‘क्राइम एन्ड पनिस्मेन्ट’को १५० वर्ष

‘क्राइम एन्ड पनिस्मेन्ट’को १५० वर्ष

महान् रुसी उपन्यासकार फ्योदोर दोस्तोयव्स्की (१८२१-१८८१)को उपन्यास ‘क्राइम एन्ड पनिस्मेन्ट’ यो वर्ष एक सय ५० वर्षको भएको छ । कुनै उपन्यासको उमेर कति हो ? भन्न गाह्रो छ । त्यसैले यो पनि भन्न गाह्रो छ, ‘क्राइम एन्ड पनिस्मेन्ट’ लक्का जवान भयो वा बूढो । जे होस्, डेढ शताब्दीसम्म जीवित रहिरहने पुस्तकको सूचीमा यसले पनि आफ्नो नाम दर्ज गराएको छ । त्यो पनि पुस्तकालयका धुलाम्मे र्याकमा खाँदिएर होइन, पुस्तक बजारका र्याकहरूमा जीवन्त भएर । सर्वविदित छ, यो उसको आयुको अन्तिम बिन्दु होइन । यो उपन्यास सन् १८६६ को जनवरीदेखि ‘द रसियन हेराल्ड’मा छापिन थालेको थियो । नोभेम्बरसम्म लगातार छापियो । सन् १८६७ मा यसले पुस्तकाकार पायो । उपन्यास छापिनासाथ नै यसले रुसी बौद्धिक समुदायमा हलचल ल्याउन सुरु गरेको थियो । पछि यो विभिन्न भाषामा अनुदित भयो र संसारभर तहल्का पिट्न थाल्यो । उपन्यासका पात्रहरू रस्कोलनिकोभ र सोन्या जीवन्त बनिरहे । ‘क्राइम एन्ड पनिस्मेन्ट’को एक सय पचासौं जन्मवर्षमा ‘फुर्सद’को सेलिब्रेसनः

मेरी मावली हजुरआमा र आमा सानो छँदा पृथ्वीलाई अन्धकारले छोपिसकेपछि कथाहरू सुनाउनुहुन्थ्यो । साहित्यमा मेरो यसैगरी रुचि बढ्यो । नेपाली, बंगाली, हिन्दी, अंग्रेजी र फ्रेन्च साहित्य खुब पढेँ । छोरी जन्मेपछि उसलाई पनि ‘बेडटाइम स्टोरिज्’ धेरै सुनाएँ । यसरी कालजयी साहित्यप्रति रुझान् बढ्न थाल्यो । तर, विश्वविद्यालयमा पढाउँदा दर्शन र समालोचनाको जिम्मेवारी पनि सँगै थपियो । विगत केही वर्षदेखि फेरि पुराना चर्चित साहित्य पढ्दैछु । यसै क्रममा फ्योदर दोस्तोयव्स्कीका ‘क्राइम एन्ड पनिस्मेन्ट’, ‘द ब्रदर्स कारामाजोभ’ मैले पटकपटक दोहोर्याएर पढेँ ।

दोस्तोयव्स्की तत्कालीन सोभियत संघको मध्यमवर्गीय परिवारमा जन्मेका थिए । कट्टर धार्मिक परिवेश थियो उनको घरमा । राम्रै शिक्षा पाएका थिए । तर पनि उनी टोल्स्टय र तुर्गेनेभको तुलनामा आफूलाई होचो कदका ठान्थे, बौद्धिक रूपमा । ती दुवै रुसी लेखकले फ्रेन्च भाषाको शिक्षा अनि धर्मनिरपेक्ष परिवेश पाएका थिए । दोस्तोयव्स्कीले कान्ट, हेगेललाई मात्र छिचोलेका थिएनन्, कुरान सरिफकोसमेत राम्रो अध्ययन गरेका थिए । निकोलाई गोगोल, सेक्सपियर र गोथेमा समान रुचि थियो उनको । जर्मन दार्शनिक तथा साहित्यकार फ्रेडरिक सिलरबारे उनलाई आद्योपान्त जानकारी थियो । उनी युरोपेली सचेतना युग (इन्लाइटमेन्ट एज)का प्रखर विरोधी थिए किनभने विचार र तर्कले हामीलाई कुनै निश्चित गन्तव्यमा पुर्याउँदैन भन्ने उनको पृथक् धारणा थियो । दोस्तोयव्स्कीको ‘क्राइम एन्ड पनिस्मेन्ट’ पूर्णरूपेण निस्सारतावादी उपन्यास त होइन तर पनि केही निस्सारभाव भने छन् यसमा । निस्सारताबारे पछि सन्दर्भ जोडौंला ।

