नेपाली पत्रकारकाे ‘अमेरिकी सपना’

नेपाली पत्रकारकाे ‘अमेरिकी सपना’

म बोस्टन उत्रिएको साँझ अमेरिकी राष्ट्रपति निर्वाचनको अन्तिम टेलिभिजन बहस हुँदै थियो । दिनभरिको यात्राले थकित भएर अमेरिकी भूमि टेके पनि म विमानस्थलबाट सोझै इमर्सन कलेजको प्यारामाउन्ट थिएटर पुगेँ, जहाँ ठूलो पर्दामा डोनाल्ड ट्रम्प र हिलारी क्लिन्टनको अन्तिम बहस केहीबेरमै प्रसारण हुँदै थियो । बहसपछि केहीबेर अन्तक्र्रियामा सामेल हुँदा रातको ११ बजिसकेको थियो । त्यहीँ एक टुक्रा पिज्जा र अलिकति कोक खाएर अपार्टमेन्ट फर्किएँ, सुटकेस र ज्यान बिसाउन ।

अमेरिकीहरू खानाका लागि अलग्गै समय छुट्याउँदैनन् । जहिल्यै हतारमा कुदिरहने तिनीहरू खाना पनि हतारमै खान्छन् । अमेरिका जाने नेपालीले ‘मिस’ गर्ने पहिलो चिज सायद खाना हो भने दोस्रो खाने समय । ब्यागल, स्यान्डविच र पिज्जामा दिन काट्ने बानी लाग्न अमेरिका पुगेका नेपालीलाई महिनौं लाग्छ । त्यहीमाथि उभिई–उभिई, हिँडी–हिँडी, गफ गर्दै खाने बानी सिक्न एक वर्षले पनि नपुग्ला ।

Manoj-Dahal-dai

कुनै समय ‘नागरिक’ दैनिकका सहकर्मी दिनेश कार्कीले अमेरिका पुगेको तेस्रो दिन मलाई बोस्टन सहरको परिक्रमा गराउँदै भने, ‘नेपालका धेरै कुरा मिस भए पनि यहाँ त्यस्ता केही चिज छन्, जसले मलाई अमेरिकामै बस्ने बनाएको छ ।’ उनीजस्ता धेरै नेपाली अमेरिकामै रत्तिएका छन् । ठूलो संख्यामा नेपाली पत्रकार अमेरिकामा रमाइरहेका छन् । नेपालमा वर्षौंको करिअर माया मारेर अमेरिकामा शून्यबाट जीवन सुरु गरेका छन् र गाउँ–ठाउँ, साथीसंगी, समुदाय मिस गरे पनि सन्तुष्टिको जीवन बाँचिरहेका छन् ।

के छ अमेरिकामा त्यस्तो, जसले ठूलो संख्यामा पत्रकारहरू मूलधारको पत्रकारितामा कहिल्यै नफर्कने गरी जीवनको दोस्रो यात्रा त्यहाँ नापिरहेका छन् ? मैंले बोस्टन, न्युयोर्क, वासिङ्टन डीसी र ड्यालसमा थुप्रै नेपाली पत्रकार भेट्ने मौका पाएँ, जो अमेरिकी जीवनमै बानी परिसकेका छन् । त्यहीँ रमाइरहेका छन् र पश्चिमी सभ्यताकै एक अंश बनिसकेका छन् ।

उनीहरूसँगको संवाद र भलाकुसारीबाट मैंले बुझेँ, नेपालको मामुली कमाइ र कष्टपूर्ण जिन्दगीबाट भागेर अमेरिका पुग्नुका पछाडि सबैसँग केही न केही कारण छन् । केही सामान्य सपना र केही जिम्मेवारीबोध । सपना र जिम्मेवारीबोधले डोर्‌याएको पाताल प्रवासलाई पलायन भनेर बुझ्नुभन्दा जीवनयात्राको एउटा चरण मान्छुु म । यद्यपि, अमेरिका प्रवासकै कारण पत्रकारिताबाट केही राम्रा नाम हराएका छन् । आर्थिक पत्रकारहरूको त खडेरी नै लागेको छ ।

के छ अमेरिकामा त्यस्तो, जसले ठूलो संख्यामा पत्रकारहरू मूलधारको पत्रकारितामा कहिल्यै नफर्कने गरी जीवनको दोस्रो यात्रा त्यहाँ नापिरहेका छन् ?

