गणतन्त्र नेपालका तीन राजा

गणतन्त्र नेपालका तीन राजा

नेपाली कलाकारितामा राजा नाम जोडिएका दुई पुस्ताका तीन राजा कलाकारको नाम, काम र दामको प्रसंग रोचक छ । चर्चामा छन् प्रेमराजा महत, राजाराम पौडेल र राजा राजेन्द्र पोखरे । प्रेमराजा महत अमेरिका बसेर नेपाली गीतसंगीतमा सक्रिय छन् । राजाराम हास्यव्यंग्य कार्यक्रम र चलचित्रबाट चर्चामा छन् भने राजा राजेन्द्र रेडियो, टेलिभिजनसँगै स्टेज कार्यक्रममा लोकप्रिय छन् । गणतन्त्र स्थापनापछि नेपालमा राजा र राजसंस्था नभए पनि यी तीन राजा चर्चामा छन् ।

राजा नम्बर १

 प्रेमराजा महत
प्रेमराजाको नाममा राजा शब्द बुवाको रुचिमा थपिएको हो । तीन दाजुभाइमध्ये प्रेमराजा कान्छो भाइ हुन् । २०१९ सालमा तनहुँको ढोरफिर्ती गाविसको ढोरगुर्धुममा पिता मोहनबहादुर र माता टीकादेवीको कोखबाट प्रेमराजाको जन्म भयो । 'बुवाले हामी तीन दाजुभाइ राम, श्याम र प्रेमलाई राजा बनाइदिनुभएको हो', प्रेमराजाले भने । मध्यमवर्गीय परिवारमा जन्मिएका प्रेमराजाका बुवा ३२ वटा गाउँको मुखिया थिए ।

नेपाली संगीत क्षेत्रमा थुप्रै चर्चित गीत गाएका प्रेमराजाले औपचारिक रूपमा आफ्नो स्कुलमा पहिलोपटक गीत गाएः

'खेती लायो असिना पानीलाई,
माया लायो बइमानी नानीलाई...'

यही गीतलाई प्रेमराजाले ठूलो भएपछि बमबहादुर कार्कीलाई दिएको सम्झँदै भन्छन्, 'पछि यही गीत हिट भयो । उहाँले अति मीठो गरी गाउनुभयो । असाध्यै खुसी लाग्यो ।' प्रेमराजाले ७ कक्षा पढ्दामात्र एबीसीडी पढे । उनको प्राथमिक शिक्षा ढोर बाराही प्राथमिक विद्यालयबाट पूरा भयो । महतले गाउँ फर्कोदय माध्यमिक विद्यालयबाट माध्यमिक शिक्षा लिए । २०३६ सालको एसएलसी दिएपछि प्रेमराजा काठमाडौं आए । उनी धर्मराज थापा र कुमार थापाजस्ता लोकगायकलाई खुब मन पराउँथे । उनी रेडियो नेपाल छिरे । प्रेमराजालाई गीतसंगीतमा लाग्ने प्रेरणा माइला दाजु श्यामराजबाट मिल्यो ।

प्रेमराजाले पहिलो स्टेज गीत २०३४ मा तनहुँ जिल्ला स्तरीय प्रतियोगितामा प्रस्तुत गरे । 'गण्डकी अञ्चल स्तरीय लोकसंगीत प्रतियोगितामा समेत म प्रथम भएँ,' प्रेमराजा सम्झन्छन् । बमबहादुर कार्की, पाण्डव सुनुवारसँग संगत गरे । बमबहादुर कार्कीसँग 'खोलापारि नीरमाया...., पानको पात...' जस्ता गीत गाएपछि प्रेमराजाको चर्चा चुलिन थाल्यो ।

महतसँग मुखियादेखि रेडियो नेपालको संगीत प्रबन्धक बनेर जागिर खाएको अनुभव छ । २०४८ सालमा रेडियो नेपालको संगीत प्रबन्धक बनेका थिए । एसएलसी पास गरेपछि प्रेमराजाले औपचारिक रूपमा संगीत कक्षामात्र लिए । केही मानिस बिदेसिएको देखेपछि २०४६ सालमा प्रेमराजासमेत पहिलोपटक विदेश यात्रा बेलायततर्फ हानिए । ठाउँठाउँमा गीत गाए । बेलायतबाट आउनेजाने क्रम जारी रह्यो । प्रेमराजा २०५३ सालमा अमेरिका पुगे । महत भन्छन्, '२०५३ सालपछि अमेरिकामै बस्दै आएको छु । वर्षमा दुईपटक नेपाल आउँछु । कहिलेकाहीँ तीनपटक आइराखेको छु ।'

