जब्बर क्रान्तिकारी

 जब्बर क्रान्तिकारी

‘वासिङ्टन पोस्ट’को २६ नोभेम्बरको संस्करणले ‘क्युबालाई एक समाजवादी राज्यका रूपमा पुनः आविष्कार गर्ने नेताको अवसान’ शीर्षकमा फिडेल क्यास्ट्रोको अबिच्युरी छाप्दै लेखेको छ, ‘विश्वका गरिबले निष्पक्ष आफ्नो हिस्सा पाउनु पर्नेमा अडान तेस्र्याउने नेता मात्रै थिएनन् क्यास्ट्रो, शक्तिशालीहरू माथि आफ्नो पेस्तोलको निशाना साँध्न पनि पछि नहट्ने हक्की नायक थिए ।’

२५ नोभेम्बर शुक्रबार गणतन्त्र क्युबाका जनताका लागि मात्रै होइन, विश्वभर नबिर्सिइने तिथि बनिदियो । त्यो किनभने, विश्व राजनीतिको केन्द्रमा लामो समय रहेका एउटा कौशलपूर्ण राजनीतिक खेलाडी, क्युबाली पूर्वराष्ट्रपति तथा एक जब्बर कम्युनिस्ट नेताको छवि बनाएका फिडेल अलेजान्द्रो क्यास्ट्रोको ९० वर्षको उमेरमा अवसान भएको थियो ।

उनै क्यास्ट्रोको मृत्युशोकमा ‘द गार्डियन’ले एउटा भिडियो सार्वजनिक गर्दै, ‘क्युबाको सामाजिक क्षेत्र विकासको आधार, स्वास्थ्य, शिक्षा, रोजगारीको माध्यमबाट क्युबाको समृद्धिको राजमार्ग फराकिलो पार्ने कार्यमा फिडेल क्यास्ट्रो एक अभियन्ता नै रहेको’ बताएको छ । उनी सम्भवतः सबैभन्दा चामत्कारिक र विवादित नेता हुन्, जसले विश्व कम्युनिस्ट राजनीतिलाई एउटा बेग्लै आकार मात्रै होइन, सन्देश पनि दिए ।

एउटा स्पेनेली जमिनदार किसानको सन्तानका रूपमा जन्मिएका क्यास्ट्रोले ‘सान्टियागो दे क्युबा’मा प्राथमिक शिक्षा हासिल गरेका थिए । सन् १९४५ देखि हवाना विश्वबिद्यालयमा कानुनको विद्यार्थी बनेका थिए । पाँच वर्षमा स्नातक सक्दै गर्दा उनी साम्राज्यवाद विरोधी वाम राजनीतिमा होमिइसकेका थिए ।
अमेरिकी सैन्य समर्थनका तत्कालीन राष्ट्रपति फुल्गेन्सियो बाटिस्टालाई सत्ताच्युत गर्ने ध्येयसहित उनले २६ जुलाई १९५३ मा मोन्काडा सैन्य ब्यारेक आक्रमण गरे ।

तर, उनको प्रयास असफल भयो । उनलाई १५ वर्षको जेल सजाय तोकिए पनि २२ महिना मात्रै कारागार बसे । जेलमुक्त भएपछि उनी मेक्सिको हानिए । चाइना डेलीका अनुसार त्यहाँ आफ्ना भाइ राहुल क्यास्ट्रो, डा. च्वे ग्वेभेरा, क्यामिलियो सेन्फ्युगोसका साथमा बाटिस्टाको तानाशाही सत्ता पलटका लागि ‘२६ जुलाइ मुभमेन्ट’ नामक क्रान्तिकारी समूह गठन गरे र क्युवा फर्किए । १ जनवरी १९५९ मा उनी बाटिस्टा सत्ता ढाल्न सफल भए र सैन्य तथा राजनीतिक शक्ति हत्याउन सफल भए ।

‘द न्युवर्क टाइम्स’का अनुसार सन् १९६१ देखि २०११ सम्म क्युबाली कम्युनिस्ट पार्टीको प्रमुख रहे । आधा शताब्दिको फिडेल क्यास्ट्रोको एकछत्र नेतृत्व कतिपयका लागि अत्यन्तै हक्की राजनेताका रूपमा देखियो भने केहीको दृष्टिमा एक ‘तानाशाही’ नेता मात्रै । तर, बहुसंख्यक क्युबाली नागरिकका आँखामा उनी भविष्य निर्माता भए । किनभने, क्युबाको सामाजिक, आर्थिक र राजनीतिक पुनर्संरचनामार्फत् मुलुकको विकासको जस उनैलाई जान्छ । र, उनको समाजवादी नीतिको विश्वले खुलेर प्रसंशा गरेको छ ।

