छाउघर दु:ख

छाउघर दु:ख

'चिसो हावा चल्यो । उल्लु करायो, त्यतै चिलाउनेको रूखतिर । करायो एकछिनपछि चमेरो पनि । फत्ल्याक्क छानामा केही खस्यो । सरसर चलेजस्तो पनि लाग्यो । के होला त ? फेरि मनमनै डराएँ । एक्कासि मनले भन्यो, लौ भूत आयो ।
भूत । भूत । भूत ।

मनको हरेक शंकाले भन्यो । बोक्सी आई, भेष बदलेर । मलाई लिनै आई । अहो म त झन्झन् कायर भएँ ।'
नचाहँदा नचाहँदै आफ्नो गाउँसमाजमा चलिआएको चलन छाउपडी प्रथा बार्न बाध्य बालिकाको मनको डर हो यो । सधैं हजुरबुवा हजुरआमाको काखमा हर्किएकी एउटी बालिका उमेर पुगेर पहिलोपटक महिनावारी भएपछि घरदेखि टाढाको जंगलछेउकै छाउगोडमा बास हुँदा उनीभित्र चलेको मनोवैज्ञानिक आँधीबेहरीलाई उपन्यासकार राज सरगमले आफ्नो कृति 'छाउघर'मा समेटेका छन् ।

सुदूरपश्चिमको प्रायः जिल्लामा छाउपडी प्रथा व्याप्त छ । आज पनि छाउपडीका नाममा छाउगोठमा राखिने महिला विभिन्न हिंसाका सिकार हुन पुगेका छन् । मंसिर महिनाको पहिलो सातामात्रै पनि छाउगोठमा राखिएकी एक महिलाको मृत्युको समाचार सञ्चारमाध्यममा छाएको थियो । विभिन्न गैरसरकारी संघसंस्थाले जनचेतनामुलक अभियान चलाए पनि त्यहाँका महिलाले यो प्रथाबाट अझै छुट्कारा पाउन सकेका छैनन् ।

एक गैरसरकारी संस्थामा काम गर्ने सिलसिलामा राज सरगमले पनि सुदूरपश्चिमका धेरै जिल्ला घुम्ने मौका पाए । त्यसमा पनि आफू स्वयं सुदूरपश्चिमकै भएकाले पनि त्यहाँका रीतिरिवाज र संस्कारहरू उनका लागि नौला थिएनन् । छाउपडीका नाममा महिलाले पाएको यातना उनले आफ्नै घरपरिवार र समाजमा देख्दै हुर्केका हुन् । त्यसैगरी कामको सिलसिलामा अछाम, बजाङ, बाजुरा, डोटीलगायतका जिल्लामा जाँदा पनि त्यहाँका महिलाको दर्दनाक अवस्था देखे सुनेर उनीभित्रको सिर्जनशीलतालाई एउटा राम्रो विषयवस्तु मिल्यो ।

यसैको फलस्वरूप राजको पहिलो उपन्यास 'छाउघर' पाठकसामु आइपुगेको छ । २०७० सालमै पूरा गरिसकेको आफ्नो उपन्यासलाई राजले दुई वर्ष लगाएर पुनर्लेखन गरेपछि फाइन प्रिन्ट्सले पाठकसामु यो कृति पस्केको बताए उनले ।

पहिलोपटक महिनावारी वा सुत्केरी हुँदा ठाउँअनुसार बार्ने दिन पनि फरक छन् । तर, सुदूरपश्चिमका प्रायः ठाउँमा २२ दिनसम्म छाउगोठमा बस्ने चलन छ । उपन्यासकार राजले उपन्यासकी मुख्य पात्र कलालाई पहिलोपटक महिनावारी भएर छाउगोठमा राखेपछि उनले भेटेका मानिस, भोगेका कुरा, देखेको समाज उनैमार्फत वाचन गराएका छन् । स्कुलबाट घर फर्कंदै गर्दा ६ कक्षामा पढ्ने कला जाँघ भिजेजस्तो महसुस गर्छिन् । जामा माथि सारेर हेर्नेबित्तिकै आत्तिन्छिन् र घरतिर दौडिन्छिन् ।

आफूलाई के भएको हो भन्ने थाहा पाउनुअघि नै उनकी आमाले उनलाई बारीको पुछारको सुनसान छाप्रोमा पुर्‌याउँछिन् । डरसँग सामना गर्दै कलाले आफूलाई त्यही छाप्रोमा लुकाएर राख्छिन् । त्यहाँ उनले बाजेको देउता, भागिरथी दिदीको प्रेम, महादेवको सर्प, फुपूको लसपस, रूपा भाउजूको सुत्केरी व्यथा सबै थाहा पाउँछिन् ।

छाउका पौराणिक र वैज्ञानिक आधार र एकान्तमा बस्नुको कारण पनि उनी खोतल्दै जान्छिन् । बाह्र वर्षकी बालिकामा उमेरले ल्याएको परिवर्तन र आइपर्ने दुःखको सामना गर्दै गोठमा काटेको बाइस रात र उनले परिवार र परम्परासँग गरेको विद्रोहको कथा हो छाउघर ।

