हेनरी किसिन्जरको चीन यात्रा

हेनरी किसिन्जरको चीन यात्रा

महाअभियोग प्रस्ताव दर्ता भएपछि राजीनामा गर्न बाध्य अमेरिकी राष्ट्रपति रिचर्ड निक्सन जब एक्लो अवकाशप्राप्त जीवनमा थिए, तब टाइम साप्ताहिकका पत्रकार स्टोब ट्याल्बोटले सोधे, 'राष्ट्रपति, तपाईंको कार्यकालको सबैभन्दा महत्त्वपूर्ण उपलब्धि के हो ? ' जवाफमा निक्सनले भने, 'मैले चीनको भ्रमण गरेँ ।'

राष्ट्रपति निक्सनको सबैभन्दा महत्त्वपूर्ण उपलब्धि चीनको भ्रमण उनको कार्यकालको उपलब्धिमात्रै नभई त्यो विश्व राजनीतिमै उथलपुथल ल्याउने घटना थियो । सन् १९७२ अर्थात् आजभन्दा ठीक ४५ वर्षअघि भएको त्यस भ्रमणको सन्दर्भ अझै पनि 'चीन-अमेरिका'सम्बन्धबारेको चर्चामा सुनिन्छ । भ्रमणका योजनाकार थिए- निक्सनका राष्ट्रिय सुरक्षा सल्लाहकार हेनरी किसिन्जर, जो पछिबाट जेराल्डफोर्डको प्रशासनमा विदेशमन्त्री बने ।

किसिन्जर अमेरिकी चाणक्य हुन् जसले शीतयुद्धकालीन विश्व सम्बन्धलाई चीनसँगको सम्बन्ध सुधार गरेर रूपान्तरण गरे । त्यसपछिका सबै अमेरिकी राष्ट्रपतिलाई उनी सल्लाह दिन्छन् । चीनका माओेदेखि सी जिनपिङसम्मलाई किसिन्जरले सल्लाह दिन भ्याइसकेका छन् ।

हालै डोनाल्ड ट्रम्पले ताइवानका राष्ट्रपतिसँग फोनवार्ता गरेर सन् १९७९ देखिको अमेरिकाको उक्त चीन-नीति उल्लंघन गरेको भन्ने विवादका बेला किसिन्जर चीनका राष्ट्रपतिलाई भेटिरहेका थिए । चीन-अमेरिका सम्बन्धका सेतु किसिन्जर आफैं यो नयाँ सम्बन्धका सूत्रधार थिए । यही सम्बन्धको ४५ वर्ष लामो जीवनी, व्यक्तिगत सम्पर्क र अनुभवको एउटा पुस्तक हो, 'अन चाइना' अर्थात् 'चीनका बारेमा' ।

विश्व भूराजनीतिका अतुलनीय र कूटनीतिका विश्वकोष किसिन्जर हार्वर्ड विश्वविद्यालयका विद्यावारिधि हुन् । अन्तर्राष्ट्रिय मामिला र विश्व कूटनीतिका सिद्धहस्त लेखक अमेरिकी संस्थापन पक्षका प्रवक्ता उनी रियालिएट स्कुल अफ थटलाई अन्तर्राष्ट्रिय मामिला यथार्थमा आधारित अभ्यास मान्छन्, जहाँ भावुकता र आदर्शको स्थान हुनेछैन, करिबकरिब पूर्वीय चाणक्यको साम, दाम, दण्ड र भेदको नीतिसँग मेल खाने उनको विचार नै अहिलेसम्म अन्तर्राष्ट्रिय सम्बन्धमा चल्दै आएको छ ।

माओकालीन साम्यवादले अन्तर्मुखी र पछौटे चीनदेखि आजको महाशक्ति, आधुनिक र सम्पन्न चीनको रूपान्तरण गर्न गराउन सहयोग गरेको छ । किसिन्जरको पुस्तक 'अन चाइना' चीन-अमेरिका सम्बन्धको एउटा दस्तावेज हो । यसका साक्षी किसिन्जर नै हुन् ।

