भोगदेखि बोधसम्म

भोगदेखि बोधसम्म

नन्दलाई यौन आशक्तिको अँध्यारो खाडलबाट उद्धार गर्न बुद्धले प्रयोग गर्नुभएको उपायले सम्भवतः बज्रयान सम्प्रदायको मार्ग प्रशस्त गर्‌यो । उपाय कौशल्य बज्रयानको मूल दार्शनिक आधार हो । राग र द्वेषबाट मुक्ति पाउन हरेक उपाय प्रयोग गर्नु खुल्ला रहनु बज्रयान हो ।

कपिलवस्तुमा एउटी यस्ती रूपसी पैदा भई, जसलाई देख्दा मानिस अल्मलिन्थे । रूपसी देख्दा ती मानिसको मनमा वासना जाग्थ्यो । रूपसीले तीनवटा नाम पाएकी थिईः शोभा र रूपले सुन्दरी, हठ र गर्वले मानिनी, चमक र कुलीनताले भामिनी । उसले आफूजस्तै जोडी पाई- राजकुमार नन्द, राजा शुद्धाधनकी कान्छी रानीको सुपुत्र । नन्द रूप, यौवन र सौन्दर्यले सबैका निम्ति चित्ताकर्षक थिए ।

सुडौल शरीर, प्रेमिल आँखा, मन्द मुस्कान । नन्दजस्तो होनाहार युवक र लोभलाग्दी युवती । सिद्धार्थ गौतम दरबार त्यागेर तपस्या गर्न हिँडेपछि सुनसान भएको राजमहल नन्द र उनकी प्रेमिका सुन्दरीका प्रेमलीलाले फेरि उज्यालो बनाएको थियो । चखेवा-चखेवीझैं प्रेममा डुब्दा राजकुमार नन्दलाई न कुबेरको पर्वाह थियो, न इन्द्रको । राजकुलमा पैदा भएका नन्दलाई राजधर्मको त हेक्कासमेत रहेन ।

प्रेमान्ध जोडीका आँखा एकअर्कालाई हेर्नमा लीन हुन्थे, चित्त एकआपसमा संवाद गर्न व्यस्त हुन्थे, शरीर परस्परमा आलिंगनरत हुन्थे । रमण गर्दागर्दा एकको शरीर थाक्यो भने अर्कोले अनेक लीला गरेर पुनः उत्तेजित बनाउँथे । सुन्दरीले शृंगार गर्दा नन्दले ऐना समाइदिन्थे, सुन्दरी जिस्केर आफ्ना ओठमाथि जुँगाका रेखी हाल्थी, नन्द ऐनाको सतहमा सास फेरिदिन्थे ।

धमिलो ऐनामा सुन्दरीले जुँगाले विकृत आफ्नै चेहरा देख्न पाउँदैनथी र आँखीभौं खुम्च्याएर नक्कली रिस प्रकट गर्थी । अन्ततः यी प्रेमीको विवाह सम्पन्न भयो । राजाले नन्दलाई देवप्रासादजस्तै भव्य महल दिए । नयाँ महलमा युगल जोडी पुनः प्रेमालापरत भए । सुगन्धलेपन, रतिक्रीडा र मनोविनोदमा दिन, महिना र वर्ष बितेको पत्तै भएन ।

तपस्या गर्न हिँडेका सिद्धार्थले सम्बोधी प्राप्त गर्नुभयो र एकदिन कपिलवस्तुको भ्रमणमा आउनुभयो र भिक्षाटन क्रममा नन्दको महलमा पुग्नुभयो । संयोग कस्तो पर्‌यो भने, दरबारमा भिक्षा माग्दै गर्नुभएको बुद्धलाई देखेर पनि सेवकहरूले खासै ध्यान दिएनन् । सबै आआफ्ना काममा व्यस्त थिए । कसैले बुद्ध भिक्षाका लागि आउनुभएको सूचना पनि दिएनन् । फलतः एकैछिन रोकिएर बुद्ध निस्किहाल्नुभयो ।

