ओर्लदो कारोवार
राजनीतिक क्षेत्रमा आएको उतार चढावसँगै पछिल्लो एक महिनामा सेयर बजार पनि अस्थिर बनेको छ । यसबीचमा परेका दशैं, तिहार र छठजस्ता महत्वपूर्ण चाडपर्वका कारण पनि सेयर बजारले ‘ बुलिस ट्रेन्ड’ समात्न नसके को हो । एक महिनाको कारोबार हेर्दा पनि त्यसको पुष्टी हुन्छ ।
महिना दिनअघि एक हजार सात सय ५७ विन्दुमा रहेको नेप्से उकालो लाग्ने र ओरालो झर्दै ८ कात्तिकमा एक हजार सात सय ५१ विन्दुमा झरेको छ । यस्तै , १२ असोजमा एक हजार सात सय ४९ विन्दुमा झरेको थियो , जुन यस महिनाको सबैभन्दा तल्लो विन्दु हो ।
१२ असोजदेखि बढ्न थालेको नेप्से २० असोजमा एक हजार आठ सय २० मा रोकियो । नेप्सेको ग्राफ त्यसभन्दा उकालो लाग्न सकेको छैन । बरू, ओरालो झर्ने गति रोकिन सकेको छैन । यसबीचमा नेपाल बंगलादेश बैंकको सबै भन्दा बढी एक अर्ब ४५ करोडको सेयर कारोबार भएको छ ।
शिखर इन्स्योरेन्स, बैंक अफ काठमाडौं लुम्बिनी, एभरेस्ट बैंक र सनराइज बैंक यस अवधिमा सबैभन्दा बढी कारोबार भएका कम्पनी हुन् । महिना दिनयताको पहिलो साता एक सय ५२ कम्पनीको सेयर कारोबार भएको थियो भने पाँच अर्ब ६५ करोड ४६ लाख ५८ हजार रुपैयाँ बराबरका ७२ लाख ३९ हजार सात सय ५० कित्ता सेयर खरिद बिक्री भएका थिए, जुन अघिल्लो साताभन्दा ५० दशमलव ८४ प्रतिशत बढी हो ।
दोस्रो सातामा एक सय ५८ कम्पनीको चार अर्ब ४५ कराेड तीन लाख २८ हजार रुपैयाँ बराबरका ५२ लाख ९२ हजार एक सय ६० कित्ता सेयर कारोबार भएको नेप्सेले जनाएको छ । कारोबार र कममा गत साताभन्दा २१ दशमलव २७ प्रतिशत कमि आएको छ ।
तेस्रो सातामा एक सय ५८ कम्पनीको कारोबार भयो । चार अर्ब ७५ करोड ४३ लाख ६ हजार रुपैयाँ बराबरका ५५ लाख ११ हजार तीन सय ६० कित्ता सेयर खरिद बिक्री भएका थिए । कारोबार र कम अघिल्लो साताको तुलनामा ६ दशमलव ८५ प्रतिशतले बढेको थियो ।
यो साता नेप्से परिसूचक पहिलो दिनको तुलनामा ५६ दशमलव १० अंकले बढे र अन्तिम दिन एक हजार आठ सय १९ दशमलव ८८ अंकमा पुगेको थियो । तेस्रो सातादेखि ओरालो लागेको ग्राफ बढ्ने संकेत देखिएको छैन । अन्तिम सातामा एक सय ४९ कम्पनीको तीन अर्ब एक करोड २८ लाख ५३ हजार रुपैयाँ बराबरका ३८ लाख ८८ हजार दुई सय कित्ता सेयर कारोबार भएका छन् । नेप्से पनि निरन्तर घट्दै गएको छ ।
प्रतिक्रिया दिनुहोस !