प्राज्ञिक सन्दर्भमा उनी जोन हाकिन्स विश्वविद्यालयका डेविड साम्भाउग र प्रिन्सटन विश्वविद्यालयका जोनाथान स्पेन्सजस्ता चीन-विशेषज्ञ र ज्ञाता त होइनन् तर उच्चपदस्थ अधिकारी भएको अनुभव र ५० पल्टभन्दा बढी चीनको भ्रमण गरिसकेका कूटनीतिज्ञका आधारमा उनले किताब लेखेका छन् जुन चीन- अमेरिका सम्बन्धको आधिकारिक साहित्य हो ।

पिङपङ कूटनीति

आफू बिरामी हुँदा माओले आफ्ना डाक्टरलाई सोधे, 'उत्तर र पश्चिममा सोभियत युनियन छ, दक्षिणमा भारत र पूर्वमा जापान छ । यी सबै शत्रु हामीलाई आक्रमण गर्न एक भए भने हामीले के गर्ने ? ' डाक्टरसँग कुनै विचार थिएन । माओले भने, 'फेरि सोच ।'

आज चीन माओकालीन त्यो असुरक्षाबाट निस्केर उत्तर, पूर्व, पश्चिम र दक्षिणका सबै छिमेकीका लागि चुनौती बनेको छ । शीतयुद्धकालीन विश्वमा दुई ठूला राष्ट्र सोभियत संघ र चीन साम्यवादी थिए जुन स्वतन्त्र विश्वको नेतृत्व गरिरहेको अमेरिकाका लागि खतरा र चुनौती दुवै थियो । तर, चीन र सोभियत संघको सम्बन्ध स्टालिन र ख्रुस्चेवको पालामा पनि भूराजनीतिक कारणले उति राम्रो थिएन । यसको फाइदा अमेरिका उठाउन चाहन्थ्यो ।

यस अवधिमा चीन र सोभियत संघबीच उरुसी नदीमा सीमायुद्ध भयो । चलाख हेनरी किसिन्जर आफ्नो शत्रुराष्ट्र सोभियत संघ र चीन एक भएको हेर्न चाहँदैनथे । उनले सन् १९७१ मा राष्ट्रिय सुरक्षा सल्लाहकारका रूपमा चीन भ्रमण गरी माओलाई भेटे र राष्ट्रपति निक्सनले चीनको भ्रमण गर्नसक्ने जानकारी गराए । यसका लागि उनी पाकिस्तानबाट चीनतर्फ उडेका थिए । अन्ततोगत्वा सन् १९७२ मा अमेरिकी राष्ट्रपति निक्सनले चीन भ्रमण गरे । भ्रमणपछि 'सांघाई वक्तव्य' जारी भयो ।

यही घटनाको अर्को नाम 'पिङपङ कूटनीति' हो । चीनलाई साम्यवादी विश्व आन्दोलनबाट अलग राखेर अमेरिकाले कूटनीतिक लिफ्ट दियो । ताइवानलाई अहिलेसम्म 'एउटा चीन' भनेर अमेरिकाले मान्यता दिएको थियो । यो मान्यतालाई पछि अमेरिकाले हटायो । कोरियाली प्रायद्वीपमा भएको लडाइँमा चीन संलग्न भएको थियो । अमेरिका यी कठिनाइ र विरोधाभाषबीच चीनसँग सम्बन्ध सुधार्न तयार भयो ।

एक चीनका रूपमा मेनल्यान्डले मान्यता पायो । यस चीन-अमेरिकी मित्रताको कथा किसिन्जरले लेखेका हुन् । किताबमा उनले तत्कालीन चिनियाँ नेताहरूसँगको आफ्नो वार्तालाप-विवरण पनि दिएका छन् । विशेषगरी उनले चिनियाँ नेता चाउ एन लाईको प्रशंसा गरेका छन् । उनी लेख्छन्, 'माओ गुरिल्ला युद्धका योजनाकारमात्र थिएनन्, बरु कन्फ्युसियाली राज्यकौशलका पारखी पनि थिए ।' उनले आफ्नो चिनियाँ कूटनीतिलाई पारम्परिक कन्फ्युसियाली नीतिअनुरूप भएको व्याख्या गरेका छन् । सुन जुको द 'आर्ट अफ वार'को रणनीति र सन्देश अझै पनि चिनिया रणनीतिकारहरूको प्रेरणास्रोत बनेको छ ।

बिरालो, चीन र त्यसपछि...