‘क्राइम एन्ड पनिस्मेन्ट’ एउटा कालजयी, मानक ग्रन्थ हो । हतारमा लेखेका हुन् भनिन्छ दोस्तोयव्स्कीले यो उपन्यास । तर पाठकले धैर्यले पढ्नुपर्छ । मानक कृतिको एक किसिमको विडम्बना हो यो सायद ।

सन्दर्भ जोड्दै
उनको कृति ‘नोटस् फ्रम अन्डरग्राएन्ड’बाट दोस्तोयव्स्कीलाई सम्झौं एकछिन । मुख्य पात्रले एक ठाउँमा भन्छ, ‘एउटा रोगी मान्छे हुँ म, अप्रिय पनि छु धेरैको लागि । साँच्चै भन्ने हो भने कुरूप छु म । मभित्र पक्कै केही रोग छ । तर पनि आफ्नो बिमार आफैंलाई थाहा छैन । के रोग लागेको, केही बुझ्दिनँ म । अझै मुटु दुखिरा’छ मेरो । ठीक छ, अरू दुखोस् ।’

यो प्रसंग ‘क्राइम एन्ड पनिस्मेन्ट’को प्रमुख पात्र रस्कोलनिकोवसँग मेल खान्छ । ऊ त्यति कठोर छैन । मानिसको हत्या गर्छ तर अन्त्यमा कसैले उसलाई जीवनको अर्थ सम्झाउँछ । ‘नोटस् फ्रम अन्डरग्राएन्ड’ र यो उपन्यासमा धेरै विरोधाभास भेटिन्छन् । त्यसैले त दोस्तोयव्स्कीलाई बुझ्न सजिलो छैन । समालोचकहरू उनका प्रायःजसो कृतिलाई निस्सारतावादीको पगरी गुथिदिन्छन् । तर, यही निस्सारतामा आशा लुकेको छ । ‘क्राइम एन्ड पनिस्मेन्ट’ यसको बलियो दृष्टान्त हो ।

दोस्तोयव्स्कीको ‘क्राइम एन्ड पनिस्मेन्ट’ परस्पर विरोधी चरित्रको कथा हो । उनका आख्यानमा पाइने विरोधाभासले भरिएका पात्रहरूले पाठकको ध्यान तान्छन् । हाम्रो समाजमा कमजोर र शक्तिशाली, दयालु र क्रूर, पवित्र र अपवित्र यस्ता धेरै विरोधाभास छन् ।

मानक उपन्यासमाथि
तत्कालीन ‘सेन्ट पिटर्सबर्ग’को मानवताको विराट् दृश्य हो ‘क्राइम एन्ड पनिस्मेन्ट’ । कसरी यो उपन्यास अमर कलाको पर्याय बनेको छ भन्ने प्रश्न उठ्न सक्छ । औपन्यासिक विधामा आइकनकै रूपमा अझै किन लिइन्छ यसलाई ? कति धेरै व्यक्तित्वमा विभाजित छौं हामी ? विभाजित यही मनोदशा उजागर गर्ने भएकाले नै यस उपन्यासको चर्चा भइरहेको हो त ? हाम्रा मूल्यमान्यता, हामी बाँचिरहेको समाजबारे के भन्छ यसले ? मानक कृति जाँच्ने कुनै निश्चित आधार त छैन । कलालाई केले महान् बनाउँछ ? अनुत्तरित प्रश्न छन् थुप्रै । यस्ता प्रश्नको जवाफ दिन धेरै भन्नुपर्छ, सजिलो छैन जवाफ खोज्न । मेरो विचारमा महान् कृति समयसँगै हिँडेको हुन्छ र हजारौं वर्ष जीवित रहन्छ । प्रकाशित भएको एक सय पचास वर्ष पुगेको दोस्तोयव्स्कीको यही ‘क्राइम एन्ड पनिस्मेन्ट’को वरिपरि मानक कृतिबारेको यो बहस केन्द्रित छ ।

