सोचे जस्तो छैन घान्द्रुक

सोचे जस्तो छैन घान्द्रुक

लाहुरे संस्कृतिको गहिरो असर भेटिन्छ अर्थतन्त्रमा पनि । स्थानीय उत्पादन नगन्य छ । गाउँमा मकै र मोहीभन्दा क्यापुचिनो र अमेरिकानो सजिलै पाइन्छ । कोदोको ढिँडोभन्दा पास्ता र स्पागेटी बनाउन सजिलो मान्छन्, होटेलवालाहरू ।

'हेर्दा राम्रो घान्द्रुके गाउँ छ
बस्ने भए मायालु दिलमा ठाउँ छ'

तिलक बम मल्लको स्वरमा सजिएको गीतको घान्द्रुके गाउँमा छु म । हिमालको काखमा लहलह कोदो पाकेको घान्द्रुकको पर्यावरण देखेर थाहै नपाई मुखबाट फुस्किन्छ - आहा ! तर म भने बेचैन छु । आफ्नै देशमा पराइ हुनुको बेचैनीले डामिरहेछ मलाई । पर्यटन व्यवसायलाई प्रमुख आर्थिक स्रोतमध्ये एक मानेको देशको प्रमुख पर्यटकीय क्षेत्रमा आएपछि मात्रै यो व्यवसायका अँध्यारा पाटाहरू देखिने रहेछन् । अन्नपूर्ण सर्किटको प्रमुख रमणीय स्थान घान्द्रुकमा विडम्बना मल्लको गीतमा जस्तो मायालु दिल पाउन भने गाह्रो रहेछ ।

गाउँ पुग्दा अँध्यारो थियो । हाम्रो समूह ठूलो थियो । एउटै होटेलमा सबै नअट्ने भएकाले साथीले अर्को होटेलमा बास मागे । जवाफ साह्रै नमिठो आयो, 'नेपालीलाई कोठा दिँदैनौँ ।' होटेलको नाम याद भएन । आन्तरिक पर्यटनले देशको अर्थतन्त्रमा राम्रो योगदान गरिरहेको दाबी गरिएको समयमा घान्द्रुकेको यो अभिव्यक्तिले आफन्तलाई पाखा लगाएर पराइलाई अँगालेको जस्तो महसुस गरायो ।

यो घुमघामको मौसम हो । हिमाल सफा देखिने भएकाले अन्नपूर्ण सर्किटमा पर्यटकको आगमन बाक्लो छ । प्रशस्तै भेटिन्छन् देशी, विदेशी पर्यटक । त्यसैले होला सायद, विदेशीलाई बढी महत्त्व दिइएको छ । तर फरक भेटिए 'गुरुङ कटेज'का किसम गुरुङ । विदेशीलाई भन्दा नेपालीलाई बास दिन रुचाउँदा रहेछन् उनी । पचास कटिसके । होटेल चलाइरहेछन् । उनलाई सम्झना छैन, यो भूगोलमा कहिलेदेखि आउन थाले पर्यटक ।

उनले सम्झन सक्ने बेलादेखि नै घान्द्रुकमा विदेशी पर्यटक देखिरहेका रहेछन् । नेपालीका लागि भने केही वर्षदेखि मात्रै यो पर्यटकीय गन्तव्य बनेको छ । पहिलेदेखि गोरा अनुहार देख्ने बानी लागेकाले पनि होला घान्द्रुकेलाई नेपाली अनुहार त्यति प्रिय नलागेको । सस्तोमा नेपालीलाई बास दिनुभन्दा विदेशीलाई महँगो शुल्क लिनु फाइदा हुने भएकाले पनि होला यति निष्ठुर भइदिएको ।