बुद्ध यसरी असम्मानित भएर गएको महलको छतमा कुनै काममा व्यस्त एउटी सेविकाले देखिरहेकी थिई । उसले राजकुमार नन्दलाई खबर गरिदिई । आफ्नी प्रियतमासँग बसिरहेका नन्द 'हत्तेरी कस्तो नजाती भयो' भन्दै तत्काल बाहिर निस्के र पर पुगिसकेका बुद्धलाई पछ्याउन थाले । उनले बाटैमा बुद्धलाई भेटिहाले र प्रणाम गर्दै असावधानीवश हुन गएको अपराधको निम्ति क्षमा याचना गरे । बुद्धले नन्दलाई आफ्नो भिक्षापात्र समाउन दिनुभयो र अघि लाग्नुभयो ।

नन्द मन नभए पनि बुद्धलाई पछ्याउन थाले । बुद्ध हिँडिरहनुभयो, नन्द लुरुलुरु पछि लागिरहे । नन्द बारम्बार पछाडि फर्कंदै महलको बार्दलीमा उभिएर आफैंतिर नियालिरहेकी प्रियतमालाई हेर्थे । प्रियतमाले आँखैले छिट्टै फर्कनु भनिरहेकी थिइन्, नन्दले मनमनै 'मलाई जान मनै कहाँ थियो र' भनिरहेका थिए ।

बुद्धको गौरवले अघि, पत्नीको प्रेमले पछि

नन्दलाई भगवान बुद्धको प्रेमले अघि बढ्नुमा गौरव बोध भइरहेको थियो, तर साथसाथै पत्नीप्रतिको अनुरागले पछि तानिरहेको थियो । अनिश्चयका कारण न उनी ढुक्कले अगाडि बढिरहन सकेका थिए न पछाडि फर्कन सकेका थिए । यो स्थिति ठीक त्यस्तै थियो जतिखेर मानसरोवर जान पौडिरहेका राजहंसहरू नदीको प्रवाह तीव्र भएको ठाउँमा न अघि बढ्न सक्छन् न पछि सर्न सक्छन् ।

बुद्धले अन्ततः नन्दलाई बिहारमा लैजानुभयो र उनको इच्छा नसोधी त्यहीं बस्ने व्यवस्था गरिदिनुभयो । अनेक युक्ति र उपदेशमार्फत भौतिक सुखको परित्याग गर्न र ध्यानको अभ्यास गर्न सुझाउनुभयो । तर नन्दका आँखामा हरपल आफ्नी लोभलाग्दी प्रियतमाको छवि घुमिरहन्थ्यो । ध्यान या तपस्यामा नन्दको मन एकरत्ति लागेन । उनको मनमा बुद्धका उपदेशको कुनै प्रभाव परेन । नन्द सदैव खिन्न रहन्थे ।

यो देखेर एकदिन बुद्धले आनन्दलाई भन्नुभयो, यी नन्दलाई भिक्षु बनाऊ । नन्दले शिर झुकाउँदै भने- म भिक्षु हुन्नँ । बुद्धले सम्झाउनुभयो- पत्नी सुख त्यागेर भिक्षु हुन सहज छैन तर तिम्रो मनमा जलिरहेको अनुरागको आगो निभाउने र शान्ति प्राप्त गर्ने एउटै उपाय प्रव्रज्या लिनु हो । अन्ततः बुद्धका सामु नन्दले 'म हजुरको उपदेश पालना गर्नेछु' भने ।

भिक्षु भएर गेरुवावस्त्र पहिरे पनि नन्दको मन परिवर्तन भएन । नन्द एक्लै बस्न थाले । सधैं उदास र खिन्न देखिन थाले । उनी मनमनै सोच्थे- म पत्नीको सम्झनाले पीडित छु, बुद्ध निर्वाणको सपना देखाउनुहुन्छ । एकातिर मनभरिको रतिराग, अर्कोतिर बुद्धको अनुशासनमा बिहारको बास । चित्त स्थिर नभएपछि यहाँ बस्नुको के सार भयो र, म त भिक्षु हुनु पनि उचित थिएन । कुनै उपायले महलमा फर्कन्छु र प्रियतमाको अँगालोमा जिन्दगी बिताइदिन्छु । यस्तै चिन्तना गरेर नन्दका दिन बित्थे ।

