राजा महेन्द्रलाई गाली

 राजा महेन्द्रलाई गाली

इतिहासको अपव्याख्या गर्ने स्वदेशी र विदेशी दुरात्माहरूले नेपालको इतिहासलाई पटकपटक बंग्याएको पाइन्छ । १८५३ सालमा एसियाटिक-रिसर्चेज पत्रिकामा एकजना जड्याहा अंग्रेजले पृथ्वीनारायण शाहलाई ‘पागल जस्तो' भनेर दुष्प्रचार गरे । नेपालबाट इसाईको बथान लखेटेर पृथ्वीनारायणले ठूलो पाप गरेको उनको तर्क अंग्रेजी भाषामा फैलिएपछि गोराहरूले पत्याए । पत्याउनेहरूले नेपालको इतिहास र यथार्थ बुझेकै थिएनन् ।

ल्हासाका शासकले देशनिकाला गरेका युरोपका पादरीहरू भागेर भादगाउँ (भक्तपुर) पुगेपछि मल्ल राजाले शरण त दिए, तर प्राचीन हिन्दु-बौद्ध संस्कृति मास्ने षड्यन्त्र गरेको चाल पाएपछि जनताले उनीहरूलाई लखेटे ।

त्यहाँँबाट पादरीहरू भागेर पाटनमा शरणार्थी हुन पुगे । उनीहरूले कान्तिपुरका राजासँग सम्पर्क बढाए । पृथ्वीनारायण पराक्रमी, धार्मिक, राष्ट्रवादी र स्वाभिमानी भएकाले उनको फौजलाई परास्त गर्न जयप्रकाश मल्ललाई मद्दत गर्नुपर्छ भनेर पादरीहरूले कलकत्तामा रहेका अंग्रेज प्रशासकहरूलाई खबर पठाए ।

yubaraj-gautam-5857535f84c1e8.93526482

नेपाल एकीकरण हुन नदिने र मल्लराजाहरूलाई प्रयोग गरेर इसाईकरण अभियान चलाउने कुत्सित मनसायले अंग्रेजले पृथ्वीनारायणविरुद्ध दुष्प्रचार गरिरहे । राजा महेन्द्र पनि विदेशीको त्यस्तै दुष्प्रचारको सिकार हुन पुगे । नेपालका दल र केही बुद्धिजीवीलाई आज पनि त्यसरी नै प्रयोग गरिएको पाइन्छ ।

नेपालमा २००७ सालपछि परोपकारी दाताको भेषमा प्रवेश गरेका संस्थामा कार्यरत व्यक्ति, पश्चिमाहरूबाट पालिएका अधिकांश बुद्धिजीवी र दिल्ली-वासिङटन गठबन्धनमा आबद्ध व्यक्तिहरू राजा महेन्द्रलाई ‘अपराधी' नै ठान्छन् । २०१७ सालमा दलहरूमाथि लगाइएको प्रतिबन्धलाई नजिर बनाएर विदेशीका मानसपुत्रहरू राजा महेन्द्रले गरेका सम्पूर्ण सत्कर्मलाई प्रोपोगन्डाको परालले छोप्न खोज्छन् । उनको अपराध के थियो त भन्ने प्रश्न गर्दा निरुत्तर बन्छन् । महेन्द्रलाई गाली गर्नेहरूले उनको भन्दा असल, दिगो र लोकप्रिय काम केके गरे ? त्यसको कुनै जवाफ छैन । महेन्द्रले राष्ट्र र जनताको अहित हुने के-के काम गरे ? त्यसको पनि जवाफ छैन ।

चौध अञ्चल र पचहत्तर जिल्ला बनाए महेन्द्रले, के त्यो गलत थियो ? नेपालमा भारतीय पाठ्यपुस्तक, भारतीय मुद्रा, भारतको राजनीतिक र कूटनीतिक दबाब, भारतीय सेनाको उपस्थिति र जलस्रोतमा भारतीय हस्तक्षेप रोक्नु के राजा महेन्द्रको अपराध थियो ? पञ्चवर्षीय योजना, राष्ट्रबैंक स्थापना, भूमिसुधार, विकेन्द्रीकरण, मोहियानी हक, सर्वोच्च अदालत स्थापना, सेना र प्रहरीको आधुनिकीकरणलगायतका कदम के गलत थिए त ? त्यो अपराध थियो भने नेपालमा आज त्यस्तै ‘अपराधी' राष्ट्रनायकको खाँचो छ ।

५२ वर्ष ८ महिना मात्र बाँचेका राजा महेन्द्रले २०१७ साल पुस १ गतेदेखि उनको जीवनको अन्त्य (२०२८ माघ १७) सम्म प्रत्यक्ष शासन गरे । राष्ट्रिय एकता, सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता र स्वतन्त्रतालाई नै दाउमा राखेर सत्तारुढ दल नै कर्तव्यच्युत हुँदै गएपछि उनले दलहरूमाथि तत्काल प्रतिबन्ध लगाएका थिए ।

