लुम्बिनी टुक्र्याउने खेल र सकसमा संघीयता

 लुम्बिनी टुक्र्याउने खेल र सकसमा संघीयता

५ नम्बर प्रदेश यतिबेला आन्दोलित छ । भत्किन लागेको आफ्नो प्रदेश बचाउन गाउँसहर सबैतिरबाट जनता सडकमा ओर्लिएका छन् । राजनीतिक दल तथा कार्यकर्ता पनि आन्दोलनमा होमिएका छन् । कुनै समूह वा पार्टीको आयोजना वा पहलमा होइन, स्वतस्र्फूत रूपमा जनता प्रदर्शनमा उत्रेका छन् र भनिरहेका छन्, लुम्बिनी टुक्र्याउन पाइँदैन ।

प्रदेश एकताका पक्षमा आमजनता यति अभूतपूर्व रूपमा सडकमा उत्रेको सम्भवतः यो पहिलो घटना होला । बुटवलमा अहिले उर्लिएको जनसागर सामान्य छैन । यो शालीन प्रदर्शनले निकै गम्भीर परिणामको संकेत भने दिएको छ । सबैभन्दा सकारात्मक पक्ष के छ भने यति विशाल जनप्रदर्शन र प्रतिरोध हुँदा पनि कुनै हिंसात्मक घटना भएन । तर यो शालीनता र संयम सिंहदरबार वा यहाँको नेतृत्वले सही निष्कर्ष निकाल्न सकेन समयमै भने त्यसको परिणाम नसोचेको पनि हुन सक्छ । खासगरी कांग्रेस, एमाले र माओवादीको शीर्ष नेतृत्वले बेलामै ध्यान पुर्‍याएन भने यसले संघीयतालाई नै बगाउने खतरा पनि छ ।

यसअघि पनि संविधान बनाउने क्रममा ५ नम्बर प्रदेशको निर्माणमा खिचातानी भएको हो । लामो आन्तरिक तथा केन्द्रीकृत बहस र विवादपछि ५ नम्बर प्रदेशको सीमांकन तय गरिएको थियो । तर अहिले मधेसका माग सम्बोधन गर्ने बहानामा बनिसकेको ५ नम्बर प्रदेश टुक्र्याउने खेल सुरु भएको छ र त्यही डिजाइनअनुसार संविधान संशोधनको प्रस्ताव संसद्मा दर्ता भएको छ।

संसद्मा दर्ता गरिएको संशोधन प्रस्तावमा ५ नम्बर प्रदेशमा रहेका पहाडी जिल्ला, पाल्पा, अर्घाखाँची, गुल्मी, रुकुम (पूर्वी भाग), रोल्पा र प्युठानलाई अलग गरेर ४ नम्बरमा गाभ्ने प्रस्ताव गरिएको छ । हाल ४ नम्बर प्रदेशमा गोरखा, लमजुङ, तनहुँ, कास्की, मनाङ, मुस्ताङ, पर्वत, स्याङ्जा, म्याग्दी, बागलुङ र नवलपरासीको (बर्दघाट सुस्तापूर्व) को भाग समेटिएका छन् । प्रस्तावअनुसार संविधान संशोधन भए ४ नम्बर प्रदेशमा १६ वटा पहाडी जिल्ला र नवलपरासी तथा रुकुमको केही भाग पर्नेछन् ।

लुम्बिनीका गुल्मी, अर्घाखाँची, पाल्पा, कपिलबस्तु, नवलपरासी र रूपन्देहीबीचको अन्तरसम्बन्ध निकै बहुआयमिक खालको छ । यो कसैले चुँडाएर वा टुटाएर टुट्ने खालको छैन । रूपन्देही, कपिलवस्तु, नवलपरासीका समथर भूभाग (तराई) मा बस्नेहरूको बाहुल्यलाई पहाडी जिल्ला गुल्मी, अर्घाखाँची, पाल्पाले नै प्रतिनिधित्व गर्छ । यसलाई जोड्ने काम बुटवलले गरेको छ । बुटबलको विकासमा पहाडी जिल्लाको योगदान र साझेदारी उच्च छ ।

