श्रीमान पर्खिरहेका श्रीमती

श्रीमान पर्खिरहेका श्रीमती

‘म सधवा हुँ कि विधवा ? मेरो दिमागमा हरेकपल प्रश्न खेलिरहन्छ । जवाफ खोज्दै हिंडेको १२ वर्ष लागिसक्यो । उत्तर पाएर मर्न पाए हुन्थ्यो,’ यसो भनिसक्दा बनेपाकी मनकुमारी रञ्जितले आँसु रोक्न सकिनन् । केहीबेरपछि सानो र काँप्दो स्वरमा भनिन्, ‘छोराछोरी कहिले बुबा भइदिएको भए यस्तो हुँदैनथ्यो भन्छन्, कहिले बुवाको कुरै नगर्नुस्, बिर्सिसक्यौं भन्छन् । छोराछोरीले सम्झिँदा पनि पीर लाग्छ, नसम्झिँदा पनि पीर ।’

उनका पति राजभाइ रञ्जितलाई ३० भदौ ०६२ बाट तत्कालीन विद्रोही माओवादीले बेपत्ता पारेपछि उनी पीरैपीरमा छिन् । माओवादी राजनीतिमै संलग्न राजभाइलाई माओवादीले नै बेपत्ता पार्लान् भन्ने उनले सोचेकी पनि थिइनन् । त्यसअघि उनलाई माओवादी भएको आरोपमा सेनाले पक्राउ गरेर २१ महिना भैरवनाथ गणमा राखेको थियो । छुट्नेबित्तिकै पार्टी सम्पर्कमा पुगेका उनलाई पार्टीले नै बेपत्ता बनायो ।

लामो समयसम्म घरको सम्पर्कमा नआएपछि मनकुमारी खोजीमा लागिन् । माओवादीका विभिन्न नेतालाई भेटिन् । कसैले थाहै नभएको कुरा गरे, कतिले मारिइसकेको निर्मम जवाफ दिए । तर, उनीसँग पत्याउनका लागि कुनै आधार छैन । त्यसैले अझै पति भेटिने आसमा छिन् । ‘अहिलेसम्म हिम्मत हारेकी थिइनँ । जब १२ वर्ष लाग्यो, त्यसपछिचाहिँ हारेको अनुभव भइरहेको छ,’ फेरि भक्कानिँदै उनले भनिन् ।

women

सोलुखुम्बु नेचाकी टीका बाँस्तोलाले १७ मंसिर ०६० देखि पति भीम गिरीलाई भेटेकी छैनन् । बझाङ मटेलाका गिरी र उनी दुवै काठमाडौंमै बस्थे, माओवादी राजनीतिमा सक्रिय थिए । चार वर्षको प्रेमपछि विवाह गरेको १० महिना मात्रै भएको थियो । युद्धकालीन समयमा औंलामा गन्न सकिनेमात्रै भेट भएका थिए । त्यसदिन ‘बेलुका भेट्छु है’ भनेर छुट्टिएका पतिलाई सेनाले पक्राउ गरेको सूचना पाइन् । त्यसपछि उनी फर्केर आएनन् ।

‘मलाई उनी जिउँदै छन् भन्ने लागिरहन्छ । फर्केर आउने आशा मार्न सकेकी छैन,’ उनी भावुक हुँदै भन्छिन्, ‘उनीसँगै हिँडेका गल्लीमा हिँड्दा पछाडिबाट बोलाउँछन् कि कुनै मोडमा जम्काभेट भइहाल्छजस्तो लाग्छ ।’बेपत्ताको मुद्दालाई आफैं राजनीति–सचेत भएका कारण सामान्य जीवनमा रहेका महिलाले भन्दा फरक दृष्टिकोणले हेरे पनि पीडा त उनलाई पनि उत्तिकै छ ।

‘तपाईंको परिवारमा को को छन् ?’ भन्ने प्रश्नले उनलाई निकै पीडा दिन्छ । उनले जेठाजूका छोरा–छोरीलाई आफ्नैसरह हुकाईन्, बढाइन् र पढाइन् । परिवारसँग पनि सम्बन्ध सुमधुर छ । तैपनि, पति साथमा नहुँदा, आफैंले जन्माएका छोराछोरी नहुँदा परिवारको सनातन परिभाषाबाट आफू बाहिरै रहेको अनुभूतिले उनलाई घोचिरहन्छ ।