बुद्धले नन्द ध्यानको अभ्यास नगरेको थाहा पाइहाल्नुभयो । त्यसैले नन्दको चित्त स्थिर भएको थिएन । बुद्धले नन्दको नजिकै आएर सोध्नुभयो- तिम्रो मनमा के छ, किन शान्त देखिँदैनौ । नन्दले नढाँटी भने, 'भगवान, म प्रियतमाको बिछोडको पीडाले धर्ममा आनन्द अनुभव गर्न सकिरहेको छैन । मलाई तपस्याको सुख चाहिएन । म घर फर्कन चाहन्छु ।'

स्वर्गको सयर

नन्दको हालत बुझेपछि एकदिन बुद्धले एउटा उपाय सोच्नुभयो । बुद्धले नन्दलाई आफूसँगै स्वर्ग लैजानुभयो र स्वर्गका अप्रतिम सुन्दरी अप्सराहरूको दर्शन गराउनुभयो । घनघोर बादलबाट बिजुली निस्केजस्तै स्वर्गको नन्दन बनबाट रम्भा, तिलोत्तमा र मेनकालगायत एक से एक सुन्दरी अप्सरा मस्कँदै नन्दको सामु आए । नन्दको रागरञ्जित मन तत्क्षण ती अप्सरालाई आलिंगन गर्न उत्कण्ठित हुन थाल्यो ।

नन्दको मनमा राग पैदा भएको र पत्नीको अनुराग हटिसकेको थाहा पाएर बुद्धले भन्नुभयो- यी स्त्रीहरूको सौन्दर्यको उत्कर्ष देखेपछि तिमीलाई आफ्नी पत्नीको कत्तिको याद आइरहेको छ ठीकठीक भन । नन्दले अप्सराहरूको अक्षत रूपराशिका सामु आफ्नी प्रियतमाको सौन्दर्य फिका लागेको बताए । उनले नजिकैको रूखमा बसेकी एउटा आँखा नभएकी बाँदर्नीलाई देखाउँदै अगाडि भने- भगवान, यी अप्सराको सौन्दर्यको सामु मेरी पत्नी त्यो कानी बाँदर्नी जत्ति पनि छैन ।

अब तिम्रो के इच्छा छ ? भन्ने बुद्धको प्रश्नमा नन्दले भने, 'भगवान म अप्सरालाई आलिंगन गर्न चाहन्छु ।' बुद्धले भन्नुभयो, 'त्यसो हो भने तपस्या गर । यथेष्ट तपस्या नगरी कसैले पनि अप्सरालाई पाउन सक्दैन ।'

स्वर्गको यात्रापछि दुवै बिहारमा फर्किए । नन्दले घोर तपस्या आरम्भ गरे । अत्यन्त अल्पभोजन गरेर नन्द दिनरात ध्यानको अभ्यासमा लीन रहन थाले । यसरी एकाएक नन्दको स्वभाव परिवर्तन भएको देखेर बिहारमा गाइँगुइँ चल्न थाल्यो । एकाध भिक्षुहरूले छेडछाडसमेत गर्न पछि परेनन् । अप्सरा पाउनका लागि ध्यान बस्दैछन् यी भिक्षु । ध्यानकै अभ्यास गर्ने भए निर्वाण प्राप्तिका लागि गर्नु नि ।

