विद्रोह नबोल्ने कविताहरू

विद्रोह नबोल्ने कविताहरू

'छरिएका भावना' कवितासंग्रह (२०६९) पश्चात् कवि रञ्जना निरौला फेरि अर्को कवितासंग्रह 'कलम र म'का साथ आएकी छन् । स्वच्छन्दता उनको कवित्वको प्रवृत्ति हो । उनी मानवीय धर्म र प्रेमलाई कवितामा आत्मसात् गर्छिन् । पीडालाई पनि मुस्कानसाथ पोख्नु, गुनासो पनि सहजताका साथ व्यक्त गर्नु उनको स्वभाव हो वा उनका कविताको भन्न गाह्रो छ ।

कलम शिरोधार्य गरेकी कवि कलमसँगको सम्बन्धलाई पूर्ण अध्यायको नाम दिन्छिन् । सीताको कथा भन्ने रामायण, गीतालाई वाणी दिने र कथा भन्ने कलमप्रति उनी कृतज्ञ देखिन्छिन् ।

कलममार्फत आफूलाई अभिव्यक्त गर्ने सबै स्रष्टाले के यस्तै विरोधाभाषको सामना गर्लान् ? जसरी कवि रञ्जना गर्छिन् । उज्यालोको चाहना गर्ने उनका कवितामा किन अँध्यारोमात्र हुन्छ ? असमान स्वामित्वयुक्त अस्तित्व र सीमारेखामा कैद जीवनचर्याले अझै पनि समाजमा नारी सपनाका उडान निषेधित छन् भनेझैं लाग्छ । खाडीको मरुभूमिलाई हरियो बनाउन सिंगो यौवन खर्चिएका नेपाली युवाका आफ्नै गाउँ र खेतखला भने बाँझिँदै गएको पीडाले रित्तिँदै गएका आजका गाउँका कथा भन्छ उनका कविता । झूठा सपनाहरू र झूठा आश्वासनको ओछ्यानमा सुतिरहेका युवा जमातलाई आफ्नो आवश्यकता र मूल्यबोध गर्न उनका कविताले आह्वान गरेका छन् । यी कवितामा नेपालीको स्वाभिमान र आफ्नो मौलिक परिचयको चर्चा छ ।

आख्यानकार विश्वेश्वरप्रसाद कोइरालाका उपन्यास र कथाका नारी पात्रलाई सम्बोधन गर्दै लेखिएको 'विश्वेश्वर र म' कविता कम स्वादिलो छैन । कलिलो बालसूर्य, शीतल चन्द्रमा, मनमोहक गुलाब र सपनाहरूसँग आफ्ना छोरीहरूलाई दाँजेकी कवि यी दुई मेरा पखेटा शीर्षक कवितामा पनि सन्तानलाई भविष्य भरोसाका रूपमा चित्रण गर्छिन् । जब समयले घायल बनाउँछ अनि पनि ती तमाम घाउलाई सुम्सुम्याउँदै उभिनु साहस हो । यही साहसलाई कवि भन्छिन्, 'हारीहारीकन बहादुर बनेँ ।' आँखाको ज्योति, ओठको मुस्कान, तागत, आश्वासन÷प्रेरणा र संसार जित्ने हतियारका रूपमा सन्तानलाई चित्रण गरेकी कवि सम्पूर्णबाट सम्पूर्णका निम्ति ईश्वरलाई धन्यवाद दिन भुल्दिनन् ।

शिशिर ऋतुको मार्मिक वर्णन गरेकी कवि नेपथ्यमा 'पृथ्वीनारायण' कवितामार्फत देशमा व्याप्त भाषामाथिको राजनीति तथा साहित्यिक दम्भमाथि प्रहार गर्छिन् । विनाशकारी भूकम्पका पीडा पनि सुकसुकाउँछन् उनका कवितामा । आफ्नै विगतमा फर्किएर रमाउने, गरिब र निःसहायप्रति स्नेह भाव जीवन हुनुको प्रमाण 'जीवनको सेरोफेरो'जस्ता कवितामा व्यक्त भएका छन् ।

