लोकतन्त्रको मीठो भ्रम

लोकतन्त्रको मीठो भ्रम

नेपालमा लोकतन्त्रको आ–आफ्नै बुझाइ छ । यसलाई कसैले जनवादका रूपमा बुझेका छन्, कोही प्रजातन्त्रको सीमाबाट जनताको शासनको अर्थ लगाउँछन् । कट्टर माओवादीहरू लोकतन्त्रलाई जनतन्त्रको रातो रंग दिन्छन् । यसले के देखिन्छ भने लोकतन्त्रको अर्थ, नियत र चरित्र हाम्रा पार्टी र ‘स्कुल अफ थट’अनुसार फरक छ ।

सायद नेपाली लोकतन्त्र किन प्रभावकारी भएन भन्ने प्रश्नसँग यो जोडिन्छ । कोही अहिलेको लोकतन्त्र भत्काउनेहरू छन्, कोही हिजोकै प्रजातन्त्र ठीक भन्छन् । लोकतन्त्र अहिले निकै ठूलो संकटमा छ । त्यसैले प्रश्न स्वाभाविक हुन्छ कहा“ छ लोकतन्त्र ? भारतीय विद्वान अमत्र्य सेनका अनुसार ‘राजनीतिक तथा आर्थिक शक्तिमाथि जनताको नियन्त्रण नै लोकतन्त्र हो ।

KeshavDahal_1यो भनाइमा उनले न त सर्वहारा नियन्त्रण भने न त पूँजीवादी नियन्त्रण नै । यो न त जनवाद हो न त जनतन्त्र । बरु, सम्पूर्ण शक्तिमाथि जनताको नियन्त्रण नै लोकतन्त्र हो । यसको सिधा अर्थ हुन्छ, राज्य सञ्चालनमा जनताको नियन्त्रण नै लोकतन्त्र हो । राजनीतिक विज्ञानमा लोकतन्त्रले जनताको सर्वोच्चता र सार्वभौमिकता बुझाउँछ । लोकतन्त्रमा जनताको परिभाषा सर्वहारा वा पूँजीपति वर्गभन्दा माथि र व्यापक छ ।

यही व्यापक सन्दर्भबाट लोकतन्त्रलाई पनि परिभाषित गर्नु पर्छ । लोकतन्त्रले जनतामा निहित शासकीय अधिकारको अर्थ दिन्छ । यसर्थ, अहिलेको विश्व राजनीतिमा लोकतन्त्रको विकल्प देखिँदैन । भनिन्छ, लोकतन्त्रको विकल्प लोकतन्त्र मात्र हो । अहिले औपचारिकभन्दा माथिल्लो तहको लोकतन्त्रको खोजी भइरहेको छ । सहभागितामूलक वा समावेशी लोकतन्त्र परम्परागत लोकतन्त्रलाई अझ लोकतान्त्रिकरण गर्ने नयाँ प्रयोग हो ।

राजनीतिमा लोकतन्त्रको आफ्नै ‘चार्म’ छ । त्यसैले ठूला तानाशाहहरू समेत आफूलाई लोकतान्त्रिक भन्न रुचाउँछन् । तर, लोकतन्त्रको परीक्षण भने जनताको आँखाबाट मात्र हुनसक्छ । कसको र कसका लागि लोकतन्त्र भन्ने प्रश्नको जवाफ नेताहरूले नभई जनताले मात्र दिन सक्छन् । जनताको आर्थिक सम्पन्नता र सामाजिक न्यायबाट लोकतन्त्रको परख हुन्छ ।

राजनीतिमा जनताको स्वामित्व कस्तो छ त्यहीँ नै लोकतन्त्रको जाँच हुन्छ । समावेशीकरण, सीमान्तकृतको सुनुवाइ र सरकारमाथि जनताको नियन्त्रणले लोकतन्त्र क्रियाशील हुन्छ । जनता राजनीतिक प्रक्रियाबाट विमुख भए भने बुझे हुन्छ लोकतन्त्रमा गडबडी छ । सरकार, शासकीय अधिकार केही नेताको सहमतिको वस्तु बन्यो भने बुझे हुन्छ, लोकतन्त्र संकटमा छ ।