क्यास्ट्रोका केही कमजोरीलाई पन्छाएर हेर्ने हो भने उनी साँच्चैै चामत्कारिक व्यत्तिाmत्व भएका नेता थिए, जसको राजनीतिक जीवन नेपालका नामधारी क्रान्तिकारी नेताहरूका लागि एउटा गतिलो पाठ हुनसक्छ।

‘द टेलिग्राफ’ले डोनाल्ड ट्रम्पले क्यास्ट्रोलाई एक ‘क्रुर तानाशाही’को रूपमा आलोचना गरेको सन्दर्भ उल्लेख गर्दै क्युबासँग ओबामा प्रशासनले गरेका व्यापार सम्झौता उल्टाउने धम्की दिएको प्रसंग पनि टिपोट गरेको छ । हुन त, विश्वको ‘महाशक्ति’ मानिएको अमेरिकाबाट सरदर ९० माइलको दूरीमा रहेको आफ्नो टापु मुलुकलाई आफ्नै अधिनमा राखे, क्यास्ट्रोले । आधा शताब्दिसम्म क्युबालाई नियन्त्रणमा राख्दा अमेरिकासँग कहिल्यै झुकेनन् । क्यास्ट्रो जहिल्यै अडिग र निर्भीक रहेर टक्कर दिइरहे अमेरिकालाई ।

सोभियत संघसँगको उनको घनिष्टताबाट तर्सिएर आइजेनहावर तथा केनेडी प्रशासनले क्युबामा आर्थिक नाकाबन्दी मात्रै लगाएनन्, पटक–पटक उनको हत्या गर्ने असफल योजना पनि बुनिरहे । क्यास्ट्रो हत्या योजनामध्ये एक ‘बे अफ पिग्स’ आक्रमण अत्यन्तै चर्चित मानिन्छ । तर, क्यास्ट्रोको कौशलपूर्ण राजनीतिक र रणनीतिक चातुर्यका सामु ह्वाइट हाउसमा त्यसबीचमा आएका १० जना राष्ट्रपतिको केही सीप चलेन । कूटनीतिक सम्बन्ध अन्त्य गरेको ह्वाइट हाउस नै अन्ततः बाराक ओबामा राष्ट्रपति भएका बेला क्युबासँग मैत्रीपूर्ण सम्बन्ध गाँस्न अगाडि स¥यो ।

क्यास्ट्रो सन् १९७९ देखि १९८३ सम्म असंलग्न आन्दोलनको अध्यक्षसमेत बनेका थिए । त्यतिबेला थुप्रै अफ्रिकी मुलुकको स्वतन्त्रता र रंगभेदी शासन निम्ट्याउन आफ्ना सेनासमेत पठाएका थिए । भारतीय राष्ट्रिय दैनिक ‘हिन्दुस्तान टाइम्स’मा जयन्थ ज्याकोबले सन् १९८३मा भारतमा सम्पन्न असंलग्न आन्दोलनको शिखर सम्मेलनमा आउँदा क्यास्ट्रोलाई तत्कालीन कूटनीतिज्ञ र पछि भारतका उपराष्ट्रपति हमिद अन्सारीले सन् अक्टोबर २०१३ मा हवानामा उनलाई भेट्न जाँदा ‘स्टार’ भनेको प्रसंग उद्धृत गरेका छन् ।

क्यास्ट्रोकै कारण १४ हजार किलोमिटरको दूरीमा रहेको भारत र क्युबाबीच घनिष्टता बढेको ज्याकोबको निक्र्योल छ । सन् १९८३को असंलग्न शिखर सम्मेलनमा सोभियत संघको कडा आलोचना भएको थियो । धेरैले सोचेका थिए, क्यास्ट्रोले खण्डन गर्नेछन् तर गरेनन् । उनै क्यास्ट्रोको रणनीतिक कौशलकै कारण शीतयुद्धलाई दक्षिणी धु्रवमा मात्रै थन्क्याइदिएको मानिन्छ । त्यसैगरी, राष्ट्रसंघीय सुरक्षा परिषद्मा भारतको सदस्यताका लागि पटक–पटक कुरा उठाउने पनि उनै क्यास्ट्रो भएको उल्लेख ‘द न्यु इन्डियन एक्प्रेस’ले गरेको छ ।

