नारायणगोपालको हस्ताक्षर

नारायणगोपालको हस्ताक्षर

स्वर कोसँग हुँदैन ? सुर नहुन सक्ला, तर स्वर अवश्य हुन्छ । जन्मिएपछि आफ्नो जन्मका साथ हरेक मान्छेले स्वर लिएरै जन्मेका हुन्छन् ।

स्वरको विषयमा निबन्ध लेख्न सकिएला, कथा लेख्न सकिएला, सिंगै उपन्यास लेख्न सकिएला तर स्वरको ठोस रूप देखाउन सकिन्न, स्वरको रंग चिनाउन सकिन्न । यद्यपि स्वरको स्पष्ट परिभाषा केलाउन सकिन्छ, स्वरको गुणवत्ता बुझाउन सकिन्छ, स्वरको आरोह-अवरोह खुट्ट्याउन सकिन्छ ।

जस्तो- स्वरै स्वरहरूको भीडमा एउटा अलग पहिचान, स्वरहरूका राजा ! अर्थात्, स्वरसम्राट !
भनिएला, स्वरको पनि सम्राट्... मन्त्री... सचिव... सुब्बा... खरदार... कुनै पद-विभाजन हुन्छ ?

हुँदोरहेछ, स्वरहरूको जमातबीच कुनै विशेष स्वरको आभास पाएर त्यसैको मादकतामा झुम्नेहरूले स्वरलाई पद-विभाजन गर्न सक्दा रहेछन् । जसरी कविको पद-विभाजन गर्न सकिन्छ, जसरी जुनसुकै कलाकारको पद-विभाजन गर्न सकिन्छ ठीक त्यसरी नै स्वरको पनि पद-विभाजन गर्न सकिँदो रहेछ । तर सशर्त, स्वरमा लय हुन आवश्यक छ । स्वरमा संगीतको मि श्रण आवश्यक छ ।

त्यसो हो भने गीत गाउनेहरू सबै स्वरहरूका राजा हुनुपर्ने, ती सबैलाई स्वरसम्राट् कहलाइनुपर्ने ! यहाँनिर जरुर प्रश्न उठ्छ, 'किन नारायणगोपाललाई मात्रै स्वरसम्राट् भनियो ? '

'यो लोकमै थिएन नारायणदाइको जस्तो आवाज । अलौकिक थियो उनको आवाज । सबैभन्दा मीठो स्वरका धनी उनी ! त्यसैले त स्वरहरूका राजा...'स्वरसम्राट्'को विशेषणले उनलाई हामीले अभिषेक गर्‌र्यौं' संगीतकार शम्भुजित बास्कोटाको मत छ ।

०००

शब्दहरू चित्त नबुझी उनी कुनै पनि गीत गाउन तैयार हुँदैनथे । र, जब उनी गाउन सुरु गर्थे गीतमा चुर्लुम्मै डुबेर गाउँथे । यतिमात्रै होइन, उनले गाइसकेपछि कुनै पनि गीत अत्यन्तै 'हिट' हुन्थ्यो । रत्नशमशेरद्वारा रचित 'ए कान्छा ठटैमा बैंस जान लाग्यो...' वा 'बिछोडको पीडा नसकी खप्न...' होस् कि कालीप्रसाद रिजालको 'आँखा छोपी नरोऊ भनी भन्नुपर्‌या छ...', अथवा क्षेत्रप्रताप अधिकारीको 'म त लालीगुँरास भएछु...' होस् कि राममान तृषितको 'मैले पुण्य मन पराएँ या पाप मन पराएँ...', अथवा हरिभक्त कटुवालको 'मलाई नसोध कहाँ दुख्छ घाउ...' होस् कि चाँदनी शाहको 'एउटा मान्छेको मायाले कत्ति फरक पार्दछ जिन्दगीमा...' होस्, सबै एकसेएक लोकप्रिय भए ।

 

यतिमात्रै होइन, चलचित्रको पाश्र्वगायनमा र गीति नाटकमा समेत उनको आवाजले एउटा भिन्नै स्थान ओगटेको छ । चलचित्र 'सिन्दुर'को तारादेवीसँगको युगल गीत 'लुकूँ लुकूँ लाग्यो मलाई...', 'चिनो'को 'मोहनी लाग्ला है...' त्यत्तिकै चर्चित भए । महाकवि देवकोटाको गीतिनाटक 'मुनामदन'मा गाएका उनका गीतहरू आज पनि उत्तिकै मन पराइन्छन् भने राष्ट्रकवि माधव घिमिरेको 'मालती मंगले'मा गाएका उनका गीतका क्यासेट-चक्काहरूको बिक्रीको चाप थेगिनसक्नुको थियो ।

