनथे र प्रजातन्त्र स्थापनापछि कूटनीतिक सम्बन्ध विस्तार गर्दै थियो ।
कूटनीतिक सम्बन्ध राख्ने निर्णय गर्दा बीपीले साँच्चै स्वतन्त्र देश नेपालको प्रधानमन्त्रीजस्तो व्यवहार गरेको देखियो । तर , त्यो निर्णय भारतका प्रधानमन्त्री नेहरूलाई मन परेन । शायद नेहरू नेपालले भुटानले झैं भारतको संरक्षित देशजस्तो व्यवहार गरोस् र कोइराला आफ्नो निर्देशन अनुसार चलुन् भन्ने चाहन्थे ।
त्यसविपरीत बीपीले चीनको भ्रमण गरे । अनि, चीनसित समानस्तर का देशहरूबीच हुने शान्ति तथा मैत्री सन्धि गरे , जुन सन् १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धिभन्दा फरक थियो । नेहरू राष्ट्रसंघमा जाँदा उनलाई न्यूयोर्क विमानस्थलमा स्वागत गर्न भारतका विदेशमन्त्री कृष्ण मेननले गरेको आग्रह बीपी नमानेको कुरा ने हरूको कानमा परेको थियो ।
धेरै कारणले बीपीसित नेहरू रिसाएको कुरा महेन्द्रलाई थाहा थियो र नेहरूबाट उनको काममा विरोध नहुने विश्वास पनि । यही मौका छोपेर महेन्द्रले बीपीमात्र नभई संसद् र प्रजातान्त्रिक व्यवस्थामाथि नै प्रहार गरे , १ पुस ०१७ मा । बीपीले नेपाललाई साँच्चै स्वतन्त्र र सार्वभौमसत्तासम्पन्न देश मानेर चलेझैं प्रजातान्त्रिक समाजवादी विचार राख्ने सिमोन पेरेस इजरायलले सधैं अमेरिकाको सिफारिस अनुसार चल्नुपर्दैन भन्ने मान्थे ।
इजरायलले भारत र चीनलाई सैनिक गुप्तचर विमान र हातहतियार बेच्न लाग्दा अमेरिकाले रोकावट गथ्र्यो । जम्मा ८० लाख जनसंख्या भएको इजरायल स्वस्थ, सुशिक्षित, प्रतिभाशाली, मेहनती र आत्मनिर्भर जनताको देश हो । त्यसो नभई वास्तविक अर्थमा कुनै पनि देश स्वतन्त्र र सार्वभौमसत्तासम्पन्न हुँदैन ।
बीपी देशको आन्तरिक स्थिति, देशबाहिरको शीतयुद्ध र भारत–चीन तनावका कारण राजा महेन्द्रको शिकार भए । देश नै शिकार भयो । अहिले संसदीय प्रजातन्त्रको अनुभव तथा बीपीले अख्तियार गरेको साँच्चिकै स्वतन्त्र परराष्ट्र नीतिको अनुभवले हाम्रा अगाडि गम्भीर प्रश्न तेस्र्याएको छ । नेपालले परराष्ट्र नीतिमा कस्तो सोचविचार पुर्याउनुपर्छ र कूटनीतिमा कस्तो दक्षता हासिल गर्नुपर्छ ?
प्रतिक्रिया दिनुहोस !