नैकाप पुरानोभञ्ज्याङकी शोभा भट्टको जीवन पति बेपत्ता भएदेखि अलिनो नै बितिरहेको छ । आँखाको डिलसम्म आएको आँशु रोक्न एकैछिन अडिएरउनी भन्छिन्, ‘जुन दिन उहाँलाई घरबाट लगियो, त्यस दिनदेखि हाम्रो खुशी हरायो, हाँसो हरायो ।’१८ असोज ०५८ को बिहान आठ बजेतिर आफूलाई क्रान्तिकारी विद्यार्थी बताउने समूहले उनका पति श्यामलाई ‘केही सल्लाह छ’ भनी लगेको थियो । ‘के कुरा रहेछ, म पुगेर आइहाल्छु है,’ भनेर पाकेको भात छोडेर हिँडेका पति अहिलेसम्म फर्किएका छैनन् ।

पतिको खोजीमा उनी मानव अधिकारवादी संघसंस्थादेखि राज्यका अनेक निकाय धाइन् । त्यसैबीचमा छोराकै पीरले गलेकी सासू बितिन्, त्यसको केही समयमै ससुरा पनि बिते । त्यसपछि शोभा एक्लै श्यामको खोजीमा भौंतारिइरहेकी छन् । उनलाई अझै पनि ‘किन पीर गरेकी, म आइहालें नि’ भनेर पति टुप्लुक्क आइपुग्लान् भन्ने आशा छ ।

उनका पति बेपत्ता पार्ने पार्टी माओवादीको नेतृत्व पुष्पकमल दाहाल नै अहिले सरकार हाँकिरहेका छन् । प्रधानमन्त्रीलाई उनको प्रश्न छ, ‘तपाईंको छोरा एक घण्टा हराउने हो भने तपाईंलाई कति चिन्ता हुन्छ, सोच्नुस् त ? मेरो श्रीमान १५ वर्षदेखि तपाईंका कार्यकर्ताले बेपत्ता पारेका छन् । तपाईंलाई केही चिन्ता लाग्दैन ?’

गोरखा हर्मीकी विमला ढकालको पनि राज्यलाई उस्तै प्रश्न छ । २४ पुस ०५५ मा तनहुँको खैरेनीटार जाम्दीमा नुहाउँदै गरेको बेला सुरक्षाकर्मीको पक्राउमा परेका उनका पति राजेन्द्र कहाँ छन् ? राज्यले अझै जवाफ दिन सकेको छैन । पति बेपत्ता भएपछि सुरक्षा निकायले आफूलाई दिन थालेको चरम दुःख

सहन नसकी दुई छोरी र एक छोरा च्यापेर उनी काठमाडौं आइन् ।   एक्लै जीवन संघर्षमा डटिरहँदा उनलाई दुःखका भारी झन्–झन् गहु्रँगो हुँदै गइरहेको महशुस हुन्छ । ‘छोराछोरीको माग बढ्दो छ । पूरा गर्न एक्लैले मिहिनेत गर्नुपर्छ । मनको दुःख बिसाउने ठाउँ छैन । अझै श्रीमान आउनुहोला र मनको दुःख कहन पाइएला भन्ने आशामा बाँचिरहेकी छु,’ उनी भावुक हुन्छिन् ।

उनीसँगै गोरखापत्र संस्थानमै कार्यरत सविता बस्नेतको पनि पीडा उस्तै हो । पत्रकारितामा संलग्न पति मिलन नेपालीलाई ७ जेठ ०५६ मा सुरक्षाकर्मीले पक्राउ गरेर लगेको उनैले देखेकी हुन् । भोलिपल्टैदेखि पतिको खोजीमा डटेकी उनले तीन सातापछि प्रहरी मुख्यालय नक्सालमा उनलाई देखिन् तर भेट्न  पाइनन् । त्यसको दुई दिनपछि पतिका लागि सामान लगिदिन भने अनुमति पाइन् ।

केही नयाँ कपडा छाडिदिएर उनले लगाएको कपडा फिर्ता पाएकी उनले त्यसपछि पति कहाँ छन् पत्तो पाएकी छैनन् । ‘श्रीमानलाई आफ्नै आँखाअगाडि राज्यले लगेको देखेकी हुँ । त्यसैले सुरक्षित हुनुहोला भन्ने लाग्छ । आफ्नै नागरिकलाई राज्यले बेपत्ता बनाउन मिल्छ ?’ उनको प्रश्न छ । भक्तपुर सिर्जनानगरमा हुर्किएकी रुबी श्रेष्ठको १५ वर्षकै उमेरमा विवाह भयो, ललितपुर ठैबका राजेन्द्र मालीसँग ।

तर, वैवाहिक जीवनको खुशीका रूपमा छोरी जन्मिएको एक वर्ष पनि नपुग्दै उनका पतिलाई सेनाले पक्राउ गर्‌यो । सानै उमेरमा विवाह गरेपछि साथी र अभिभावक दुवै बनेका पति बेपत्ता भएपछि उनले अनेक मानसिक कठिनाइ भोगिन् । केही समयसम्म पतिलाई भैरवनाथ गणमा राखिएको हल्ला सुनेकी उनले त्यसपछि खुटखबर पाएकी छैनन् । नौ कक्षामा पढिरहेकी छोरी हुर्काएर बसिरहेकी उनले आफ्नै सम्पत्ति उपयोग गर्न पनि परिवारसँग मुद्दा लड्नु पर्‌यो ।

