पाशविक कृत्य
तीन वर्षअघि तीन महिनाकी छोरी च्यापेर काठमाडौं भित्रिँदा उनको मनमा सपना सजिएको थियो । अधुरो पढाइ सक्ने, छोरीलाई सुखले हुर्काउने र दम्पत्ती मिलेर यतै सुखी संसार बसाउने । १ मंसिर रातिको अकल्पनीय पाशविक घटनाले शरीर थिलथिलो भएको छ, मन बिथोलिएको छ । यसबीचमा सहरको दुःख थाहा पाएकी थिइन्, गाउँ नै रमाइलो लाग्न थालेको थियो । सामूहिक बलात्कारको शिकार बनेपछि त धुलाम्मे सहर नै कुरुप, पाशविक र घातक लाग्न थालेको छ । पशुवत् शारीरिक यातना दिनेहरूलाई जेल पुर्याएरै छाड्न दृढ संकल्प जागेको छ मनमा ।
सहकर्मीलाई पिटेर भगाए
ललितपुर ग्वार्कोस्थित एक दोहोरी साँझमा जागिर गर्थिन् उनी । त्यस रात एक पुरुष सहकर्मीका साथमा मंगलबजारस्थित डेरा फर्किंदै थिइन् । घरबेटीले गेटमा लगाएको ताल्चा निकैबेर कोशिसका बावजुद कसैले खोलिदिएन । त्यसपछि सहकर्मीले दिदीसमेत भएकाले आफ्नै डेरामा जान आग्रह गरे, उनले स्वीकारिन् ।
दुःखसुखका कुरा गर्दै हिंडिरहेका थिए उनीहरू । इमाडोलको मूलबाटोबाट किस्ट अस्पतालछेउको गल्ली छिर्नै लाग्दा पछाडिबाट बाइकमा आएका तीन युवाले बाटो छेके । उनीहरूलाई धम्क्याए । दुई जना बाइकबाट उत्रिए र पुरुष सहकर्मीको टाउकामा प्रहार गरे । उनी भुईमा ढले, निकै डराएका सहकर्मी उठेर भागे । ‘अचानक बाइक रोकेर तिमीहरू कहाँ हिंडेका ? यो केटीलाई कहाँ लगेको ? भन्न थाले,’ उनी भन्छिन्, ‘हामी डरायौं ।
कामबाट फर्केका, ऊ मेरो दाइ हो भने मैंले । हामीले एकअर्काका हात बेस्सरी समात्यौं । दुई जनाले उनलाई पिटे, ज्यान जोगाउन उनी भागे ।’ उनी पनि सँगसँगै भाग्न खोजिन् । तर, तीनै जनाले समाते । उनले हारगुहार गरिन् । सडक सुनसान थियो, कसैले सुनेन । डरका कारण ठूलो स्वर पनि निस्किएन । ‘कराइस् भने मर्लिस्, चुपचाप हामीसँग हिंड्’ भन्दै बाइकमा हाले । ‘कराइस्, चिच्याइस् भने रातभर यहिँ राख्छौं, चुपचाप दिइस् भने एकछिनमा तेरो डेरा पुर्याइदिन्छौं’ भन्दै धम्क्याए ।
पीडकहरू थिए, स्याङ्जा वालिङका २५ वर्षीय सुशील अर्याल, इमाडोलका २५ वर्षकै निर्मल थापा र इमाडोलकै २१ वर्षे प्रवेश थापा । उनलाई अर्यालको डेरामा लगे र मुख थुनेर पालैपालो लुटे । ‘तीन जना भुसतिघ्रेबाट मैंले इज्जत बचाउन सकिनँ,’ उनी मुर्छित् भइन् । बलात्कृत भइसक्दा उनको जीउ थरथरी काँपेको थियो, वीर्यले शरीर लतपतिएको थियो । रुन थालिन्, तीनै जनाले फेरि धम्क्याए । बाध्य भएर सास दबाइन् ।
करिब एक घण्टापछि तीनै बलात्कारीले लिएर सडकमा पुग्दै गर्दा प्रहरी आइपुगे । तीमध्ये एक फरार भए, दुई जना अहिले महानगरीय प्रहरी वृत्त सातदोबाटोको हिरासत छन् । १५ मंसिरमा उनलाई भेट्दा रुन पनि नसक्ने अवस्थामा थिइन् । आफ्नै शरीरसँग घिनाइरहेकी थिइन् ।
‘न्यायका लागि लड्छु’