तर त्यो प्रतिबन्ध सदाकालका लागि थिएन । सन् १९६१ अप्रिल १३ मा राजा महेन्द्रले त्यसको पुष्टि गर्दै भनेका थिए, ‘केही समयको निमित्त हाम्रा राष्ट्रिय आकांक्षालाई सुहाउने प्रजातान्त्रिक बनोटको उद्देश्यसँग र त्यसका आधारमा हामी अगाडि बढ्नुपर्छ र तलैबाट जग हाल्नुपर्दछ । त्यसपछि पाँच÷छ वर्षपछि जनता स्वयं परीक्षा गर्न सक्ने स्थितिमा हुनेछन् ।'

त्यसको केही वर्षपछि कानुन र संविधानका ज्ञाता शम्भुप्रसाद ज्ञवालीलाई राजदरबारमा बोलाएर राजा महेन्द्रले बहुदलीय व्यवस्थाको संविधान मस्यौदा गर्न लगाएका थिए । २०२८ साल फागुन ७ गते संविधान घोषणा गर्ने उनको मनसाय रहेको भूतपूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाले पंक्तिकारसँग (सारथि साप्ताहिक पत्रिकालाई दिएको अन्तर्वार्तामा) बताएका थिए । यस्तै पूर्व प्रधानमन्त्री डा. तुलसी गिरीले पंक्तिकारसँगको कुराकानीमा ‘सो संविधानबारे मेरो परामर्श लिइबक्सेको थियो तर आफूले बहुदलीय संविधानप्रति असहमति जाहेर गरेको' बताएका थिए ।

निःसन्देह राजा महेन्द्र राष्ट्रवाद, राष्ट्रियता, प्रगति, धर्म-संस्कति र राष्ट्रिय एकताका कट्टर पक्षधर थिए । चीनका नेता माओ र चाउ-एन-लाई, भारतका नेता जवाहरलाल नेहरू, अमेरिका, ब्रिटेन, फ्रान्स, जापान र जर्मनीजस्ता शक्तिशाली राष्ट्रदेखि अफ्रिका, ल्याटिन अमेरिका आदिका शासकहरूसँग पनि उनले सुमधुर सम्बन्ध बनाएका थिए ।

अमेरिका, ब्रिटेन र भारतसँग मात्र सीमित नेपालको कूटनीतिक सम्बन्ध बढाएर ५३ राष्ट्रसँग मित्रता स्थापना गर्नु राजा महेन्द्रको कूटनीतिक सफलता भएको पुराना राजनीतिज्ञ रंगनाथ शर्माले लेखेका छन् । सबैलाई थाहा छ- महेन्द्रकै शासनकालमा नेपाल संयुक्त राष्ट्रसंघको सदस्य बनेको थियो ।

राजा महेन्द्रकै कार्यकालमा विश्व बैंक, एसियाली विकास बैंक, कोलम्बो प्लानलगायतका बहुउद्देश्यीय संगठनहरू नेपालको प्रगतिमा सहयोग गर्न आए । यस्तै २०१३ सालमा शुभराज्याभिषेकका अवसरमा काठमाडौं आएका विभिन्न राष्ट्राध्यक्ष र सरकार प्रमुखहरूसँगको भेटमा राजा महेन्द्रले नेपालका बारेमा सबै कुरा छर्लंग पारे । नेपाल भारतको बिर्ता होइन रहेछ भन्ने सबैलाई प्रस्ट भयो ।

कुनै स्कुल, कलेज वा विश्वविद्यालय नपढेका राजा महेन्द्रले संसारमा जहाँ पुगे पनि ठूलो सम्मान पाए । त्यो उनको मात्र होइन, नेपाल र नेपालीको सम्मान थियो । अमेरिका भ्रमणमा गएका बेला त्यहाँका राष्ट्रपति फ्र्यांकलिन डी रुजबेल्टकी पत्नीले राजा महेन्द्रलाई ‘बाल्यकालमा के कुराको अभाव थियो' भनेर प्रश्न गरिछन् । राजा महेन्द्रले भावुक मुद्रामा जवाफ दिए...‘पुस्तक' ।

(सूर्यविक्रम ज्ञवाली, महेन्द्र स्मृतिग्रन्थ) । राणाशासकहरूले राजा महेन्द्र मात्र होइन, राजा त्रिभुवनलाई पनि उपयोगी पुस्तक पढ्ने अनुमति दिएनन् । २४ वर्षसम्म राजा त्रिभुवनका सवारीचालक रहेका मरीचमान नकर्मी (ठँहिटी, काठमाडौ) सँग पंक्तिकारले लिएको सात घन्टा लामो अन्तर्वार्तामा भनेका थिए, ‘जुद्ध सडक (हालको न्युरोड) स्थित एउटा पसलमा गएर दालमोठ, भुजियाका प्याकेटभित्र लुकाएर किताब ल्याइदिने काम म आफैं गर्थें । राजा त्रिभुनवलाई किताब पुर्‍याइदिएको अभियोगमा जुद्ध शमशेरले मलाई जेल पठाए ।'