बुटवलमा अहिले उर्लिएको जनसागर सामान्य छैन । यो शालीन प्रदर्शनले निकै गम्भीर परिणामको संकेत भने दिएको छ । सबैभन्दा सकारात्मक पक्ष के छ भने यति विशाल जनप्रदर्शन र प्रतिरोध हुँदा पनि कुनै हिंसात्मक घटना भएन । तर यो शालीनता र संयम सिंहदरबार वा यहाँको नेतृत्वले सही निष्कर्ष निकाल्न सकेन समयमै भने त्यसको परिणाम नसोचेको पनि हुन सक्छ । खासगरी कांग्रेस, एमाले र माओवादीको शीर्ष नेतृत्वले बेलामै ध्यान पुर्‍याएन भने यसले संघीयतालाई नै बगाउने खतरा पनि छ ।

पहाड र तराईको अनुपम समायोजनबाट प्रस्तावित ५ नम्बर प्रदेश मुलुककै सम्भवतः सबैभन्दा सबल र समृद्ध प्रदेश हो । भगवान् गौतमबुद्धको जन्मस्थान लुम्बिनी, भैरहवामा बन्दै गरेको अन्तर्राष्ट्रिय विमानस्थल, भारतसँगको व्यापारिक नाका र यातयातको व्यवस्थित पहुँच, नदीनाला एवं अन्य प्राकृतिक स्रोतहरूको सम्पन्नताले यो प्रदेश आफैंमा लोभलाग्दो छ । बनिसकेको ५ नम्बर प्रदेशलाई टुक्र्याएर भौगोलिक रूपमा समेत यसलाई आश्रित र अस्थिर बनाउने नियत मात्र होइन, यहाँको सामाजिक र सांस्कृतिक एकता भत्काउने डरलाग्दो नियत पनि यसमा देखिन्छ । ५ नम्बर भूगोलले मात्र नजिकबाट जोडिएको छैन, भावनाले पनि कसिएको छ । ५ नम्बरको त्यो भावनामाथि एउटा भयानक खेलबाड भएको छ ।

संविधानलाई स्वागत गर्न सकस मान्दै आएको भारतले ५ नम्बर टुक्र्याउने प्रस्तावसमेत सम्मिलित संविधान संशोधनलाई भने पारित नहुँदै स्वागतयोग्य भनेर विज्ञप्ति निकालेको छ । मुलुककै एउटा व्यवस्थित सहर तथा व्यापारिक केन्द्र बुटवलबाट पहाडी जिल्लालाई अलग गराउने खेलमा आन्तरिक राजनीति, स्थानीय माग र राष्ट्रिय आवश्यकताभन्दा पनि यसमा बाह्य सरोकार र रणनीतिक स्वार्थ हावी भएको स्पष्ट पार्छ यसले ।

भारतसँग जोडिएको एउटा प्रमुख व्यापारिक नाका रहेको ५ नम्बरलाई पहाडी जनताको पहुँच र प्रभावबाट अलग गराउने प्रस्ताव अहिले अचानक कहाँबाट किन आयो ? यसको जवाफ संशोधन प्रस्ताव ल्याउने र यसलाई समर्थन गर्ने दल तथा नेताहरूले दिन सकेका छैनन् । ५ नम्बर क्षेत्रलाई प्रतिनिधित्व गर्ने सत्तासीन कांग्रेस र माओवादी अनि प्रमुख प्रतिपक्ष एमालेका सबै नेता तथा कार्यकर्ता संशोधनको विपक्षमा छन् । यसको लागि पार्टी ह्विप र लाइनसमेत क्रस गर्न आफूहरू तयार रहेको शपथ उनीहरूले जनतासमक्ष खाइसकेका छन्।

मिलेर बसेका तराई पहाडका जनतालाई जबर्जस्ती अलग्याउने खेलअनुसार नै ५ नम्बरको सीमांकनमा पुनरावलोकन अघि बढाइएको छ । मुलुकलाई सबैभन्दा बढी राजस्व दिइरहेको बुटवल वा लुम्बिनीसम्मिलित ५ नम्बरमा रहेका स्रोतहरूबाट एउटा भागलाई विमुख बनाउने र त्यसमा स्थानीय नियन्त्रण कमजोर बनाउने डिजाइनअनुसार यो खेल भएको विश्लेषण यथार्थको घेरानजिक छ ।