काठमाडौं आएको ६ महिनापछि सहरमा टिक्न गाह्रो हुने देखेर उनका पति कमाउन खाडी मुलुक हानिए । एसएलसीमै अल्झेकी उनीसँग जागिरका लागि सोर्सफोर्स थिएन । चाबहिलस्थित डेरामा छोरी हुर्काउँदै बसिन् । केही महिनाअघि छोरी तीन वर्ष पुगिन्, स्कुल हाल्नुपर्ने जिम्मेवारी थपियो । काकाको छोराको सहारा पनि हुने सोचले दुई महिनाअघि मात्र मंगलबजार सरेकी थिइन् ।
पतिको सहमतिमा छोरीलाई एक संस्थाको सहयोगमा होस्टेलमा राखिन् र ग्वार्कोस्थित दोहोरीमा वेटरको काम थालिन् । सहकर्मीहरू असलै थिए । अर्काले खाएको जुठा भाँडा उठाउन खासै रमाइलो नभए पनि २/४ पैसा कमाइ हुने आशाले उनी काममा खुशी नै थिइन् । तर, पहिलो महिनाको तलब हात नपर्दै उनी सामूहिक बलात्कारमा परिन् । उनको मनमा पीडा र प्रतिशोधको आगो बलेको छ । भन्छिन्, ‘काखमा मजस्तै छोरी छ, उसका लागि पनि मैंले लड्नु पर्छ । म तिनीहरूलाई त्यतिकै उम्किन दिने छैन । न्यायका लागि लड्छु ।’
जसले अपराध गरे
महिला हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेका बेला राजधानीमै २० वर्षीया ती युवती सामूहिक बलात्कारको शिकार भइन् । मादक पदार्थ सेवन गरेका युवाले पाशविक कुकृत्य गरे । तीन जनाले आफूलाई कुटपिट गरी सहकर्मी युवतीलाई लिएर गएको टेलिफोनमार्फत् सहकर्मीले जानकारी दिएलगत्तै प्रहरी खोजीमा निस्केको थियो । गाडी निकाल्दा र चालकलाई उठाउँदा आधा घण्टाभन्दा बढी समय लाग्यो प्रहरीलाई ।
महिला हिंसाविरुद्घको १६ दिने अभियान चलिरहेका बेला राजधानीमै २० वर्षीया युवती सामूहिक बलात्कारको शिकार भइन्।
एक घण्टाभित्र दुई जनालाई पक्राउ गर्न सकिएको वृत्तका डीएसपी रामेश्वरप्रसाद यादव बताउँछन् । उनका अनुसार घटना भएकै रात युवतीको स्वास्थ्य परीक्षणबाट सामूहिक बलात्कारको पुष्टी भएको छ । २४ दिनभित्र अनुसन्धानपछि सरकारी वकिलमार्फत् अभियुक्तहरूलाई अदालतमा उपस्थित गराइने प्रहरीले जनाएको छ ।
राजधानीमा बीबीएस दोस्रो वर्ष अध्ययनरत अर्याल युरोप जाने तयारीमा थिए । उनका भाइ फ्रान्समा रहेकाले उतै जना भिसा आवेदन दिएका थिए । त्यस रातको कुकृत्यले उनलाई युरोप नभई हिरासतमा पुर्यायाे । भन्छन्, ‘भिसा आइसक्यो होला । तर, के गर्नु दशाले बुद्धि भुटेपछि यस्तो भयो ।’ त्यस रात प्रवेशका एक साथीको जन्मदिन थियो ।
इमाडोलमा एउटा पसलको बाहिरै बसेर दुई बोतल बियर तीन जनाले पिएर फर्किंदै थिए । बाटोमा दुई केटा–केटी विवाद गरिरहेको देखेको उनीहरूको दाबी छ । अभियुक्तहरूको दाबीअनुसार रोकिएर विवादबारे जिज्ञासा राखे । ‘यो हाम्रो मामला हो । तिमीहरूलाई किन चासो ?’ केटाले जवाफ दिए । घरबेटीले ढोका नखोलेपछि सहकर्मीको कोठातर्फ जान लागेको र केही आपसी कुरा गर्दै गरेको बताइन् । भनाभन हुँदा निर्मलले युवतीका सहकर्मीलाई पिटे, उनी लडे र पछाडि नफर्किइ भागे ।
अभियुक्त अर्याल भन्छन्, ‘त्यसपछि हामीले हिंड तिम्रो कोठा पुर्याइदिन्छौं भन्यौं । युवतीले आफ्नो मोबाइल अफ भएको र घरबेटीले कोठाको ढोका नखोलिदिएको बताइन् । त्यसपछि के गर्ने त मोबाइल चार्ज गर्न जाने हो ? हाम्रो कोठा यहीं नजिकै छ भनेपछि सहजै स्वीकारिन् । त्यसपछि हाम्रो कोठामा लगेका हौं ।’ घर पुगेर निर्मलले अंगालो मारेर पहिलो तलाको कोठामा लगे ।
