६० किलो चरेससहित एक भारतीय नागरिक पक्राउ
वीरगन्जः वीरगन्जको सिर्सिया खल्वाटोलबाट प्रहरीले ठूलो परिमाणमा लागु औषध चरेससहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
प्रहरीले वीरगन्ज उपमहानगरपालिका–२८ सिर्सिया खल्वाटोलाबाट गएराति ६० केजी चरेससहित भारत बिहारको पुर्वी चम्पारण अन्तर्गत पर्ने रक्सौलको हरदिया गाँउ निवासी ३३ वर्षीय असलम मिया अन्सारीलाई पक्राउ गरेको हो।
विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा र वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरीको टोलीले खल्वाटोलमा बी आर ०५ पी ७८२४ नम्बरको टाटासुमो चेकजाँच गर्दा दुईवटा बोराबाट आधा केजी तौल बराबरका एक सय १९ पाकेट चरेस बरामद गरिएको सोमबार आयोजित पत्रकार सम्मेलनमा पर्साका प्रहरी उपरिक्षक राजुबाबु श्रेष्ठले जानकारी दिए।
मकवानपुरबाट टाटा सुमोमा चरेस लिएर भारततर्फ जाँदै गरेको अवस्थामा अन्सारीलाई सुराकीले दिएको सूचनाका आधारमा पक्राउ गरिएको प्रहरी उपरीक्षक श्रेष्ठले बताए। उनले भने,‘अहिले पक्राउ परेका अन्सारी गाडीका चालक हुन्, चरेसका मुख्य कारोबारी अर्कै व्याक्ति हुन्, उसका बारेमा केही सूचना हामीले पाइसकेका छौं।’
पक्राउ परेको चरेस, गाडी र अन्सारीलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक श्रेष्ठले बताए।