साहसिक महिलाका कथा

साहसिक महिलाका कथा

गोमा हुमागाईंका लागि अहिले कतार नौलो होइन तर उनका श्रीमान् तुलसीप्रसाद हुमागाईंका लागि कतार नौलो मुलुक हो । दुई छोरी र एक छोराकी आमा गोमा पाँच वर्ष कतारमा काम गरेर फर्केकी हुन् । चार वर्ष घरमा बस्दा दुई छोरीको विवाह गरेर ४३ वर्षीया गोमा अहिले फेरि दुई वर्षका लागि वैदेशिक रोजगारीमा कतार गएकी छन् ।

गोमाकी २१ वर्षकी कान्छी छोरी विनीता माघमा र ज्वाइँ वैशाखमा जापान पुगेका छन् । २५ वर्षकी जेठी छोरी बबिता जापानमा छिन् । बबिता उनका श्रीमान्लाई 'डिपेन्डेन्ट' भिसामा जापान लैजाँदैछिन् । 'छोरीहरू उनीहरूकै लागि, म मेरै लागि विदेशमा छौं', गोमाले भनिन् ।

हेटौंडा हर्नामाडीमा रहेको ढुंगामाटोको घरलाई भूकम्पले दुई फिट भसाइदिएको छ । छोरा विनायक र श्रीमान् तुलसीप्रसाद हुमागाईंलाई त्यही घरमा छोडेर गोमा कतार गएकी हुन् । गोमाका अनुसार श्रीमान् तुलसी गाउँमै बसेर आफूलाई खान पुग्ने गरी खेती गर्छन् । 'पहिले विदेशमा कमाएको पैसा छोराछोरीलाई पढाउँदैमा ठीक भयो । अब कमाएको पैसाले घर बनाउने योजना छ', गोमाले भनिन् । बबिता र विनीताले स्नातकसम्म पढेका छन् । १५ वर्षका छोरा विनायक १० कक्षामा पढ्दैछन् ।

श्रीमान् तुलसीप्रसादलाई घरमा राखेर आफैं पटकपटक बिदेसिनुको रहस्य गोमाले अप्ठ्यारो मानेर खोलिन् । ' श्रीमान् पहिले पेन्टिङको काम गर्नुहुन्थ्यो । लडेर करङ भाँचिएको छ । डेढ लाखजति खर्च गरेर उपचार गरियो । फेरि लड्नुभयो । हात चलाइराख्न भएन, त्यही भएर उहाँलाई घरमा राखेर म विदेश जानु परेको हो', उनले भनिन् । दुई वर्षपछि पनि कमाइ राम्रो भएमा अरू केही वर्ष कतारमै बसेर काम गर्ने योजना पनि गोमाले सुनाइन् ।

'तत्काल घर बनाउनुपर्नेछ । कुनै पनि बेला घर ढल्नसक्ने अवस्थामा छ', उनले भनिन्, 'मैले पैसा पठाउन सके यहाँ घर बन्ने हो । सरकारले हामीलाई हेर्दैन ।' गोमाको योजना पक्की घर बनाउने छैन । तल ढुंगामाटोको जोडाइको गाह्रो र माथि काठको घर बनाउने गोमाको योजना छ । 'एक वर्षपछि घर बनाउन थाल्ने योजना छ', उनले भनिन् ।

गोमाले पहिले कतारमा तीन वर्ष स्कुल र दुई वर्ष महिला क्लबमा सरसफाइको काम गरेकी थिइन् । पहिलो दुई वर्ष उनले मासिक पाँच सय ५० कतारी रियालमा काम गरिन् । दुई वर्षपछाडि उनको तलब आठ सय ५० कतारी रियाल पुगेको थियो । 'पहिले खानबस्ने खर्च आफैंले बेहोर्नुपथ्र्यो, अहिले कम्पनीले बेहोर्छ', गोमाले भनिन् । उनका अनुसार पहिले प्रतिमहिना एक सय ५० रियालले खानबस्न पुर्‌याउने गरिएको थियो । एउटा कोठामा ६ जना महिला मिलेर बस्ने गरेको अनुभव उनले सुनाइन् । अहिले उनलाई प्रतिमहिना नौ सय कतारी रियाल दिने भनिएको छ ।

