हातमा डमी मात्र
घरको तेस्रो तलामा एउटा विशेष कक्ष छ, जसका भित्ता तस्बिरले रंगिएका छन् । हरेक तस्बिर राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान राकेश श्रेष्ठका लागि अलग्गै महत्वका छन् । ती सबैले उनको मेहनतको प्रतिफल झल्काउ“छन् । त्यसैले, साथीभाइ वा कोही विशेष पाहुनालाई घरमा स्वागत गर्दा सिधै सोही कक्षमा पुयाउँछन् ।
नेपाली फुटबलमा १३ वर्षको करिअरमा हात पारेको सफलता ती तस्बिरमा कैद छन् । जवानीको उर्वर समय खर्चेर हात पारेका ती उपलब्धीलाई जीवन्त राख्न श्रेष्ठले कम्ति मिहिनेत गरेका छैनन्, टंगालस्थित घरको त्यस कोठालाई विशेष ढंगले सजाउनुको कारण त्यही हो । कोठामा झुण्डिरहेकोमध्ये एउटा तस्बिरले सबैको ध्यान खिच्छ, जसलाई लेमिनेसन गरिएको छ र अन्यभन्दा ठूलो आकारको छ ।
टाढैबाट प्रस्टै देखिन्छ, प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले उनलाई ‘अपार्टमेन्ट’को डमी हस्तान्तरण गरिरहेका छन् । सोही कारण श्रेष्ठका लागि त्यो विशेष महत्वको बनेको हो । त्यसैले त आफ्नो उपलब्धीलाई जम्मा पारेर बनाएको त्यो एककोठे ‘मन्दिर’मा उनले त्यही तस्बिरलाई खास प्राथमिकता दिएका हुन् । यद्यपि, हरेक दिन उनलाई कोठामा पुग्दा नमीठो अनुभवले चिमोट्छ ।
सरकारले उत्कृष्ट फुटबलरलाई २० लाख मुल्यको अपार्टमेन्ट दिने घोषणा मात्र गरेन, डमी पनि हस्तान्तरण गर्यो। खेलाडीका घरको भित्ताामा सजिएको डमी भने अपार्टमेन्टमा परिणत हुने छाँटकाँट छैन।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले ३ भदौ ०६८ मा वर्षको उत्कृष्ट फुटबलर घोषित गर्दै २० लाख मूल्यको चार कोठे अपार्टमेन्ट पुरस्कार घोषणा गरेको थियो । त्यसका लागि २० लाख रुपैया“ सरकारले छुट्याएको थियो । तर, एन्फाले त्यहीँ बदमासी गरेको छ । अपार्टमेन्टका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट २० लाख रुपैया“ निकासा भइसकेको थियो ।
बनिसकेकै अपार्टमेन्टहरू पर्याप्त हँदाहुँंदै एन्फाले बन्दै नबनेको टावरमा उनलाई आवास दिने घोषणा गर्यो । घोषणामै एन्फाले दुई वर्षपछि मात्रै राकेशले अपार्टमेन्ट प्राप्त गर्ने जनाइएको थियो । तर, आर्थिक भार सरकारले बेहोर्दासमेत एन्फाले पाँच वर्ष बितिसक्दा पनि अपार्टमेन्ट उपलब्ध गराएको छैन ।
नेपाली फुटबललाई पुर्याएको योगदानको अवमुल्यन र आफूमाथि अन्याय भएको महशुस गरेका छन् श्रेष्ठले ।
