सिनेमाको सामाजिक आवाज

सिनेमाको सामाजिक आवाज

समय फेरियो, दिन र महिनासँगै क्यालेन्डर फेरिए तर नेपाली समाजको आर्थिक पछौटेपन फेरिएन । अझै पनि दुई छाक जोर्ने प्रयत्नमा गाउँदेखि सहरका गल्लीगल्लीमा उमेर पोख्नेहरू प्रशस्तै छन् । राजनीतिक व्यवस्थामा परिवर्तन भए पनि सामाजिक तस्बिर र जीवनशैलीमा आमूल परिवर्तन आउन सकेको छैन । आर्थिक असमानता उत्तिकै छ । जातीय भेदभाव उस्तै । राज्यको विभेदकारी नीति कायम नै छ । जनयुद्ध भनिएको द्वन्द्वले पनि समाजको चुरोमा ल्याउन सकेको छैन कुनै परिवर्तन । तर पनि सेलाएको छैन सुन्दर जीवन सिर्जनाका लागि सचेत र संगठित संघर्ष । त्यो वैकल्पिक संघर्षशील चेतले साहित्यदेखि कलाका विभिन्न क्षेत्रमा हस्तक्षेप गरिरहेछ ।

वैकल्पिक चिन्तनले कलाका मञ्चहरूलाई डिस्कोर्स केन्द्र बनाइरहेको छ । सिनेमा पछिल्लो समयमा त्यस्तै डिस्कोर्स मञ्च भएको छ । समाज रुपान्तरणको आधार अहिले पनि तयार नभएको विषयप्रति सिनेमा निर्देशक सजग हुन थालेका छन् । सामाजिक, राजनीतिक र आर्थिक रूपान्तरणका लागि भनेरै यत्रो लामो युद्ध भयो । धेरै मानिसले ज्यान गुमाए । नेपाली नागरिकले सोचेका थिए अब आफ्नो मौलिक पहिचान स्थापित हुनेछ । दलितमाथि हुने विभेद अन्त्य हुनेछ ।

ओडारमा बस्दै आएको एउटा चेपाङले न्यानो छानो पाउनेछ । एउटा तामाङले दसैंमा खाएको मासुको पैसा तिर्न नसकेरै अरब जानु नपरोस् । बोक्सी भनेर अब कोही मरनीदेवीले अपमान खेप्नु नपरोस् । तर, नयाँ नेपालको अनुहारमा ती पाशविक कृत्य जारी छ । भर्खरैतिर लक्ष्मी परियार, डन्डी थारू वा तुलु सार्की थिङ बोक्सीको आरोपमै मारिएका छन् । यस्ता धेरै सामाजिक कुसंस्कार र विसंगतिहरू छन् जसलाई चिर्न राज्य चुकिरहेको छ ।

यी विषयले सिनेमा निर्देशक दीपक रौनियारको मथिंगल लामै समयदेखि हल्लाइरहेको थियो । उसो त संसारका धेरै मानिस युद्धको सिकार भएका छन्, प्रभावित बनेका छन् । नेपाली जनतामा पनि सबैभन्दा बढी केहीबाट प्रभावित छन् भने त्यो हो युद्ध । तर, यस विषयलाई लिएर खासै काम हुनै सकेको छैन । आफूलाई लागिरहेको यही विचारले उनी युद्धको प्रभावमाथि नै सिनेमा बनाउन कस्सिए । प्रतीकात्मक शैलीमा तयार भएको छ सिनेमा 'सेतो सूर्य' ।

सिनेमामा गणतन्त्र आइसके पनि राजतन्त्रात्मक सत्ताको धङधङी कायमै भएको देखाउने प्रयत्न गरिएको छ । एउटा लासलाई ढोकाबाट ननिकालेर झ्यालबाट निकाल्न गरेको प्रयासले त्यही कुरा देखाउन खोजेको छ । माओवादी क्याडर र सेनामा भएका दुई दाजुभाइको बेमेलले बाउको लासलाई घाट नपुर्‌याई बाटोमै बिसाउनु, लासले तीन दिनसम्म बटुवा हिँड्ने मूल बाटो छेकेर राख्नु, लास घाट पुर्‌याउनसम्म पनि गाउँमा युवा नहुनु, अचानक दाहसंस्कार प्रक्रियामा नयाँ पुस्तालाई जोड्नुलगायत दृश्य चलचित्रमा निकै सशक्त विम्बका रूपमा प्रयोग भएका छन् ।

