राजनीति चासो

राजनीति चासो

‘राजनीति फोहोरी खेल हो,’ अहिलेको ‘प्ल टु जेनेरेसन’लाई मुलुकको राजनीतिका विषयमा केही सोध्यो भने यस्तै जवाफ आउला भन्ने हामी धेरैलाई लाग्छ । तर, चाबहिलको रिलायन्स कलेज पुग्दा त्यो सोच बदलिन्छ । त्यहा“ पढ्ने विद्यार्थीहरू मुलुकको समसामयिक राजनीतिमा चाख राखेर कुरा गर्न तम्तयार हुन्छन् ।

हालैको एक दिन अन्नपूर्ण टुडेले कलेजमा राजनीतिमा युवापुस्ताको चासो बुझ्न छलफल चलाएको थियो, जसमा विद्यार्थीहरू उत्सुकतापूर्वक सहभागी भए । ‘राजनीतिमा हाम्रो जीवन जोडिएको छ । यसमा चासो नराखी सुखै छैन,’ कक्षा १२ का ईश्वर पोखरेलले भने । भ्याएसम्म पत्रपत्रिका पढ्ने, टीभीमा समाचार हेर्ने बानी भएका पोखरेलकै जस्तो रुचि देखाइन्, कक्षा ११ की दीक्षा भट्टराईले । भनिन्, ‘मेरो त बुवासँग सधँ राजनीतिकै विषयलाई लिएर बहस हुन्छ ।’

‘के राजनीति फोहोरी खेल नै हो ?’ राजधानीका तीन कलेजहरूमा गरिएको राउण्ड टेबलका क्रममा अधिकांश सहभागी विद्यार्थीहरू भन्छन्–‘त्यो फोहोर सफा गर्ने दायित्व हाम्रै हो।’

कक्षा १२ की श्वेता हुमागाईंको परिवारमा बहस नभए पनि सचेत नागरिकका हैसियतले राजनीतिलाई नजिकैबाट नियाल्छिन् । मुलुकमा राजनीतिक घटनाक्रमको बोलवाला छ । सबै क्षेत्र राजनीतिकै मातहतमा रहेकाले पनि होला, यस क्षेत्रमा उठेका बहस/विमर्शबाट कोही अछुतो रहँदैन । झन्, बढ्दो सामाजिक सञ्जालको प्रयोग र त्यसमा राजनीति र नेताका चरित्रलाई लिएर गरिने प्रशंसा र आलोचनाको जानकारी सबैले लिएकै हुन्छन् । श्वेता त्यसबाट बाहिर छैनन् । हुमागाईंले भनिन्, ‘म प्रायः राजनीतिक घटनाक्रमलाई रुचिका साथ बुझ्न खोज्छु ।’

‘यो देश कता जाँदैछ भन्ने कुरा मेरो पनि चासोको विषय हो,’ श्वेताले राजनीतिमा आफ्नो अपनत्व महशुस गरिन् र थपिन्, ‘अहिले राजनीतिप्रति बितृष्णा हुँदै जाला, भोलि देशप्रति वितृष्णा हुँदै गयो भने के गर्ने ?’उनकी साथी साक्षीले चाहिँ संविधानको कुरा उप्काइन् । उनले मुलुकमा कस्तो प्रणालि चल्दैछ, आफ्ना लागि बनाएको संविधान कस्तो छ, कस्ता नियम लागु हुँदैछन् भन्ने हरेकले थाहा पाउनु पर्ने बताइन् ।

Krishna-Khanalराजनीतिप्रति सकारात्मक टिप्पणी भेट्न गाह्रो छ। त्यसैले युवा पुस्तालाई पनि राजनीति गलत बाटोमा हिँडिरहेको छ कि जस्तो लाग्नु स्वाभाविक हो।

 प्रा. कृष्ण खनाल, राजनीतिशास्त्री

कुरै कुरामा साक्षीले सरकारले हालै कांग्रेस नेतृ सुजाता कोइरालालाई उपचार खर्चका नाममा ५० लाख दिएको विषय पनि उठाइन् । भनिन्, ‘सर्वसाधारणले रुघाखोकी लाग्दा उपचार गर्न नसकिरहेका बेला नेताहरूलाई मनलागी पैसा बाडिन्छ । योचाहिँ चित्तबुझ्दो कुरा होइन ।’श्वेताले साक्षीको कुरालाई प्रतिवाद गरिन् । ‘सुजाता धनी भइन् भन्दैमा सधैं उनीसँग पैसा हुन्छ भन्ने के छ ?’ उनले थपिन्, ‘कि अरूले पनि लिनु भएन । कुनै नेताले पाउने, कुनैले नपाउने, यो त गलत भयो नि । एउटालाई दिने अर्काेलाई नदिने त्यो पनि त अन्याय नै हो ।’