गाउँमा छैन गाउँ

सहरदेखि टाढा प्राकृतिक सौन्दर्यसँगै गाउँको मौलिकता हेर्ने चाहना थियो । त्यसैले निस्किएँ गाउँ घुम्न । अन्नपूर्ण सर्किटको पहिलो स्टप घान्द्रुक गाउँ विकास समिति वडा नम्बर ३ का अधिकांश घरहरू होटेल बनेका रैछन् । अधिकांश आधुनिक सिमेन्टेड । नेपाली घरहरूको मौलिक स्वरूप हेर्न चाहनेहरूका लागि यो दृश्य आँखामा बिझाउँदो रहेछ । राम्रो पक्ष, गाउँ भने निकै सफा र चटक्क परेको छ । बाटोमा कतै फोहोर भेटिँदैन । काठमाडौंमा बरु बाटोमा डस्टबिनहरू भेटिँदैनन् तर घान्द्रुकका बाटोमा फोहोर व्यवस्थापनका लागि डस्टबिनहरू राखिएको देखेँ ।

रहरलाग्दो ढुंगा छापेको बाटो मौलिक थियो । हरियालीले मन लोभ्याइरह्यो । ढुंगा छापेको बाटो करिब १५ हिँड्दा पुरानो गाउँ आँखा अगाडि उभियो । रातो माटो र कमेरोले लिपेको । ढुंगाका छाना । मौलिक घरहरू देख्दा मन रमायो । सायद लुकिबसेको नस्टाल्जिया जाग्यो एकाएक ।

गाउँ भने सुनसान थियो । अधिकांश युवा विदेशमा छन् । बाँकी भएका वृद्धवृद्धा कोदो टिप्न गएका थिए । रहेका केही युवाले होटेल चलाएका छन् । लाहुरे संस्कृतिको गहिरो असर देखिन्छ गाउँमा । युवाहरू हङकङ, यूकेमा लाहुरे छन् । ती लाहुरेको घरमा होटेल या होमस्टे चलाएर आफन्तहरू बसेका छन् । कतिसम्म भने गाउँमै रहेको होटेलमा काम गर्न बाहिरबाट मान्छे ल्याउनुपर्छ । 'गुरुङ कटेज'मै पनि दुईजना मात्र स्थानीय कर्मचारी छन् । बाँकी दुईजना घान्द्रुक बाहिर आएका रैछन् ।

लाहुरे संस्कृतिको गहिरो असर भेटिन्छ अर्थतन्त्रमा पनि । स्थानीय उत्पादन नगन्य छ । गाउँमा मकै र मोहीभन्दा क्यापुचिनो र अमेरिकानो सजिलै पाइन्छ । कोदोको ढिँडोभन्दा पास्ता र स्पागेटी बनाउन सजिलो मान्छन्, होटेलवालाहरू । घुमिहिँड्दा यसो गफ गरौं भने पनि होटेल चलाउन व्यस्ता आमाहरू 'फुर्सद छैन नानी' भन्छन् । लाग्यो, नेपाली मनमा भएको आत्मीयता विदेशी पैसाले हडपेको छ ।

होटेल फर्किएर पोखराबाट ल्याइएको चामलको भात खाइयो । आलु भने गाउँकै उत्पादन रहेछ । लेकमा भएकाले घान्द्रुकमा धान खेती नहुने रहेछ । यहाँको उत्पादन आलु, कोदो, जौ । त्यही उत्पादन पनि काम गर्ने युवाको अभावमा घट्दै गएको । पोखराबाट खच्चडमा सामान ल्याएर चल्ने यहाँको होटेलको नियति ।

सम्झना पुरानै मीठो

गुरुङ समुदायको बाहुल्य रहेको घान्द्रुकमा राई, ठकुरी, क्षेत्री पनि छन् । गाउँका हर्ताकर्ता उज्ज्वल गुरुङले अहिले घान्द्रुकमा गुरुङहरूको २६ औं पुस्ता बसिरहेको जानकारी दिए । बाटोमा ७५ वर्षकी आमै भेटिइन्, मालाखोरे बजै । ७५ वर्षकी मालाखोरे बजै अहिले पोखरामा बस्दिरहिछन् । केही दिन गाउँ बस्न भनेर आएकी । घाँटीमा भिरु माला, बुट्टे चोली, पटुकी, कानभरि रिङ, टाउकोमा क्रोमो गुथेकी बजै आठ वर्ष भएछ पोखरा गएकी । उमेरले डाँडा काटेको पत्तै पाएकी थिइनन् उनी । उकालीओराली गरिरहेकी बैंसमा जस्तै ।

