बाली जोगाउन ६ महिना बाँदर धपाएरै बस्नुपर्छ

सोलुखुम्बु: भिर र जङ्गल नजिक रहेको बारीमा लगाइएको बाली जोगाउन यहाँका बासिन्दालाई हम्मे हम्मे पर्ने गरेको छ। बालबालिका बिहान उज्यालो भएदेखि साँझसम्म बारीमै बस्छन्। गाउँभरीका बालबालिका जम्मा हुन्छन्। उनीहरु बारीमै खैल्छन्। खाजा त्यहीँ खान्छन्। अनि साँझ परेपछि मात्र घर फर्कन्छन्। 'बाली पाक्ने बेलासम्म कहिले स्कुल जाँदैनौँ,' सोताङ गाविस– ६ का १२ वर्षीय नौकुवीर नाछिरिङले भने।
बारीमा कोदोबाली पाक्नथालेकाले बालबालिका दिनभर बारीमै बस्ने गरेका छन्। जङ्गल र भिरको छेउमा रहेको बारीमा बाली पाक्न नपाउँदै हुलका हुल बाँदर आएर सिध्याउने गरेका छन्। 'बिहान उज्यालो भएदेखि साँझसम्म बाँदर खेदाउन बारीमै बस्नुपर्छ,' सोताङ– ६ रोककी तुलीमाया नाछिरिङले भने।
अभिभावक काम गर्न जानुपर्ने भएकाले बाँदर खेद्ने जिम्मा बालबालिकाको हुने गरेको छ। उनीहरु वर्षमा आधाभन्दा बढी समय बाँदर खेद्नमै बिताउँछन्। कात्तिक–मङ्सिरमा कोदो, चैत–वैशाखमा गहुँ जौ, जेठ–असारमा आलु तथा साउन–भदौमा मकैबाली जोगाउनुपर्ने भएकाले बालबालिका सधैँजसो बारीमा बसेर बाँदरको गोठालो लाग्नुपर्छ।
'बाँदर खेद्न जानुपर्ने भएकाले विद्यार्थीको पढाइ निकै प्रभावित हुने गरेको छ,' स्थानीय शिक्षक भूपेन्द्र नाछिरिङले भने। बाली पाक्ने बेलामा विद्यालयमा विद्यार्थीको उपस्थिति अत्यन्तै कम हुने गर्छ। बालबालिका साँझसम्म बाँदर खेद्न जान्छन् भने अभिभावक रातको समयमा भालु तथा दुम्सी खेद्न जानुपर्छ। दुम्सी र भालु धपाउन अभिभावकको बास बारीमै हुने गरेको छ।
'बाली उठाउने बेलामा त विद्यालय रित्तै हुन्छ,' शिक्षक नाछिरिङले भने। बाँदरको ठूलो हुल आएको बेलामा बारीमा थोरै बालबालिका भएमा बाँदरले आक्रमण गर्ने डर रहन्छ। जनावरले गाउँका केही बालबालिकालाई घाइते समेत बनाएको छ । चार वर्षअघि बाँदरको आक्रमणबाट एक बालकको मृत्यु भएको शिक्षक नाछिरिङले बताए। रासस
प्रतिक्रिया दिनुहोस !