विद्यार्थीबीच बहस चर्किंदै जाँदा सुशीला राईले त्यसखाले बहसमा आफू इच्छुक नभएको बताइन् । उनी ‘राजनीति’ बुझ्नै सक्दिनन् । ‘सरकार बदलिन्छ, बन्द, हडताल हुन्छन् । किन हुन्छन् मलाई थाहा छैन,’ उनले भनिन्, ‘एउटा बुझ्न खोज्यो अर्को जटिल घटनाक्रम आइदिन्छ । दिक्क लागेर म त समाचार पनि हेर्दिन ।’

छलफलमा सहभागी श्वेता, दीक्षा र ईश्वर राजनीतिका पक्षमा बोलिरहेका थिए । ईश्वरले त मुलुक विदेशी चलखेलको अखाडा भएको बताउँदै राजनीतिक नेतृत्वको आलोचना पनि गरे । दीक्षाले उनको कुरामा सही थपिन् । भनिन्, ‘नेताहरू जनताको कुरा नसुनेर छिमेकी शासकको कुरा सुन्न उद्यत् छन् ।’
असन्तुष्टीकै बीच पनि उनीहरूलाई राजनीति सप्रिनु पर्छ भन्ने लाग्छ ।

श्वेता त्यस्तो विचार राख्नेमध्येकी हुन् । प्रश्न गरिन्, ‘सबैले फोहोर भन्ने अनि सफाचाहिँ कसले गर्ने त ?’ उनले राजनीतिमा लाग्ने आफ्नो रुचि भएको पनि बताइन् । ईश्वरले चाहिँ विसंगतिका बावजुद केही राम्रा काम भएको छ भनेर राजनीतिको पक्षपोषण गरे । भने, ‘हामी जन्मँदा गाउँमा हेल्थपोस्ट थिएन, बाटो थिएन । अहिले बाटो छ, सानोतिनो हस्पिटल पनि छ । विस्तारै परिवर्तन हुँदै आएको छ ।’

त्रिभुषण खरेलले पोखरेलको पक्ष लिंदै भविष्यमा राजनीति गर्ने इच्छा रहेको बताए । उनलाई राजनीति गरेर युवाको नेतृत्व गर्ने विचार छ । थपे, ‘भिजन भएका युवाको नेतृत्व हुने हो भने मुलुकमा परिवर्तन आउँछ ।’ साक्षीचाहिँ उनको लाइनमा उभिइनन् । भनिन्, ‘सानोमा नेता बनुँजस्तो लाग्थ्यो । अहिले बुझ्दै जाँदा रुचि हराउँदै गएको छ ।’

Krishna-Pokharelमानिसमा राजनीति भनेकै झुटो बोल्ने, ठग्ने, खुट्टा तान्ने खेल हो भन्ने परिसक्यो। राजनीतिको यस्तो परिभाषाको परिवर्तन गर्ने काम त युवाकै हो।
प्रा. कृष्ण पोखरेल, राजनीतिशास्त्री

अन्नपूर्ण टुडे छलफलका क्रममा काठमाडौँ कुलेश्वरस्थित जनमैत्री कलेज पुग्यो । विद्यालय छुट्टी भइसकेको थियो । केही विद्यार्थी भेटिएपछि तिनैसँग क्यान्टिनमा कुरा सुरु गरियो । झण्डै आठ, १० विद्यार्थी कुरा गर्न त तयार भए तर विषयवस्तुबारे बोल्न थालेपछि धेरैले राजनीतिबारे आफूलाई थाहा नभएको र रुचि नै नभएको प्रतिक्रिया दिए । ‘ह्या के राजनीतिको बारेमा कुरा गर्नु । हामीलाई रुचि पनि छैन थाहा पनि छैन,’ एक विद्यार्थीले त्यसो भनेपछि अरू पनि प्रायः त्यसमै सही थप्न थाले ।

