जसले माछा पालेरै भाइ र छोरालाई डाक्टर बनाए
सप्तरी: सिरहाका पाण्डव मण्डल र सप्तरीका बलराम यादवले छोरा र भाइलाई डाक्टर मात्रै बनाएनन् झन्डै २५ जनालाई रोजगारी दिनुभयो र थोरै जमिन हुनेलाई पनि माछापालन व्यवसाय गर्न लगाए।
जहाँ इच्छा त्यहाँ उपाय भने झैँ मण्डल र यादवको चाहनालाई जिल्ला कृषि विकास कार्यालय सिराहा र सप्तरीका मत्स्य विकास अधिकृतले पूरा गरिदिए। नेपाल सरकारको प्राविधिक सहायता र तराईमा एक हेक्टर जमिन बराबर तीन लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने नीतिका कारण तराईमा माछापालन गर्ने किसानको सङ्ख्या अहिले बढेको छ ।
बलरामका छोरा अनिल यादवले गत वर्ष नेपालबाट एमबिबिएस (डाक्टर) को उपाधि प्राप्त गरे। अनिल केही महिनापछि मेडिकल डाक्टर (एमडी) अध्ययनका लागि मित्र राष्ट्र चीन जाने अन्तिम तयारीमा छन्।
त्यसो त सिरहाका पाण्डवले भाइ ओमप्रकाश मण्डल र धीरज मण्डललाई नेपालमा एमबिबिएस अध्ययन गर्न लगाए। मण्डलले आफ्नो फार्म भाइको नामबाट स्थापना गरेका छन्। सशस्त्र द्वन्द्वको चपेटाबाट ओमले नयाँ जीवन प्राप्त गर्न सकेकाले फार्मको नाम ‘ओम मत्स्य फार्म’ राख्नु भएको रहेछ ।
सप्तरीका भरतकुमार शाहले पथ्थरगडा–७ मा व्यावसायिक माछापालन सुरु गरेका छन्। आठ बिगाह जग्गामा व्यावसायिक माछापालन सुरु गरेका शाहको उत्साहको स्रोत यादव र मण्डल हुन् । उनको ११ वटा पोखरी छन् । प्रतिकट्टा १२० केजी धान दिएर उनले आठ बिगाहा जग्गा भाडामा लिएका हुन्।
भरतका अनुसार उनको पोखरीमा प्रतिकट्ठा २०० देखि २५० केजीसम्म माछा उत्पादन हुन्छ । सरदर जम्मा ३७ हजार केजी माछा उत्पादन हुने र ती माछा १९० देखि २०० प्रतिकेजीसम्ममा बिक्री गर्दा उनलाई खर्च कटाएर वार्षिक ५० लाख आम्दानी हुन्छ ।
नकटी रायपुर–८ रुपनी सप्तरीमा बलराम यादवले झन्डै १० बिगाह जमिनमा माछा व्यवसाय गरेका छन्। उनको पोखरीमा १० जना व्यक्तिले रोजगारी पाएका छन्। उनका १३ वटा पोखरी छन् । सरकारबाट सात लाख ८० हजार अनुदान प्राप्त गरेका बलरामको कुल लगानी २४ लाख रुपैयाँ छ। उहाँले खर्च कटाएर वार्षिक ६० लाख बचत ग र्छन्।
त्यस्तै, सिरहाका पाण्डव मण्डलले विसं २०७० मा ओम माछा फार्म दर्ता गरी व्यावसायिक माछापालन सुरु गरेका हुन्। उनको ४५ लाख रुपैयाँ ऋण छ। उनले सरकारबाट आठ लाख रुपैयाँ अनुदान प्राप्त गरेका छन्। उनका ११ वटा पोखरी छन्। उनले खर्च कटाएर वार्षिक रु ५५ लाख बचत गर्छन्। उनका फार्ममा १४ जनाले रोजगारी पाएका छन्।
यहाँका अधिकांश पोखरीमा पङ्गासिएस, कार्प, रहु, नैनी, भाकुर र विदेशी जातमा कमन, सिल्भर, बिगहेड र ग्रासकार्प माछा उत्पादन गर्ने गरिन्छ। पङ्गासिएसलाई माछा जातमा राजा मानिन्छ। उक्त माछाको मेरुदण्डमा सग्लो एकमात्र काँडा हुन्छ।