आफूले अपार्टमेन्ट नपाउँदाभन्दा सम्बन्धित निकाय र पदाधिकारीले चासो नदेखाउँदा दुःखी छन् उनी । ‘मैंले कहिल्यै पुरस्कार पाउँछु भन्ने सोच राखेर खेलिनँ । सोखले फुटबल खेलेको हुँ । तर, एन्फाबाट एक्कासी अपार्टमेन्ट दिने घोषणा सुन्दा अचम्मित परें । त्यसभन्दा पनि धेरै खुशी भएको थिएँ,’ उनी भन्छन्, ‘तर, त्यो अपार्टमेन्ट अहिलेसम्म पाउन सकेको छैन ।
मलाई अपार्टमेन्ट दिने घोषणा गरेको सम्बन्धित निकायले पनि कुनै जानकारी दिंदैन । अपार्टमेन्ट पाउँदाको खुसी लामो समय मनाउन पाइनँ । अपार्टमेन्ट पाएर पनि नपाएजस्तै भएको छ ।’सरकारले बजेट उपलब्ध गराएको अवस्थामा दुई वर्षपछि मात्रै अपार्टमेन्ट उपलब्ध गराउने घोषणा गर्नुमै एन्फाको बेइमानी देख्छन् श्रेष्ठ । ‘घोषणा गर्दा मलाई दिने भनिएको अपार्टमेन्टको जगसमेत हालेको थिएन । जब की, त्यतिबेला बनेकै अपार्टमेन्टहरू पनि प्रसस्तै थिए,’ राकेशको गुनासो छ, ‘सरकारले पैसा दिएको अवस्थामा पनि एन्फाले किन त्यस्तो ग¥यो ? राज्यले दिने भनेको पुरस्कारमा पनि एन्फाबाट झेल भयो ।’
उनले अझ पेचिलो कुरा सुनाए । ‘०६२ मा उपेन्द्रमान सिंह र ०६३ मा हरि खड्काले कार पाएपछि त्यस्तै पुरस्कारका लागि राष्ट्रिय टोलीमा पुर्याएको योगदान तथा घरेलु लिगमा गरेको प्रदर्शनका आधारमा ०६४ सालमै म एक्लो दाबेदार थिएँ ।त्यसको पाँच वर्षपछि मात्र मलाई अपार्टमेन्ट दिने घोषणा भयो,’ उनी भन्छन्, ‘त्यो पनि समयमै नपाउँदा समग्रमा मेरा यी १० वर्ष तनाव र निराशामै बिते ।
सायद अपार्टमेन्ट समयमै पाएको भए फुटबलप्रतिको मेरो लगाव र समर्पण अझ बढी हुन्थ्यो होला । फुटबल विकासको कुरा गर्नुपर्ने बेलामा आफ्नो पुरस्कारबारे बोल्दै हिंड्नुपर्ने अवस्था छ ।’एन्फाले ०६२ सालदेखि फुटबलरलाई ठूलो पुरस्कार दिन सुरु गरेको हो । एन्फाले पहिलो पटक ०६२ मै सरकारको सहुलियतमा राष्ट्रिय टोलीका पूर्वकप्तान सिंहलाई ‘यारिस’ कार दिएको थियो ।
अर्को वर्ष अर्का पुर्वकप्तान हरि खड्कालाई पनि यासिर कार दिइयो । त्यसबेला दुवै कारका लागि सरकारले २० लाख बराबरकै कर मिनाहा गरिदिएको थियो । सधैं कर छुट गर्न मुश्किल हुने भएपछि खेलकुद मन्त्रालयको पहलमा सरकारले बजेटमै पर्ने गरी वार्षिक २० लाख रुपैयाँ वर्षका उत्कृष्ट फुटबलरलाई पुरस्कृत गर्ने गरी एन्फालाई दिने निर्णय गरेको थियो ।
सरकारको त्यस निर्णयपछि अपार्टमेन्टबाट पुरस्कृत हुने घोषणा गरिएका श्रेष्ठ नै पहिलो फुटबलर थिए ।यस अवस्थामा नेपाली फुटबलमा डेब्युपछि लगातार ३४ खेलसम्म परिवर्तन नभई पुरै ९० मिनेट खेल्ने कीर्तिमान कायम गरेका श्रेष्ठ अपार्टमेन्ट पुरस्कार पाउने पनि पहिलो फुटबलर हुने थिए तर डमी अझै अपार्टमेन्टमा परिणत भएन । एन्फाले श्रेष्ठपछि पूर्वकप्तान सागर थापा र गोलरक्षक रीतेश थापालाई पनि अपार्टमेन्ट दिने घोषणा गरेको थियो ।