पार्टीहरू बन्नु, निर्वाचन हुनु र जनताले मत खसाल्नु मात्र लोकतन्त्र होइन । यो प्रक्रियाले त दलीयतन्त्र मात्र निर्माण हुन्छ । लोकतन्त्र र दलीयतन्त्रमा निकै अन्तर छ । नेपालमा अहिले थोरै लोकतन्त्र र धेरै दलीयतन्त्र हावी छ । अझ, कतिपय सन्दर्भमा हामी नेतातन्त्रमा फसेका छौं । लोकतन्त्रको यही मीठो भ्रममा नेपाली राजनीति अल्झिरहेको छ ।

तथ्यहरूबाट लोकतन्त्रको परीक्षण गरौं । अहिले लोकतन्त्रमाथि सबैभन्दा निर्मम प्रहार स्थानीय निकायमा देखिन्छ । त्यहाँ जनप्रतिनिधि छैनन् । यसको अर्थ स्थानीय निकायमार्फत् खर्च हुने अर्बौं रकम नेतृत्वविहीन छ । यी अड्डाहरू राजनीतिक अराजकताका जीवित उदाहरण हुन् । त्यहाँ जनताको पहँुच छैन । न्यूनतम सर्तहरूको पालना प्रभावकारी हुँदैन ।

राज्यको आधार तहमा नै भनसुन, राजनीतिक प्रभाव र अनुशासनहीनताले जरा गाड्दै छ । यसको दूरगामी प्रभाव कस्तो होला ? स्थानीय निकायमा प्रत्यक्ष÷अप्रत्यक्ष ५० हजारभन्दा बढी राजनीतिक कार्यकर्ताले गलत हस्तक्षेप गरिरहेका छन् । उनीहरू नेता होइन, ठेकेदार बन्दै छन् । त्यसैले भन्न सकिन्छ, स्थानीय निकायमा लोकतन्त्र छैन । त्यहाँ दलीयतन्त्र हावी छ ।

राजनीतिमा लोकतन्त्रको आफ्नै ‘चार्म’ छ। त्यसैले बढे–बढे तानाशाहहरूसमेत आफूलाई लोकतान्त्रिक भन्न रुचाउँछन्। तर लोकतन्त्रको परीक्षण भने जनताको आँखाबाट मात्र हुनसक्छ।

हामीकहाँ राजनीतिक दलहरूसँग शासकीय अधिकार निहित छ भन्ने गलत बुझाइ छ । तर, दलहरूसँग शासकीय अधिकार हुँदैन । यसका लागि उनीहरूलाई जनअनुमोदन चाहिन्छ । जनअनुमोदनबिना नै दलका नेताहरू आफूलाई स्थानीय निकाय प्रमुख बनाइरहेका छन् । यो लोकतन्त्रका नाममा गरिएको राजनीतिक अपराध हो । यसको ‘करेक्सन’ कसरी गर्ने ? स्थानीय निकायको निर्वाचन यसको अनिवार्य सर्त हो । तर, स्थानीय निकायको पुनर्संरचना र सीमांकनको मुद्दा यति पेचिलो बन्दैछ कि हाम्रा दलले सहमति नगरे स्थानीय तह अझ संकटमा पर्ने छ ।

लोकतन्त्रको स्थापनापछि आठ प्रधानमन्त्री र तीन सयभन्दा धेरै मन्त्री बने । लगभग पा“च सय जना सल्लाहकार बने । एक हजार दुई सय जना सभासद् बने । थप दुई हजारभन्दा धेरैले लाभको पद प्राप्त गरे होलान् । केही दर्जन राजदूत बने, केही दर्जनले सरकारी संस्थानको जिम्मेवारी पाए । केही हजार माओवादी लडाकुले पनि थोरबहुत सुविधा पाए, सयौं गाडी आए ।

