इमानको प्रश्न

इमानको प्रश्न

'भने जति पैसा पाए ? ' हरेक मानिसले गर्ने कामना गर्छन् उनीहरूले पनि । तर अचानक हात परेको तीन करोडले उनीहरूको जीवनमै फेरबदल ल्याइदिन्छ ।

'तपाईं यसको सिक्वेल बनाउँदै हुनुहुन्छ ? ' बुधबार राति पछिल्लो नेपाली फिल्म 'जात्रा' हेरेर निस्कँदै गर्दा त्यसका निर्माता रवीन्द्रसिंह बानियाँलाई सोध्छु । 'हेरुँ दर्शकको चाहना कस्तो हुन्छ ? ' उनी कूटनीतिक जवाफ दिन्छन् । यद्यपि ओपन इन्डिङ गरिएको फिल्मको अन्त्यमा यति धेरै क्लु छोडिएका छन् जहाँबाट पनि स्टोरी सुरु गरेर सिक्वेल बनाउन सकिन्छ । सिक्वेलको लहर जो छ ।

प्रदीप भट्टराईको कथा तथा निर्देशनमा बनेको फिल्म 'जात्रा' आफैंमा भने पछिल्लो नेपाली फिल्म निर्माणको ट्रेन्ड बाहिर छ । सुन्दर कथा संयोजन, उत्कृष्ट दृश्य छायांकन, स्वाभाविक संवाद, सही पात्र छनोट आदिले फिल्मलाई उत्कृष्ट बनाएका छन् । फिल्म निर्माण गर्दा स-साना पक्षमा पनि ध्यान दिन नछुटाएको प्रस्ट देखिन्छ । ब्ल्याक कमेडी यसको विशेषता हो तर हँसाउनकै लागि बजारमा भएका सारा जोक्स जुटाउने दुःख गरिएको छैन । फिल्म सुरु भएदेखि अन्त्यसम्मै दर्शक हाँसेको सुनिरहँदा कमेडीकै लागि भएजत्तिका जोक्स जुटाउन नपर्दोरहेछ भन्ने पुष्टि हुन्छ । हँसाउनकै लागि दुःख गरिरहेका पछिल्ला केही फिल्म निर्माता÷निर्देशकलाई यो गतिलो जवाफ हुन सक्छ ।

'मैले कुनै गतिलो विषय उठाउन वा समाजलाई मार्गनिर्देशन गर्न यो फिल्म बनाएको होइन', निर्माता बानियाँको कन्फेसन छ, 'पूर्णतः मनोरञ्जनका लागि बनाएको हुँ ।' बानियाँ जुन उद्देश्यमा स्पष्ट छन् फिल्म पनि त्यही अभिप्रायमा उत्कृष्ट देखिन्छ । नायिकालाई ननंग्याई, आइटम गीत त परै जाओस् एउटै गीत नराखी, टङ किस र बेड सिन नघुसाई पनि मनोरञ्जन दिन सकिन्छ भन्ने गतिलो उदाहरण बनेको छ- 'जात्रा' ।

आर्थिक अभाव र इमानदार जीवनबीचको द्वन्द्व कथाको मूल विषय हो । मूल तीन पात्र - फणीन्द्र (विपिन कार्की), जोएस (रवीन्द्रसिंह बानियाँ) र मुन्ना (रवीन्द्र झा) स-साना व्यवसाय गरिरहेका इमानदार नागरिक हुन् । यी आ-आफ्ना व्यवसायमा सफल छन् । तर, घेरिएका छन् अनेकन् समस्याका जञ्जालले । अनेकन् धन्धा गरेर काठमाडौंमा घर बनाउने, गाडी चढेर हिँड्ने जेठो ज्वाइँसँग तुलना गरेर सधैं हेपिरहने ससुराबाले फणीन्द्रको इज्जतको हुर्मत लिइरहन्छन् । फणीन्द्र इमानदार छ । मोबाइलको रिंग टोनमै 'मागी मीठो खाँदैन...' बजाउँछ । छोराको नाम पनि इमान नै राखेको छ । तर, इमानदार जीवनका दुःख अनेकन् छन् ।

मधेसबाट केही कमाउने सपना बोकेर काठमाडौं पसेको मुन्ना ऋणमा फसेको छ । तोकेको भाकामा तिर्न नसक्दा प्रहरी हिरासतमा जाने-फर्किने चक्कर नियमितता भएको छ ।