सहकर्मी पत्रकार उत्पल मिश्रले वासिङ्टन डीसीको नेपाली रेस्टुराँमा खाना खाँदै गर्दा भने, ‘अमेरिका बस्नुको पछाडि सिधा कारण छ, यहाँ धुलो, धुँवा र प्रदूषण छैन, बिजुली, पानी चौबीसै घन्टा आउँछ, काम गरेपछि समयमा तलब आउँछ, सानोठूलो काम भनेर कसैले कसैलाई हेप्दैन ।’अर्थात्, नेपालमा पूरा हुन नसकेका जीवनका स–साना आवश्यकता र अपेक्षा अमेरिकामा पूरा भइरहेका छन् । राजनीतिक र सामाजिक रूपमा थुप्रै समस्याले घेरिए पनि दैनिक जीवन सहज छ, सास फेर्न डराउनु पर्दैन ।

अमेरिका पुगे पनि नेपाली पत्रकार कुनै न कुनै रूपमा लेखनमा लागिरहेकै छन् । कान्तिपुरमा काम गर्दाका सहकर्मी आङछिरिङ शेर्पा न्युयोर्कमा ‘एभरेस्ट टाइम्स’ पाक्षिक प्रकाशन गरिरहेका छन् । बोस्टनमा बस्ने पत्रकार शिवप्रकाश नियमित रूपमा नेपालका प्रकाशनहरूमा लेख लेखिरहेका छन् । अर्थपत्रकार विमल नेपाल अमेरिकाकै प्रकाशनमा फोटोग्राफी गरिरहेका छन् । गिरीश पोखरेल न्युजपोर्टल चलाइरहेका छन् ।

ज्योति देवकोटा सेतोपाटी ग्लोबलको संयोजन गरिरहेका छन् । उनीहरू पत्रकारिताको रुचि र जीवन चलाउन गर्नुपर्ने मेहनतको संयोजन गरिरहेका छन् ।
एक महिनाको अमेरिका यात्रापछि ड्यालसबाट नेपाल फर्कने बिहान ओछ्यान छाड्दा ‘नागरिक’मा काम गर्दाका सहकर्मी रामचन्द्र भट्टको अपार्टमेन्टमा पाक्दै गरेको मसलाको सुगन्ध आइरहेको थियो ।

नौ बजे विमानस्थल पुग्न रामचन्द्र–पत्नीले साढे आठ बजे नै मलाई तात्तातो खाना पस्किदिइन्, फरर्र परेको भात, कालो दाल, काउली–पनिरको तरकारी, अचार, काँक्रो, गाँजर, मुला । डेढ वर्षअघि मात्र अमेरिका आइपुगेका उनका १६ वर्षका छोरा र १३ वर्षकी छोरी स्कुल गइसकेका थिए । खाना खाँदै गर्दा रामचन्द्र–पत्नीले भनिन्, ‘हामी त जहिल्यै नेपाली खाना खान्छौँ, काममा पनि घरकै खाना लान्छौँ ।’

केही मिनेटपछि औद्योगिक सहर ड्यालसको चम्किला सडकमा विमानस्थलतर्फ गाडी बत्याउँदै रामचन्द्रले भने, ‘२० वर्ष पत्रकारिता गरेँ, पत्रकारिताप्रति मेरो कमिटमेन्ट त छँदैछ तर यहाँ आएपछि छोराछोरीको भविष्य मेरो जसरी दुःखमा बित्दैन भन्ने ठानेको छु ।’अब उनलाई नेपाल खासै ‘मिस’ हुँदैन । घरमै नेपाली खाना पाक्छ, परिवार साथमै । आफ्नो आवश्यकता पूरा भएका छन् र सबैभन्दा ठूलो कुरा, उज्वल छ छोराछोरीको भविष्य ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.