प्राडो, पजेरो, विदेश यात्रा । राजनीतिको यो आकर्षणमा धेरै दल खुले, अझै खुल्ने क्रममा छन् । दल र नेताहरूले लोकतन्त्रको खुब मजा लिए । उनीहरूको आर्थिक हैसियत फेरियो । सामाजिक सम्मान बढ्यो । राजनीतिक पहुँच अकासियो । नेताहरूलाई लोकतन्त्र आयो । तर, तराईका मुसहर, चमार र खत्वेहरू कता छन् ? राजी, किसान, चेपाङहरू कता छन् ? कर्णालीको भोकमरी के भयो ? वादी महिलामाथिको यौन अपराध कता पुग्यो ? हलिया, हरूवा, चरुवाहरूको अवस्था के भयो ? लोकतन्त्रले उनीहरूलाई के दियो ?

के यो जनताको लोकतन्त्र हो ? कि हामी राजनीति गर्ने मुठ्ठीभर नवसम्भ्रान्तहरूको लोकतन्त्रलाई आफ्नो ठानिरहेका छौं ? माथिका तथ्यले लोकतन्त्रको निर्मम परीक्षा लिन्छ र अन्ततः हाम्रो लोकतन्त्रलाई फेल गरिदिन्छ । चालु लोकतन्त्रले सीमान्तकृतहरूको न त आवाज सुन्यो, न त न्याय दियो । यसर्थ नै, अझ उन्नत लोकतन्त्रको बहस आजको आवश्यकता हो ।

नेपालमा ३८ दशमलव नौ प्रतिशत युवा छन् । तिनै युवाले जनयुद्धदेखि जनआन्दोलनसम्म आफ्नो जीवनको ऊर्जा खर्च गरे । उनीहरू नै परिवर्तनका संवाहक हुन् । उनीहरूकै तागतले राजनीतिक परिवर्तन भयो । तर, के उनीहरूले लोकतन्त्र प्राप्त गरेका छन् ? पछिल्लो तथ्यांकले भन्छ कि प्रतिदिन एक हजारदेखि एक हजार पाँच सय नेपाली युवा कामको खोजीमा बिदेसिन बाध्य छन् । हरेक वर्ष नौ लाखभन्दा धेरै युवा बालुवाको देश पुग्छन् । भारतमा निकृष्ट श्रम गर्ने युवाको तथ्यांक नै छैन ।

१० वर्षअघि वैदेशिक रोजगारीमा जानेको संख्या वार्षिक ५५ हजार थियो । आज यो दैनिक एक हजार पा“च सय आसपास पुगेको छ । राष्ट्रबैंकको तथ्यांकले भन्छ कि बाहिर जानेहरूमा ८३ दशमलव सात प्रतिशत पुरुष र १६ दशमलव तीन प्रतिशत महिला छन् । उनीहरूमध्ये १५ वर्षदेखि २९ वर्ष उमेरसमूहका युवाको संख्या ५३ दशमलव आठ छ ।

२३ दशमलव तीन प्रतिशत ३० देखि ४४ वर्ष उमेरका छन् । यति ठूलो श्रमशक्ति देशबाहिर जान्छ । देशमा रोजगारी, उत्पादन र अवसर छैन । त्यसो भए युवाका लागि कहाँ छ लोकतन्त्र ? उच्चस्तरीय भूमिसुधार आयोग र स्वतन्त्र अनुसन्धानका प्रतिवेदनहरूले बताउँछन् कि ग्रामीण गरिब किसानमध्ये २९ प्रतिशतसँग निजी जमिन छैन । हिमालका सात, पहाडका २१ र तराईका ३१ प्रतिशत किसानसँग जमिन छैन । राष्ट्रिय दलित आयोगको सर्वेक्षण २००४ भन्छ, देशका ५३ प्रतिशत दलित भूमिहीन छन् ।