'यो बाइस दिनको खुट्किलोमा उभियो मन । तर, बिहानैदेखि म निराश थिएँ । उदास थिएँ । चञ्चल पानीसँग खेल्दा पनि चुलबुले हुन सकिनँ । अर्को, फेरिएँ त म । कस्तो बूढो मन भइदियो । जतिखेर पनि कुराहरूमात्रै खेलाइरहने । अनावश्यक सोचेर छटपटिरहने ।'

छाउगोठमा २२ दिन बिताएर घर जाने दिनमा त्यही छाउगोठको माया लाग्ने र घर जाँदा बिरानो देश जान लागेको अनूभूति हुन्छ कलालाई । निराशासँगै आशा जगाउने पात्रहरूलाई पनि उपन्यासमा अटाइएको छ । कलाकै छाउगोडको नजिकै अर्को छाउगोठमा बसेकी उनकी भाउजू पर्ने रूपाले घर गएपछि विद्यालय जान नछाड्नु र समयसँगै उज्यालो पनि छ भनेर उनलाई अर्ति दिन्छिन् । उपन्यास लेख्ने क्रममा उनले धेरै अनुसन्धान गरेका थिए ।

पूर्व पाँचथरदेखि पश्चिम महाकालीसम्मका मानिसलाई भेटेर उनीहरूसँग सोधपुछ गरी ठाउँअनुसारको महिनावारी बार्ने चलन बुझेका थिए । काठमाडौंमा बस्ने रैथानेले समेत महिनावारी कसरी बार्छन् भन्ने उनले त्यति बेला नै बुझे । थारू, तामाङ, गुरुङ, मगरले महिनावारी नबारे पनि नेवार जातिमा पनि बार्ने आआफ्नै तरिका रहेको उनले थाहा पाए । महिनावारी बार्नुपर्ने कारण के हो, यो पहिलोपटक हुँदा किन दाजुभाइको अनुहार हेर्नु हुँदैन भन्ने बहस पनि छाउघरमा चलाइएको छ ।

उनले यसको कारण खोतल्दै आध्यात्मिक गुरु आचार्य केशवशरणलाई सोध्दा उनले 'जसरी एउटा मकैको बोट हुर्कंदै जाने क्रममा त्यसले जमरा, घोगा र जुँगा हालेपछि भाँचेर देवतालाई चढाइन्छ त्यसरी नै हामीले पनि कुल, संस्कार र देवतालाई चोखो राख्न दिदीबहिनीलाई गोठमा राख्ने गरिन्छ' भन्ने जवाफ दिएका थिए ।

अछाम, बझाङ, डोटीबाट कैलाली कञ्चनपुर झरेका मानिसले पनि गोठ बनाएका छन् । अछामीहरूको दलित समुदायमा यो प्रथा अझै बढी मानिने राजले पाए । ५६/५७ सालतिरको द्वन्द्वकालको तीन पुस्ताको कथालाई यस कृतिमा समेटिएको छ । नातिनी पुस्तासम्म आइपुग्दा तराई झर्ने क्रममा केही सुधार भने आएको राजले पाएका छन् । छाउगोठलाई जंगलको छेउमा नलगी उनीहरूले घरनजिकै सार्न थालेका छन् । पहिलोपटक महिनावारी वा सुत्केरी हुँदा उदाउँदो सूर्य र मर्दलाई हेरे पाप लाग्छ भन्ने मान्यता एउटा भ्रममात्रै हो । उनले आध्यात्मिक गुरु र डाक्टरहरूलाई सोधेर यो पुष्टि गरिसके ।

आफैंले घरघरमा थापना गरेको कुलदेवतासँग डराउँछन् मानिस । ती कस्ता देवता हुन् भन्ने प्रश्न राजले उठाएका छन् । नेवार जातकी एक महिलामार्फत उनले उपन्यासमा विज्ञान र धर्मका कुरालाई पनि उठाएका छन् । आफूलाई पण्डित टोपलिने मानिस कति हदसम्म गिर्न सक्छन् भन्ने कुरा उनले शिव मन्दिरका पुजारीमार्फत प्रस्तुत गरेका छन् । फेसबुकको विकृतिलाई लिएर 'चिम्नी' लेखिसकेका राज रुकुम, रोल्पा, म्याग्दी र बागलुङका बासिन्दाले भेडा चराउन लैजाने बुकीको कथा लेख्ने तयारीमा छन् ।

विद्यार्थी जीवनमै 'अभ्यन्तर स्पर्श' गजलसंग्रह निकालेर साहित्यमा लागेका राजले चलचित्र 'सुनपानी'बाट लेखन सहयोगीका रूपमा सिनेमामा कथा लेख्न थालेका हुन् । उनले 'चाल', 'मेरो मान्छे'लगायतका चलचित्रको कथाका साथै केही चलचित्रमा गीतसमेत लेखिसकेका छन् । नेपाली समाजमा लुकेका कुरा र कुसंस्कार हटाउने खालको जनचेतनामूलक किताबहरू लेख्न सके अबका दिनमा किताब बिक्न गाह्रो नपर्ने उनको बुझाइ छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.