अरब भूमिकी अमर कवि

अरब भूमिकी अमर कवि

साइमाको मनमा सधैं एक स्वतन्त्र देशको सजीव सपना सल्बलाइरहन्थ्यो । आफ्नो कविता र राजनीतिक कर्ममा उनी त्यसैका लागि जुधिरहिन् । समानता र न्यायको जगमा उठेको समाज निर्माणका लागि उनले आफैंलाई समर्पित गरिन् । उनका कवितामा नरम शब्दभित्र तनाव र आक्रोश भेटिन्छ ।

गणतान्त्रिक अरब मुलुक मि श्र उत्तरपूर्वी अफ्रिका र दक्षिणपश्चिमी एसिया जोड्ने एक सुन्दर देश हो । यसको सिमाना लिबिया, गजापट्टी र सुडानसित जोडिएको छ । सहारा मरुभूमिको धेरै भाग यही देशमा पर्छ । नाइल नदी सभ्यता यसको गौरवमय पहिचान हो । आफ्नो प्राकृतिक सौन्दर्यले बर्सेनि लाखौं विदेशी पर्यटक लोभ्याउने मिश्र नयाँ शताब्दीको आगमनसँगै भित्रभित्रै चौथो राष्ट्रपति होस्नी मुबारकको निरंकुश शासनबाट उन्मुक्ति खोज्दै थियो ।

सन् २०११ को अरब क्रान्तिले राष्ट्रपति मुबारकलाई सत्ताच्यूत गर्‌यो । सन् १९८१ देखि २०११ सम्मको उनको लामो शासनकाल अन्त्य भयो । मुबारकपछि राजनीतिक पार्टी 'मुस्लिम ब्रदरहुड'का अध्यक्ष मोहम्मद मोर्सी प्रथम निर्वाचित राष्ट्रपति बने । मिश्री सेनाले देशको पहिलो निर्वाचित राष्ट्रपति मोहम्मद मोर्सीको सरकारलाई सन् २०१३ को मध्यमा अपदस्थ गर्‌यो । भूतपूर्व सेनाप्रमुख अबदेल फतह एल-सिसी सन् २०१४ मा निर्विरोध राष्ट्रपति चुनिए ।

'मुस्लिम ब्रदरहुड'का हजारौं कार्यकर्ता सेनासँगको भिडन्तमा मारिए, कैयौं जेलमा थुनिए । त्यो संघर्षमा वामपन्थी इस्लामिस्ट र निहत्था प्रदर्शनकारीका पनि आमहत्या भएको थियो । सैन्य नेतृत्व रहेको नयाँ सरकारले हरेक क्षेत्रमाथि नियन्त्रण गर्न हरेक विरोध दबाउन थाल्यो । मोर्सीका कार्यकर्ता र समर्थकलाई योजनाबद्ध रूपमा दमन गर्न थालियो । शान्तिपूर्ण प्रदर्शनीमाथि पनि रोक लगाइयो । अबदेल फतह एल-सिसीले आफ्नो शासनकालमा प्रजातन्त्र पुनर्बहालीको वाचा गरे तर सिसीको शासनकालमा पनि होस्नी मुबारककै शासनकालको कहानी दोहोरियो । फलस्वरूप सर्वत्र सिसीको विरोध हुन थाल्यो ।

देशले अन्योलग्रस्त राजनीतिक अवस्था र कमजोर आर्थिक स्थिति बेहोर्दै थियो । चारैतिर असुरक्षा र अव्यवस्था व्याप्त थियो । युवावर्गमा असन्तुष्टि थियो । त्यस्तै असन्तुष्ट एक युवती थिइन्, बत्तीस वर्षीया साइमा अल-सबा । उनी एक्लो छोराप्रति समर्पित आमा, सक्रिय सोसलिस्ट एक्टिभिस्ट र सचेत कवि थिइन् । पाँच वर्षीय छोरा बिलालसित अलेक्जेन्ड्रिया (सिकंदरिया)मा बस्थिन् । कायरोको 'एकेडमी अफ आर्टस्'बाट लोक-साहित्यमा मास्टर्स डिग्री गरेकी थिइन् ।

मिश्रमा लोपोन्मुख रीतिरिवाज र संस्कारप्रति उनको लगाव थियो र यही विषयमा केन्द्रित भएर डकुमेन्ट्री पनि बनाउँदै थिइन् ।

जनवरी २४, सन् २०१५ का दिन छोरालाई एकजना साथीकहाँ छाडेर बिहान ९:३० बजेको रेल समातेर अन्य तीनजना साथीसित कायरो पुगेकी थिइन् साइमा । दिउँसो त्यहाँ पुगेर एउटा क्याफेमा नास्ता गरेर 'लेफटिस्ट सोसियलिस्ट पिपुल्स एलाइन्स' पार्टीको भूमिगत कार्यालयमा भेला भएका थिए, आन्दोलनको योजना बुन्न । साइमा निकै खुसी थिइन् त्यस दिन ।