२०१७ साल पुस १ गतेको कदम प्रजातन्त्रको हत्या होइन रहेछ भन्ने ठहर गरेर महारानी एलिजावेथ द्वितीयाले सोही साल फागुनमा नेपाल भ्रमण गरेको बुझिन्छ । प्रजातन्त्रको हत्या हुने देशमा ब्रिटेनका राष्ट्राध्यक्षले भ्रमण गरेको पाइँदैन । त्यस्तै भारतका राष्ट्रपति सर्वपल्ली राधाकृष्णन्ले महेन्द्रकै पालामा नेपाल भ्रमण गरेर नेपाल-भारत सम्बन्ध अरू सुदृढ हुँदै गएको बताएका छन् ।

चीनलगायत विभिन्न राष्ट्रका नेताले नेपाल भ्रमण गरेर राजा महेन्द्रको प्रशंसा गरेका छन् । नेपालका केही सीमित नेताले ‘तुच्छ' भने पनि संसारले नै महेन्द्रलाई ‘उच्च' भनेको पाइन्छ । के महेन्द्रले सबैलाई मोहनी लगाएका थिए ? कि घूस खुवाएका थिए ?

‘नेपालमा कसैको व्यक्तित्व उठेको देख्न चाहँदैनथे उनी' भनेर अर्थ न बर्थको आरोप लगाउने पनि भेटिन्छन् । अमृत साइन्स क्याम्पसका संस्थापक अमृतप्रसाद प्रधानको प्रतिमा अनावरण गरेपछि प्रसन्न मुद्रामा महेन्द्रले भनेका थिए, ‘चौधै अञ्चलमा अमृतप्रसाद जस्ता असल, दानी र त्यागी मानिस भइदिए नेपाल छिट्टै अगाडि बढ्ने थियो ।' उनले राम्रो काम गर्ने सबैलाई प्रोत्साहन गर्थे भन्ने कुराको यो एउटा उदाहरण हो ।

मेचीदेखि महाकालीका विभिन्न दुर्गम पहाड, हिमाली क्षेत्र र तराईका जिल्ला घुमेर राजा महेन्द्रले नेपाललाई स्वावलम्बी बनाउनुपर्छ भन्दै हिँडे । के त्यो अपराध थियो ? विद्वान्-विदुषीको सल्लाह माग्न २०२४ सालमा दाङमा विद्वत् सम्मेलन गरे । विश्व बौद्ध सम्मेलनको आयोजना गरेर संसारका विभिन्न बौद्ध विद्वान्- विदुषीलाई नेपालबारे जानकारी गराइयो ।

धार्मिक कूटनीतिमार्फत बौद्ध धर्मावलम्बी राष्ट्रहरूको समर्थन जुटाउन उनी सफल भए । यसैक्रममा राष्ट्रसंघका बौद्ध महासचिव उ थान्तले लुम्बिनीको विकासमा अनुपम योगदान गरेका छन् भने जापान, कोरिया, चीनलगायतका धेरै राष्ट्रले लुम्बिनीको विकासमा गरेको योगदान उल्लेखनीय रहेको छ । के त्यो सबै कुरा राजा महेन्द्रको षड्यन्त्र थियो ?

राष्ट्रद्रोह मुद्दा लागेका डा. केआई सिंहलाई चीनबाट बोलाएर राजा महेन्द्रले प्रधानमन्त्री बनाए । के त्यो पूर्वाग्रह थियो ? गणतन्त्र चाहिन्छ भन्दै आवाज उठाउने सप्तरीका युवक रामराजाप्रसाद सिंहको मुद्दा माफी गरेर राजाले मेलमिलापको हात बढाए ।

के त्यो अभिमान थियो ? साहित्य, कला, संस्कृतिको जगेर्ना गर्न प्रज्ञा प्रतिष्ठान स्थापना गरेर उनले नेपालका सबै भाषाको उत्थान गर्ने जमर्को गरे, के त्यो ‘समावेशी' थिएन ? मेची-महाकाली जोड्ने महेन्द्र राजमार्ग, औद्योगिक क्षेत्रहरू, पचासौं उद्योग, हजारौं विद्यालय, दर्जनौं कलेज, त्रिभुवन विश्वविद्यालय, महेन्द्र संस्कृत विश्वविद्यालय आदि सबै उनकै देन हुन् । के यी सबै काम गरेर राजा महेन्द्रले जघन्य अपराध नै गरे त ?