बीए तेस्रो वर्षका सञ्जीव चौहानले भने, ‘राजनीतिले गर्दा देश पछाडि परेको छ । नेताहरू आफ्नो मात्रै राम्रो हेर्छन् । जनताको केही मतलव छैन । अनि किन राजनीतिमा चासो राख्ने ?’कक्षा १२ मा पढ्ने भुवन खड्काले सबैलाई प्रतिनिधित्व गर्दै छोटो छलफलको बिट मारे । भने, ‘पछिल्लो समय देश गलत दिशामा गइरहेको छ । संघीयता, धर्मनिरपेक्षता, अंगीकृत नागरिकता आदि विषय उठेका छन् । मधेशमा केहीअघि भारतीयहरूको प्रभावमा आन्दोलन भयो । सबैतिर निराशा छ । गलत नै भएको छ । बाँकी धेरै कुरा हामीले बुझेकै छैनौं ।’

एर्बोडिन कलेजको पुस्तकालयमा पनि राजनीतिबारे रिलायन्समै जस्तो गरमागरम बहस भयो । त्यहाँका विद्यार्थी ‘प्लस टु’ नभई स्नातक अध्ययन गर्नेहरू थिए । तिनैमध्येका सुशील पोखरेलले राजनीतिलाई सही दिशामा लैजाने र मुुलुकमा स्थायित्व ल्याउने हो भने नया“ संविधानमा प्रत्यक्ष कार्यकारी प्रमुखको व्यवस्था हुनुपर्ने तर्क गरे ।

प्रमुख राजनीतिक दलहरूले छाडेको तर मुलुकका लागि अत्यावश्यक मुद्दा उठाए, पोखरेलले । उनले निर्वाचन प्रणाली ठीक नभएको बताउँदै असन्तुष्टी पोखे । भने, ‘समानुपातिक निर्वाचन प्रणालीका नाममा अयोग्यहरूले पनि राजनीतिको महत्वपूर्ण ओहोदामा प्रतिनिधित्व गरेका छन् । यसले राजनीतिलाई विकृत र अनुत्तरदायी बनाउँदै लगेको छ ।’

स्नातक तहकै मनिता पौडेल पनि राजनीति विकृत र अनुत्तरदायी भएकामा चिन्तित देखिइन् । ‘राजनीतिलाई कसैले राम्रो भनेको सुनेको छैन । घरपरिवारमा पनि राजनीति भनेको खराब नै हो भनिन्छ । समाचारमा पनि राम्रो भनेको सुनेको छैन,’ उनले थपिन्, ‘त्यसैले मलाई त लाग्छ, यो फोहोरी खेल नै हो । गाविसमा कुनै सिफारिस लिनुपर्दा पनि घुस खुवाउनुपर्छ अनि कसरी राजनीतिप्रति विश्वास जाग्छ ?’

उनीसँगै सही थप्दै थिइन्, अनु गनेश । तेस्रो सेमेस्टरमा पढ्ने यी किशोरीले भनिन्, ‘मलाई राजनीतिप्रति कहिल्यै चासो भएन । त्यसैले होला मलाई केही थाहा पनि छैन ।’उनकै सहपाठी रोशन बिष्ट भने राजनीतिप्रति विश्वास जगाउन आफैं राजनीति गर्ने सोच राख्छन् । ‘व्यक्तिगत स्वार्थ नराखी देशको स्वार्थलाई केन्द्रमा राख्ने हो भने राजनीति सुध्रिन्छ,’ उनी भन्छन् ।

manita-poudelराजनीति कसैले राम्रो भनेको सुनेको छैन। घरपरिवारमा पनि खराब नै हो भनिन्छ। त्यसलै मलाई त लाग्छ, यो फोहोरी खेल नै हो।
मनिता पौडेल
स्नातक तह, एबर्डिन कलेज

तीन कलेजमा गरिएको अध्ययनका आधारमा भन्नु पर्दा किशोर/किशोरीमा राजनीतिप्रति चाख नै नभएको होइन । उनीहरूमा चाख छ तर सँगै राजनीतिक नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टी पनि । कम उमेर, अध्ययनको कमी, विषयवस्तुको अर्ध जानकारी छ उनीहरूमा । तर, सँगसँगै राजनीतिप्रति चासो पनि राख्छन् । आलोचना नै सही सामाजिक सञ्जालहरूमा टिप्पणी गर्छन् । रिलायन्स कलेजका पोखरेल भन्छन्, ‘समाचार सुनेर कुनै घटनाप्रति केही विचार आयो भने म सामाजिक सञ्जालहरूमा पोस्ट गरिहाल्छु ।’

