कृषिमा भुलेका बैंकर्स

कृषिमा भुलेका बैंकर्स

‘किसान भन्या छ, कम्प्युटरको अघि बस्या छ,’ कार्यकक्षभित्र प्रवेश गर्नासाथै उनी सुस्तरी हाँसे । बिहान ९ बजे चलाउन थालेको कम्प्युटरमा उनी साँझ ६/७ बजेसम्मै झुन्डिरहन्छन् । उनलाई सजिलै भेट्न नबिल बैंक पोखरा शाखामा पुुग्नुपर्छ, जहाँ उनी ग्राहकलाई व्यवसाय गर्न सिकाउँछन् । कारमा कुदेको र कम्प्युटर अगाडि व्यस्त इमानबहादुर गुरुङलाई धेरैले बैंकर भनेर चिन्छन् । त्यसभन्दा फरक उनको परिचय छ किसानको ।

खासमा गुरुङ किसानै हुन् । त्यो पनि चानेचुने होइन, राष्ट्रले नै मानेको । देशमै सबैभन्दा ठूलो किसान भनेर राज्यले पोहोर उनलाई पुरस्कृत ग¥यो । ‘राष्ट्रपति सर्वोत्कृष्ट कृषक’ घोषणा गर्दै सरकारले दुई लाख रुपैयाँ दियो । पोखराबाट बागलुङ राजमार्ग हुँदै जाँदा हेम्जाबाट दायाँ लागेर सेती नदी तरेपछि पुगिन्छ, लाहाचोक । यही गाउँमा छ, गुरुङको किसानी फर्म ।

उनको लाहाचोक कृषि फर्ममा तीन सय भैंसी छन् । दिनमा आठ सयदेखि १२ सय लिटर दूध दुहुन्छन् । साँझबिहानै गाडीले दूध पोखराका डिपोमा ल्याइपुर्‌याउँछ । उपभोक्ता लाहाचोकको दूध किन्न डिपोमै धुरिन्छन् । धेरैजसो नेपालीकै जस्तो इमानको पनि पुख्र्याैली पेसा कृषि हो । फरक के थियो भने अरुले आफ्नै घरको साँझबिहानको गर्जो टार्न पशुपालन गर्थे ।

उनका बाबुकै पालामा व्यावसायिक भेडापालन थियो, खर्कतिर चराउन पाइन्थ्यो । समयले कोल्टे फेर्दा ऊनका कपडाको चलन पातलियो र भेडापालनको औचित्य पनि रहन सकेन । पा“च वर्षअघि इमानले त्यसको सदुपयोग गर्ने सोचे, केही भैंसी किने । ‘भैंसीको संख्या बढेर २० वटा पुगेपछि फर्म नै दर्ता गरें,’ उनले सुरुवाती दिनका कथा हाले, ‘थपिँदा थपिँदै अहिले यति भए । यति धेरै भैंसी पाल्ने योजनामा चाहिँ थिइनँ ।’ पुख्र्याैली पेसा त अर्काे पनि थियो, सेनामा भर्ती हुने । बाबु बेलायती सेनामा थिए ।

इमानको इच्छै भएन लाहुरे हुने । ध्यान पढाइतिरै गयो । काठमाडौंमा पढ्दापढ्दै साथीको लहलहैमा लागेर नबिल बैंकमा आवेदन दिए । भन्छन्, ‘हावामै बैंक छिरियो ।’ ०५३ देखि नबिलमै छन् । अहिलेको जिम्मेवारी ‘अपरेसन म्यानेजर’ हो । व्यवस्थापन पढेका उनको कृषि फर्म यतिका विस्तार हुनुका पछाडि दुई कारण छन् । पहिलो, उनको व्यवस्थापकीय कौशल । दोस्रो, पत्नी वृतकुमारीको साथ ।

३० कामदारको संयोजन वृत्तकुमारी गर्छिन् । साँझ घर पुगेपछि इमानबहादुर अपडेट हुन्छन् । बिहान केहीबेर गोठमा नजर पु¥याएपछि बैंक पुग्नै पर्छ उनलाई । पत्नी पहिला हङकङ थिइन्, उतै डाक्थिन् । यिनले भने पासपोर्ट बनाएनन् । उनी फर्किइन् । दाजु बेलायत बस्छन् । बाबु पनि उतै थिए, ९३ वर्ष भइसके । ‘अब त बित्नुभयो भने पनि म त्यता आउन सक्दिनँ, मसँग पोसपोर्ट पनि छैन’ भनेपछि बाबु पनि फर्के ।

१० रोपनीमा गोठ छन् । डेढ सय रोपनीमा घाँस छ । तीन सय भैंसीलाई घाँसले मात्रै पुग्दैन । दाना, चोकर र पराल मधेसबाट झिकाउँछन् । कामदार पनि मधेसबाटै ल्याएका हुन् । तिनलाई १२ देखि १६ हजार रुपैयाँसम्म तलब दिन्छन् । समस्या भैंसी रोगाउँदा आउँछ । भन्छन्, ‘भनेको बेला प्राविधिक पाइन्न । पाइए पनि भैंसीलाई उपचार गर्ने प्रविधि मान्छेको जस्तो विकसित भइसकेको छैन ।’

९० रुपैयाँ लिटरमा दिएको दूध डिपोहरूले सयमा बेच्छन् । डेढ करोडको दूध बिक्छ वर्षमा । डेरीलाई दिने हो भने ५० रुपैयाँ पनि आउँदैन । ‘धेरै दूध उत्पादन गर्न भैंसीभन्दा गाई जाती हो तर बहर काम लाग्दैनन् । पाप लाग्छ भनेर पनि भैंसी नै पाल्नुप¥या छ,’ उनी भन्छन् । उनीबारे समाचार पढेर साथीभाइले फोन गर्छन्, अनि सोध्छन्, ‘हैन बैंक छोडेको हो र ?’ कोही कोही त फर्म हेर्नै आउँछन् पनि । छक्क परेर फर्कन्छन् ।

गाउँलेले चाहिँ ‘यसले जागिर खाएर त भ्याएको छ, हामीले किन नभ्याउने’ भनेर भैंसी पाल्न थालेको देखेर उनलाई सन्तोष लाग्छ । कृषिमा लगानी बढाउन बैंकहरूको नीति सुधार्नुपर्ने सुझाउँछन् । भनेको जस्तो हुने भए अहिलेको पा“च करोडको फर्मलाई उनी पाँच गुणा ठूलो बनाउने हिम्मत राख्छन् । भर्खरै दूध दुहुने मेसिन ल्याएका छन् । ‘उपकरण र औषधोपचारमा सरकारी सहयोग भए पशुपालन फस्टाउँछ र दूध आपूर्ति बढ्छ,’ उनको अनुभव बोल्छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.