‘क्राइम एन्ड पनिस्मेन्ट’ वास्तवमा जिन्दगीको कथा हो । दोस्तोयव्स्की लेख्छन्, ‘मृत्युदण्डको सजाय दिइएको कसैलाई एक घन्टापहिले एउटा पहाडको टुप्पोमा बस्नु छ । साह्रै साँघुरो ठाउँ छ, उभिन मात्र सम्भव छ त्यहाँ । अगाडि छ— विशाल समुद्र, अनन्त अन्धकार, नितान्त एक्लोपना अनि भयानक बाढी । जीवनको रोजाइमा मृत्युदेखि जोगिँदै त्यो मान्छे जुनीजुनी त्यसरी नै बस्न तत्पर छ, मर्न मञ्जुर छैन ऊ । यो सब प्रतिकूलता झेल्न राजी छ ऊ— मात्र बाँच्नका लागि, मात्र जीन्दगिका लागि । जस्तै अप्ठ्यारो पनि भोग्न तयार छ ऊ जिन्दगीको लागि ।’ (अध्याय ६, भाग २)

उपन्यासमा विरोधाभास
जिन्दगीबारे सोचीबस्दा सम्झनामा आउजाउ गरिरहन्छन् कहिले सेक्सपियर, कहिले विलियम फोकनर अनि कहिले जेम्स जोयस । दोस्तोयव्स्की पिटर्सबर्गको कथा टाइम मसिनमा हाल्छन् । पिटर्सबर्ग सहरले टाइम ट्राभल गरेको छ । त्यो हाम्रो कथा हो । यो जीवनको गाथामात्र कहाँ हो र ? जीवन कति बुझिनसक्नु छ, त्यसको वर्णन गर्ने प्रयत्नको सिलसिला पनि हो यो । उपन्यासको पात्र रस्कोल्निकोभले दुई महिलाको हत्या गर्छ किनकि ऊ अरू धेरै जनालाई बचाउन र धेरै जीवनलाई सेलिब्रेट गर्न चाहन्छ । कस्तो विडम्बना ! एचिलिज् म्वेम्वे ‘नार्कोपोलिटिक्स’बारे लेख्छन्, ‘राष्ट्रका लागि उसले मर्नुपर्छ भन्ने सिद्धान्त अर्थात् रक्तपातको क्रान्ति भनेको नार्कोपोलिटिक्स हो ।’ मलाई लाग्छ, रस्कोल्निकोभ त नार्कोपोलिटिक्सको नायक नै हो । अतिविरोधाभास छ उसको चरित्रमा । ऊ आफ्नो गल्ती स्वीकार्न चाहन्छ । सोन्याले नै उसलाई प्रायश्चित्त गर्न बाध्य पार्छे । सोन्या वेश्यामात्र होइन, मान्यताकी प्रतिमूर्ति पनि हो । रस्कोल्निकोभलाई नियन्त्रण गर्ने बलिदानी नायिका हो सोन्या ।

उपन्यासका चरित्रसँग पाठक एकोहोरिन्छन् । कसिलो बन्छ पाठक र पुस्तकबीचको अन्तरक्रिया । अचम्मको सम्बन्ध हो यो । जाँ पल सात्र्रको ‘साहित्य के हो ?’ भित्र एक ठाउँमा यो पढ्न सकिन्छ, ‘पाठक आफैंमा हराउनु (सब्जेक्टिभिटी) बाहेक साहित्यको अरू कुनै अर्थ हुँदैन । रस्कोल्निकोभको पर्खाइ मेरो आफ्नै पर्खाइ हो, उसले मबाट सापट लिएको । यही मेरो धैर्यले उसलाई बचाउँछ । नत्र त ऊ फगत एउटा संकेत हुन्थ्यो । पुलिसको हाकिमप्रति उसले गर्ने घृणा मेरो घृणा हो । त्यो घृणा उसमार्फत लिएको हुँ मैले ।’ पाठकसँगको यस्तो सन्निकटताको निर्माण दोस्तोयव्स्कीबाट नै सम्भव छ । अनि ‘क्राइम एन्ड पनिस्मेन्ट’लाई यस्तै सन्दर्भले मानक बनाउँछ । ह्याम्लेटको पर्खाइ हाम्रो आफ्नै पर्खाइ हो, पाठकको धैर्य पनि हो त्यो । ‘शिरीषको फूल’को पात्र सुयोगवीरको धैर्य हत्याको निम्ति थियो । उसको चुम्बनले मात्र सकम्बरीलाई मार्छ । हामीभित्रको पाशविक धैर्य हो त्यो । सात्र्र यस्ता त्रासदीबारे भन्थे, ‘हाम्रो रगत बगाइराख्ने धैर्य । रगत बगाएर समाज बनाउने क्रान्तिको धैर्य ।’ यो घटना आजभोलि पश्चिम एसियामा देखिन्छ । पश्चिमी संसारमा, हामीकहाँ सबैतिर देखिन्छ यही अनिष्टता ।

