काउली–मुला संवाद
‘तिमी कहाँबाट आएका हौ ?’ काउलीले सोध्यो।
‘म त पाँचखालबाट आएको हुँ। तिमी नि ?’ मुलाले जवाफ दिएसँगै काउलीलाई प्रश्न गर्यो। काउलीले भन्यो, ‘म त धादिङबाट आएको हुँ।’ धादिङबाट आएको काउली र पाँचखालबाट आएको मुलाबीच एकदिन कालीमाटीमा यस्तै संवाद चल्दै थियो। उनीहरूलाई दुवै ठाउँबाट मिनी ट्रकमा हालेर ल्याइएको थियो। दुवै मिनी ट्रकमा कोचिएर आएका हुँदा असिनपसिन देखिन्थे। त्यही बेला काउलीले भन्यो, ‘ल्याउन त हामीलाई यहाँसम्म ल्याइपुर्यायो, अब कहाँ लैजान्छन् होला ?’
कालीमाटीमा सबैतिर आफ्नै तरकारी बन्धुहरू मात्रै देखेपछि रमाइरहेको मुलाले भन्यो, ‘अहो! हामी उम्रिएको बारीमा त यति धेरै तरकारीहरू थिएनन्। तर, यहाँ त कति धेरै हो गाँठे।’काउली र मुलाबीच रमाइलो संवाद चलिरहेकै थियो। त्यही बेला एक जना मानिसले उनीहरूलाई उठाएर अर्कै सानो मिनी ट्रकमा हाल्न थाल्यो र उनीहरूले दुई जना मानिसबीचको कुराकानी पनि सुन्न थाले। एक जना भन्दै थिए, ‘यो काउली ४० रुपैयाँ किलो हो, तपाईले अरूलाई बेच्दा ६०/७० लिनु भए हुन्छ।’
काउली र मुलाले थाहा पाए कि उनीहरूलाई एक जना मानिसले बेचेका रहेछन् र अर्काले किनेका रहेछन्। फेरि ती मानिसले पनि अर्कै मानिसलाई बेच्ने रहेछन्। उनीहरू चकित परे। उनीहरूलाई काठमाडौंको अति नै व्यस्त ठाउँमा झारियो, त्यसरी झार्दा काउलीको त करङ नै सड्कियो।अहो! फेरि त्यहाँ पनि केही मानिस उनीहरूलाई किन्न तम्सिएर बसिरहेका रहेछन्। एक जना मानिस भन्दै थिए, ‘यो मुला ५० मा हुँदैन, साउजी ?’
बेच्ने मानिस भन्दै थिए, ‘४० त मैले कालीमाटीमै हालेको हुँ। ६० दिने भए लैजानुस्, नत्र भने हुन्न।’किन्न खोज्ने मानिस भन्दै थिए, ‘यहाँ नै ६० हाल्दा हामीले कतिमा बेच्नु ? अलि मिलाएर दिनूस् न। २/४ पैसा नाफा खाने न हो।’काउली र मुलाले ती मानिसहरूबीचको संवाद सुन्दै थिए। मुलाले भन्यो, ‘हामीलाई यहाँ नै बेच्ने होइन रहेछ, अझै अन्तै लगेर बेच्ने रहेछन्।’ काउलीले छक्क पर्दै भन्यो, ‘हरे!
कस्तो दिन देख्नुपर्यो। एउटै ठाउँमा बेचे त हुन्थ्यो नि हामीलाई। कति सास्ती झेल्नुपर्यो। यहाँबाट त्यहाँ लगेको छ, त्यहाँबाट फेरि अर्कै ठाउँमा...।’ उनीहरूलाई फेरि अर्कै पसलमा पुर्याइयो। त्यो पसलमा एक जना मानिस काउली किन्न आएका रहेछन्। त्यही ‘धादिङे’ काउलीलाई ती मानिसले छामछुम पारे। छामछुम गर्दा उसलाई असाध्यै काउकुती लाग्यो। ती मानिसले सोधे, ‘साउजी, यो काउली किलोको कति हो ?’
पसलेले भने, ‘एक सय १० रुपैयाँमा लैजानुस् न।’ ती पसलेको कुरा सुनेपछि काउली र मुला झन्डै बेहोस भएनन्। तिनीहरूले लामो जिब्रो निकाले र काउलीले भन्यो, ‘हेर, मलाई धादिङमा २० रुपियाँमा बेचिएको थियो। यहाँसम्म आइपुग्दा त एक सय १० रे ? ‘हो, अचम्मै रहेछ! एक जनाले १०/२० रुपैयाँ नाफा खाएर अर्कोलाई बेच्दो रहेछ, त्यसले पनि अर्कोलाई, त्यो अर्कोले झनै अर्कोलाई।
हुँदाहुँदा ग्राहकले किन्ने बेलामा त हाम्रो भाउ पनि अकासिने मात्र होइन, ६/७ जनाले किन्दै, बेच्दै गर्दा रहेछन्।’छेउमै उभिइरहेको पसलेतिर हेर्दै काउली र मुलाले खुइथ्य गर्दै लामो सास ताने।
प्रतिक्रिया दिनुहोस !