मुखर्जीको पोखरा रोजाइ
जनकपुरको साँचो समातेर पोखरा हानिएका भारतीय राष्ट्रपति प्रणव मुखर्जी त्यहाँका कुनै पनि पर्यटकीय क्षेत्र घुमेनन् । फेवाताल, डेभिडफल्स, महेन्द्रगुफाजस्ता चर्चित पर्यटकीय गन्तव्यमा पाइला नहालेका उनको पोखरा भ्रमण भारतीय सेनाको ‘पेन्सन क्याम्प’मा सीमित थियो । उनले पेन्सन क्याम्पमा जम्मा भएका पुर्वभारतीय सेना र उनीहरूका परिवारलाई ११ मिनेट हिन्दीमा लिखित भाषण पढे ।
नेपालस्थित भारतीय राजदुतले समेत गर्न सक्ने सामान्य कामका लागि राष्ट्रपतिजस्तो मानिस किन हान्निएर पोखरा पुगे ? आखिर किन उनको रोजाइमा पोखरा भ्रमण पर्यो ? विश्लेषक झलक सुवेदी भन्छन्, ‘पोखराको भौतिक पुर्वाधारमा बढ्दो चिनियाँ लगानीले राष्ट्रपति मुखर्जीलाई तानेको हो । सायद, भारत पोखरामा आफ्नो पनि रुचि भएको बताउन चाहन्छ ।’
मुखर्जी निर्धारित समयभन्दा एक घण्टा ढिलो पोखरा पुगेका थिए । विमानस्थलबाट दिवाभोजका लागि विमानस्थल नजिकै रहेको ‘होटल पोखरा ग्रान्ड’ पुगेका राष्ट्रपति मुुखर्जीले उक्त होटेलमै केहीबेर आराम गरे । त्यहाँबाट रामबजारस्थित पेन्सन क्याम्प पुगे । भाषण पढेपछि हतार–हतार विमानस्थल फर्के । त्यहाँ उनलाई बेलुनमा कालो झण्डा बाँधेर विरोध गरियो ।
भ्रमणको अघिल्लो दिन स्वागतद्वार सर्वसाधारणले भत्काएका थिए । ‘यसबाट भारतीय राष्ट्रपतिलाई पोखराले खुलेर स्वागत गर्न नचाहेको प्रष्ट हुन्छ,’ पूर्वराजदुत हिरण्यलाल श्रेष्ठ भन्छन् । उनको भनाइमा बढ्दो चिनियाँ लगानीलाई ‘काउन्टर’ दिने भारतीय चासो देखिन्छ । भारतीय रक्षा राज्यमन्त्री सुभाष भाम्रेलाई सवारी मन्त्रीका रूपमा अगाडि राखेर राष्ट्रपति मुखर्जी दिल्लीबाट काठमाडौं उडेका थिए ।
काठमाडौं र जनकपुरको साँचो बुझेपछि पोखरा पुगेका उनको भ्रमणको एउटा संदेश हो, चिनियाँलाई ‘हामी पनि छौं’ भन्ने संकेत दिनु । हिन्दुस्तान टाइम्सले २ नोभेम्बरको अंकमा भनेजस्तै ‘पोखरालाई केरुङस“ग जोड्न खोजेको चीनलाई पछार्न भारतले काठमाडौंलाई वरौनीस“ग जोड्नुपर्छ ।’
चीनको आँखा
पोखराको पूर्वाधारमा चीनले आँखा लगाएको लामो समय भइसकेको छ । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा चिनियाँ लगानी छ । चिनियाँ कम्पनी सीएएमसीले निर्माणको जिम्मा पाएको छ । एक्जिम बैंकले लगानीको ७५ प्रतिशत ऋण दिएको छ । २५ प्रतिशत लगानी चिनियाँ सरकारको अनुदान हो । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष रमेशशंकर पालिखेले पोखरामा चिनियाँ लगानी भित्रयाउन संयोजनकारी भूमिकासमेत निर्वाह गर्दै आएका छन् ।
उनकै पहलमा १० कात्तिकमा चीनको तिब्बत सरकारले पोखरालाई उज्यालो बनाउन एक हजार सौर्य बत्ति दिने सम्झौता गरेको छ । आगामी जनवरीबाट जडान गरिने सौर्य बत्तिहरू पोखराको सहरी क्षेत्रमा सडक बत्तिका रूपमा प्रयोग गरिनेछ । पोखरा उपमहानगरपालिकाको भगिनी सम्बन्ध रहेको तिब्बतको लिन्झि सहरको अनुरोधमा तिब्बत सरकाले उक्त सहयोग गरेको हो ।
पोखरा उपमहानगरपालिकाले तिब्बत र सिचुवानसँग जोडिएको पर्यटकीय नगर कुन्मिङसँग पनि भगिनी सम्बन्ध स्थापना गरेको छ । कुन्मिङले पोखरामा रेल, सडक, शिक्षा, स्वास्थ्य र पर्यटनमा काम गर्न खोज्दैछ । सांघाईनजिकको हान्चाओ पनि पोखरासँग भगिनी सम्बन्ध स्थापनाको प्रयासमा छ । चीनको तेस्रो ठुलो व्यापारिक सहर ग्वान्झाओसँग पनि पोखराले भगिनी सम्बन्ध स्थापना गरिसकेको छ ।
