डिन नियुक्तिको मापदण्ड प्रतिवेदन आज बुझाउने तयारी

काठमाडौं: त्रिभुवन विश्वविद्यालयले चिकित्सा शास्त्र अध्ययन संस्थानका डिन नियुक्तिको मापदण्ड तयार पार्न गठन गरेको समितिले आज प्रतिवेदन बुझाउने तयारी गरेको छ ।
१९ दिनदेखि चिकित्सा क्षेत्रको सुधारलगायतका माग राखि अनसनरत डाक्टर गोविन्द केसीको मागको समर्थन गर्दै विरोध प्रदर्शनको क्रम बढेपछि त्रिविले गठन गरेको समितिले रातारात काम गरी मापदण्ड प्रतिवेदन तयार पारेको समाचार स्रोतले जनाएको छ ।
समितिले तयार पारेको प्रतिवेदन डा. केसीका माग सम्बोधन गर्ने मध्यममार्गी बाटो हुनसक्ने भएकाले अनसनरत केसी प्रतिवेदन पाएपछि सकारात्मक हुने सरकारी पक्षको धारणा छ ।
समितिले बरिष्ठताको व्याख्या गर्दै त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानको डिन नियुक्तिको प्रक्रियाका विषयमा प्रतिवेदन तयार पार्नेछ । प्रतिवेदन अनुसार नयाँ व्यवस्था आए डिन डा. केपी सिंहले पनि राजिनामा दिनुपर्ने अवस्था आउनसक्ने स्रोतको दाबी छ ।
आजै केसी पक्ष र सरकारबीचको वार्तामा प्रतिवेदन प्रस्तुत गर्ने तयारी छ ।
केसीको अनसन तोडिन सक्ने
आजको वार्तामा प्रस्तुत गरिने प्रतिवेदन प्रति डा. केसी सहमत भए केसीको अनसन तोडिने सम्भावना रहेको छ । चिकित्सा शास्त्र अध्ययन संस्थानका पूर्व डिन डा रमेशकान्त अधिकारीको संयोजकत्वमा बनेको समितिले तयार पारेको प्रतिवेदनमा डिन नियुक्तिको प्रक्रिया उल्लेख हुने भएकाले केसीको माग सम्बोधन हुने सम्भावना बढेको हो ।
प्रतिक्रिया दिनुहोस !