साथीहरूसित ठट्टा गरिरहिथिन् । बेलाबेला अनाबाहेबक या-बिलादीको प्रसिद्ध क्रान्तिकारी गीत पनि गाउँदै थिई । उनका साथीहरू सन् २०११ को अरब क्रान्तिमा मारिएका सहिदलाई चौथो वार्षिकीका अवसरमा श्रद्धाञ्जलिस्वरूप फूलमाला अर्पण गर्न चाहन्थे । साइमा भने यसमा सहमत थिइनन् । उनलाई डर थियो, प्रहरीले मुस्लिम ब्रदरहुडका प्रदर्शनकारी भन्दै गोली हान्न सक्छन् । साथीहरूले फूलमाला लिएर हिँडेकालाई प्रहरीले गोली नहान्ने विश्वास गरे ।

लगभग ३० जनाको सानो समूह एउटा लामो ब्यानर बोकेर निस्कियो । सुरक्षाफौजले 'तहरीर स्क्वायर' पुग्ने बाटो तारबार र बख्तरबन्द गाडीले छेकेका थिए । हातमा फूलमाला बोकेर अघि बढिरहेको जुलुसलाई कुनै चेतावनीबेगर दंगा प्रहरीले अ श्रुग्यास र गोली प्रहार गर्न थाले । कतैबाट एउटा गोली आयो र साइमा अल-सबाको टाउकोमा लाग्यो । उनी ढलिन् । भागाभाग भयो । साथीहरूले उनलाई बचाउन गाडी खोजे, गुहार मागे । तर वरिपरि रहेका प्रहरीले कुनै पनि मद्दत गर्न दिएनन् । साइमाले त्यहीँ प्राण त्यागिन् ।

उनको अन्तिम क्षणलाई त्यहाँ रहेका फोटोग्राफर र भिडियोग्राफरहरूले पलपल खिचे । अर्को दिन ती तस्बिरहरू सारा संसारभरि मि श्री सरकारले गरेको दमनको कहानी सुनाउँदै फैलिए । ती तस्बिरमा साइमालाई एकजना साथीले कम्मरमा समातेर ठाडो राख्न खोजेको र रगत उनको गालाबाट बगिरहेको देखियो । अर्को भिडियो क्लिपमा एकजना साथी लडखडाइरहेको उनको शरीरलाई समात्दै अश्रुग्याँसको धुवाँबाट बचाउने व्यर्थ प्रयास गर्दै दौडिरहेको थियो भने साइमा डुबिरहेका आँखाले अगाडि हेरिरहेकी, मुख खुलेको, उनको छोटो केश अस्तव्यस्त र लुगामा धुलो लागेको देखिन्थ्यो । रगत उनको गाला हुँदै खैरो रङको स्वेटरबाट तल झरिरहेको थियो ।

साइमा अल-सबाको हत्यामा सुरक्षा फौजको हात थियो । भिडियो फुटेज र प्रत्यक्षदर्शीको बयानले यही भनिरहेको थियो । सरकार भने आफूलाई जोगाउन लागिपरेको थियो । 'मुस्लिम ब्रदरहुड'को सदस्यले हत्या गरेको हल्ला पनि चलाइयो । हुँदाहुँदै सबाकै पार्टीको डिपुटी चेयरपर्सन जोहदी अल-सामीले आफ्नो खल्तीमा लुकाएर राखेको रिवल्भरले गोली हानेको आरोपसम्म लगाइयो । यसरी सरकारले अनेक चाल चल्दै हत्यारालाई जोगाउने कोसिस गरिरह्यो ।

जनता र मिडियामा जोडदार विरोध भएपछि सरकारले उनको हत्यारा पता लगाउनैपर्ने भयो । स्थानीय र अन्तर्राष्ट्रिय संगठनहरूले निहत्था प्रदर्शनकारीमाथि ज्यादती भएको र अत्यधिक बल प्रयोग भएको आरोप पनि लगाए । यी आरोपबीच सरकारले २५ वर्षीय पुलिस अफिसरलाई हत्याको आरोपमा १५ सालको सजाय तोक्यो ।

साइमाको जन्म र पालनपोषण एक कट्टर मुस्लिम परिवारमा भएको थियो । उनको बाबा कट्टर धार्मिक गुरु थिए । उनले संस्कारको कट्टरताविरुद्ध आवाज उठाइन् । बाबाले छोरीको अगाडि घुँडा टेकिदिए । यसरी नै उनीभित्र विद्रोही स्वभाव हुर्कंदै गयो । सन् १९९० तिर उनी कविहरूको समूहसित आबद्ध भइन् । यही समूहसितको उठबसपछि उनको कविताप्रतिको लगाव झनै बढ्दै गयो । उनी दैनिक जीवन र राजनीतिमाथि कविता कोर्थिन् ।