रगतको विडम्बना पनि अचम्मको छ । महिलाहरूको हत्या गर्छ रस्कोल्निकोभ, उसको लुगा रगतले लतपत हुन्छ । अनि उपन्यासको अर्को पात्र मार्मेलाडोभलाई बचाउन खोज्दा फेरि पनि ऊ रगतले रंगिन्छ । दुई विपरीत परिस्थितिमा उसको शरीरमा रगत लाग्छ । ठीकै भनेका छन् एडवार्ड वासिवोलेकले ‘अन द स्ट्रक्चर अव क्राइम एन्ड पनिस्मेन्ट’मा- रगत मृत्यु पनि हो र जीवन पनि । रगतले नै रस्कोल्निकोभको वास्तविक चरित्रको पटाक्षेप हुन्छ । सोन्यासामु पनि उसैगरी रगतले नै उसलाई उदांगो पार्छ । सोन्या उद्धारक पनि हो अनि पीडित पनि । सोन्या नभएको भए रस्कोल्निकोभ पापको दलदलमा अरू भासिन्थ्यो, अरू बौलाउँथ्यो ऊ । यौनपिपाशुहरूको सन्तुष्टिको शरीर पनि हो सोन्या । उसैको खातिर रस्कोल्निकोभको जघन्य अपराधलाई पनि हामी पाठक माफ गरिदिन्छौं । यसको अर्थ मानवताका निम्ति अपराधको अनुमोदन भने हुँदै होइन ।Dostobaskey

बहुस्वरात्मक संसार
‘क्राइम एन्ड पनिस्मेन्ट’ सोन्याको कथा पनि हो । रस्कोल्निकोभकी बहिनी दुन्याको पनि । अनि रक्स्याहा पात्र मार्मेलाडोभको पनि । धेरै खालका पात्र छन् यसमा । पुरुष र महिला सरोबरी भेटिन्छन् यो उपन्यासभरि । मिखाइल वाख्तिनले त दोस्तोयव्स्कीको संसारलाई बहुस्वरात्मक (पोलिफोनिक) संसार भनेका छन् । धेरै खालका डिस्कोर्स र विचार छन् उनका उपन्यासमा । त्यहाँ लेखकको उपस्थिति देखिँदैन । लेखकको उपस्थिति भएमा उपन्यास पोलिफोनिक हुँदैन । भाषाले यस्ता उपन्यासमा माध्यमको रूपमा काम गर्छ । अन्ततः अलग इमेजको निर्माण गर्छन् । वाख्तिन व्याख्या गर्छन्ः दोस्तोयव्स्कीले अभिव्यन्जना, अक्षरविन्यास, टुंग्याउनी खोज्दैनन् । हिरोका लागि शब्दहरू खोज्दछन् (‘डाइलोजिक इम्याजिनेसनः फोर एसेज्’) ।