राजनीतिशास्त्रका प्राध्यापक कृष्ण खनाल पनि सामाजिक सञ्जालको बढ्दो प्रयोग र प्रभावले नया“ पुस्तालाई राजनीतिप्रतिको चासो जगाइरहेको ठान्छन् । भन्छन्, ‘राजनीतिक घटनाहरू प्रति कोही पनि निरपेक्ष रहेर बस्न सक्दैन ।’ खनालले भनेजस्तै राजनीतिबाट अलग्गिएर बस्ने अवस्था छैन । किनकि, शिक्षा, स्वास्थ्य, यातायात, सञ्चार हरेक ठाउँमा राजनीति छ । एउटा मान्छे जानी–नजानी राजनीतिक क्रियाकलापबाट निर्देशित भइराखेको हुन्छ । हाम्रो मुलुकमा त झन् हरेकदिन राजनीतिक दलहरूलाई खबरदारी गर्नुपर्ने अवस्था छ ।

जनताको चाहना एकातिर हुने र राजनीतिक निर्णयहरू ठीक विपरीत भइदिंदा हाम्रोजस्तो मुलुकमा राजनीतिक नेतृत्वमाथि सधँ निगरानी आवश्यक परेको हो । निगरानी गर्दैगर्दा राजनीतिक नेतृत्वप्रति असन्तुष्टी र आक्रोश पनि पोखिने गरेको छ । दलहरूलाई चौतारादेखि चिया पसलसम्म कटाक्ष गरेको पाइन्छ ।

राजनीतिमा देखिएको बेथितिमाथि आक्रोश र आलोचना गर्ने तर त्यसलाई कसरी सुधार्न सकिन्छ भनेर रचनात्मक अभ्यास गर्ने प्रवृत्तिको कमी छ । ‘समग्र राजनीतिक वातावरण नै नकारात्मक छ । राजनीतिज्ञबाहेक कसैले पनि राजनीतिलाई राम्रो भन्दैनन् । यसप्रति सकारात्मक टिप्पणी भेट्न पदवाला राजनीतिज्ञकहाँ पुग्नु पर्छ,’ प्राध्यापक खनाल भन्छन्, ‘त्यसैले युवा पुस्तालाई पनि राजनीति गलत बाटोमा हिँडिरहेको छ कि जस्तो लाग्नु स्वाभाविकै हो ।’

ishwor-pokhrelराजनीतिमा हाम्रो जीवन जोडिएको छ। यसमा चासो नराखी सुखै छैन।
ईश्वर पोखरेल
कक्षा १२, रिलायन्स कलेज

अर्का राजनीतिशास्त्री कृष्ण पोखरेलचाहिँ युवा पुस्ताले विरोध गर्ने मात्रै होइन, त्यसलाई सुधार्नतिर पनि लागि पर्नुपर्ने बताउँछन् । राजनीति भन्नेबित्तिकै नकारात्मक सोच आउने जुन अवस्था बनेको छ, त्यो सच्याउन लाग्नुपर्ने र त्यसको जिम्मेवारी युवा पुस्ताले बोक्नुपर्नेमा उनको जोड छ । ‘अहिले मानिसमा राजनीति भनेकै झुटो बोल्ने, ठग्ने, खुट्टा तान्ने खेल हो भन्ने परिसक्यो ।

राजनीतिको यस्तो परिभाषाको परिवर्तन गर्ने काम त युवाकै हो नि,’ पोखरेल भन्छन्, ‘त्यसकारण राजनीतिक घटनाक्रमबाट भाग्ने होइन, त्यसलाई हेर्ने र कतिपय अवस्थामा संलग्न हुँदा बुझ्न सकिन्छ ।’पोखरेलले राजनीतिप्रति युवा आकर्षण जरुरी भएको बताउँदै भने, ‘जब कोही व्यक्ति राजनीतिमा लाग्दैन, राजनीतिक विषयवस्तु पढ्दैन भने उसका निम्ति यो बुझिनसक्नुको खेल हो ।

यसलाई बुझिनसक्नुको खेल बनाइरहँदा त्यो मुलुकको निम्ति लाभदायक हुँदैन । युवा विद्यार्थीहरूले राजनीति बुझ्नु जरुरी छ । र, यसमा घरपरिवार, साथीभाइ, सञ्चारमाध्यम र शिक्षण संस्थाको ठूलो भूमिका रहन्छ ।

 



 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.