कम्मरमा कथा च्यापेर पसल बिक्री हुने कामना गरिबसेको जोएसको जिन्दगी एक निर्दोष युवतीको त्यागले द्रवीभूत छ । उसलाई बचाएर प्रेम स्थापित गर्ने महान् यात्रामा पटकपटक आर्थिक अभाव ठेस लागिरहन्छ ।

'भने जति पैसा पाए ? ' हरेक मानिसले गर्ने कामना गर्छन् उनीहरूले पनि । तर अचानक हात परेको तीन करोडले उनीहरूको जीवनमै फेरबदल ल्याइदिन्छ । अभावमा फक्रिएको इमान प्राप्तिमा डग्मगाउन थाल्छ । र, जिन्दगीको जात्रा सुरु हुन्छ । यही जात्रा नै फिल्मको कथा हो ।

पैसालाई प्रमुख बनाइरहेको समाजमा क्षयीकरण भइरहेको नैतिकता, धरापमा परेको इमान, प्रश्नको फणा उठाइरहेको सामाजिक हैसियत फिल्मको केन्द्रीय भाव हो । हँसाउँदा हँसाउँदै, पूर्ण मनोरञ्जन दिँदादिँदै फिल्मले हरेक दर्शकलाई प्रश्न सोध्छ - 'हेल्लो, तपाईंको इमान र यथार्थ जीवनको तालमेल कत्तिको छ ? ' बेइमान यो दुनियाँमा मौका पाउँदासम्म बेइमानी नगरिरहन सकस छ । किनभने तपाईंलाई सपना देखाएको छ बजारले - सुखी जिन्दगीको सपना । तपाईंको अस्तित्वको मापन गरिरहन्छ सामाजिक हैसियत । त्यस्तो हैसियत जसलाई नाप्छ घरको उचाइ, चढ्ने मोटर, लगाउने लुगा र छोराछोरी पढ्ने स्कुल, कलेजले ।

हरेक मानिसको इमान यहाँ धरापमा छ । कुनै पनि बेला डग्मगाउन सक्छ किनभने हामीले बनाएका मूल्य-मान्यता कसैको इमानदारीमा होइन उसको आर्थिक हैसियतमा आधारित छन् । यसै भन्छ फिल्म, पेटबोलीमा । अन्ततः एउटा ठूलो प्रश्न छोडेर सकिन्छ फिल्म- 'खोइ दुई करोड ८० लाख ? '

हलबाट निस्कँदा दर्शकको दिमागमा प्रश्न हुलिदिएमात्र सफल फिल्म बन्छ भन्ने एकथरी मान्यताबाट ग्रसित देखिन्छन् निर्माता÷निर्देशक । यो मान्यता कत्तिको सफल हो ? छलफलको विषय बन्न सक्छ । प्रश्न हुलिदिन भने सफल छ यो फिल्म ।

आदर्शको जामा च्यातेर कटु यथार्थ पर्दाफास गर्न फिल्म चुकेको छैन । न त यो चुकेको छ कुनै निर्माण पक्षमा । अनेकौं तहका भावना सम्प्रेषण गर्न सफल छ । राजनीतिक रूपमा सही छ, कुनै जाति विशेष, क्षेत्र विशेषलाई कमेडीकै लागि प्रयोग गरेको छैन । ब्ल्याक कमेडीको स्वादमा पूर्णतः मनोरञ्जन दिन्छ ।

फिल्मबारे टिप्पणी गरिरहँदा एउटै प्रश्न उठ्छ - प्रविधि प्रयोगमा सिपालु, कथा बुन्न जानेका, अभिनयमा अब्बल, मेहनती रवीन्द्रसिंह बानियाँजस्ता निर्माताहरूले के मनोरञ्जनकै लागि मात्र फिल्म बनाइरहने हुन् त ? सामाजिक मुद्दा उठाउन र डिस्कोर्स निर्माणमा के यो सीप प्रयोग हुन सक्दैन ? प्रश्न किन पनि भने, विशुद्ध मनोरञ्जनकै लागि फिल्म हलसम्म जाने जमाना अब सकिइसक्यो । सामाजिक सचेतना र डिस्कोर्समै इन्जोय गर्ने दर्शक अब हुर्किसकेका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.