‘म र प्रवेश भने भुईतलाको कोठामै बस्यौं । एकछिनमा माथि जाँदा उनीहरू हाम्रै अगाडि आलिंगनबद्ध रहे । त्यसपछि हामीले पनि आफूलाई नियन्त्रण गर्न सकेनौं र यौन सम्बन्ध राख्यौं ।’ आधा घण्टापछि पुनः युवतीलाई उनको कोठा छोडिदिन जाने भनेर बाटोमा निस्किने क्रममा प्रहरीको फन्दामा परे । अभियुक्तद्वयको यस भनाइप्रति पीडित युवती शतप्रतिशत असहमत छिन् । आफूलाई जबर्जस्ती बलात्कार गरिएको उनी बताउँछिन् ।
जाहेरीअनुसार अभियुक्त प्रवेश थापा विद्यार्थी हुन् । मादक पदार्थ सेवन गर्ने उनलाई बाबुले पटक–पटक विवाहका लागि दबाब दिंदै आएका थिए । सोही कारण आमासँग मावलीमा बस्दै आएका थिए । निर्मल थापा नेपाली सेनाको भगौडा भएको प्रहरीको अनुमान छ । अर्याल सानोतिनो काम गर्ने र छाड्ने बेरोजगार युवा हुन् । प्रहरीले मादक पदार्थ सेवनलाई घटनाको उत्प्रेरक मानेको छ । डीएसपी यादव भन्छन्, ‘दोहोरीमा काम गर्ने भन्दैमा सबै महिला खराब हुन्छन् भन्ने छैन ।
घटनाअघि युवतीको चरित्र जस्तो होस्, त्यसले अर्थ राखेन । घटनाका बेला युवती आफ्नो साथीसँग गइरहेकी थिइन् । रातको समयमा अपरिचित युवाले उठाएर लगेर जबर्जस्ती करणी गर्नु अपराध हो । उनीहरू सजायको भागिदार हुनै पर्छ ।’ युवती निकै त्रस्त र हैरान रहेको उनी बताउँछन् । यसै पनि महिला अँध्यारोसँग डराउँछन् ।
त्यसमाथि आफ्नो सहकर्मीलाई कुटेर लडाएपछि तीन जना लठैतका अघि एक निरीह युवतीको केही जोर नचल्ने उनी बताउँछन् । सोही बाटो हिंडिरहेका करिब ७० वर्षका एक वृद्धले अभियुक्तत्रयले जबर्जस्ती उठाउँदै गर्दा देखेर आपत्ति जनाएको तर उनीहरूले अपशब्द प्रयोग गरी धम्क्याएको बयान पीडित युवतीले दिएकी छन् । प्रहरीले ती प्रत्यक्षदर्शीको पनि खोजी गरिरहेको छ ।
अभियुक्तको उम्किने प्रयास
अभियुक्तहरू अहिले उम्किने प्रयासमा लागेका छन् । यसबीचमा फरार अभियुक्त निर्मलका दाजुलगायत आफन्तले पीडितलाई पैसाको प्रलोभन देखाएर मुद्दा फिर्ता गराउने प्रयास गरेका छन् । उनीहरूले मुद्दा फिर्ता लिइदिए आठ लाख रुपैयाँसम्म दिन सक्ने बताउँदै ‘बार्गेनिङ’ गर्न आएको युवतीले बताइन् । ‘केही मान्छे मध्यस्थता गर्ने भन्दै आएका थिए ।
जे हुनु भइसक्यो मेरो भाइ (निर्मल)सँग विवाह गर्छौ ? म अहिले लगेर विवाह गराइदिन्छुसम्म भन्न भ्याए,’ उनी भन्छिन्, ‘मेरो इज्जत पैसाले फिर्ता गर्न सक्छस् ? मेरो लोग्ने र छोरी छैनन् ? भनें । निलो अनुहार लाएर फर्के ।’ बलात्कारीले कानुनबमोजिम सजाय पाए मात्र न्याय मिल्ने पीडितका भाइ बताउँछन् । भन्छन्, ‘त्यसका लागि हामी लड्न चाहन्छौं ।
प्रहरी र अदालतले न्याय दिलाउनेमा विश्वस्त छौं ।’ सामूहिक बलात्कार जघन्य अपराध भएकाले मुद्दामाथि प्रभाव पार्न नदिइने र जुनसुकै हालतमा दोषीले सजाय पाउने गरी अनुसन्धान बढाइएको डीएसपी यादव बताउँछन् ।
प्रतिक्रिया दिनुहोस !