कृषिमा भुलेका बैंकर्स
‘किसान भन्या छ, कम्प्युटरको अघि बस्या छ,’ कार्यकक्षभित्र प्रवेश गर्नासाथै उनी सुस्तरी हाँसे । बिहान ९ बजे चलाउन थालेको कम्प्युटरमा उनी साँझ ६/७ बजेसम्मै झुन्डिरहन्छन् । उनलाई सजिलै भेट्न नबिल बैंक पोखरा शाखामा पुुग्नुपर्छ, जहाँ उनी ग्राहकलाई व्यवसाय गर्न सिकाउँछन् । कारमा कुदेको र कम्प्युटर अगाडि व्यस्त इमानबहादुर गुरुङलाई धेरैले बैंकर भनेर चिन्छन् । त्यसभन्दा फरक उनको परिचय छ किसानको ।
खासमा गुरुङ किसानै हुन् । त्यो पनि चानेचुने होइन, राष्ट्रले नै मानेको । देशमै सबैभन्दा ठूलो किसान भनेर राज्यले पोहोर उनलाई पुरस्कृत ग¥यो । ‘राष्ट्रपति सर्वोत्कृष्ट कृषक’ घोषणा गर्दै सरकारले दुई लाख रुपैयाँ दियो । पोखराबाट बागलुङ राजमार्ग हुँदै जाँदा हेम्जाबाट दायाँ लागेर सेती नदी तरेपछि पुगिन्छ, लाहाचोक । यही गाउँमा छ, गुरुङको किसानी फर्म ।
उनको लाहाचोक कृषि फर्ममा तीन सय भैंसी छन् । दिनमा आठ सयदेखि १२ सय लिटर दूध दुहुन्छन् । साँझबिहानै गाडीले दूध पोखराका डिपोमा ल्याइपुर्याउँछ । उपभोक्ता लाहाचोकको दूध किन्न डिपोमै धुरिन्छन् । धेरैजसो नेपालीकै जस्तो इमानको पनि पुख्र्याैली पेसा कृषि हो । फरक के थियो भने अरुले आफ्नै घरको साँझबिहानको गर्जो टार्न पशुपालन गर्थे ।
उनका बाबुकै पालामा व्यावसायिक भेडापालन थियो, खर्कतिर चराउन पाइन्थ्यो । समयले कोल्टे फेर्दा ऊनका कपडाको चलन पातलियो र भेडापालनको औचित्य पनि रहन सकेन । पा“च वर्षअघि इमानले त्यसको सदुपयोग गर्ने सोचे, केही भैंसी किने । ‘भैंसीको संख्या बढेर २० वटा पुगेपछि फर्म नै दर्ता गरें,’ उनले सुरुवाती दिनका कथा हाले, ‘थपिँदा थपिँदै अहिले यति भए । यति धेरै भैंसी पाल्ने योजनामा चाहिँ थिइनँ ।’ पुख्र्याैली पेसा त अर्काे पनि थियो, सेनामा भर्ती हुने । बाबु बेलायती सेनामा थिए ।
इमानको इच्छै भएन लाहुरे हुने । ध्यान पढाइतिरै गयो । काठमाडौंमा पढ्दापढ्दै साथीको लहलहैमा लागेर नबिल बैंकमा आवेदन दिए । भन्छन्, ‘हावामै बैंक छिरियो ।’ ०५३ देखि नबिलमै छन् । अहिलेको जिम्मेवारी ‘अपरेसन म्यानेजर’ हो । व्यवस्थापन पढेका उनको कृषि फर्म यतिका विस्तार हुनुका पछाडि दुई कारण छन् । पहिलो, उनको व्यवस्थापकीय कौशल । दोस्रो, पत्नी वृतकुमारीको साथ ।
३० कामदारको संयोजन वृत्तकुमारी गर्छिन् । साँझ घर पुगेपछि इमानबहादुर अपडेट हुन्छन् । बिहान केहीबेर गोठमा नजर पु¥याएपछि बैंक पुग्नै पर्छ उनलाई । पत्नी पहिला हङकङ थिइन्, उतै डाक्थिन् । यिनले भने पासपोर्ट बनाएनन् । उनी फर्किइन् । दाजु बेलायत बस्छन् । बाबु पनि उतै थिए, ९३ वर्ष भइसके । ‘अब त बित्नुभयो भने पनि म त्यता आउन सक्दिनँ, मसँग पोसपोर्ट पनि छैन’ भनेपछि बाबु पनि फर्के ।
१० रोपनीमा गोठ छन् । डेढ सय रोपनीमा घाँस छ । तीन सय भैंसीलाई घाँसले मात्रै पुग्दैन । दाना, चोकर र पराल मधेसबाट झिकाउँछन् । कामदार पनि मधेसबाटै ल्याएका हुन् । तिनलाई १२ देखि १६ हजार रुपैयाँसम्म तलब दिन्छन् । समस्या भैंसी रोगाउँदा आउँछ । भन्छन्, ‘भनेको बेला प्राविधिक पाइन्न । पाइए पनि भैंसीलाई उपचार गर्ने प्रविधि मान्छेको जस्तो विकसित भइसकेको छैन ।’
९० रुपैयाँ लिटरमा दिएको दूध डिपोहरूले सयमा बेच्छन् । डेढ करोडको दूध बिक्छ वर्षमा । डेरीलाई दिने हो भने ५० रुपैयाँ पनि आउँदैन । ‘धेरै दूध उत्पादन गर्न भैंसीभन्दा गाई जाती हो तर बहर काम लाग्दैनन् । पाप लाग्छ भनेर पनि भैंसी नै पाल्नुप¥या छ,’ उनी भन्छन् । उनीबारे समाचार पढेर साथीभाइले फोन गर्छन्, अनि सोध्छन्, ‘हैन बैंक छोडेको हो र ?’ कोही कोही त फर्म हेर्नै आउँछन् पनि । छक्क परेर फर्कन्छन् ।
गाउँलेले चाहिँ ‘यसले जागिर खाएर त भ्याएको छ, हामीले किन नभ्याउने’ भनेर भैंसी पाल्न थालेको देखेर उनलाई सन्तोष लाग्छ । कृषिमा लगानी बढाउन बैंकहरूको नीति सुधार्नुपर्ने सुझाउँछन् । भनेको जस्तो हुने भए अहिलेको पा“च करोडको फर्मलाई उनी पाँच गुणा ठूलो बनाउने हिम्मत राख्छन् । भर्खरै दूध दुहुने मेसिन ल्याएका छन् । ‘उपकरण र औषधोपचारमा सरकारी सहयोग भए पशुपालन फस्टाउँछ र दूध आपूर्ति बढ्छ,’ उनको अनुभव बोल्छ ।
प्रतिक्रिया दिनुहोस !