यो कुराले नन्दको मनमा गहिरो प्रभाव पार्‌यो । ध्यानको अभ्यासले गर्दा क्रमशः मनमा रागरञ्जित विचार कम हुन थालेका थिए । सही र गलत के हो भन्ने हेक्का राख्न सक्ने भइसकेका थिए । ध्यानकै अभ्यास गर्ने भए स्त्री शरीरको भोगका लागि किन, निर्वाणकै लागि गर्नु उत्तम हो । क्षणिक सुखका लागि मरिमेट्नु किन, स्थायी शान्तिकै लागि अभ्यास गर्नु मनासिव हो । यी कुराको हेक्का उनी स्वयंलाई हुन थालिसकेको थियो । अतः त्यही दिनदेखि नन्द दुःखमुक्तिका लागि ध्यानको अभ्यासमा दत्तचित्त भए । ध्यानको विधि र पद्धति बुद्ध स्वयंले सम्झाउनुभएकै थियो । मनैदेखि अभ्यास गर्न थालेको केही दिनमै मन स्थिर हुन थाल्यो । स्थिरताले एकाग्रता बढायो ।

जीवनमा बुद्धिमानीको कुरा केही छ भने त्यो एकाग्रता हो र आफ्नो शक्तिलाई यत्रतत्र छरिदिनु बुद्धिहीनता हो । एकाग्रता ध्यान हो, एकाग्रता मुक्तिको बाटो हो । पहिला त नन्दको मन बारम्बार महलमा पुग्थ्यो, अनेक प्रकारका भोगविलास र सुखसयलको कल्पनाले तरंगित हुन्थ्यो । भौंतारिइरहने मनमा ध्यानको अभ्यासले एकाग्रता विकास भयो । नन्दको चेतना खुल्न थाल्यो । विचारहरू शान्त भए । प्रज्ञा जाग्यो । चार आर्य सत्य र अष्टांगिक मार्गको बोध भयो । उनलाई सताउने दुःख र क्लेशहरू मेटिए । समताको भाव उदय भयो । दुःखीहरूप्रति करुणा जाग्न थाल्यो ।

बज्रयानको आरम्भ

नन्दलाई यौन आशक्तिको अँध्यारो खाडलबाट उद्धार गर्न बुद्धले प्रयोग गर्नुभएको उपायले सम्भवतः बज्रयान सम्प्रदायको मार्ग प्रशस्त गर्‌यो । उपाय कौशल्य बज्रयानको मूल दार्शनिक आधार हो । राग र द्वेषबाट मुक्ति पाउन हरेक उपाय प्रयोग गर्नु खुल्ला रहनु बज्रयान हो । भनिन्छ,
पादलग्नं करस्थेन कण्टकेनैव कण्टकम्,
रागेणैवोद्धरेत् रागम् ।
अर्थात्, पैतालामा बिझेको काँडालाई झिक्न अर्को काँडा उपयोग गरिएजस्तै मनमा भएको रागलाई हटाउन रागकै प्रयोग गर्न सकिन्छ । यही नै बुद्धिमत्ता हो । बज्रयान तन्त्रयान हो । तन्त्र जीवनवादी हुन्छ, जीवनका हर आयामलाई स्वीकार गरेर अगाडि बढ्नु तन्त्रको विशेषता हो ।

कुनै उँचो लक्ष्य बोध हुनु र त्यो लक्ष्य प्राप्तिमा प्रवृत्त हुनु, तल्लीन हुनुमा जति आनन्द अर्थोक केहीमा हुँदैन । बुद्धत्वको भोक महसुस हुनु र कुनै पनि उपायले मनलाई ध्यानमा एकाग्र गर्न सक्नु जीवनको गरिमा हो । यो एकाग्रतामा सुरुदेखि नै आनन्द महसुस हुन्छ । जीवनमा निष्फलता अपराध होइन, निम्नकोटीको लक्ष्य हुनु अपराध हो । उच्चकोटीको लक्ष्य तय गरिएको छ भने निष्फलतामा पनि आनन्द हुन्छ । निम्नकोटीको लक्ष्य छ भने त्यसको प्राप्तिले पनि बेचैनी बढाउँछ ।

तथा तथा प्रवर्तेत यथा न क्षुब्भ्यते मनः
संक्षुब्धे चित्त रत्ने तु सिद्धिं नैव कदाचन ।