'सोसलिस्ट पिपुल्स एलाइन्स' पार्टीका सदस्यहरू उनको वक्तृत्वकला देखेर उनलाई 'क्रान्तिको आवाज' भनेर सम्बोधन गर्थे । उनको पहिचान 'क्रान्तिको चिह्न'का रूपमा बन्यो । सन् २०११ को क्रान्तिपछि पार्टीमा सामेल भइन् । उनी हरेक प्रदर्शनीमा सहभागी बन्थी । राजनीतिक र सामाजिक काममा निकै खट्ने गर्थिन् । उनको सक्रियता देख्नलायकको हुन्थ्यो । उनी साह्रै दयालु र सहयोगी स्वभावकी थिइन् । उनको आफ्नै जीवनमा अशान्ति भए पनि उनी सबैलाई प्रेरणा र सहयोग दिने शान्त स्वभावकी थिइन् ।

अनुवादक तथा कवि मजिद जाहिरले साइमाका दुई कविता उनको हत्याको दुई हप्तापछि अंग्रेजी पाठक र श्रोताका लागि अनुवाद गरेका थिए । साइमाको मनमा सधैं एक स्वतन्त्र देशको सजीव सपना सल्बलाइरहन्थ्यो । आफ्नो कविता र राजनीतिक कर्ममा उनी त्यसैका लागि जुधिरहिन् । समानता र न्यायको जगमा उठेको समाज निर्माणका लागि उनले आफैंलाई समर्पित गरिन् । उनका कवितामा नरम शब्दभित्र तनाव र आक्रोश भेटिन्छ ।

मजिद जाहिरले अनुवाद गरेका दुई कविता थिए, 'पर्समा राखिएको एउटा चिठी' र 'म एउटी केटी हुँ, क्रिस्चियनको धार्मिक सभामा प्रतिबन्धित' ।

'पर्समा राखिएको एउटा चिठी' शीर्षकको पहिलो हराएको पर्ससित सम्बन्ध जोड्दै मानव हृदयमा रहेको माया र लगावको भव्य प्रस्तुति छ । यस कवितामा हाम्रो दैनिकीसित जोडिएका सानाठूला वस्तुहरूले हाम्रो भावना र विचारलाई पार्ने प्रभाव दर्शाइएको छ । यो सुन्दर कवितामा पर्सजस्तो निर्जीव वस्तुलाई पनि सजीवता प्रदान गरिएको छ, मर्मस्पर्शी शब्दको प्रयोगले । कवितामा हराएको पर्स पाउने आशामार्फत कवि साइमाले उनको देशले गुमाएको सुखशान्ति पुनः पाउने आशा दर्शाएकी छन् ।

'म एउटी केटी हुँ, क्रिस्चियनको धार्मिक सभामा प्रतिबन्धित' शीर्षकको दोस्रो कवितामा कविको आक्रोशको रंग गाढा छ । कट्टर मुस्लिम परिवारमा र्हुर्किएकी साइमाले यस कवितामा धार्मिक कट्टरतामाथि आफ्नो आक्रोश पोखेकी छन् ।

साइमा अल-सबाको मृत्यु कविता जगत्का लागि ठूलो क्षति हो । अरबी काव्यजगत्मा साइमा आशलाग्दो र सम्भावनापूर्ण आवाज थिइन् । क्रुर शासकले उनको आवाज मौन बनाए पनि उनका कविताहरूको आवाज कसरी मौन रहिरहन सक्छ र ?

'पर्समा राखिएको एउटा चिठी'

साइमा अल-सबा

पूरा विश्वासले त भन्न सक्दिनँ, साँच्चै
त्यो एउटा पर्समात्रै त थियो
तर हराएपछि एउटा समस्या आइपरेको छ
कि त्यो बिना कसरी सहुँ यो संसारलाई
विशेषतः
गल्लीहरूले हामी दुवैलाई साथसाथै चिन्थे
पसलहरूले मलाई भन्दा धेरै उसलाई चिन्थे
किनभने उसैले त दिन्थ्यो पैसा
चिन्थ्यो मेरो पसिनाको गन्ध र मन पराउँथ्यो त्यसलाई
चिन्थ्यो सारा बसलाई
ड्राइभरहरूसित बेग्लै सम्बन्ध थियो उसको
याद रहन्थ्यो उसलाई टिकटको मूल्य
र सधैं खुद्रा पैसा पूरा हुन्थ्यो उसित,
जब एकपटक मैले त्यो परफ्युम किनेँ
जुन उसलाई मन परेको थिएन
उसले पोखाइदियो सबै
र मलाई गर्नै दिएन त्यसको प्रयोग
अनि
मेरो परिवारको सबै सदस्यलाई माया गथ्र्यो
र सधैं साथमा राख्थ्यो उनीहरू सबैको एउटा तस्बिर
जसलाई माया गथ्र्यो ऊ ।
कस्तो लागिरहेको होला उसलाई अहिले
के डराएको होला ?
वा रिसाएको होला कुनै अपरिचित पसिनाको दुर्गन्धले
नयाँनयाँ बाटोदेखि दिक्क मान्दै ?
यदि ऊ गएको भए
हामी सधैं जाने स्टोरमा
के तिनै चिज नै छान्यो होला त उसले ?
अहिलेलाई, घरका चाबीहरू छन् उसित
र मलाई पर्खाइ छ उसको ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.