जसले संस्कृति बोकिहिँडे

जसले संस्कृति बोकिहिँडे

संस्कृतिका वाहक
शारीरिक रूपमा स्वस्थ, जाँगरिला, ठिक्कको जीउडाल, सदा मेहनती, सबैसँग मिलनसार, सधैँ हँसिला अनि धैर्यका धनी नेवारहरू मन्दिरका टुँडालमा भेटिन्छन्, डाफा भजनमा भेटिन्छन्, हटियामा भेटिन्छन्, बेलविवाहमा भेटिन्छन्, धिमे बाजा, घाः बाजा, खिं बाजाको नादमा भेटिन्छन् । भैरव, भद्रकाली, देवी र लाखे नाचमा भेटिन्छन् । जात्रा पर्वमा भेटिन्छन् । सांस्कृतिक चाडपर्वमा भेटिन्छन् । यसरी आफ्नो मौलिक संस्कृतिलाई ज्यूँका त्यूँ राखी आफ्नो पहिचानलाई कायम राख्दै आएका नेवारहरूको उद्गमस्थल काठमाडौं खाल्डो हो ।

काठमाडौं खाल्डोलाई 'मेल्टिङ पट' भन्ने पनि गरिन्छ । यहाँ जोजो आए उनीहरू यहीँको संस्कार र संस्कृतिसँग रमाए र यसैलाई अँगाले । कुशीनगर पावाबाट आएका क्षत्रीयहरू मल्ल भए । मिथिलाबाट आएका ब्राह्मणहरू राजोपाध्यायबाट सम्मानित भए । ओझा, मिश्रहरू पनि नेवारहरूमा घुलमिल भए । मंगोलदेखि नायरसम्मकाहरू जो यहाँ आए उनीहरू नेवार भई रही बसे । यी सबै आगन्तुकका रीतिरिवाज, संस्कार संस्कृति, रहनसहन, खानपानको इन्द्रधनुषीय मिलनले 'नेवार संस्कृति' को उदय भयो । त्यसैले त भन्ने गरिन्छ— नेवार जाति होइन, 'संस्कृति' हो ।

नेवारहरू काठमाडौं खाल्डोमा मात्र सीमित रहेनन् । तर यी यायावर पनि होइनन् । समय, काल परिस्थितिले नेवारहरू देशभित्र र देशबाहिर फिँजिए । 'भाषा वंशावली'मा उल्लेख भएअनुसार नेपाल संवत् ६२२ तिर रत्न मल्ल र पाल्पाका सेन राजाको राम्रो सम्बन्ध भएकाले त्यसताकादेखि नै नेवारहरू व्यापार र निर्माण कार्यको सिलसिलामा पाल्पातिर फैलिएको पाइन्छ । त्यतैबाट सुदूर गुल्मी, प्यूठान, जाजरकोट, अर्घाखाँची, डोटी आदि स्थानमा नेवारहरू आफ्नो संस्कृतिसँगै पुगेको देखिन्छ ।

भाषा वंशावलीमा नै नेपाल संवत् ७८३ मा प्रताप मल्लको पालामा शत्रुद्वारा भक्तपुरलाई चारैतिरबाट घेरी नाकाबन्दी गरिदिए । भक्तपुरवासी खाना खान नपाई बहुतै दुःख पाई धेरै मानिस मरे । सहरबासी खान नपाई सिँगार गर्न समर्थ नभई स्त्रीहरू कोही गर्भाधान भएनन् । मर्ने सिवाय जन्मने कोही भएनन् । कोही मानिस राति सहर छोडी जीउको माया मारी परदेश भागी गएको भन्ने उल्लेख रहेको छ । साथै नेपाल संवत् ८३९ चैत महिनामा नेपाल खाल्डोमा महामारी फैलिन गई दिनमा सय/दुई सय मर्दाको भयले प्रजा त्राहीत्राही भई सहर छोडी भागी गएको उल्लेख छ ।

यसरी रोगव्याधि, बाहिरी आक्रमण, अनिकालजस्ता विषम परिस्थितिले नेवारहरू काठमाडौं खाल्डोबाट बाहिरिएको देखिन्छ । त्यस्तै रामशाहको पालामा काठमाडौंजस्तै गोर्खालाई पनि गुल्जार गर्ने उद्देश्य राखी तत्कालीन नेवार राजासँग मागी केही नेवार परिवारलाई गोर्खा लगी नेवार जातिमा भएको मौलिक कलाकौशल र व्यापारिक सीपलाई गोर्खामा भित्त्याएको पाइन्छ । चौबीसे राज्य कास्कीमा पनि १७५२ तिर काठमाडौंको बान्कीको इँटको घर बनाउन र व्यापार व्यवसायका लागि नेवारलाई कास्कीमा ल्याइएको इतिहासको पानामा पाइन्छ ।