मोरङकी नीरकुमारी राई आफ्ना बालबच्चाको उज्ज्वल भविष्यका लागि कुवेतमा घरेलु कामदारका रूपमा दुई वर्षदेखि कार्यरत छिन् । मोरङमा रहेको उनको दुई कट्ठा जमिन बस्ने बास र तरकारी रोप्नका लागि मात्रै पुग्छ । दुई छोरी, एक छोरा र सासूको जीविकोपार्जनका लागि मोरङमा राखेको फेन्सी पसलले नधानेपछि उनी वैदेशिक रोजगारीमा कुवेत पुगेकी हुन् । खाने अन्न, लगाउने लुगा, बच्चाका लागि पढ्ने शुल्कको व्यवस्था गर्नुपर्ने जिम्मेवारी उनकै काँधमा छ ।

सात वर्षअगाडि पैसा कमाउन साउदी गएका श्रीमान् लंकबहादुर राई श्रीमती, बूढी आमा र छोराछोरी सम्झिएर न घर फर्किएका छन्, न त पैसा नै पठाएका छन् । नीरकुमारीका १८ वर्षकी जेठी छोरी क्याम्पस पढ्छिन् भने एक छोरी र एक छोरा बोर्डिङ स्कुलमा पढ्छन् । ' श्रीमान् सात वर्षअघि साउदी जानुभएको हो । न उहाँ फर्केर आउनुभयो न त पैसा कमाएर पठाउनुभयो । छोराछोरी पढाउने खर्च र सासू र बच्चाहरूलाई खानका लागि मोरङको फेन्सी पसलले धानेन ।

त्यही भएर घरेलु कामदारका रूपमा कुवेतमा काम गरिरहेको छु', नीरकुमारीले भनिन्, 'बच्चाहरू पढाएकी छु तर अहिलेसम्म पैसा बचाउन सकेकी छैन ।' बच्चाहरूलाई मोरङमा सासूआमाको जिम्मा लगाएर उनी दुई वर्षपहिले कुवेत गएकी हुन् ।

नीरकुमारीले कुवेतमा खाना पकाउने, घर सफा गर्ने, कपडा धुने, बच्चाको हेरविचार गर्ने काम गर्नुपर्छ । 'मालिक पढ्दै हुनुहुन्छ, मालिक्नी शिक्षिका हुनुहुन्छ, मैले उहाँहरूका दुईवटा बच्चाको हेरविचार गर्नुपर्छ', नीरकुमारी भन्छिन्, 'मलाई मासिक नियमित तलब दिनुहुन्छ । त्यो पैसा म घरमा मेरा छोराछोरी र सासूका लागि पठाउँछु । मलाई खान र बस्न पैसा लाग्दैन ।'

दुई वर्षपछि नेपालमा आउँदा र जाँदा आफूलाई हवाईजहाजको टिकट खर्च मालिकले नै दिएको उनी बताउँछिन् । पहिलो दुई वर्षमा मासिक ६० कुवेती दिनार पाएकी नीरकुमारीको तलबमा २० कुवेती दिनार वृद्धि भएको छ । तलब वृद्धि, रोजगारदाताको असल व्यवहार, आफ्ना छोराछोरीको पढाइमा भएको प्रगतिले नीरकुमारीलाई पुनः वैदेशिक रोजगारीमा जान प्रेरित गरेको छ । 'अब पैसा कमाउँछुजस्तो लागेको छ', आम्दानीमा भएको वृद्धिले उत्साहित देखिएकी नीरकुमारीले भनिन् ।' उनले कुवेतमा नेपाली दिदीबहिनीले यातना पाएको, पैसा नपाएको, यौन हिंसामा परेका कथा सुनेकी छन् तर आफूले त्यस्तो केही पनि बेहोर्नु नपरेकोमा उनी खुसी देखिन्छिन् । वैदेशिक रोजगार विभागमा श्रम सम्झौता गरेर विदेश गएकी नीरकुमारी 'आफू भलो त जगतै भलो' भन्ने मानसिकतामा प्रस्ट छिन् ।