ग्वान्झाओबाट पोखराको सडक विस्तार, आकाशे पुल निर्माण र फोहोर व्यवस्थापनमा लगानी आउने छ ।पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत नवराज ढुंगाना भगिनी सम्बन्ध भएका चिनियाँ पक्षबाट पोखराको समग्र विकासमा कस्तो सहयोग गर्नुपर्छ भनेर चासो देखाउन थालेको बताउँछन् । उनी थप्छन्, ‘हामीले पोखराको पर्यटनलगायत पुर्वाधार विकासका लागि प्रस्ताव पठाएका छौं । कतिपय प्रस्ताव छलफलका क्रममा छन् । सडक बत्तिबाट लगानी आउने क्रम सुरुवात भएको छ । यो बढ्छ होला ।’
हिमालपारको ढोका
पृथ्वी राजमार्गको निर्माण गरेर चीनले पोखरालाई काठमाडौंसँग जोडेको थियो । यो मार्गलाई चीनले बागलुङसम्म विस्तार गर्यो । दुई दशकदेखि चीनले यस क्षेत्रमा सडक विस्तारको काम गरेको छैन । अहिले फेरि पोखरा–बागलुङ सडकको स्तरोन्नतिको काम गर्न चिनियाँ सरकारले चासो देखाएको छ । अर्कोतर्फ, पोखरालाई हिमालय क्षेत्रसँग जोड्ने म्याग्दी–जोमसोम सडक अहिले खण्डहर अवस्थामा छ ।
हिन्दुहरूको तीर्थस्थल मुक्तिनाथ हँँदै तिब्बतको नेपाल–चीनसँग जोडिएको यो धुले सडकको स्तरोन्नतिका लागि पनि चीनले चासो देखाएको छ । चीनलाई पश्चिम क्षेत्रसँग जोड्ने यो सडकको विकल्पका रूपमा कालिगण्डकी करिडोरलाई पनि प्रयोगमा ल्याउन सकिन्छ ।२०५० सालमा नेपाल सरकारलाई हस्तान्तरण गरेको पोखरा–बागलुङ सडक अहिले जीर्ण अवस्थामा पुगेको छ ।
अहिले बागलुङ–मुस्ताङ हुँदै तिब्बतको कोरला नाकासम्म कच्ची सडकले जोडिएको छ । मुस्ताङलाई पश्चिम क्षेत्रको नाका बनाउने चीनको सपना पूरा भएमा पोखरा त्यसको प्रवेशद्वार हुनेछ । त्यसो त, सन् १९६२ मा भारत–चीन युद्धभन्दा पहिले पोखरा–तिब्बत–भारत हिमालपार व्यापारको प्रवेशद्वार थियो ।
संसद्को विकास समिति सभापति रविन्द्र अधिकारी कोरला नाका खोल्ने काममा नेपाल सरकारको लगानी रहेको बताउँछन् । उनी भन्छन्, ‘पोखरा–बागलुङ र वेनी–जोमसोम सडकको स्तरोन्नतिका लागि चिनियाँहरूले चासो देखाएका छन् । जोमसोम–कोरला नाकाको काम नेपाल सरकारले गरेको छ ।’
भारत–चीन युद्ध र नेपालमा भएको खम्पा विद्रोहपछि पोखरालाई केन्द्र बनाएर ‘फ्री’ तिब्बतका नाममा चीनविरोधी गतिविधि हुने गरेको चीनको आशंका छ । जसले गर्दा चीनले यो क्षेत्रमा लगानी बढाउन खोजिरहेको छ ।
अमेरिकी गुप्तचर संस्था सीआईएले खम्पा विद्रोहका लागि पोखरालाई नै आधार क्षेत्र बनाएको थियो । त्यतिखेरदेखि पोखरामा रहेका चार तिब्बती शरणार्थी क्याम्प अहिले पनि चिनिया“ निगरानीमा छन् । चीन सरकारले रसुवागढीलाई काठमाडौं र पोखरासँग रेलमार्गले जोड्ने घोषणा गरिसकेको छ । यसका लागि चीनको ‘चाइना सीएएमसी इन्जिनियरिङ’ले काठमाडौं–पोखरा रेलमार्गको सम्भाव्यता अध्ययन गरिसकेको छ ।
एक सय ७१ किलोमिटरको उक्त रेलमार्ग टोखाबाट गल्छि हुँदै पोखरा पुग्ने छ । ६१ किमि सुरुङसहितको रेलमार्गमा ३४ वटा पुल हुनेछन् । हिमाल हँुदै पोखरा आएको चिनिया“ ‘कनेक्सन’लाई भैरहवा पुर्याउने चीनको अर्को कल्पना छ । गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा चीनको चासो सतहमै छ । कोरला वा रसुवाबाट नेपाल आउने चिनियाँ पर्यटकलाई भैरहवा पुर्याउन चीनले सिद्धार्थ राजमार्गको स्तरोन्नति गर्ने सोच पनि अगाडि सारेको छ ।