अबको पालो आर्थिक क्रान्तिको भन्ने मुद्दा नारामै सीमित हुँदा सत्तामा बस्नेहरूले जनतालाई अर्थतन्त्रमा जोड्न सकेका छैनन् । परिणामस्वरूप स्वरोजगार हुने र रोजगारीको नयाँ सम्भावना नभेट्टाएका युवा जोखिमपूर्ण रोजगारीमा बिदेसिन बाध्य हुँदै आएको परिदृश्य पनि सिनेमाले पस्केको छ । युवाहरूको विदेश पलायन, दलित र महिला मुद्दा स्थापित गर्न पनि सिनेमामा प्रयत्न भएको देखिन्छ । अझ युद्धविराम भएर देश संघीयतामा प्रवेश गरे पनि जनतामा असन्तुष्टि उत्तिकै छ । त्यो असन्तुष्टिले जन्मिरहेका नयाँ प्रकारका विद्रोह देखाउन संविधान जारी हुँदै गर्दा फेरि बन्दुक उठाइरहेको अर्को शक्तिशाली विम्बको प्रयोग गरेका छन् रौनियारले ।

पत्रकारिता पृष्ठभूमिबाट आएका रौनियार राजनीतिक मुद्दाप्रति सचेत थिए । लामो समयदेखि नेपाली सिनेमामा बलिउडबाट प्रभावित हुँदै आएको विषयले उनलाई चिमोटिरहेको थियो । यस विषयमा काम गर्न उनलाई हाम्रो समाजका यी धेरै विषयले घच्घच्याएपछि उनले सामाजिक विम्ब प्रयोग गरी राजनीतिक विसंगतिमाथि चोटिलो प्रहार गरे । वास्तवमा सिनेमा सम्प्रेषणको प्रभावशाली माध्यम हो । उनी भन्छन्, 'अन्य देशमा राजनीतिक मुभमेन्टबारे शक्तिशाली सिनेमा बनाउन शासक वा नेताहरूले नै प्रेरित गरेका छन् । विडम्बना ! हाम्रा नेतृत्वमा सिनेमाको सामथ्र्यबारे चेत नै नदेखिनु दुःखद पक्ष हो ।'

यस्ता विषयप्रति सिनेमा बनाउने रुचि भोगाइले नै सिकाएको ठान्छन् रौनियार । सप्तरीमा जन्मेर उदयपुरमा हुर्केका उनले मधेसी भनेर हेपिनुको अनुभूति सानो छँदादेखि नै गर्नु परेको थियो । हुर्किंदै जाँदा 'आइडेन्टिटी क्राइसिस'को अनुभूति उनले गर्न थाले । हरेक ठाउँमा जाँदा 'म नेपाली नै हुँ' भनेर स्पष्टीकरण दिनुको पीडाबोधले उनलाई राजनीतिक विषयमाथि काम गर्नैपर्छ भन्ने बोध गराएको बताउँछन् । पछिल्लो समय यी विषयमा केही काम भएको भए पनि गर्न अझ धेरै छ भन्ने उनलाई लाग्छ ।

उनी भन्छन्, 'वास्तवमा हामी केही सिनेमा निर्माता, निर्देशकले केही वर्ष यिनै विषयमा मात्र सिनेमा बनाउने हो भने समाजलाई एउटा बाटोमा डोर्‌याउन सकिन्छ ।' उनले भनेजस्तै आगामी दिनमा जनयुद्ध, आमराजनीतिक परिवर्तन र विसंगति तथा तिनको प्रभावलाई लिएर नेपाली सिनेमाहरू पक्कै पनि बन्नेछन् । सायद त्यति बेला नेपाली सिनेमा अन्तर्राष्ट्रिय उचाइमा पुग्नेछ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.