तर, गाउँ फर्कंदा कुनै उल्लास लाग्दो रैनछ । दिनभरि काम गरेर बेलुकी रोदी बस्ने पुराना दिन सम्झि भावुक भइन् उनी । भनिन्, 'रोदी गाउने चलन हरायो, कानको रमाइलो पनि छैन, आँखाको रमाइलो पनि छैन ।' त्यसैले उनलाई पूरै गाउँ सुनो लाग्दो रहेछ । पुरानो दिन सम्झँदै आफ्नो जवानीको गीत सुनाइन् उनले -

चौतारीमा वर हैन पिपलु
लानेभन्दा फकाउने सिपालु

समयसँगै फेरिएको घान्द्रुकदेखि उच्चाट लागेको रैछ उनलाई । 'कुइरेहरू आएपछि नयाँ डिजेनको घर बनाउन थाल्यो', टिप्पणी गरिन् उनले ।

संग्रहालयमा पहिचान

कुनैकुनै घरमा संग्रहालय खोलिएका रहेछन् । गुरुङ पोसाक लगाएर फोटो खिच्न पाइँदो रहेछ । यो सुविधा पर्यटकका लागि । स्थानीय गुरुङसेनीहरू त एडिडासको ट्राउजर नै लगाउन रुचाएजस्तो देखिए । पहिचान संग्रहालयमा पसेछ । पर्यटकलाई बेच्ने सामान बनेछ ।

'अन्तर्राष्ट्रिय वाटरकलर सोसाइटी'ले आयोजना गरेको 'अन्तर्राष्ट्रिय जलरङ महोत्सव' अन्तर्गतको कार्यक्रम सन्दर्भ थियो घान्द्रुक पुग्ने । ४० विदेशी कलाकारसहित स्वदेशी कलाकारको कार्यशाला राखिएको थियो त्यहाँ । विकसित मुलुकका अत्याधुनिक जीवन चित्रमा कोरिरहेका कलाकारलाई हिमालको काखमा पुग्दा बेग्लै संसारमा पुगेजस्तो भान भइरहेको थियो ।

धन्न प्रकृतिले हिमाल दिएको छ हामीलाई । यही अन्नपूर्ण र माछापुच्छ्रे बेचेर घान्द्रुकले सुविधासम्पन्न होटेल चलाइरहेको छ । बिहान, दिउँसो र बेलुका रङ फेरिरहने हिमाल कहिले सुन झैं देखिन्छ कहिले चाँदी झैं । कहिले बादलसँग लुकामारी खेल्छ । मनमनमै सोचिबस्छु - छातीमा बिक्रीको ट्रेडमार्क टाँसिएको थाहा होला कि नहोला हिमाललाई ?

उच्च तापक्रमका कारण अन्नपूर्णको चुचुरोबाट बाफ बनेर फुसफुस उँडिरहेको हिउँ देखिन्छ । हिमालको धेरै भागमा हिउँभन्दा काला चट्टानमात्र देख्दा साह्रै दुःख लाग्छ । 'ग्लोबल वार्मिङ' ले यसरी गाल्दै गए अबको केही वर्षमा हाम्रा हिमाल नांगिनेछन् कल्पिँदा अत्यास लाग्छ । अनि के बेच्नेछौं हामीले ? उट्पट्याङ प्रश्न दर्गुछ मनमा ।

साँझ 'आमा समूह'ले पाहुनालाई स्वागत कार्यक्रम आयोजना गर्छन् । अपुरो गुरुङ पोसाकमा आएका महिलाले फूलमालाले स्वागत गर्छन् । तर घान्द्रुकको मौलिक नृत्य र गीत सुन्ने रहर अपुरै रहन्छ । मेमोरी चिप्समा संग्रृहीत गीत बज्छ । नाचगान हुन्छ अपुरो, अधुरो । कार्यक्रम सकिन्छ तर मनमा असली घान्द्रुक देख्ने रहर बाँकी नै रहन्छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.