सन् १०७६ मा माओको निधनपछि सुधारक देङ स्याओ पिङ पुनः चीनको सत्तामा आए र उनले भने, 'बिरालो कालो होस् वा सेतो मतलब छैन तर त्यसले मुसा समात्नैपर्छ ।' करिबकरिब देङकै पालादेखि चीनले मुसा समात्न थाल्यो । उनले विशेष आर्थिक क्षेत्र सिर्जना गरे । आर्थिक उदारीकरणको अभियान नै चलाए । चीनमा खुलापन ल्याए । सन् १९७१ मा किसिन्जरले चीनको भ्रमण गर्दा अमेरिकाको अर्थतन्त्र चीनको भन्दा पाँच गुणा ठूलो थियो । देङको सुधारले चीन आज विश्वकै ठूलो दोस्रो अर्थतन्त्र बनेको छ भने केही समयपछि अमेरिकालाई उछिन्ने पक्का छ ।

धनी हुनु आफैंमा वैभवता हो भन्ने देङले चीनमा औद्योगिक क्रान्ति ल्याए । अमेरिकाबाट लगानी र प्रविधि भित्र्याए । सन् १९७९ मा देङले अमेरिका भ्रमण गरे, जति बेला अमेरिकाका राष्ट्रपति थिए- जिमी कार्टर । त्यस बेला चीन-अमेरिका सम्बन्ध अझ मजबुत भयो । त्यसपछि चीनका सबै नेताले अमेरिकाको भ्रमण गरेका छन्- राष्ट्रपति जियाङ जमिन, हु जिन्ताओ र वर्तमान सी जिनपिङ ।

चीन-अमेरिका सम्बन्ध एकआपसमा नछुट्टिने गरी जोडिएको छ । विश्वको सबैभन्दा ठूलो बजार चीन अमेरिकालाई व्यापारका लागि चाहिएको छ भने अमेरिकाको विज्ञानप्रविधि र सैनिक सामथ्र्यबाट चीनले फाइदा लिनु परेको छ । शीतयुद्धको गठबन्धनको सवालमा जन्मिएको र विकसित भएको चीन-अमेरिका सम्बन्धमा द्वन्द्व र असमझदारी दुवै छ । दुवैको सम्बन्ध आवश्यकता, बाध्यता र स्वार्थको सम्बन्ध हो । आज साम्यवादी सोभियत संघ छैन तर पनि चीन-अमेरिकाले आआफ्ना आरोह-अवरोहका बीच पनि सम्बन्ध कायमै राखेका छन् ।

नयाँ विश्व परिपे्रक्ष्यमा चीन-अमेरिका सम्बन्ध विश्वकै सबैभन्दा ठूलो दुईपक्षीय सम्बन्ध हो । आज चीनले आफ्नो उदयलाई शान्तिपूर्ण उदय मानेको छ । तर, टिप्पणीकारहरू भन्छन्, दक्षिणी चीन समुद्रको विवादमा चीन-अमेरिका युद्ध पनि हुनसक्छ । अमेरिका-चीन सम्बन्धलाई रोक्ने हिसाबले राष्ट्रपति बाराक ओबामाले 'एसियापिभोट'को नीति पनि ल्याए । अब डोनाल्ड ट्रम्पको पालामा त्यो सम्बन्ध कता जाने हो, अहिल्यै केही भन्न सकिँदैन ।

किसिन्जर द्वन्द्व निम्त्याउनसक्ने भूराजनीतिक खतरालाई व्यवस्थापन गर्न अमेरिकाले प्यासिफिक समुदाय आउन मद्दत गर्नुपर्ने बताउँछन्; जसमा जापान, भारत, इन्डोनेसिया, भियतनाम र अस्ट्रेलिया संलग्न हुनुपर्ने उनको जिकिर छ । किसिन्जरकै शब्दमा भन्ने हो भने चीनको उदयले विश्वलाई पुनः द्विधु्रवीय बनाउन सक्छ ।