वैदेशिक रोजगारीमा गएको सात वर्षको अवधिमा अञ्जु गुरुङले काठमाडौंको आलापोटमा पाँच आना घडेरीमात्रै खरिद गरेकी छैनन्, असल श्रीमान् पनि प्राप्त गरेकी छन् । गोरखाको मूलचोककी अञ्जु गुरुङ कतारको होलिडे भिल्ला होटल एन्ड रेस्टुरेन्टको वेटरहरूका क्याप्टेन हुन् । रूपन्देहीको बुटवलका खुमानसिंह मगर सोही होटलका सुपरभाइजर हुन् । अञ्जु र खुमनले त्यही होटलमा काम गर्ने सिलसिलामा प्रेम गरे अनि नेपालमा आई दुवैका परिवारका सदस्यहरूको सहमतिमा दुई वर्षअघि विवाह गरे ।

'हामीले एकले अर्कोलाई प्रेम गर्‌यौं, नेपालमा आएर दुवैले आआफ्नो परिवारमा कुरा राख्यौं अनि बिहे गर्‌यौं', अञ्जुले भनिन् । गुरुङकी छोरी र मगरको छोराबीचको अन्तरजातीय विवाहपछिको प्रेमले उनीहरूको आम्दानीमात्रै वृद्धि भएको छैन, उनीहरूको आत्मविश्वास पनि बढेको छ । 'आलापोटमा किनिएको ६ आना घडेरीमा घर बनाउने पैसा कमाउनु छ, सधैं विदेशमा बसेर हुँदैन, केही वर्षभित्रै नेपालमै व्यवसाय गर्ने पक्षमा छौं', अञ्जुले भावी योजना सुनाइन् ।

सन् २००९ को मार्चमा उनी पहिलोपटक म्यानपावर कम्पनीका प्रकाश गुरुङको सहयोगमा कतार गएकी हुन् । त्यति बेलासम्म वैदेशिक रोजगारीका लागि खाडी मुलुकमा ३० वर्षभन्दा कम उमेरमा जान सरकारले लगाएको बन्देज खुला गरेको थिएन । सन् १९९९ मा वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले ३० वर्षभन्दा कम उमेरका महिलालाई खाडी मुलुकमा जान रोकेको थियो । वैदेशिक रोजगारीमा जानेहरूको अधिकारलाई सुरक्षित गर्दै सन् २०१० मा त्यो बन्देज हटाइएको थियो ।

दुई महिना कतारमै तालिम लिएपछि उनले वेटरकै रूपमा काम थालेकी हुन् । सन् २००९ को जुनदेखि सञ्चालनमा आएको सो होटलको संस्थापक कामदारको परिचय बनाएकी अञ्जु आफ्नो कामप्रति सन्तुष्ट छिन् । उनले नियमित आठ घन्टा काम गरेबापत मासिक एक हजार पाँच सय कतारी रियाल पाउँछिन् । त्योभन्दा अतिरिक्त समयमा काम गर्दा हरेक महिना थप पाँच सय कतारी रियाल कमाउने गरेको अञ्जु बताउँछिन् । अञ्जु दम्पतीका लागि बस्ने र खाने व्यवस्था होटलले नै मिलाइदिएको छ ।

प्रत्येक दुई वर्षमा एकपटक नेपाल आउन र जान हवाईजहाजको टिकटको व्यवस्था होटलले मिलाइदिन्छ । मासिक तलबको दुई गुणा हुने गरी होटलले वार्षिक बोनस दिने गरेको छ । गोरखामा प्लस टुसम्म अध्ययन गरेकी अञ्जु अहिले अंग्रेजी, हिन्दी र उर्दु भाषामा कुराकानी गर्नसक्ने भएकी छन् । गुरुङ परिवारमा हुर्किएर नेपाली भाषा जानेकी र स्कुल पढ्दा अलिअलि अंग्रेजी सिकेकी अञ्जुलाई हिन्दी र उर्दु भाषा सिक्ने अवसर वैदेशिक रोजगारीले दिएको छ । सात वर्षको अवधिमा उनमा आफैं केही गर्नसक्ने गतिलो आत्मविश्वास भरिएको छ ।

मलेसिया, म्यानमार, श्रीलंका, बंगलादेश, फिलिपिन्स, इन्डानेसिया र केन्याका मजदुर सो होटलमा काम गर्छन् । अञ्जु ती मुलुकका संस्कृति, संस्कार, व्यवहार र शैलीका बारेमा धेरथोर जानकारी राख्ने भएकी छन् । 'मलाई कतारमा काम गर्न कुनै कठिनाइ छैन, साथीहरूसँग मिलेर काम गरिन्छ । श्रीमान्सँग बसिन्छ', अञ्जु भन्छिन् ।