प्रेमराजाले नेपाल सरकारको तर्फबाट अमेरिकाका लागि अवैतनिक महावाणिज्यदूतको जिम्मेवारीसमेत सम्हालेका छन् । नेपाल सरकारको कस्तो जिम्मेवारी भन्ने प्रश्नमा महत भन्छन्, 'नेपाल सरकार र अमेरिकी सरकारले महावाणिज्य दूतको जिम्मेवारी दिएको हो । अमेरिकामा बसेका नेपालीमा परेको समस्यालाई समाधान गर्नु नै मेरो मूल जिम्मेवारी हो । मेरो लागि सेवाको मौका हो ।'

राजा नम्बर २

राजाराम पौडेल
राजा नभएका देशका अर्का राजा हुन् राजाराम पौडेल । राजाराम बाल्यकालमा आफूलाई एक्लो राजा ठान्थे 'बच्चामा मलाई ममात्र राजा हुँ जस्तो लाग्थ्यो । पछि थाहा पाए राजा नाम गरेका धेरै रहेछन् ।' नाममा जोडिएको राजाका विषयमा राजाराम बोले । नाममा कसरी राजा राखियो भन्ने जिज्ञासामा भने, 'नाम बजैको दिदीले राखिदिनुभएको अरे !' राजारामको न्वारानको नाम यादवकुमार पौडेल हो । पौडेल २०१३ साल पुस १६ गते सीताराम र अम्बिका पौडेलको कोखबाट काठमाडौंमा जन्मिए ।

राजाराम परिवारकै जेठो सदस्य हुन् । मान्छे नाम परिवर्तन गर्छन्, तपार्इंलाई नाम परिवर्तन गर्न मन लागेन ? भन्ने प्रश्नमा राजारामले भने, 'आफ्नो नामै परिवर्तन गर्ने काम नै नक्कली, यो नक्कली विधामा प्रवेश नै गरिनँ । मैले कहिलेकाहीँ चोरको भूमिकामा अभिनय गरेको छु । मलाई चोर भन्ने ? '

नेपाली हास्यव्यंग्य क्षेत्रका लोकप्रिय नाम राजारामले तीन कक्षासम्म घरमै शिक्षा लिए । उनी सिधै ४ कक्षामा पढ्न विजय मेमोरियल हाइस्कुलमा भर्ना भए । त्यहीँबाट प्राथमिक शिक्षा लिएका पौडेलले तत्कालीन पद्मोदय माध्यमिक विद्यालयबाट कक्षा १० सम्म पढे । बाल्यकाल सम्झँदै राजाराम भन्छन्, 'पद्मोदय पढ्दा केटाकेटीपन, बाल्यकाल साह्रै रमाइलो थियो । अहिलेजस्तो निजी स्कुल थिएनन् ।'

राजारामले स्कुल पढ्दैदेखि अभिनय गर्थे । 'कलाकारिता क्षेत्रमा बच्चैदेखि प्रवेश गरेँ । पहिलो अभिनयचाहिँ कुनै चीज माग्दा नदिँदा रोएर गरेँ होला ! औपचारिक अभिनयचाहिँ रेडियो नेपालमा प्रत्येक शनिबार बिहान आउने बाल कार्यक्रममा गरेँ ।' स्कुल पढ्दा आफूलाई एक्लो राजा ठान्ने राजारामले उच्च शिक्षा अध्ययनका क्रममा भने अर्का राजा प्रेमराजा भेटे । दुवै राजाले रत्नराज्य लक्ष्मी क्याम्पसमा संगीत विषयमा स्नातक तहसम्मको अध्ययन गरे ।

राजारामका दुई छोरा छन् । आफू नहाँसेरै अरूलाई हँसाउने विधामा डुबेका पौडेल भन्छन्, 'यो गाह्रो विधा छ । यस क्षेत्रमा कसरी आएँ, मलाई नै थाहा छैन ।' उनका प्रेरक व्यक्तित्वबारे उनले भने, 'मलाई राजाराम बनाउने धेरै कलाकार छन् । तीमध्ये मह जोडी (मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य) र किरण केसी प्रमुख हुन् ।' मह जोडीसँगको राजारामको रमाइलो सहयात्रा छ ।