राष्ट्रवादी चीनका केही राणनीतिकार द्वन्द्वपरस्त पनि छन् । यसले चीन-अमेरिकाबीच युद्ध पनि हुनसक्छ । तर, उनी चीन-अमेरिका सँगसँगै विकसित अर्थात् 'कोइभोल्युसन'मा जानसक्ने पनि बताउँछन् । किसिन्जरकै शब्दमा भन्ने हो भने अमेरिकासँग एक सय वर्षको राज्य कला कौशलताको इतिहास छ भने चीनसँग पाँच हजार वर्षको इतिहास छ ।

चीन तर्साउने तीन-टी

सन् १९४९ मा चीन-गणतन्त्र स्थापना भएपछि पराजित शासक चाङ काई सेक भागेर ताइवान गए । साम्यवादी चीनलाई अमेरिकाले मान्यता नदिएपछि ताइवानलाई नै चीनको मान्यता दियो र पछि त्यो मान्यता हटायो । ताइवानको प्रश्नलाई लिएर अमेरिका-चीनबीच सैन्य द्वन्द्वसमेत हुन खोजेको थियो तर पछि अमेरिकाले एक चीन नीति लिई मेनल्यान्डलाई नै चीनको मान्यता दिएको छ । त्यसरी नै तिब्बतको प्रश्नमा पनि एक चीन नीति लागू हुन्छ ।

सन् १९५९ मा दलाई लामा भागेर भारत गए । त्यसपछि विकसित भएको चीन-तिब्बत प्रकरणबारे तत्कालीन सोभियत संघका नेता निकिता ख्रुस्चेवसँगको रोचक वार्तासमेत किसिन्जरले किताबमा समावेश गरेका छन् । अमेरिकी राष्ट्रपतिहरूले तिब्बती नेता दलाई लामासँग भेट गरे पनि उनको निर्वासित सरकारलाई मान्यता दिएका छैनन् ।

यसरी एक चीनको नीतिले सरकारी रूपमा मान्यता पाएको छ । सन् १९८९ मा प्रजातन्त्रवादी चिनियाँ विद्यार्थीले तियानमन चोकमा प्रदर्शन गरेपछि सरकारले दमन गर्‌यो र चीन-अमेरिका सम्बन्ध बिग्रियो । अमेरिकाले आर्थिक नाकाबन्दी लगायो । नाकाबन्दीमा पछि फुकुवा भयो । यस घटनाको बेला किसिन्जरले नाकाबन्दीको विरोध गरेका थिए । यी चीन 'टी'हरू अमेरिका-चीन सम्बन्धका पेचिला मुद्दा हुन । भोलि चीन-अमेरिका सम्बन्ध बिग्रियो भने यी तीन 'टी' पनि ठूला कारक बन्न सक्छन् ।

एरिस्टोटल होइन कन्फ्युसियस

किसिन्जरको यस पुस्तकले समकालीन चीनबारे अझ घोत्लिन बाध्य तुल्याउँछ । समकालीन चीन कता गइरहेछ ? चीनले अहिले आफूलाई सभ्यतागत राज्य भन्न थालेको छ र आफ्नो पाँच हजार वर्ष पुरानो लिखित इतिहासमा गर्व गर्न थालेको छ । पश्चिमी प्रजातन्त्र र मानव अधिकारलाई चीन आयत-निर्यातको विषय बनाउन चाहँदैन ।

कन्फ्युसियाली समुदाय र संस्कृतिको यो देश आफ्नै मौलिक र घरेलु पद्धतिबाट सञ्चालित हुन चाहन्छ । यस क्रममा सांस्कृतिक क्रान्तिका बेला ध्वस्त पारिएका कन्फ्युसियसलाई अहिले माओको शवसँगै तियानमेन चोकमा राखिएको छ । सरकारले कन्फ्युसियस संस्थालाई विश्वभर नै फैलाउने अधिकारिक निर्णय गरिसकेको छ ।