२००७ सालको अन्त्यतिर (फागुन ७ गते) १०४ वर्ष लामो राणाशासन समाप्त भएपछि राजा त्रिभुवनले प्रजातन्त्रको सुदृढीकरण गर्न चाहे पनि उनलाई स्वास्थ्यले साथ दिएन । २०११ साल फागुन ३० गते स्विट्जरल्यान्डमा राजा त्रिभुवनको देहान्त भएपछि राज्यको बागडोर तत्कालीन युवराज महेन्द्रले सम्हाले पनि दलहरूबीचको कलहले परिस्थिति विषम् र जटिल बन्दै गएको इतिहासकारहरूले उल्लेख गरेका छन् । राष्ट्रको अस्तित्वमथि गम्भीर संकट देखेपछि राजाले कठोर कदम चालेको नेपाली कांग्रेसका पूर्व महामन्त्री श्रीभद्र शर्माले बताएका छन् ।

राजा महेन्द्रले गरेका र गर्न चाहेका काम थोरै शब्दमा चित्रण गर्न सकिँदैन । राष्ट्रियता, विकास, धर्म-संस्कृति, संगीत, कला, साहित्य, कूटनीति, कृषि, उद्योग, शिक्षा, स्वास्थ्य, यातायात, राष्ट्रिय सुरक्षा, गृहनीतिलगायत सम्पूर्ण क्षेत्रमा उनले अतुल्य योगदान गरेका छन् । शिक्षितहरू आफ्नै गाउँमा बसेर कर्मशील रहून् भन्ने उद्देश्यले ‘गाउँफर्क' राष्ट्रिय अभियान चलाइएको थियो ।

राष्ट्रद्रोह मुद्दा लागेका डा. केआई सिंहलाई चीनबाट बोलाएर राजा महेन्द्रले प्रधानमन्त्री बनाए । के त्यो पूर्वाग्रह थियो ? गणतन्त्र चाहिन्छ भन्दै आवाज उठाउने सप्तरीका युवक रामराजाप्रसाद सिंहको मुद्दा माफी गरेर राजाले मेलमिलापको हात बढाए । के त्यो अभिमान थियो ? साहित्य, कला, संस्कृतिको जगेर्ना गर्न प्रज्ञा प्रतिष्ठान स्थापना गरेर उनले नेपालका सबै भाषाको उत्थान गर्ने जमर्को गरे, के त्यो ‘समावेशी' थिएन ?

एघार हजार भकारी बनाएर ३३ हजार वडाका जनतालाई खान पुग्ने अन्न सञ्चय गर्नुपर्छ भन्ने राजाको सोच थियो । जलस्रोत र पर्यटनमा नेपाल दक्षिण एसियामै अग्रणी बन्न सक्छ भन्ने प्रबल आत्मविश्वास थियो । योग्य, सक्षम र देशभक्तहरूलाई खोजीखोजी दायित्व दिने राजा महेन्द्रका सहयोगीहरू पनि योग्य नै थिए । उनीहरू राष्ट्रवादीहरूलाई हौसला दिन्थे ।

राजा महेन्द्रको स्वर्गवासपछि दरबारभित्र आफूलाई उपराजा ठान्ने कर्मचारीहरूको प्रभाव त्रमशः बढ्दै गयो । चाकडी, चुक्ली, चाप्लुसी गर्नेहरूले राजालाई घेर्ने र योग्य मानिसहरूलाई टाढै राख्ने प्रवृत्ति बढ्दै गयो । सही सूचना सही समयमा पुग्नै नदिने षड्यन्त्र हुन थाल्यो । राजा ज्ञानेन्द्रको शासनकालमा पनि केही संकीर्ण सचिव र सल्लाहकारहरूले खलनायकको काम गरेको पाइन्छ ।

पृथ्वीनारायणपछि राजा महेन्द्रलाई सर्वाधिक श्रद्धा गर्ने नेपालीहरूको संख्या दिनप्रतिदिन बढ्दै गएको पाइन्छ । उनी राजा, साहित्यकार, कूटनीतिज्ञ, धर्मदर्शनका मर्मज्ञ, विकासवादी र असल राष्ट्रवादी हुन् भन्नेमा सन्देह छैन ।

सूर्यलाई हत्केलाले छोप्न खोजे झैं राजा महेन्द्रका योगदान ढाकछोप गर्नु र उनलाई गाली गर्नु हठ, अज्ञानता र मूर्खता मात्र हो । केही व्यक्तिले त राष्ट्र टुक्र्याउने परियोजनाअन्तर्गत महेन्द्र तथा नेपालको इतिहासलाई सराप्ने जागिर नै पाएका छन् । भगवान्ले उनीहरूलाई सद्बुद्धि दिऊन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.