राजारामले नै महजोडीको नाम राखिदिएका हुन् । उनले एउटा कायक्रम उद्घोषण गर्ने क्रममा रमाइलो बनाउन महजोडी शब्दको उच्चारण गरेका हुन् । 'मैले कार्यक्रमलाई रमाइलो बनाउन महजोडी भन्दिएँ । सबैले ताली बजाए । पछि उहाँहरूलाई मन परेछ । उहाँहरूले नै मह संसार भनेर खोल्नुभयो ।' राजारामले बाँधिदिएको महजोडी कहिल्यै छुटेन । राजारामले आफ्नै जोडी टिकाउन नसकेको प्रसंग सम्झँदै भने, 'म र किरण केसीको कीराजोडी थियो त्यो, चाँडै चुँडियो ।

'जिरे खुर्सानीमा अभिनय गरेँ । रेट मिल्यो भने ठूलो पर्दामा अभिनय गर्छु । नेपाल फर्किएपछि द युगदेखि युगसम्म, अन्दाज, प्रीतिको फूल, के यो माया हो लगायतका फिल्ममा अभिनय गरेको छु', पौडेलले आफ्नो कहानी सुनाए । सात वर्ष अमेरिका बसेका राजाराम अहिले नेपालमै छन् । 'म अमेरिका बस्छु भनेर गएकै होइन । मेरो भाइ अमेरिका नासामा काम गर्छ । मैले सोचेँ, नेपालको बन्द हडताल यही हो । छोरालाई पढाउन अमेरिका लान्छु भनेर छोरा लिएर गएँ । दुई वर्ष बस्छु भनेर गएको सात वर्ष बसेँ ।'

कलाकारिता क्षेत्र सजिलो नभएको उनको बुझाइ छ । 'यो विधा भनेको नाम चलुन्जेल चल्ने र बिक्ने हो । त्यसपछि कसैले बुझ्दै बुझ्दैन', उनले भने । कलाकारिताका भोगाइ साट्दै भन्छन्, 'अभिनयका लागि खुट्टाको बूढी औंलादेखि टाउको, आँखा, कानलगायत सबै ज्ञानेन्द्रियलाई सक्रिय बनाउनुपर्छ ।'

राजा नम्बर ३

राजा राजेन्द्र पोखरेल
'कामले दिएको नाम हो । २०६२–६३ को जनआन्दोलनभन्दा अगाडि तत्कालीन राजा ज्ञानेन्द्र शाहले सत्ता हातमा लिएपछि ज्ञानेन्द्रको क्यारिकेचर गर्थें । त्यही क्रममा उद्घोषकले मञ्चमा बोलाउँदा अब आउँदै हुनुहुन्छ जनताको छोरो राजा राजेन्द्र भने, त्यहीँबाट मेरो नाम राजा राजेन्द्र बन्यो ।' केही साथीले 'राजा राजेन्द्र आएपछि राजा ज्ञानेन्द्र गयो' भन्छन् उनले नामको प्रशंगमा भने ।

'राजाराम पौडेल दाइको नाम असाध्यै चलेको, अनि राजा राजेन्द्र पोखरेल लेख्नुपर्नेमा कतिपय ठाउँमा राजाराम पौडेल लेखिदिन्छन् । कति ठाउँमा राजु राजा राजेन्द्र लेखिदिन्छन् । त्यति बेलाचाहिँ समस्या पार्छ', उनले नामको अप्ठेरो सुनाए ।

तीन राजा जोडिएका नामसँग तुलना गर्दै राजा राजेन्द्र भन्छन्, 'प्रेमराजा महत र राजाराम पौडेलको चाहिँ बाल्यकालदेखिकै नाम भयो । मेरो नामचाहिँ राजाविरोधी आन्दोलनबाट जुर्‌यो ।' कलाकारिता क्षेत्रमा लाग्ने सल्लाह दाजु जीके पोखरेलले दिएको उनले सम्झिए ।

