कस्तो छ राराको अनुहार ? (फोटो फिचरसहित)
पश्चिम नेपालमा शान्त बसेकी राराको सौन्दर्य चर्चाले तानेपछि भक्तपुरबाट हिँडेको हाम्रो टोली कोहलपुर, दैलेखको राकम, जुम्लाको नाग्म हुँदै ताल्चा विमानस्थलबाट तीन घन्टाको पैदलयात्रा हुँदै रारा पुग्छ ।
अजंगका पहाड, भिरालो बाटो हुँदै कर्णालीको तिरैतिर हिँड्दा पटकपटक मुटुले ठाउँ छोड्छ । तीनघन्टे पैदल यात्राले भने स्फूर्ति दिन्छ । यात्राको थकानलाई राराको सौन्दर्यले निमेषभरमा मेटाइदिन्छ । टक्क अडिन्छु र हेर्छु रारामा उठिरहेका छालहरू । शब्दमा वर्णन गर्न नसकिने सौन्दर्य । क्यामेराको लेन्समा कैद गर्न प्रयास गर्छु जलतरंग र त्यसमा प्रतिविम्बित रङहरू । थाहा छैन, मनभित्रका तरंग कुन क्यामेराले कैद गर्नसक्छ ?
राराको सौन्दर्य परख गर्ने आँखाले कसरी हेर्छन्— जंगलबाट दाउरा बोकेर फर्किरहेका बालिकाको मुस्कान, सकिनसकी घरको काममा सघाइरहेकी बालिका, एक्लै दाइँ हालिरहेकी किशोरी, ढिकीजाँतोमै जीवन गुजारेर ‘विज्ञानको युग’लाई चुनौती दिइरहेकी अधबैंसे महिला, शिरमा नाम्लो र ओठमा उन्मुक्त हाँसो बोकिरहेको बालक अनि जीवनसंघर्षबीचमै फुलेको निश्चल हाँसो ?
सारा परिदृश्यसँगै जुम्ली सिमीको दाल, रातो मारसी चामलको भात, पिरोले नछोएको अचार र स्थानीय आलुको बेग्लै स्वाद बोकेर म फर्किन्छु । तर, मनमा प्रश्न र अन्योलका असंख्य तरंग मच्चिरहन्छ । राराको सौन्दर्यसँग स्थानीय सामाजिक परिस्थितिी पनि जोड्दा कस्तो तस्बिर बन्छ ? कस्तो हो आखिर राराको मुहार ?