कुल गार्हस्थ्य उत्पादनमा माछाको योगदान चार दशमलव शून्य २२ प्रतिशत छ । नेपालमा माछाको बजार प्रचुर छ । आर्थिक वर्ष २०७२/७३ को असार मसान्तसम्म ४० हजार ३३६ वटा पोखरीबाट व्यावसायिक माछा उत्पादन कार्य भइरहेको सरकारी तथ्याङ्क छ ।
नेपाल मत्स्य व्यवसायी सङ्घका महासचिव जोगेन्द्र महतोका अनुसार भारतबाट प्रतिवर्ष झन्डै ७० प्रतिशत माछाको आयात हुन्छ । आव २०७२/७३ को असार मसान्तसम्म पोखरीबाट ५५ हजार ५०० मेट्रिक टन र प्राकृतिक जलाशय, खोला तथा तालबाट २२ हजार ५०० गरी वार्षिक ७८ हजार मेट्रिक टन माछा उत्पादन भएको छ । सङ्घका अनुसार भारतबाट वर्षैपिच्छे ५४ हजारदेखि ६० हजारसम्म मेट्रिक टन माछा आयात हुने गरेको छ । यस आवमा गत आर्थिक वर्षको तुलनामा २९ प्रतिशतले माछा आयातमा कमी आएको बताइन्छ ।
आव २०७२÷७३ को असार मसान्तसम्ममा नौ हजार ९३४ हेक्टर जलाशय व्यावसायिक माछा उत्पादनका लागि उपयोगमा ल्याइएकोे छ । माछा उत्पादन कार्यमा ३५ हजार व्यवसायी किसान आबद्ध भएको बताइन्छ ।
खाद्य तथा गुणस्तर विभागले भारतबाट फर्मालिनको प्रयोग भएको माछा आयात भएको प्रमाणित गरेपछि काठमाडौँमा जिउँदो माछाको व्यापारसमेत बढेको छ । अठार महिनादेखि राजधानीमा ३८ वटा कक्षबाट जिउँदो माछाको बिक्री वितरण गर्दै आएको गोल्डेन लाइफ फिस इन्टरप्राइजेजका धनी खगेन्द्र ढकालले जानकारी दिए। राजधानीको बल्खु, चाबहिल, बानेश्वर, कलङ्की, बसुन्धरालगायतका चोकमा विभिन्न जातका जिउँदो माछा रोजीरोजी उपभोक्ताले खरिद गर्न सक्छन् ।
फर्मालिन एक प्रकारको रसायन हो । यसको प्रयोग लासलाई ताजा बनाइराख्न प्रयोग गरिन्छ । फर्मालिन प्रयोग भएको माछा खानाले मानव स्वास्थ्यमा प्रतिकूल असर पर्ने कृषि सूचना तथा सञ्चार केन्द्रका प्रमुख नारायण न्यौपानेको भनाइ छ ।
कुखुराको मासुको विकल्पमा उपभोक्ताले माछा रोज्न थालेपछि चितवन जिल्लाबाट ट्याङ्करमा माछा आयात गरी राजधानीका विभिन्न स्थानबाट जिउँदो माछा बिक्री वितरण गर्न थालिएको हो ।
नेपालमा करिब ५० जिल्लामा माछाको व्यावसायिक उत्पादन हुन्छ । यसमध्ये जनकपुर, चितवन, बाराको बोध वन, रुपन्देहीको छपिया र मोरङको बाबियाबिर्ता माछा उत्पादनका लागि प्रमुख क्षेत्र मानिन्छ । राजधानीसँग सहज पहुँच पुगेको चितवन जिल्लाले मात्र काठमाडौँमा माछा आपूर्तिलाई धानेको बताइन्छ ।
पछिल्लोपटक बर्डफ्लु रोगको सङ्क्रमणबाट हजारौँ किसान मर्कामा परेलगत्तै मासु उत्पादनमा लागिपरेका किसान माछा उत्पादनतर्फ आकर्षित भएका हुन् । रासस