कलाकार कसरी स्थापित हुनसक्छ भन्ने प्रश्नमा जवाफ दिए, 'कलाकारिता पहिला सिक्नुपर्छ, बिक्नुपर्छ । त्यसपछि टिक्नुपर्छ । यी तीनवटा कुरामा ध्यान राख्दा चल्छ ।' राजा राजेन्द्रको वास्तविक नाम राजेन्द्र पोखरेल हो । २०४३ सालमा पाँचथरको ओयाम गाविस-७ मा डिकेराम पोखरेल र भद्रमायाको कोखमा उनको जन्म भयो । 'परिवारभित्र म कान्छो छोरो हुँ । दुई दाजु र एक दिदी हुनुहुन्छ', पाँचथरको ओयाममा रहेको श्री गुप्तेश्वर माविको कक्षा १ मा भर्ना भएर राजा राजेन्द्रले कखरा सिके र गुप्तेश्वरमा कक्षा ४ सम्म पढे । विद्यालय तहको पढाइबारे बताउँदै राजेन्द्र भन्छन्, '२०५८ को मेरो एसएलसी हो । त्यसपछि म साइन्स पढ्न काठमाडौं आएँ ।'

अस्कल क्याम्पसमा साइन्स पढ्छु भनेर काठमाडौं आएका राजा राजेन्द्र शिक्षकको इच्छाविपरीत ललितकलामा फाइन आर्टमा भर्ना भए । फेरि स्नातकोत्तर अध्ययनका लागि भने रत्नराज्य लक्ष्मी क्याम्पस आइपुगे । कलाकारिताका सुरुआती दिन सम्झँदै उनी भन्छन्, 'झापामा हुँदा म असाध्यै राम्रो वक्ता थिएँ । कार्यक्रममा उद्घोषण गर्थें । काठमाडौं आएपछि आरआर क्याम्पसमा मैले पहिलोपटक प्यारोडी गीत गाएँ । त्यो बेला फत्तेनारायणको तत्कालीन राजा ज्ञानेन्द्रविरोधी गीतको क्यारिकेचर गरेको थिएँ । म पहिले त गायक हुँ । रेडियो अडियोमा कार्यक्रम निर्माताका रूपमा काम गर्दैछु ।'

विभिन्न टेलिभिजनमा हास्यव्यंग्य कार्यक्रम चलाएका राजा राजेन्द्रले रेडियोबाट हास्यव्यंग्य कार्यक्रम सञ्चालन गर्न थालेका हुन् । राजा राजेन्द्र सुशील कोइरालाको अभिनय गरेपछि अझ चर्चामा आए । अभिनय गर्नुका अप्ठ्याराबारे उनी भन्छन्, 'क्यारिकेचर गर्न गाह्रो र सजिलो दुवै छ । प्रथमतः कन्टेन्ट निर्माण गर्न समस्या हुन्छ । एकपटक गरेपछि त सजिलो हुन्छ ।' उनले गिरिजाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई, रामचन्द्र पौडेल, पुष्पकमल दाहाल, शेरबहादुर देउवा, मोहन वैद्य, बाबुराम भट्टराईदेखि लिएर विजयकुमार गच्छदारसम्मको क्यारिकेचर गरेका छन् ।

उनले फरक आवाज भएका गायकको समेत क्यारिकेचर गरेका छन् । 'नारायणगोपाल, कुमार सानु, योगेश वैद्य, योगेश्वर अमात्य, रामकृष्ण ढकाल, हिमाल सागर, प्रमोद खरेल, अनिल सिंह, उदितनारायण झालगायत सबैको क्यारिकेचर गरेँ', उनी भन्छन् । राजेन्द्र दाइ जीके पोखरेलले लेखेका गीत गाउँछन् । 'मेरो माया एल्बममा समेत मैले दाइका चारवटा गीत गाएको छु', उनले भने ।

'२०६२/६३ मा दाइकै शब्दमा 'ट्र्याजेडी' नामक एउटा एल्बम बनायौं । त्यसपछि 'मेरो माया' भन्ने एल्बम बनाएँ । मैले गाएका गीतले धेरै प्रशंसा बटुलेका छन्', उनले भने, 'गीत गाउने रहरमात्र हो तर हास्यव्यंग्यले चाहिँ मलाई बचाइराखेको छ, राजा राजेन्द्रले भने । हँसाउनेहरू अफू कति रोइरहेका हुन्छन् भन्ने प्रश्नमा राजा राजेन्द्र भन्छन्, 'समस्या सबैका हुन्छन् । राष्ट्रपति पनि तनावमा हुन्छन् ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.