०००

नारायणगोपाल राष्ट्रभक्त गायक थिए । कतिपटक आग्रह हुँदासमेत विदेश बसेर कुनै पनि विदशी भाषाको 'गाइने' बन्न नचाहेको उनको स्वाभिमानी व्यक्तित्वबाटै यस तथ्यको पुष्टि हुन्छ । वास्तवमा कोही पनि अनभिज्ञ छैनन्, सदैव उनले आफ्नो मातृभूमिमा बसेर आफ्नै माटोको गीत गाइरहे । केवल नेपाली गीत मात्रै गाइरहे । अझ त्यसभन्दा अघि बढेर उनी आफ्नो मातृभाषा (नेपालभाषा) मा समेत गीत गाउने गर्थे ।

-नेपाल आएको बेला गुलाम अलीले एउटा कार्यक्रममा नारायणगोपालको 'जुन फूल मैले चाहेको थिएँ, कसैले टिपेछ...'गीत गाइदिए । यो सूचना पाएपछि गुलाम अलीसँग निक्कै रिसाएका नारायणगोपालले भने- 'मैले गाएको गीत त्यसले गाउने ? तैपनि, सुनूँ न म पनि ! कस्तो गाउँदोरहेछ ? '

एउटा चाखलाग्दो तथ्य, नारायणगोपालको एक हस्तलिपिले प्रमाणित गरेको छ, आफ्नो राष्ट्रप्रति उनी कति 'संवेदनशील' थिए ! उनले लेखेका छन्- 'मुलुकको सर्वांगीण विकासको लागि राष्ट्रिय भावनाको विकास हुनु नितान्त आवश्यक छ । दोस्रो विश्वयुद्धपछि संसारका कैयन् मुलुकहरूको अनुहार नै बदलिएको प्रमाण हाम्रोसामु विद्यमान छ । यसरी कुनै पनि मुलुकको विकास हुनुमा कवि तथा कलाकारहरूको पनि प्रमुख भूमिका रहन्छ भन्नुमा अत्युक्ति नहोला ।'

चाणक्य नीतिमा कहीँ भनिएको छ, इन्द्रिय-संमयता नभएका मान्छेहरू जो शासक होऊन् या जनता होऊन्, ती बसोबास गर्ने मुलुकले कहिल्यै प्रगति गर्न सक्दैन । अर्थात्, अनैतिक कर्म गर्नेहरूको हातबाट राष्ट्रको उत्थान हुन सक्दैन । तब त्यस्तो अवस्थामा बिचरो राष्ट्रले के गर्ने ?

जबाफ अप्ठेरो छैन । केवल कवि-कलाकारमा मात्रै नै हुन् जसले त्यस्तो असहज परिस्थितिलाई काबुमा ल्याउन सक्छ । विकृति-विसंगतिपूर्ण अनैतिक कर्महरू व्याप्त भएर कुनै पनि राष्ट्र अधोगतितर्फ लागेको बखत त्यसलाई रोक्न सक्ने सामथ्र्य बोकेका यस्ता धेरै पात्रहरू पाइन्छन् जसले कविता वा गीतको माध्यमबाट आफ्नो राष्ट्रलाई ध्वंश हुनबाट धेरै हदसम्म जोगाएका छन् । हाम्रै देशको पतोन्मुख दिशातर्फ अग्रसर कतिपय अनैतिक पाइलाहरूलाई रोक्ने काम हाम्रा कवि-कलाकारले गरेका विगत र रोक्ने काम गर्दै रहेको वर्तमान हाम्रो सामु छर्लंगै छ ।