तर, खेल मिलेमतोको आरोपमा हाल एसियाली फुटबल महासंघ (एएफसी) र अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)को आजीवन प्रतिबन्धमा रहेका सागर र रितेशले समेत अपार्टमेन्ट पाएका छैनन् ।फुटबल विश्लेषक नवीन पाण्डे कुनै मापदन्डविना सुरु गरिएका त्यस्ता पुरस्कार नै गलत मान्छन् । यस्ता पुरस्कारले फुटबल विकासमा आधारभूत प्रभाव नपार्ने उनको तर्क छ ।
तर, खेलाडीलाई दिने घोषणा गरेर पनि नदिइनु एन्फाको बेइमानी मान्छन् उनी । ‘ठूला राशीका पुरस्कार भए पनि एन्फा र विशेषगरी पुर्वअध्यक्ष गणेश थापाले यसलाई खेलाडीलाई आफ्नो प्रभावमा पार्नका लागि प्रयोग गरे । यो पुरस्कार प्रदान गरि“दा न कुनै मापदन्ड तोकिएको छ, न पारदर्शीता नै कायम गरिएको छ,’ पाण्डे भन्छन्, ‘वर्षदिनमा एक खेलाडीलाई २० लाखको पुरस्कार दिँदैमा नेपाली फुटबलले फड्को मार्छ भन्ने होइन ।
हाम्रो फुटबल विकासको आवश्यकता अर्कै हो । तर, घोषणा गरेर पनि पुरस्कार नदिनु एन्फाको ठूलो बेइमानी हो ।’ उनी एन्फाले देशकै ठूला राजनीतिज्ञको हातबाट डमी हस्तान्तरण गराएको पुरस्कार अझै नदिँदा ती राजनीतिज्ञकै मर्यादामा प्रहार गरेको बताउँछन् । खेलाडीले त्यस्ता पुरस्कार पाए/नपाएकोबारे डमी हस्तान्तरण गर्ने राजनीतिज्ञ र राखेपले समेत चासो व्यक्त गर्नुपर्ने पाण्डेको भनाइ छ ।
‘अपार्टमेन्टको डमी हस्तान्तरण गर्न राजनीतिको उपल्लो तहमा पुगेका व्यक्तिलाई निम्त्याउने तर पुरस्कारचाहिँ नदिँदा खेलाडी मात्रै मारमा पर्दैनन्, ती व्यक्तित्वको पनि बेइज्जती हुन्छ,’ उनी भन्छन्, ‘त्यसैले डमी हस्तान्तरण गर्ने व्यक्तित्वले पनि खेलाडीले त्यस्ता पुरस्कार पाए÷नपाएको चासो व्यक्त गर्नुपर्छ । आफैंले दिएको सरकारी बजेटको सदुपयोग भए/नभएको हेर्ने जिम्मेवारी राखेपको पनि हो ।
त्यसैले परिषद्ले पनि खोजी गर्नुपर्छ ।’श्रेष्ठले अपार्टमेन्ट पाउने आशा अझै मारेका छैनन् । भन्छन्, ‘म भगवान्मा विश्वास गर्छु । अहिलेसम्म नराम्रो गरेको छैन । राम्रो गर्ने र नगर्नेलाई भगवानले हेर्लान् । त्यसमाथि एन्फामा नयाँ अध्यक्ष आउनुभएको छ । उहाँको कार्यकालमा प्राप्त होला कि ।’ तर, उनको आशा अझै केही वर्ष पुरा हुने छाँटकाँट छैन ।
एन्फाले ललितपुरका ‘मेरो सिटी’ अपार्टमेन्टसँग खेलाडीका लागि सम्झौता गरेको थियो । निकै ढिलागरी भर्खरै बन्दै गएको उक्त अपार्टमेन्ट गत वर्षको महाभूकम्पले नराम्ररी हल्लाएको छ । अझै ‘इन्टेरिअर’ काम बाँकी छ । पूरै निर्माण तत्काल सकिने छाँटकाँट छैन ।
प्रतिक्रिया दिनुहोस !