यसबाट चीन आधुनिक हुन चाहन्छ तर पश्चिमीकरण वा अमेरिकीकरणको चपेटामा फस्न चाहँदैन । पश्चिमी सभ्यताको सुरुआत प्राचीन ग्रिसबाट सुरु हुन्छ । ग्रिस प्राचीन प्रजातन्त्रको उदाहरण हो, एरिस्टोटल र प्लेटोजस्ता दार्शनिकले प्रजातन्त्रको दरो जग बसालेका छन् । तर, चीन आफैंमा प्राचीन समुन्नत सभ्यता भएको हुनाले ऊ पश्चिमी सभ्यताको अनुयायी बन्न चाहँदैन । यसर्थ चीनले आफूलाई सभ्यतागत राष्ट्र भनेको हो ।

लाओत्जुको ताओ र बुद्ध धर्मका अनुयायी भएको यो देश समुदायवादी छ । व्यक्तिवादी छैन । कन्फ्युसियाली दर्शन भन्छ— व्यक्तिभन्दा परिवार ठूलो, पारिवारभन्दा समाज ठूलो, समाजभन्दा राष्ट्र ठूलो र राष्ट्रभन्दा विश्व ठूलो हो । यसै क्रममा फुदान विश्वविद्यालयका प्राध्यापक ज्यांगवे बेले 'चाइनिज बेभ' पुस्तक लेखी सभ्यतागत राष्ट्रको वकालत गरेका छन् । यसै क्रमका चिनियाँ राष्ट्रपति सी जिनले चिनियाँ सपनाको नारा अगाडि ल्याएका छन्, अमेरिकी सपनाजस्तै लाग्ने यस नाराले चिनियाँ सम्पन्नता र वैभतालाई समेटेको छ । पश्चिम प्रायःजसो चीनसँग मानवअधिकारको प्रश्न उठाउने गर्छ । तर, विगत ४० वर्षमा चीनले ६० करोडभन्दा बढी मानिसलाई गरिबीबाट मुक्त गराएको छ । यो सबैभन्दा ठूलो मानवअधिकार हो ।

पश्चिमको अन्त्य

पुस्तकमा किसिन्जरले विश्व व्यवस्थाको कुरा उति उठाएका छैनन् । तर चीनको उदयले विश्व-व्यवस्था नै परिवर्तन गराउनेतर्फ विद्वान्हरूले संकेत गरेका छन् । 'ह्वेन चाइना रुल्स द वल्र्ड'का लेखक मार्टिन ज्याक्स चीनको उदयले पश्चिमको अन्त्य गराउन सक्यो भन्छन् । उनका अनुसार अबको विश्व कम पश्चिमीकरण र बढी चिनियाँकरण हुनेछ । कतिपय विद्वान्ले चीनको उदय दोस्रो विश्वयुद्धताका जर्मनी र जापानको जस्तो नहुने पनि बताउँछन् । विश्वमा हामीले महाशक्तिहरूको उत्थान र पतनलाई हेर्‌यौं भने जहिले पनि एउटा साम्राज्यले अर्को साम्राज्यलाई विस्थापित गरेको इतिहास भेटिन्छ । १६औं शताब्दीमा चीन विश्वको सबैभन्दा शक्तिशाली र व्यवस्थित राष्ट्र थियो । अब चीन इतिहासको त्यही कालखण्डलाई दोहोर्‌याउन लागिपरेको छ ।

दोस्रो विश्वयुद्धपछि बनेको पश्चिमी नेतृत्वको विश्व व्यवस्थालाई चीनले हालै 'वन बेल्ट वन रोड' र एसियन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट बैंकको नामबाट चुनौती दिन थालेको छ । एक्काइसौं शताब्दी विश्वकै लागि उथलपुथलको शताब्दी हुनेछ र त्यसको केन्द्रमा भने चीन रहनेछ ।

पुस्तकः अन चाइना
लेखकः हेनरी किसिन्जर
प्रकाशकः एलेन लेन
मूल्यः ३०४/-


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.