सबैलाई थाहा छ, स्वरसम्राट् नाराणगोपालले राष्ट्रभक्तिका गीत गाएर जनतामाझ सचेतताको बीउ छर्ने काम पनि गरेका छन् । विडम्बना ! यहाँका मै हुँ भन्ने संगीत-अन्वेषकहरूले सम्भवतः नारायणगोपालले गाएको 'पहाड अझै सुकेको छैन है...' बोलको गीतको चर्चा कतै गरेको पाइँदैन । (ईश्वरवल्लभको दाबी थियो, यो उनैले लेखेको गीत हो ।) यसका अलाबा 'म मरे पनि मलाई मेरो देशको माया छ...' नारायणगोपालद्वारा गाइएको लोकप्रिय राष्ट्रिय गीत रेडियो नेपालबाट खुबै बज्थ्यो ।

-संगीत-अन्वेषकहरूले नारायणगोपालले गाएको 'पहाड अझै सुकेको छैन है...' गीतको चर्चा कतै गरेको पाइँदैन । ईश्वरवल्लभको दाबी थियो- यो नारायणगोपाल आफैंले लेखेको गीत हो ।

यो कुरो भिन्नै हो कि सूचना र सञ्चारको ठेक्का लिएर बसेका आजका अधिकांश एफएम नामक तथाकथित सञ्चारमाध्यम, जो बढीभन्दा बढी समय युवायुवतीसँग हाँससखेल र ठट्टा गर्नका लागि जागिर दिने संस्था बनेको छ; तिनले यस्ता राष्ट्रभक्तिका गीत किन बजाइरहन्थे ? त्यसो त, आज त्यस्ता गीत नबज्दैमा इतिहास त त्यत्तिकै कहाँ लुक्छ र ?

०००

नारायणगोपाल सामान्य मान्छे थिएनन् । एकातिर एउटा स्वाभिमानी व्यक्तित्व, अर्कातर्फ त्यही व्यक्तित्वको स्वास्थ्यलाई गिराउने पेयपदार्थको असीमित सेवन । यी दुई अमिल्दा वस्तुस्थितिका बीच खडा नारायणगोपाल र त्यसमाथि 'स्वरसम्राट्'को विभूषण, कति विरोधाभासपूर्ण जीवन थियो त्यो । पछि-पछि त नपिइकन गीत गाउनै नमान्ने अथवा नसक्ने भइसकेका थिए उनी । उनका संगत गर्नेहरू भन्छन्- 'उनी असाध्यै जिद्दीवाल थिए । सामान्य कुरामा समेत उनको चित्त बुझेन भने जति कर गरे पनि, आग्रह गरे पनि उनलाई गीत गाउनलाई बाध्य पार्न सकिन्नथ्यो ।' कतिपटक गीत रेकर्डिङको बेलाको अन्तिम अवस्थामा उनी जुरुक्कै उठेर हिँड्दा आफूले दुःख भोगेका भुक्तभोगी म्युजिसियन अहिले पनि बताउने गर्छन् ।

०००

गुलाम अली नेपाल आएको बेला, स्टेजको 'लाइभ प्रोग्राम'मा उनले भैरवनाथ रिमाल 'कदम'द्वारा रचित नारायणगोपालले गाएको 'जुन फूल मैले चाहेको थिएँ, कसैले टिपेछ...' गाइदिए । यो थाहा पाएपछि नारायणगोपाल गुलाम अलीसँग निकै क्रोधित बने र त्यसबखत साथमै रहेका 'कदम'सँग भनेछन्- 'मैले गाएको गीत त्यसले गाउने ? तैपनि, कस्तो गाउँदो रहेछ ?

सुनूँ न म पनि !' अर्को दिन गुलाम अलस्लाई सुन्न भनेर नारायणगोपाल कार्यक्रमस्थल पुगे । तर, त्यहाँ पुग्नुअगावै गुलाम अलीले उनी त्यहाँ आएका चाल पाइसकेका थिए । त्यसैले उनले कार्यक्रम अवधिभर नारायणगोपालका कुनै पनि गीत गाएनन् । नारायणगोपाल मुर्मुरिँदै फर्किए । भोलिपल्ट, भैरवनाथलाई गुलाम अलीले स्टेजमा गाएको आफ्नो गीतको टेप ल्याइदिन भने । गीत सिनेपछि नारायणगोपालले भनेछन्- 'ए...राम्रै गाएछ ।'

धेरैले आक्षेप लगाउने गरको 'स्वरसम्राट्'को यस्तो भिन्न प्रकारको चरित्रलाई उनको अभिमान भन्न मिल्ला र ?


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.