अहा, गगन
कुनै बेला गायक बच्चुकैलाशले एउटा सुमधुर गीत गाएका थिए, ‘कल्पनाको गगन, मुस्कुराउने चन्द्र बनन...।’ अहो, अत्यन्तै मन परेको थियो मलाई त्यो गीत । असाध्यै सुन्थेँ । लेख्नेले पनि कति भावुक हुँदै, कल्पनाको संसारमा डुुबुल्की मार्दै लेखेका होलान् त्यो गीत ? म यस्तै कल्पना गर्थेँ । किनकि, कल्पनाको गगनमा मुस्कुराउने चन्द्र बन्नु धेरै नै कठिन काम थियो ।
साँच्चै, गगन विशाल छ र हुन्छ पनि । आँखाले नभ्याउन्जेलसम्म हुन्छ, त्यसको केन्द्र र परिधि । मलाई पनि गगनको त्यही विशालता र उदात्तता मन पर्छ । र, हरेक दिन म गगनलाई नियाल्ने गर्छु । कहिलेकाहीँ मन उदासिन र बेचैन रहेका बेला गगनलाई हेरेर चित्त बुझाउँछु । र, भन्न मन लाग्छ मलाई, ‘अहा, गगन । कति राम्रो गगन ।’

एक दिन मैंले गगनलाई भनेँ, ‘हामी बाँचिरहेको धर्ती दुषित वायुहरू भरिँदा धेरै नै प्रदुषित हुँदैछ । त्यसको असर तिमीलाई पनि पर्न सक्छ । अहिलेसम्म त तिमी सफा र स्वच्छ नै छौ । तर, धर्तीमा यसरी नै प्रदुषण फैलिने हो भने तिम्रो अस्तित्व पनि धरापमा पर्न सक्छ । त्यही कारण, तिमीलाई आजसम्म ज–जसले अहा भनिरहेका छन्, उनीहरूले नै भोलि छ्या भन्ने दिन नआउला भन्न सकिन्न । त्यसैले बेलैमा सचेत बन ।’
केही गम्भीर बनेका गगनले भने, ‘चिन्ता मान्नु पर्दैन, मित्र । मैंले पनि बुझेको छु । धर्ती प्रदुषित हुँदा त्यसको असर मलाई पनि पर्छ । अर्थात्, म गगनको रूपमा रहन सक्दिनँ । म पनि धर्तीजस्तै प्रदुषित हुन्छु ।’ ‘के गर्न सक्छौ त यार ?’ मैंले सोधेँ । ‘म सबै प्रदुषित वायुहरूलाई निमिट्यान्न पार्नेछु ।’ अति नै उत्साहित मुद्रामा प्रस्तुत भएका उनले भने, ‘अहिलेसम्म वातावरणलाई जे–जस्ता प्रदुषणहरूले खिन्न तुल्याइरहेको छ, म त्यसलाई मेट्नेछु ।’
‘सम्भव छ ?’ मैंले आशंका जन्माएँ । ‘शतप्रतिशत सम्भव छ । कुनै शंका नै नगर ।’ गगनले खुसी हुँदै भने । आखिर, गगनको संकल्प–कथा मीठै थियो । उनको अठोट र उत्साह नमन गर्न लायककै थियो । तर, एक दिन अचानक त्यही विशाल आकाशमा एउटा यस्तो धूमकेतु उदायो । बिचरा, गगनका आँखा धूमकेतुको कडा र प्रज्वलले हायलकायल हुन पुग्यो । केहीबेर धूमकेतु र गगनबीच संवादको शृखंला पनि चल्यो ।
धूमकेतु : ‘तैंले के त्यस्तो निर्णय गरेको ? मलाई चिनेको छस् ? म को हुँ ?’ गगन : ‘म आफ्नो निर्णयमा अडिग छु । मेरो अडानलाई कसैले पनि हल्लाउन सक्दैन । म सेरिन तयार छु तर आफ्नो अडानबाट विचलित हुन्न ।’
धूमकेतु : ‘भइस् अडिग ! लेखनाथको एउटा श्लोक सुनेको छस् ?’
गगन : ‘सुन्न तयार छु ।’
धूमकेतु : ‘बालक बबुरो...।’ धूमकेतुले श्लोक भट्याउन थालिन् र त्यो श्लोक कम्तिमा पनि ५० पटकसम्म भट्याइरहिन् । बालक गगन र शक्तिशाली धूमकेतुबीच धेरैबेरसम्म संवाद चल्यो । बिचरा, गगन भने चिप्लिए आफ्नै संसारबाट । र, धूमकेतु उनको सामु झनै चम्किन थाल्यो ।
धूमकेतुको प्रखर चम्काइसँगै गगन पनि आफ्ना उज्याला आँखा बन्द गर्न बाध्य भए । उता, बच्चुकैलाशको गीत भने गुञ्जिरहेको थियो, ‘कल्पनाको गगन...।’ सुन्नेहरूलाई पनि महशुस भइरहेको थियो, साँच्चै गगन त कल्पनाकै संसारमा रहेछ अझैसम्म ।
प्रतिक्रिया दिनुहोस !