विभिन्न कारणले हरेक वर्ष कुल खेतीयोग्य जमिनको २० प्रतिशत बाँझो हुन्छ । यसरी हेर्दा भूमिहीनहरूको पीडा चर्को छ, गरिबी र अन्याय छ । जोताहा किसान मंसिरमा धान फलाउँछन् र पुसमा भोकै पर्छन् । किसानका लागि लोकतन्त्र कहाँ छ ? सबै उस्तै छ, सपना उही छन् । समृद्धिका प्यास उनै हुन् । फेरियो त फगत राजनीति, नेता फेरिए ।

यो परिवर्तनले न त जनताको भोको पेट भरियो, न त आङमा जाडो छल्ने कपडा मिल्यो । न त ओत लाग्ने छाप्रो नै पाइयो । तसर्थ, प्रश्न स्वाभाविक छ, यो कसको लोकतन्त्र हो ? जनताको कि दलको ? विकासको गति सारै धिमा भयो । उद्योग, व्यापार धराशायी हुँदैछन् । विजुली र पूर्वाधार छैनन् । ०६८ सालमा एसएलसी दिएकामध्ये एक सय ७० विद्यालयबाट एक जना पनि विद्यार्थी पास भएनन् । विगत १० वर्षमा शुन्य दशमलव नौ प्रतिशत व्यक्ति मात्र गैरकृषि क्षेत्रमा प्रवेश गरे ।

युवा अधिकारकर्मीहरू भन्छन्, सातामा न्यूनतम एक घण्टा पनि काम नपाउनेहरू शुन्य दशमलव ६ प्रतिशत छन् । त्यसो त, नेपाली युवाको बेरोजगारी दर संसारमै उच्च छ । काम गर्नेहरूले पनि थोरै कमाउँछन् । पुरुषले मासिक सरदर पा“च हजार सात सय कमाउँछन् भने महिलाले सरदर तीन हजार चार सय । यो कमाइले जीवन धान्न पनि पुग्दैन ।

तर, १० हजारभन्दा धेरै नेता÷कार्यकर्ता मासिक लाखौं कमाउँछन् । ५० हजारभन्दा धेरैले राजनीतिलाई पेशा बनाएका छन् । उनीहरू अरू कुनै काम गर्दैनन् तर जीवन आरामले चलेकै छ । त्यसो त, राज्यले दर्जन संख्याका विशिष्ट पदाधिकारीलाई दिएको सुविधा नै वार्षिक ५० करोड आसपास हुन आउँछ । भर्खर मात्र एक करोडपति नेतृलाई सरकारले उपचार खर्च ५० लाख दियो ।

एकातिर सिटामोल नपाउने जनता र अर्कातिर मिनेट–मिनेटमा राज्यको दोहन गर्ने नेतासँगै बसेको मुलुकमा लोकतन्त्रको रङ कस्तो हुनुपर्छ ? सायद, अहिलेको लोकतन्त्र फुस्रो छ र रंङहीन । यसर्थ, फेरि प्रश्न उठ्छ, यो कसको लोकतन्त्र हो ? नेताहरूको कि जनताको ? नेताहरूले कमाएकामा कुनै रिसराग छैन । तर, त्यसको स्रोत के होला ? नेताहरूलाई सुविधा पनि चाहिन्छ । तर, जनतालाई पनि त लोकतन्त्रको लाभ दिनुप¥यो ।

लोकतन्त्रमा दलीय सर्वोच्चता हुँदैन । नागरिक सर्वोच्चता हुन्छ । यो छ कि छैन भन्ने कुरा व्यवहारबाट हेर्नु पर्छ । जनताको जीवनमा आएको परिवर्तनबाट हेर्नु पर्छ । तर, अहिले जे छ, त्यसले नागरिक सर्वोच्चता कमजोर हुँदैछ । यसरी त लोकतन्त्र टिक्न सक्दैन । यसर्थ, सबैले आत्मसमीक्षा गराैं, हामी कहाँ चुक्यौं ?

राजनीतिक विश्लेषक दाहाल नयाँ शक्ति पार्टीका नेता हुन् ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.