५ नम्बर प्रदेशको गौरव लुम्बिनी हो । सिंगो नेपालको समृद्धिसँगै साझा भावनाको आधारस्तम्भ बन्नसक्ने लुम्बिनी विश्वकै एउटा आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदैछ । गौतमबुद्धको जन्मस्थल लुम्बिनीसँग पर्यटनको अपार सम्भावना छ । यसको स्वाभाविक हिस्सेदार गुल्मी, अर्घाखाँची, पाल्पा पनि हुन् । लुम्बिनीसँगको यो हिस्सेदारी र स्वामित्वलाई पनि जबर्जस्ती खोस्ने र चुँडाउने खेल अहिले भइरहेको छ । त्यसैले दलीय घेराबाट माथि उठेर विरोधमा उत्रिएका हुन् लुम्बिनीवासी ।

बुटवलसँग पहाडी जिल्लाको सम्पर्क र सम्बन्ध कारोबार वा व्यापारले मात्र बाँधिएको छैन । बुटवलसँगको साइनो पहाडी जिल्लाको दिनचर्यासँग निकै गहिरो रूपमा जोडिएको छ । दिनभर बुटवलमा व्यवसाय गरेर बेलुका बास बस्न गुल्मी, अर्घाखाँची र पाल्पा झर्ने चलन पनि छ । पहाडको तरकारी र दूध हरेक बिहान बुटवल आइपुग्छ, बुटवलबाट नुनतेल हरेक बेलुका पहाड झर्छ । यी जिल्लाबीचको भौगोलिक सञ्जाल र सम्पर्क पनि निकै स्वाभाविक र सहज खालको छ भने सामाजिक सम्बन्ध र सांस्कृतिक आदानप्रदान अति व्यापक छ ।
संघीयताको नाममा हामीले अनेक असफल प्रयोग गरिसकेका छौं ।

पहिले पनि प्रदेश सीमांकनका बेला यस्ता तनाव र विवाद भए । यही निहुँमा थुप्रैको ज्यान पनि गयो । हिजो कैलाली र कन्चनपुरलाई सुदूरपश्चिमबाट टुक्र्याउन खोजियो, तर ‘अखण्ड सुप’ भन्दै सबै एकजुट भए । जनता आफैं सडकमा उत्रेर विभाजन रोके । त्यसपछि झापा, मोरङ र सुनसरी अलग गर्ने कुरा पनि आयो, तर त्यतिबेला पनि जनता सडकमा उर्लिए । नेताहरूको साथ भयो र त्यो पनि रोकियो । बाग्लुङ टुक्र्याउने प्रयास पनि जनप्रतिरोधका कारण सफल हुन सकेन । एउटा सेवा केन्द्र विस्तार गर्ने मामुली निर्णयसँगै कलैया र सिमरामा भएको आन्दोलन र त्यसको हिंसात्मक मुठभेडबाट सरकार र दलहरूले पाठ सिक्नुपर्छ, माटो या भूगोलसँग जनताको साइनो र स्वामित्व कति कठोर र कसिलो हुन्छ भन्ने कुरा ।

सुदूरपश्चिमका कैलाली कन्चनपुर नटुक्रिने भएपछि ५ नम्बर टुक्र्याउने विषयमा कांग्रेस सभापति शेरबहादुर देउवा चुप लागेका छन् । सुदूरपश्चिम अखण्ड भएपछि अरू टुक्रिँदा टाउको नदुखाउने देउवाको नियत र चाल यतिबेला ५ नम्बर प्रदेशका जनताले राम्रोसँग बुझेका छन् । ५ नम्बर टुक्र्याउने प्रस्तावविरुद्ध पश्चिम बुटवलमा आँधबेहरी चलिरहँदा देउवा पूर्व इटहरी पुगेर १ नम्बर प्रदेश टुक्रिँदैन भनेर भाषण गरेका छन् ।

लुम्बिनी टुक्र्याउने खेलसँगै समग्र संघीयता यतिबेला सकसमा परेको छ । एकीकृत लुम्बिनीको यो आवाज र आक्रोशलाई उपेक्षा गरे जनता फेरि भन्न बाध्य हुनेछन्, ‘लुम्बिनी टुक्र्याउन पाइँदैन, बरु संघीयता चाहिँदैन ।’

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.