निस्सार दर्शन
‘क्राइम एन्ड पनिस्मेन्ट’ले तत्कालीन समयका केही सांस्कृतिक आन्दोलनको समेत झल्को दिन्छ । यसले बोकेको दार्शनिक विचारहरूले उपन्यासको सान्दर्भिकता अझ पुष्टि गर्छ । निस्सारतावाद दोस्तोयव्स्कीको दार्शनिक योगदान हो । उनको कथामा निस्सारतावादी विश्वदृष्टि भेटिन्छ । रस्कोल्निकोभको चरित्र निस्सारतावादी छ । ‘सामाजिक मूल्यमान्यताहरू पालन गर्नका लागि होइनन्, मान्छेहरू ढोंगी हुन्छन्’, यस्तै तर्क गर्छ ऊ । हत्या प्रकरणपछि सर्वत्र सुक्खा फैलिन्छ भन्ने धारणा नै एक किसिमको निस्सारतावादी सोच हो । यो वास्तवमा नकार या अस्वीकृति कै सापेक्षको धारणा हो । हिरो नैतिकताको बोझबाट निस्कन चाहन्छ । खासमा ऊ कुनै सकारात्मक सन्देश दिन सक्दैन । त्यही बेला उसलाई सोन्याको सहयोग मिल्छ । फ्रेडेरिक नित्सेको बुझाइमा त सक्रिय निस्सारता आवश्यक छ जीवनमा । प्रगतिको खुड्किलो हो यो । नयाँ जिन्दगीको स्वीकृति पनि हो । अर्का दार्शनिक सोफेनहाउर भने निष्क्रिय निस्सारताका पक्षमा उभिन्छन् । पश्चिमी संकटप्रतिको आत्मसमर्पण हो यो निस्सारता । दोस्तोयव्स्कीको हिरोले मूल्यमान्यताको निर्माण गर्न खोजेको थियो । तर भइदिन्छ अरू नै । यहाँनिर दोस्तोयव्स्की र नित्सेबीच समानता देख्न सकिन्छ ।

जनवरी १, १८७७ मा प्रकाशित छ दोस्तोयव्स्कीको ‘अ राइटर्स डायरी’ । यस डायरीमा लेखिएको एक अंश यस्तो छ, ‘यसपटकको नयाँ वर्षमा पनि म गत वर्षकै विषयमा केही लेख्छु ।’ त्यसको अन्तिम वाक्य यसरी टुंगिएको थियो, ‘रुसका जति पनि असम्पूर्णता र विघटनहरू छन्, ती खासमा गलत बुझाइकै उपज हुन् । मस्तिष्कबाट नभई मुटुबाट उब्जिन्छन् यिनीहरू । मुटुका भन्दा मस्तिष्कका गल्ती चाँडै बिर्सिइन्छ । तार्किक जीन्दगी बाँच्न खोज्दा असमञ्जस्यताको सामना गर्नुपर्छ । मुटुबाट गरिने गल्तीमा दूषित विचार हुन्छ, सम्पूर्ण देशकै । यस्ता अन्धताको हल तर्क र विवादले गर्न सकिँदैन किनकि मुटुका गल्तीहरू दूषित आत्माले पुष्टि गर्न खोज्छन् । मेरो विचारमा क्राइम एन्ड पनिस्मेन्टको हिरो मुटुनि िश्रत विसंगतिले ग्रस्त छ ।’ यो हाम्रो सामाजिक चरित्र नै हो । यही चक्रव्यूहमा फसिसकेको छ आजको मान्छे । यसबाट निस्कन गाह्रो छ । यसरी हेर्दा दोस्तोयव्स्की निस्क्रिय निस्सारतावादी देखिन्छन् ।

उनको डायरीबाट नियाल्दा उनको उपन्यासको सान्दर्भिकता अझ बढी देखिन्छ । ‘विन्टर नोटस् अन समर इम्प्रेसन्स्’ (१८६२) दोस्तोयव्स्कीले आफ्नो युरोप भ्रमणपछि लेखेका थिए । यसै डायरीबाट केही सन्दर्भ जोडौं, ‘पश्चिमी परिभाषाभन्दा माथि उठेर आफ्नो छवि निर्माण गर्नुपर्छ, कसैले बलजफ्ती लादेको आधारमा होइन । सारा संसारकै लागि बलिदानी हुने केही काम गर्न सकूँ । यो स्वतन्त्रता हो, अनि आफ्नै क्षमतामाथिको विश्वास पनि । प्रकृतिको नियम नै यही हो तर सानो दाग लाग्यो भने पनि सबै भताभुंग हुन्छ । हिउँ भालुबारे नसोच भनेर कसैले भन्यो भने त्यही भालुबारे सोचिबस्न मन लाग्छ । त्यसैले त यो आफै भइजाने प्रक्रिया हो । स्वाभाविक पनि हो यो ।’ रस्कोल्निकोभले अरूको भलाइका निम्ति रगत बगाएको ठान्थ्यो । उसले गरेको काम प्राकृतिक नियमअनुरूप लाग्दैन । निस्सारता भरिभराउ भेटिन्छ उपन्यासमा ।