सडक विभागका सहप्रवक्ता रमेशकुमार सिंह सिद्धार्थ राजमार्ग स्तरोन्नतिको कामका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको बताउँछन् । उनी भन्छन्, ‘सिद्धार्थको डीपीआर विश्व बैंकले तयार गरेको छ । पोखरा–बागलुङ र वेनी–जोमसोमका डीपीआर तयार हुने क्रममा छन् ।’ त्यसो त, यो क्षेत्रमा भारतीयको लगानी पनि नभएको होइन ।
६ असोजमा भारतीय राजदूत रणजीत राय आफ्नो दुतावासका परियोजना निरीक्षणमा कोरला नाकासम्म पुगेका थिए । मुस्ताङबाट सुरु भएको उनको भ्रमण त्यो क्षेत्रमा सञ्चालित परियोजना निरीक्षणमा केन्द्रित थियो । उनले नेपाल सरकारले आग्रह गरेमा मुक्तिनाथको गुरुयोजनामा सहयोग गर्ने बताएका थिए ।
मुक्तिनाथ विकास कोष र पुरातत्व विभागले बनाएको उक्त गुरुयोजनाका लागि एक अर्ब रुपैयाँभन्दा बढी लाग्ने जनाइएको छ । पोखरालाई केन्द्र बनाएर छिमेकीको विकास चासोलाई प्रतिस्पर्धाभन्दा साझेदारीमा बदल्नुपर्ने देखिन्छ । पूर्वराजदूत श्रेष्ठ भन्छन्, ‘चीन भारतसँग यो क्षेत्रमा सहकार्य गर्न चाहन्छ । भारत एक्लै अगाडि बढ्न खोज्छ । यी दुई देशबीच तालमेल गर्ने कस्ले ?’
चासो संविधानमै
सम्बन्ध सुधारको अभियानमा निस्केका भारतीय राष्ट्रपति मुखर्जी संविधान संशोधनको विषयमा निकै चासो देखाएर स्वदेश फर्के । नेपालको तीन दिने बसाईका क्रममा भएका सबै भेटघाट र कार्यक्रममा उनको जोड संविधान संशोधनमा थियो ।१९ कात्तिकको मध्याह्न भारतीय वायुसेनाको विशेष जहाजबाट काठमाडौं ओर्लिएका उनलाई भव्य स्वागत गरिएको थियो । नेपालका सबैजसो उच्च पदका व्यक्तिको सहभागिता रहेको स्वागतका लागि काठमाडौंका सडक खालि गराइएको थियो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागतपछि उनी राष्ट्रपति कार्यालय पुगेका थिए । त्यहाँ उनको नेपाली समकक्षी विद्यादेवी भण्डारीसँग भेटवार्ता भयो । त्यस भेटमा राष्ट्रपति मुखर्जीले नेपालमा संविधान जारी भएकामा खुशी व्यक्त गरेका थिए । राष्ट्रपति कार्यालयबाट दिवा भोजका लागि लैनचौरस्थित भारतीय दूतावास पुगेका थिए । त्यसमा नेपालका सबैजसो राजनीतिक दलका नेताको सहभागिता थियो ।
दिवाभोजपछि भेटघाटमा व्यस्त रहेका मुखर्जीले बुधबारै सा“झ होटल हायातमा नेपालका उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गरेका थिए । ‘वान टु वान’ भेटवार्तामा उनले संविधान संशोधनको विषयमा चासो राखेका थिए । भेटघाटपछि उनी होटल सोल्टीमा राष्ट्रपति भण्डारीले आयोजना गरेको दिवाभोजमा सहभागी भए ।
बिहीबार बिहान पशुपतिमा पूजा गरेर दैनिकी सुरु गर्ने बताए पनि मुखर्जीले त्यसअघि एमाले नेता माधव नेपालसँग भेटवार्ता गरे । पशुपतिमा विशेष पूजा गरेका राष्ट्रपति मुखर्जीले बिहीबारै काठमाडौं विश्वविद्यालयको विशेष दीक्षान्त कार्यक्रममा सहभागी भए, जहाँ उनलाई मानार्थ महाविद्यावारिधी दिइयो ।
सोही दिन मुखर्जीलाई काठमाडौं महानगरपालिकाले नागरिक अभिनन्दन गर्यो । बिहीबार सा“झ उनले कांग्रेस, एमाले र मधेसी दलका नेतालाई भेटे । निवर्तमान राष्ट्रपति डा. रामवरण यादवसँग उनले एक घण्टा भेटवार्ता गरे ।
प्रतिक्रिया दिनुहोस !