विवाह गर्नुपहिले पनि अञ्जुका लागि परिवारमा आर्थिक बोझ थिएन । उनका पिता कृषि प्राविधिक हुन् । उनका भाइ इन्जिनियरिङ पढ्दैछन् । नेपालमा रोजगारीका अवसर नपाएका कारण आफू वैदेशिक रोजगारीमा गएको उनी बताउँछिन् । सीप सिकेरमात्रै वैदेशिक रोजगारीमा जान उनी अरुलाई सल्लाह दिन्छिन् । 'सीप सिक्नुस्, पहिले वैदेशिक रोजगारीमा गएर फर्किएकाहरूसँग परामर्श लिनुस्, अभिमुखीकरण तालिम लिनुस्, अनिमात्रै वैदेशिक रोजगारीमा जानुस्, दलालको भ्रममा नपर्नुस्, बरु गुगलबाट जानकारी लिनुस्', वैदेशिक रोजगारीमा जान इच्छुकहरूलाई अञ्जुको सुझाव छ ।

अञ्जु र गोमासहित कतारमा करिब १४ लाख विदेशी श्रमिक कार्यरत छन् । जबर्जस्ती श्रम, मानव बेचबिखन, पहिला बताएको भन्दा फरक प्रकृतिको काम, तलब, कार्यघन्टा र कार्यस्थल, रोजगारदाताबाट तलब भुक्तानीमा ढिलाइको समस्या अञ्जुले बेहोर्नु परेको छैन । कतारको निर्माण क्षेत्रमा काम गर्ने अन्य श्रमिकहरूले झैं अञ्जुले ४५ डिग्री सेल्सियसको तापक्रममा पनि काम गर्नु पर्दैन ।

कतार पक्षराष्ट्र रहेको आईएलओ महासन्धि नम्बर २९ को परिभाषाअनुसार जबरजस्ती अवस्थामा र सजाय दिने भनी स्पष्ट धम्की दिइएका कारण बाध्य भई काम गर्नु परिरहेको छ भने त्यसलाई जबरजस्ती श्रमको अवस्था भनिन्छ । मानव बेचबिखन खासगरी महिला र बालबालिकाको बेचबिखन रोक्न, अन्त्य गर्न र आवश्यक सजाय गर्न बनेको संयुक्त राष्ट्रसंघीय प्रोटोकललाई कतारले अनुमोदन गरेको छ । त्यसले पनि कामको प्रकार र सुविधाका विषयमा धोका दिइन्छ भने त्यो मानव बेचबिखन र जबरजस्ती श्रमको प्रमुख कारक भनी परिभाषित गरेको छ ।

आप्रवासी श्रमिकहरूलाई रोजगारदाताको बन्धनबाट मुक्त गर्न विदेशी नागरिकहरूले घर जान चाहेमा जानसक्ने अनुमति दिनेलगायतका व्यवस्था समावेश गरेर स्पन्सरसिप कानुन परिमार्जन गर्न, श्रम कानुनले घरेलु श्रमिकहरूलाई समेत संरक्षण गर्नसक्ने लगायतका व्यवस्था गरेर ती श्रमिकहरूको अधिकार कतारी कानुनमा समावेश गर्न, श्रमिकहरूविरुद्ध ज्यादती र शोषण गर्नबाट रोजगारदातालाई रोक्न र त्यसो गर्ने रोजगारदातालाई जवाफदेही बनाउन कतारको श्रम कानुनमा विद्यमान संरक्षणका व्यवस्थाहरूलाई प्रभावकारी ढंगबाट कार्यान्वयन गराउन एम्नेस्टी इन्टरनेसनलले कतार सरकारलाई सुझाव दिएको छ ।

मकवानपुर, मोरङ, सिन्धुपाल्चोक, झापा, काभ्रेपलाञ्चोक, काठमाडौं, नुवाकोट, सुनसरी, इलाम, दोलखाबाट वैदेशिक रोजगारीमा गएका महिलाको ५० प्रतिशतभन्दा बढी हिस्सा ओगट्छ भने बाँकी जिल्लाले ४९ प्रतिशत । वैदेशिक रोजगारीले बच्चाहरूको शिक्षा, स्वास्थ्य र जीविकोपार्जनमा सकारात्मक प्रभाव पार्न सफल भएका महिलाहरू खुसी देखिन्छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.