‘क्राइम एन्ड पनिस्मेन्ट’ वास्तवमा जिन्दगीको कथा हो । उपन्यासको पात्र रस्कोल्निकोभले दुई महिलाको हत्या गर्छ किनकि ऊ अरू धेरै जनालाई बचाउन र धेरै जीवनलाई सेलिब्रेट गर्न चाहन्छ । कस्तो विडम्बना !

नैतिकताको गोलचक्कर
दोस्तोयव्स्की मनका लेखक हुन् । त्यति बेलाको रुसको परिस्थितिमात्रै होइन, हाम्रो अहिलेको अवस्थाको चित्रण पनि गरेका हुन् उनले । असल बन्न गाह्रो छ किनभने मुटुसँग जोडिएका भावनात्मक गल्तीहरू देश, समाजका गल्तीकै परिणति हुन् । ‘क्राइम एन्ड पनिस्मेन्ट’ कुनै नैतिक कथा होइन जसबाट व्यवहारमा ल्याउने कुनै असल पाठ सिकियोस् । यो त नैतिकताको समस्याको कथा हो । नैतिकता आफैंमा एउटा समस्या हो । हरेक विषयको समस्या केलाउनु लेखकको दायित्व हो । मेरो विचारमा दोस्तोयव्स्कीले त्रास सिर्जना गरेका हुन् । कलाले त्रास सिर्जना गर्न सक्नुपर्छ । समाधान दिने होइन । समाधान दियो भने त त्यो दन्त्यकथा हुन जान्छ । दन्त्यकथा पठनीय विधा हो, यसमा रमाइला कथा समावेश हुन्छन् । तर, मानक सिर्जना त दोस्तोयव्स्कीहरूबाट मात्र सम्भव छ । संसारभर अनेकौं छन् राम्रा साहित्य तर मानक साहित्य विरलै लेखिन्छन् । ‘क्राइम एन्ड पनिस्मेन्ट’ त्यही कालजयी कला हो ।

सेन्ट पिटर्सबर्ग कलात्मकता र वास्तुकलाको हिसाबले चर्चा गरिने पुरानो सहर हो । ‘क्राइम एन्ड पनिस्मेन्ट’मा दोस्तोयव्स्कीले यस सहरको महान् स्थापत्यकलाको वर्णन गरेका छैनन् बरु जारशाही शासनको छायामुनि मान्छेको क्रोधको वर्णन छ यसमा । ‘पेत्रासभिस्की षड्यन्त्र’ नाम दिइएको समूहमा आबद्ध थिए उनी । त्यो समूहमा जारको निन्दा गर्ने र समाजवादी बहस गर्ने बौद्धिक समुदाय संलग्न थियो । उनीलगायत यसका सबै सदस्यलाई समातियो । गोली हान्ने दस्ताको अघिल्तिर राखेर पुसको कठ्यांग्रिँदो जाडोमा उनलाई सजाय सुनाइयो— साइबेरियामा चार वर्षको कठोर श्रम । त्यसैले सेन्ट पिटर्सबर्ग सहरको स्थापत्यकलाप्रति उनको रुचि नै रहेन । उनको लेखाइमा विरलै वर्णित छ यो सहर । निकोलाइ गोगोलले लेखेका छन्, ‘यो सहर प्राणहीन छ, अत्यन्त रहस्यमयी पनि । मान्छेहरू कुरामात्रै काट्छन् यहाँ ।’ ‘दी एटलस अव लिटरेचर’मा म्याल्कम ब्य्राडबेरीले पनि यस्तै भनेका छन्, ‘क्राइम एन्ड पनिस्मेन्ट’ नैतिक उत्तरदायित्वमाथि गरिएको प्रहारको कथा हो ।’