नेपाल-अंग्रेज युद्ध र युद्धको सुलहपछि भएको सुगौली सन्धिले खुम्चिएर पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म मात्र पिरुंगिएको नेपाल, नागबेली पर्दै पहाडलाई छिचोल्दै हानिएको मूलबाटो 'हुलाकी बाटो' र सो बाटोसँगै दक्षिणतिरबाट उत्तरतिर पनि बनेका कच्ची बाटाहरूका नाका नाकाहरूमा पाटी, पौवा, ठाँटी बनेका थिए । त्यसमा खामिएका काष्ठकलाका बेजोड नमुनाहरूका शिल्पकारहरू, ती कालीगढहरू साथै जागिरको सिलसिलामा काठमाडौं खाल्डोबाट नेवारहरू अन्यत्र स्थानमा बसोबास हुन थालेको थियो । त्यसताकादेखि नेवारहरू पहाडी भेगमा फिँजिएका हुन् । साथै उन्नाइसौं शताब्दीको आधाआधितिर बुटवलजस्ता इन्ट्रोपट ट्रेड केन्द्र र तानसेन, पोखरा, बाह्रबिसेजस्ता 'प्राचीन नुनमार्ग'का पहाडी सेतु सहरहरूमा व्यापारीको रूपमा नेवारहरू काठमाडौं खाल्डोबाट पुगेको देखिन्छ ।

नेवारहरू विभिन्न कारणले विभिन्न स्थानमा पुगे । जहाँजहाँ पुगे आफूसँगै आफ्ना रीतिरिवाज, कलाकौशल, संस्कृति, रहनसहन, खानपान जस्ता मौलिक संस्कृति पनि लिएर गए जुन अहिलेसम्म पनि ज्यूँका त्यूँ छ । धातुकलामा पारंगत यी नेवारहरूले टकमरी कामका साथै तामा, पित्तल, काँस, ढलौट आदिका सीपलाई जताततै फैलाए । धातुको कार्य गर्ने थँ:कमि मात्र नभएर ल्हवःकमि (वास्तुका ढुंगाको काम गर्ने), दँ:कमि (डकर्मी, माटोको काम गर्ने), सिँ:कमि (काठको काम गर्ने), लुँ:कमि (सुवर्णकार सुनको काम गर्ने), बज्रःकमि (मास चुना मिलाएर सुर्की बनाई लेपको काम गर्ने कारिगर) आदि सीपका धनी यी नेवारहरूले जहाँ पुगे त्यहाँ आफ्नो स्थापत्यकलालाई चिनाए ।

त्यसैले नेपालका विभिन्न जातजातिमध्ये नेवार जाति आफ्नै मौलिकता बोकेको, रीतिरिवाजमा जिएको र नितान्त मौलिक संस्कृतिमा रमेको जाति हो । यो जाति अन्य जातिभन्दा 'डिफ्रेन्ट'मात्र होइन 'इनडिफ्रेन्ट' पनि छ । नेवार संस्कृतिमा समेटिने जात्रा, चाडपर्वहरूले आफ्नै मौलिक संस्कृति बोकेको छ । अरू जातजातिमा नपाइने नेवार समुदायले मात्र मनाउने मौलिक चाडपर्व र रीतिरिवाजहरू पनि छन् । ईही (बेलसँग विवाह), बाह्रा तयगु (गुफा राख्ने), म्हः पूजा (स्वःपूजा) जस्ता मौलिक चाडपर्व र रीतिरिवाज धेरै छन् । तीमध्ये 'यःमरी पुन्ही' पनि नेवारहरूको एउटा मौलिक चाडपर्व हो ।

मन परेको रोटी

नेपाल भाषामा 'यःमरी पुन्ही' को शाब्दिक अर्थ 'यः' भन्नाले 'मन परेको' र 'मरी' भन्नाले 'रोटी' भन्ने बुझाउँछ । अनि मार्ग शुक्ल पूर्णिमाको दिन यस प्रकारको रोटी बनाई विभिन्न देवीदेवताका मठमन्दिरमा चढाई, साथै सबै इष्टमित्रलाई बाँडेर मनाउने चाड भएकाले यस दिनलाई 'यःमरी पुन्ही' भनिएको हो ।

कृषिकर्मसँग जोडिएको यो पर्व नेपाल संवत्को नयाँ वर्षको पहिलो पर्व हो । कृषकहरूले अन्नबाली स्याहारेपछि कृषिकर्ममा सघाउने देवीदेवताहरूमाथि आस्था राखी अर्पण गर्ने 'धान्ने पूर्णिमा'को रूपमा पनि यस पर्वलाई लिइन्छ । पहाडतिर यसै दिन मानव जीवन र कृषिकर्मसँग जोडिएका वस्तुभाउको गोठमा पूजा गर्ने भएकाले यस दिनलाई 'गैडँपूजा' भन्ने पनि गरिन्छ । नेवारहरूले चन्द्रतिथिका दिनहरूलाई पवित्र मानेर त्यस तिथिका दिनहरूमा चाडपर्व मान्ने प्रचलन रहेको छ । यहीअनुरूप चन्द्रमा मृगशिरा नक्षत्रमा पर्ने दिन मार्ग शुक्ल पूर्णिमाका दिन 'यःमरी पुन्ही' बडो उल्लास र महत्त्वका साथ विशेष चाडपर्वको रूपमा मनाउने गरिन्छ ।