सन् १९५८ को उनको किताब ‘हिस्ट्री विल एब्जल्भ मी’ अर्थात् इतिहासले मलाई निर्दोष सावित गर्नेछ भन्ने किन पनि चर्चित मानिन्छ भने उनले आफ्ना राजनीतिक उतार–चढावलाई खरो ढंगले वर्णन मात्रै गरेका छैनन् कि उनले गरेका भनिएका युद्धसम्बन्धी राजनीतिक गल्तीको मूल्यांकनका लागि जनताको जिम्मा लगाएका छन् । उनीमाथि थुप्रै फिल्म बनेका छन्, किताब लेखिएका छन् । सरदर आधा शताब्दीको समयमा क्यास्ट्रोले क्युबालाई एउटा कम्युनिस्ट मुलुकमा रूपान्तरण गर्न सफल भएको तर्क ‘जकार्ता टाइम्स’ले गरेको छ ।

सन् १९५९–७६ सम्म प्रधानमन्त्री र १९७६ देखि २००८ सम्म राष्ट्रपति रहेका एक चर्चित राजनीतिज्ञ क्यास्ट्रोले अख्तियार गरेको विस्तारवाद विरोधी राजनीतिलाई धेरैले रुचाएका पनि थिए । ‘जापान टाइम्स’ले क्युबालाई एकदलीय राज्य बनाउन सफल भएको र शीतयुद्धका बेला केन्द्रीय पात्रका रूपमा क्यास्ट्रोको चर्चा गरेको छ । ‘चाइना डेली’ले ‘समाजवादी मूल्यको प्रवद्र्धन गर्दै अमेरिकी हस्तक्षेपविरुद्ध अडिग रहन सक्ने एक ऐतिहासिक प्रतीक’का रूपमा क्यास्ट्रोको साहसको उच्च मूल्यांकन गरेको छ ।

‘माइ लाइफ अ स्पोकन अटोबायोग्राफी’ क्यास्ट्रोसँग सय घन्टाभन्दा लामो अन्तर्वार्तामार्फत् लेखिएको किताब हो । उनले त्यसमा भनेका छन्, ‘क्युबाको आत्मसम्मान र यसको आफ्नो स्वतन्त्र हैसियत निर्माणमा मैंले गरेको त्याग, नियन्त्रित शासकीय माटोमा बगाएको आशाको पसिना र राजनीतिको वेदीमा चढाएको खुनको मुल्यांकन इतिहासले गर्ने छ ।’ त्यसो त, उनको अवसानमा ‘लस एन्जलस टाइम्स’लगायत अमेरिकी छापाले महत्वका साथ लेखेका हरफले पनि उनी आफ्नो राजनीतिक अडानमा सही थिए भन्ने प्रष्टिन्छ ।

‘द न्युयोर्क टाइम्स’ले लेखेको छ, क्यास्ट्रोको राजनीतिक छवि विश्वका औसत नेताको भन्दा धेरैमाथि थियो, जसले आफ्ना नागरिकलाई अथाह प्रेम गरे, क्युबाको समृद्धिमा उल्लेख्य त्याग गरे ।’ हुन त, उनका कतिपय समर्थक भन्छन्, ‘क्यास्ट्रोले आफ्नो गाँस काटेर अरूलाई खुवाएका छन् । अरूको उपचार गरेका छन् । अरूलाई शिक्षासमेत दिएका छन् ।’ सारमा, उनका कमजोरीलाई पन्छाएर हेर्ने हो भने क्यास्ट्रो साँच्चैै एक चामत्कारिक व्यक्तित्व भएका नेता थिए, जसबाट अन्य कतिपय मुलुकका नामधारी क्रान्तिकारी नेताका लागि उनको राजनीतिक जीवन, संघर्ष र टुंग्याएको क्रान्तिको सफल अध्याय एउटा गतिलो पाठ हुनसक्छ ।

(एजेन्सीहरूको सहयोगमा)



 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.