केही इन्टिमेट अनुभूति
अमेरिकाबाट मेरी विद्यार्थी भन्छिन्, ‘कस्तो उपयोगी भनाइ है सर । हत्या गरेरै धेरैको भलो गर्ने यो लहडले साह्रै छुन्छ ।’ यही विचारलाई कतिले पुँजीवादी विचार भन्छन्, कोही भन्छन् उग्र वामपन्थी विचार । यो उग्र उपयोगितावादी विचार पनि त हो । हत्याले नै भलाइ हुन्छ भन्ठान्ने समाजको पात्र हो रस्कोल्निकोभ जो सोन्याबिना विक्षिप्त हुन सक्थ्यो । सोन्या त उत्कृष्टताकी नमुना नै हो । सुक्खाको अनिष्ट कल्पना मात्रले पनि उसलाई भयभीत बनाउँछ । किनभने उसले त मुटुबाटै रस्कोल्निकोभलाई नवजीवन दिएकी हुन्छे । फेरि पनि सम्भावित घटनाक्रमबारे उसैलाई थाहा हुँदैन । केवल बाँच्नुको उपक्रम छ उसको । सोन्याको त्रास नै उसको ‘सबलाइम’ प्रतीत हुन्छ ।

दोस्तोयव्स्कीलाई बुझ्न सजिलो छैन । समालोचक उनका प्रायःजसो कृतिलाई निस्सारतावादीको पगरी गुथिदिन्छन् । तर, यही निस्सारतामा आशा लुकेको छ । ‘क्राइम एन्ड पनिस्मेन्ट’ यसको बलियो दृष्टान्त हो ।

धेरै वर्षअघि हामीले ‘रिभर स्टेज’ नाटक मञ्चन गर्दा अभि सुवेदी सरले सहरलाई महिलाका अनेक रूपमा प्रस्तुत गर्दै नाटक लेखेका थिए । त्यस नाटकको एक ठाउँमा उनले भनेका छन्, ‘सहर देवी हो, नदी हो, अनि वेश्या पनि हो ।’ दोस्तोयव्स्कीको उपन्यासले अभि सरको त्यही भनाइ सम्झायो । सेन्ट पिटर्सबर्गका गल्लीहरूमा डुलिहिँड्ने अशान्त आत्मा थियो रस्कोल्निकोभ । त्यही सहरकी वेश्या सोन्याले उसलाई बचाउँछे । वेश्या बन्न बाध्य सोन्याजस्ताको बासस्थान हो सहर सही अर्थमा । सहर रस्कोल्निकोभको आक्रोशको केन्द्र पनि हो । अनि कैयौं हन्डर खाँदै भए पनि निरन्तर प्रवाहमा रहने सोन्याजस्तै नदी पनि त हो सहर ।

उपन्यासको अमरता
अन्त्यमा मानकबारे एउटा रमाइलो संवाद जोड्छु । उनै म्याल्कम ब्य्राडबेरीको ‘दी एटलस अव लिटरेचर इन’बाट भिक्टर ह्युगोका बाउछोराबीचको संवाद उल्लेख गर्छु । ह्युगो १८५१ देखि १८७० सम्म च्यानल आइल्यान्डमा निर्वासित थिए । जर्सी सहरमा आइपुग्दा उनलाई छोरोले सोध्छ, ‘बवा, निर्वासित जीवनको यो कहालीलाग्दा दिन कसरी काट्नुहुन्छ ? ’ ह्युगो भन्छन्, ‘समुद्र–चिन्तन गरिबस्छु म । अनि तिमी नि ? ’ ह्युगोको प्रश्नमा छोराको जवाफ थियो, ‘म सेक्सपियर पढ्छु ।’ ‘कुरो एउटै त हो नि’, ह्युगो भन्छन् । वास्तवमा समुद्र आफैंमा गजबको मानक हो । यसको चिन्तनमा डुबिबस्ने काम यस्तै मानक लेखकबाट मात्र सम्भव छ । ‘क्राइम एन्ड पनिस्मेन्ट’ एउटा कालजयी, मानक ग्रन्थ हो । हतारमा लेखेका हुन् भनिन्छ दोस्तोयव्स्कीले यो उपन्यास तर पाठकले धैर्यले पढ्नुपर्छ । मानक कृतिको एक किसिमको विडम्बना हो यो सायद ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.