'यःमरी' अर्थात् मन परेको रोटी एउटा अंजिर/मुटुको आकारको र अर्को त्रिकोणाकार गरी दुई किसिमबाट बनाउने गरिन्छ । यःमरी पुन्हीका दिन नयाँ बालीको कटनी फटनी गरी भित्रिएको नयाँ चामलको 'पोचु' (पीठो) मा अलिकति घ्यू मोलेर तातो पानीमा मुछेर 'यःमरी' को आकार तयार गरिन्छ । पहिलो किसिमको 'यःमरी' को आकार 'अंजिर', 'मानव मुटु' समान हुन्छ । यस रोटीको आकार मुटुको जस्तो हुने भएकाले यसको पर्याय वा प्रतीक 'स्नेह पल्लवित बिन्दु'को रूपमा रहेको छ । अनि मनसँग सादृश्यता रहने भएकाले 'मन परेको रोटी'को प्रतीक पनि हो ।

 

अंजिर र मुटुको आकारको 'यःमरी' भित्र चाकु र तिल मिसाई बनाइएको लेदो राखिएको हुन्छ । यसलाई 'बायो' भनिन्छ । त्रिकोणाकार 'यःमरी' जसको भित्र 'मास', 'केराउ' र 'मुगी' पिनेको लेदो, कुराउनी, खुवा राखेर बनाइन्छ भने कसैकसैले यसभित्र फल मासुको मसला राखेर बनाउने गर्छन् । त्यस किसिमको यःमरीलाई 'मायो' भन्ने गरिन्छ ।

यी दुई आकारका यःमरीको कलाशिल्पलाई नियाँल्दा 'अंजिर' र 'मुटु आकार'को यःमरीले 'स्नेहमय पुरुष प्रतीक'लाई जनाउँछ भने अर्को 'त्रिकोणात्मक' आकारको यःमरीले 'नारी अवयवको प्रतीक सुन्दरता'लाई उजागर गरेको पाइन्छ । यो कलाशैलीले संस्कृतिलाई नजिकबाट छाम्ने ती मनमस्तिष्क र नयनहरूले जीवनका हरेक पहलुलाई कलात्मक र रहस्यमय प्रतिनिधिमूलक शैली नेवार जातिको मौलिक चाडपर्वमा बनाइने 'यःमरी'मा देख्ने गर्छन् । दुई थरीको यःमरीसँगै 'पोचु'-नयाँ चामलको पीठोबाट 'लक्ष्मी', 'गणेश', 'कुवेर', 'नाङ्लो', 'ढिकी', 'कछुवा' 'चराहरू' साथै आकर्षक प्रतिमूर्ति बनाउने गरिन्छ । साथै धानको भकारीमा लगेर पूजा गर्ने प्रचलन पनि छ ।

मार्ग शुक्ल पूर्णिमाका दिन पर्ने यो यःमरि पुन्ही (पूर्णिमा) का दिन तहतह परेको जुनेली रातसँग मितेरी लगाउँदै केटाकेटीहरूले डफ्फाका डफ्फा बाँधी यःमरीको सन्दर्भ बनाई स्वरलहरीलाई गीतमा मिलाउँदै भैलो र देउसी खेलेजस्तै टोलटोलमा गई यःमरी माग्ने प्रचलन पनि छ । यसले सामाजिक र सामूहिक पाटोलाई चपक्क बाँधेको छ । यःमरी एउटा कृषिमूलक परिकार हुनुका साथै उत्पादित नयाँ अन्नहरूको संग्रहले शरीरको पोषणलाई सघाउने भएकाले नेवार समुदायमा आफ्ना छोराछोरीको जन्मदिनका अवसरमा यःमरीको ठूलो महत्त्व हुन्छ । आफ्ना छोराछोरीको जोडा वर्षको जन्मदिन दुई, चार, ६, आठ, १० र १२ वर्षमा यःमरीको माला उनेर, पहिर्‌याई बच्चालाई मन्दिरमा लैजाने प्रचलन छ ।

'यःमरी' एक प्रकारको रोटीमात्र नभएर नेवारहरूको पहिचान पनि हो । कहीँ कसैले यःमरीलाई देख्नेबित्तिकै नेवारहरूले बनाउने रोटी भनेर ठम्याउन गाह्रो पर्दैन । त्यसकारण पनि यो पहिचान हो । यःमरी पुन्ही (पूर्णिमा) अहिले चाडपर्वमात्र नभएर यस दिनलाई 'राष्ट्रिय ज्यापू दिवस'का रूपमा मनाउन थालिएको छ । अहिले नेवारहरूको पहिचानको प्रतीक तथा सांस्कृतिक शक्तिका रूपमा यो पर्व अगाडि आएको छ । यसले सोसो-रिलिजनलाई पनि इन्टरलक गरेको छ । यसैले योःमरी ज्यापूहरूको मात्र होइन, समग्र नेवारको पहिचान बनेको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.