स्थानीय निकायको चुनाव चैतमा पनि असम्भव !

स्थानीय निकायको चुनाव चैतमा पनि असम्भव !

निर्वाचन आयोगका प्रमुख आयुक्त डा. अयोधीप्रसाद यादवले पदभार ग्रहण गरेपछि भनेका थिए, ‘मंसिरभित्र स्थानीय निकायको चुनाव गराउँछु ।’ मंसिर दोस्रो साता बितिसक्दा निकट केही महिनामा चुनाव हुने कुनै छाँट देखिँदैन । राजनीतिक नेताहरूले पनि मंसिरमा नसके पनि चैतमा चुनाव गर्ने भनेर पटक–पटक भाषण गरे तर चैतमा पनि चुनाव हुने कुनै संकेत छैन ।

७ माघ ०७४ भित्र स्थानीय निकाय, प्रदेश र संसद्को चुनाव गर्नुपर्ने संवैधानिक बाध्यता छ । त्यसमध्ये स्थानीय निकायको चुनाव सबैभन्दा पहिले गर्ने कुरा गरिए पनि हालसम्म स्थानीय निकाय पुनर्संचरना आयोगले सबैलाई समेट्ने साझा विन्दु पहिल्याउन सकेको छैन । प्रमुख निर्वाचन आयुक्त डा. यादव आफूहरूले चाहे पनि सरकारले नचाहँदासम्म चुनाव हुन नसक्ने बताउँछन् । ‘चैतमा हुने हल्ला सुनेको हुँ ।

आधिकारिक रूपमा घोषणा नभएसम्म कसरी चुनाव हुन्छ भनौं,’ उनी भन्छन्, ‘हामी त तयार छौँ । तर, हामीले मात्रै चाहेर हुँदैन ।’ निर्वाचन आयुक्त इला शर्मा पनि पुनर्संरचना आयोगको प्रतिवेदन कार्यान्वयनको सुनिश्चितता नभएसम्म चुनाव कहिले र कसरी भन्नेमा अन्योल रहिरहने बताउँछिन् । चैतभित्रै चुनाव गराउने हो भने मंसिर दोस्रो साताभित्र स्थानीय निकाय पुनर्संरचना आयोगको प्रतिवेदन आइसक्नुपर्छ र त्यसमा दलहरूबीच सहमति बन्नुपर्छ ।

यस्तै, निर्वाचनसम्बन्धी कानुन संशोधन भइसक्नुपर्छ । निर्वाचन आयोगले आवश्यक कानुनको संशोधन प्रक्रिया बढाउन गृह मन्त्रालयलाई अनुरोध गरे पनि त्यो अगाडि बढेको छैन । स्थानीय तह कार्यविधि ऐन र निर्वाचन कसुर तथा सजाय ऐन प्राप्त नहुँदासम्म निर्वाचनको तयारी गर्न नसकिने निर्वाचन आयोगका सचिव गोपीनाथ मैनाली बताउँछन् ।

मैनाली भन्छन्, ‘आयोगले मंसिर दोस्रो सातासम्म आफ्नो प्रतिवेदन बुझाउनुपर्ने थियो । बुझाएको छैन । गृह पुगेर मस्यौदा थन्किएको छ ।’ सरकारले अहिलेसम्म मतदाता नामावली, निर्वाचन आयोग र राजनीतिक दलसम्बन्धी कानुन संसद्मा पठाएको छ । संसद्मा यी तीन कानुनमाथि दफावार छलफल हुँदै आएको छ ।

पुनर्संरचना आयोगले प्रतिवेदन बुझाउँदा वडा, गाउँपालिका र नगरपालिका केन्द्रका साविकको संरचना विभाजन भयो भने झनै समस्या पर्ने मैनाली बताउँछन् । भन्छन्, ‘यस्तो भएको खण्डमा आयोगलाई फेरि सुरुदेखि काम गर्नुपर्ने हुन्छ ।’सबैभन्दा ठूलो कुरा, चैत मसान्तसम्म निर्वाचन गर्नका लागि सरकारले ढिलोमा पनि १५ मंसिरसम्म चुनावको आधिकारिक घोषणा गरिसक्नुपर्ने छ ।

सरकारले स्थानीय चुनावको तिथि तोक्ने कुनै छाँट नदेखाए पनि निर्वाचन आयोगचाहिँ ‘अलर्ट’ छ।

मिति घोषणा, कानुन संशोधन, पुनर्संरचना आयोगको प्रतिवेदनका अलावा पनि समयमै निर्वाचन गर्न बजेट, सुरक्षा र अन्य स्रोतसाधनको उपलब्धता पनि चुनौतीका रूपमा देखिएका छन् । मैनालीका अनुसार बजेट अभावका कारण मतदाता नामावली संकलनको काम बढ्न नसकेको हो । भन्छन्, ‘हामीलाई अझै आठ अर्ब रुपैयाँ आवश्यक छ । सरकारसँग यसको माग पनि गरेका छौं, प्राप्त भएको छैन ।’

बजेट उपलब्ध भएपछि पनि थप ५४ जिल्लामा काम सुरु गर्न तीन साता लाग्ने मैनालीको भनाई छ । झण्डै ६ अर्ब रुपैयाँमा अघिल्लो निर्वाचन सम्पन्न गरेको आयोगले आगामी चुनाव खर्च निक्र्योल गर्नै सकेको छैन । मतदाता नामावली संकलनको काम ५४ जिल्लामा सुरु हुन सकेको छैन । हिमाली र केही उच्चपहाडी २१ जिल्लामा मात्रै नामावली संकलनका लागि कर्मचारी खटिएका छन् ।

सरकारले स्थानीय चुनावको तिथि तोक्ने कुनै छाँट नदेखाए पनि निर्वाचन आयोगचाहिँ ‘अलर्ट’ छ, जहाँ नियमित बैठक बस्छ । ‘चुनावको घोषणा भए पनि, नभए पनि आफ्नातर्फबाट तयार हुनुपर्‌यो नि,’ प्रमुख आयुक्त यादव भन्छन्, ‘जोर बार साढे ११ बजे आयुक्तहरूको बैठक बस्छ । बैठकले नीति बनाउँछ र नयाँ कार्ययोजना सचिवालयमा पठाउँछ ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.