अर्थात्, मनले जे जे खोज्छ त्यो पूरा गर्नू । जे गर्दा मनमा कुनै प्रकारको क्षोभ बाँकी रहँदैन त्यो अपनाउनू । मनै क्षुब्ध भयो भने सिद्धि कहिल्यै हुँदैन ।

जेन गुरुहरू भन्ने गर्छन्ः जब भोक लाग्छ म खान्छु, जब थाक्छु म सुत्छु । अतीतको सम्झना र भविष्यको कल्पनाले मनलाई विकृत नबनाई वर्तमान अवस्थामा सहज रूपले बाँच्नु आफैंमा साधना हो । हाम्रो चित्त हामी जहाँ छौं त्यहीँ रहेका बेला ज्ञानोदयको झलक उपलब्ध हुन्छ । देख्दा देख्ने मात्रै, सुन्दा, सोच्दा र थाहा पाउँदा थाहा पाउने मात्रै अभ्यास हुनु अद्भुत साधना हो । कुनै पनि वाद, सिद्धान्त र दर्शनको चश्माले हेर्दा व्यक्ति वा वस्तु विकृत देखिन्छन्, जस्ताको तस्तै हेर्दा समस्त सृष्टि सुन्दर देखिन्छ । मनमा यही सहजता हुँदा नै सौन्दर्यबोध हुन्छ । यही बोधमा सृजना सम्भव हुन्छ ।

सहजता जीवनको अभिन्न अंग हो । सहज रूपले भोगको आशक्ति त्याग गर्न सकिन्छ । र यही नै अध्यात्म साधनाको आजसम्मको सर्वोत्तम विकास हो । बज्रयानलाई सहजयान पनि भनिन्छ । सहजयानलाई अपनाएको साधकको लक्ष्य त उँचो हुन्छ नै, तर उसले मनका हरेक विचारलाई स्वीकार गर्छ । साधकले विचारको गहिराइसम्म नियाल्छ तर कुनै पनि विचारप्रति आसक्त हुँदैन । यही क्रममा विचार तिरोहित हुन्छन् र साधकले निर्विचार हुनुको अपार आनन्द बोध गर्छ ।

राजकुमार नन्दलाई स्त्री सुखको गहिरो आशक्ति थियो । आफ्नी पत्नीको रूपराशि र तदनुकूल हाउभाउले राजकुमार हायलकायल भइसकेका थिए । बुद्धले आरम्भमा त अनेक उपदेश सुनाएर नन्दको मनको राग हटाउने चेष्टा गर्नुभयो । तर, ज्ञानका कुरा नन्दको दिमागमै पसिरहेका थिएनन् । भोगको अभावमा नन्दको मनको खिन्नता बढ्दै गइरहेको थियो ।

बुद्धले भन्नुभयो- खिन्न हुनुको साटो यथासम्भव उपाय अपनाएर चाहे जपबाट होस्, चाहे शक्तिशाली मन्त्र उच्चारण गरेर, चाहे सुन्दर कहावतको अभ्यास गरेर, आफ्ना लक्ष्य प्राप्तिको लागि अगाडि बढिरहनुपर्छ । यही बुद्धिमानी हो । बुद्धले नन्दको राग हटाउन अर्को रागको प्रयोग गर्नुभयो । बज्रयानको स्रोत बुद्धका कथा र उपदेशमै भेटिन्छ । बज्रयानले बुद्ध दर्शनलाई छोडेको छैन, बज्रयान त बुद्ध दर्शनको विकसित अवस्था हो ।

चेतनाको पर्दा थोरै उघ्रेका व्यक्ति ध्यानमा आकर्षित हुन्छन् र तिनीहरूलाई यही जन्ममै बुद्धत्व प्राप्ति सम्भव छ, त्यो पनि सहज रूपले सम्भव छ । बज्रयानले सहज रूपले सम्भव मार्ग देखाउँछ । यो मार्गले आसलाग्दा साधकलाई सागर पारी पुर्‌याउँछ । बज्रयान मुक्तियान हो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.