हुर्कंदै गरेकी छोरीको बाबाबारे अनेक प्रश्नमा उनी नाजवाफ हुन्छिन् । उनी ती प्रश्नको जवाफ दिन पति फर्किने दिन पर्खेर बसिरहेकी छन् । भन्छिन्, ‘एक मनले त भन्छ, अब के फर्किएलान् र ? तर, अर्को मन मान्दैन । कतै केही बार्गेनिङ गर्न भए पनि लुकाएर राखिएको छ कि जस्तो लाग्छ ।’ तर, पर्खाइ सजिलो छैन । दैनिकी चलाउन गर्नुपर्ने संघर्ष एकातिर छ, त्यो संघर्षका क्रममा भोग्नुपर्ने उत्पीडन अर्कातिर छ । ‘कतिपय स्थानमा काम गर्न जाँदा हाकिमको खराब आँखाको आभास पाएर छाडेकी छु,’ उनले पीडा पोखिन् ।

चितवनबाट काठमाडौं कीर्तिपुर आएर बसेकी शर्मिला त्रिपाठी पति ज्ञानेन्द्रको सम्पर्कमै थिइन् । ९ असोज ०६० साँझ भने पतिको फोन उठेन र पक्राउ परेको हुन सक्ने शंकामा परिन् । साँझ पतिको नम्बरबाट अर्कै मानिसले फोन गरेपछि उनी झनै आत्तिइन् । यति मात्रै भन्न भ्याइन्, ‘तपाईंहरूले मेरो मान्छेलाई पक्राउ गर्नुभएछ, सुरक्षित राखिदिनुहोला ।’

तर, उनी सुरक्षित छन् कि छैनन् भन्ने जानकारी पाउन सकेकी छैनन् शर्मिलाले । पक्राउ परेको निश्चय भएपछि पर्सिपल्ट नै बन्दी प्रत्यक्षीकरणको मुद्दा त हालिन् । तर, विभिन्न स्थानमा राखिएको भन्ने हल्ला मात्रै सुनिन्, देख्न भने पाइनन् । उनलाई पति बेपत्ता भएपछि आफूले झेलेको आर्थिक, सामाजिक र मनोवैज्ञानिक शब्दमा व्यक्त गर्न सक्दिनन् । पति आउने आशाले नै आफूलाई बचाइराखेको ठहर छ उनको ।

‘आउनुहुन्न भन्ने त लाग्दै लाग्दैन । कतै गएर बसेको हो कि राज्यले नै कतै राखेको छ कि जस्तो लाग्छ । अहिले पनि राति गेट बज्दा उहाँ आउनुभएछ कि भनेर हेर्न मन लाग्छ ।’ ‘विभिन्न संस्थाले तयार पारेको तथ्यांक अध्ययन गर्दा युद्धका क्रममा बेपत्ता पारिनेहरूमा ८० प्रतिशतभन्दा बढी विवाहित पुरुष छन् । तिनका पत्नी सबैको पीडा उस्तै छ । उनीहरू अहिले पनि पति पर्खिरहेका छन्, उनीहरूबारे सत्य सार्वजनिक हुने आशामा छन् ।’ बेपत्ता परिवार राष्ट्रिय सञ्जालका अध्यक्ष राम भण्डारी भन्छन्, ‘राज्यले भने केही पैसा दिएर मुख टाल्ने प्रयत्न गरिरहेको छ ।’

शान्ति सम्झौता भएको आठ वर्षपछि बेपत्ता पारिएका नागरिकको छानविन गर्न २८ माघ ०७१ मा लोकेन्द्र मल्लिकको अध्यक्षतामा पाँच सदस्यीय आयोग बनेको छ । अध्यक्ष मल्लिक भन्छन्, ‘अहिलेसम्म आयोगमा दुई हजार नौ सय एक उजुरी परेका छन् । त्यसका आधारमा प्रारम्भिक अध्ययन अनुसन्धान थालेका छौं ।’

तर, आयोगले गरिरहेको कामबाट आशावादी हुन नसकिरहेको बताउँदै भण्डारी थप्छन्, ‘पहिलो कुरा त बेपत्तालाई अपराध मानिनुपर्छ र कारवाही अगाडि बढाउनुपर्छ राज्यले, मारिएको भए लास गाडिएको स्थान देखाउन सक्नुपर्छ, जिउँदै भए अवस्था सार्वजनिक गर्नुपर्छ तर आयोगले त्यसरी काम गरिरहेको देखिँदैन ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.