कवितामा अतिशय कल्पनाको उडान छ । उनी प्रेमीको कल्पनामा मग्न छिन् । 'तिमी मेरो प्रकृति', 'तिमी कहाँ छौ ? ', 'मेरो राज्य', 'संयोगमा आँखा', 'तिमी मान या नमान', 'तिमी फर्केर आउँदा', 'आऊ उडौं भन्छौ'जस्ता कवितामा प्रेम, आश्वासन, वियोग, अन्यमनष्कता, संशयजस्ता भाव प्रकट भएका छन् । कोहीकसैको चिरप्रतीक्षामा कवि रहेको संकेत गर्छन् यी कविताले । प्रेममा उनको दह्रो विश्वास छ । उनका निम्ति संसारमा मधुमास ल्याउनसक्ने एउटैमात्र शक्ति प्रेम हो । कविको प्रकृतिसँगको साहचर्य उल्लेखनीय छ ।

प्रकृतिप्रेमी कवि कवितामा कहीँ शिशिर त कहीँ शरद त कहीँ ऋतुराज वसन्तको वर्णनमा शब्द खर्चिन्छिन् । कतै झरीको सौन्दर्यको प्रेमिल वर्णन छ त कतै बादलले पानीको कुचो लगाएर धर्ती सफा गरिरहेछ भनिएको छ । चिसोमा बाँच्न अभ्यस्त, तुसारो र सिट्ठीमा समेत हाँस्ने बानी परेको उल्लेख गर्दै आफैंभित्र कहिल्यै ननिभ्ने धुनी बालेर जीवनका यावत् चिस्यान र तोसहरू सेक्नसक्ने सामथ्र्य रहेको उल्लेख गर्ने उनको जीवन दर्शनले शरदको घमाइलो दिनको माया मार्न प्रेरित गर्छ । मानवीकरण गरिएको प्रकृति उम्दा देखिन्छ । देव, आदर्श, धर्म, कर्म र कामनामा आमालाई पाउने कवि धैर्य, शिक्षा र ममताकी पूर्ण स्वरूपका रूपमा आमाको बखान गर्छिन् उनी ।

कविता सहज जन्मिँदैन त्यसका लागि कविको ठूलो कसरत चाहिन्छ । कविको चैतन्यबाट प्रवाहित चेतना कल्पना, विचार, मनको हार्दिकता, यथार्थका काव्यिक सौन्दर्यका कसीमा घोटिएर कि त मोती बन्छ कि सिपी । यो ठहर उनी 'काव्य प्रसव' शीर्षकमा गर्छिन् । नयाँ वर्षको आगमनमा सबैमा हार्दिकता बाँडेकी कवि जीवनलाई किन गुनासाहरूको पुञ्ज देख्छिन् ? भन्छिन्, 'संग्रहको अथक् प्रयासमा कहिल्यै नभरिने शून्य हो जीवन, पाउनुभन्दा बढी जोगाउनुको प्रयत्नमा खटिएको दुःख हो जीवन ।' संग्रहभित्र जीवनप्रतिका यी विरोधाभाषी स्वरहरू छन् जहाँ कहीँ जीवनप्रतिको विश्वास हाँस्छ त कहीँ असन्तुष्टिको तीव्र भावावेग पनि मुखर देखिन्छ ।

यो कृति नरम कविताहरूको संग्रह हो । ३५ कविता संग्रहित पुस्तकभित्र र बाहिर मयूर पंखले कविको श्रीकृष्णप्रतिको अनुराग देखाउँछ । विरह, प्रेम, मातृत्व, मानवता, समर्पण, प्रकृतिप्रेम, देशप्रेम अनि त्यसको मानवीकरणमा यी रागहरूले कृतिलाई पठनीय बनाएका छन् । वर्णनात्मक र आत्मपरक शैलीमा रहेका उनका कविताहरू पढ्दा कविकै प्रतिछाँया रहेको अनुभूत हुन्छ । कविताहरूमा विम्बसँग खेल्न रमाउने कविको भाषा सहज सम्प्रेष्य रहेको छ । आजका अधिकांश कवि र कविताको ट्रेन्डभन्दा पर नारा र अतिवादभन्दा पर कवितामा उनी आफ्नै संसारमा छिन्, आफैंसँग बोल्छिन्, शब्दसँग खेल्छिन्, अनुभूति पोख्छिन् । समय बोल्छ कवितामा तथापि विद्रोह छैन, गुनासोजस्तो केही छ तर आक्रोश छैन उनीसँग । कवितामा विद्रोह बोल्न नसक्नु सम्भवतः कविको कमजोरी हो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.