स्वाभिमान जोगाउनुपर्छ

स्वाभिमान जोगाउनुपर्छ

नेपाललाई यति धेरै सहयोग दिँदा र सहानुभूति राख्दा पनि नेपालीहरूले भारत प्रति ‘नकारात्मक' सोच राखेका छन् भनेर भारतीय पक्षको गुनासो रहँदै आएको छ । यसका लागि विदेशीको ‘उक्साहट' र ‘घुसपैठ' जिम्मेवार छ भनेर समेत उनीहरूले भन्ने गरेका छन् । के यस्तै हो त ? यसबारेमा केही विश्लेषण आवश्यक छ ।

भरतीयहरू नेपालले भारतको विषयमा गरेको टीकाटिप्पणी र नकारात्मक धारणा देखेर उदेक भएको देखिन्छन् । सबैभन्दा बढी सहायता दिने, सामाजिक, धार्मिक, सांस्कृतिक, राजनीतिक, आर्थिक जस्ता विषयमा समानता रहेको देशमा भारतप्रति किन नकारात्मक सोच छ ? यो कुरा दिल्लीको लागी पनि शोध र चर्चाको विषय भएकै हुनुपर्छ ।

नेपालको सरकारले यसबारे केही आधिकारिक धारणा नराखे पनि नेपाली जनमानस भने ठूलो र शक्तिशाली भएकै कारणबाट भारतले नेपाललाई स्वतन्त्र अवधारणा राख्न नदिएको र आफ्नो कुरा 'लाद्न खोजेको' भन्ने धारणा पनि रहेको छ ।

जब भारतमा भारतीय जनता पार्टीले चुनाव जित्यो, प्रधानमन्त्रीमा नरेन्द्र दामोदर दास मोदीले शपथ लिए र छिमेकीहरू सँग सम्बन्ध सुधार गर्ने कुरा गरे ‘नेपालका शुभचिन्तकहरू भारतीय सत्तामा हर्ताकर्ता भए' भनेर नेपालीहरू खुसी भए ।

छिमेकीहरूसँग मैत्रीपूर्ण सम्बन्ध राख्ने, सहयोग बढाउने र सद्भाव राख्ने उनको कुराको सबैले स्वागत गरे । छोटो समयमा उनको नेपाल भ्रमण र नेपालको संविधानसभामा भएको उनको उद्गारबाट कति नेपाली त खुसीले गद्गद् भए, विरोधीहरू पनि प्रशंसा गर्न थाले । सारा सञ्चारमाध्यम मोदीमय भयो । तर यस्तो वातावरण लामो समय टिक्न सकेन ।

भारतमा धेरै नेपालीहरू रहन्छन् स्थायीरूपमा, रोजगारीको खोजिमा, तीर्थाटनमा, औषधोपचारमा । अधिकांश निम्नस्तरको शारीरिक परि श्रम गर्ने काममा लागेका हुन्छन् । उनीहरूले भारतमा सम्मान पाउँने कुरा छाडौं बरू खिसिट्यौरी नै पाउँछन् ।

विभिन्न ठाउँमा नेपालीलाई हेपेर सम्बोधन गरिन्छन । विदेशी भूमिमा यसलाइ सहेर बस्नेबाहेक उनीहरूसँग अरू विकल्प देखिँदैन । फिल्ममा देखाइने ‘चौकीदार' पात्र त ‘विचरा' नै हुन्छन् । उनीहरूको रोल ‘बहादुर' भनेर बोलाउँदा ‘जि साझप' भनेर दौडनु मात्र हुन्छ । यस्ता नकारात्मक प्रस्तुतिको हाल प्रतिवाद पनि हुने गरेको छ ।

भारतमा नेपाली बसेजस्तै नेपालमा पनि विभिन्न काम गरेर रहेका भारतीयहरू छन् । यसमा मजदुर, साना व्यापारी आदि पर्दछन् । यिनीहरूलाई पनि नेपालमा विभिन्न नामले हेपेर बोलाइन्छ । यस्ता सम्बोधनहरूलाई बेवास्ता गरेर आफ्नो काममा लाग्नुबाहेक यिनीहरूसँग पनि अर्को विकल्प देखिँदैन ।

सामान्य निम्न स्तरको र असहाय व्यक्तिले सहेर बस्ला तर अबको जागरुक समाजका शिक्षित व्यक्तिहरू यस्तो हेपाई सहेर बस्ने अवस्थामा छैनन् । कतिपय अवस्थामा आफ्नै देशका नागरिकसमेत यस्तो हेपाइमा पर्दछन् र यो कुरा ठूलो ‘मुद्दा' भएर आउँछ । जतिसुकै प्रयास गरेपनि समाजको तल्लो तप्कामा एकअर्कालाई हेप्ने प्रचलन रहिरहनेछ, जहाँ पनि हुन्छ ।

भारतमा नेपालसम्बन्धी विषय हेर्ने निश्चित निकायहरू रहेका छन् । दिल्लीले नेपालबारे आफ्नो धारणा यिनै निकायमार्फत बनाउँछ । ती निकायले नेपाललाई विशेषतः विहार र उत्तर प्रदेशको आँखाले हेर्ने गरेको पाइएको छ । भारतले नेपाललाई सामरिक कुरामा सबभन्दा गम्भीर रूपले हेर्ने गरेको छ र उत्तरतर्फको गतिविधितर्फ चनाखो रहेको पाइन्छ ।

नेपालमा भने भारतसम्बन्धी अध्ययनका लागि यस्तो कुनै स्थायी निकाय देखिँदैन । भारत नेपालको स्थायी ‘मित्र राष्ट्र' रहेको छ । सरकारको जस्तोसुकै धारणा भए पनि नेपाली जनताको भने भारतप्रति धेरै गुनासो रहेको छ । सरकारबीचमा शक्तिको जतिसुकै असन्तुलन भए पनि जनताबीच त्यस्तो नहुने हुँदा नेपालीबाट कडा असन्तोषका क्रियाकलाप पनि देखिने गरेको छ । जनताको प्रतिक्रिया संसारभर यस्तै रूपमा नै प्रकट हुने गरेको छ, भारत र नेपाल अपवाद हुन सक्दैन ।

नेपाल तथा भारतबाट निस्कने निष्पक्ष भावनाहरूले दुवै देशका नीतिनिर्माताको ध्यान आकर्षण गर्ने सकेको देखिँदैन । सरकारको काम कारबाहीमा उच्चतहका व्यक्तिहरूको दबदबा रहिरहने र उनीहरूमा रहेको हठ र जडता कायमै रहने देखिन्छ ।

भारतको विदेश नीतिमा नेपाल एउटा सानो तर महत्वपूर्ण पाटो हो तर नेपालका लागि भारत मुख्य र अनिवार्य महत्वपूर्ण विषय हो । भारतको नेपालबारे धारणा 'अध्ययन समूह'को निश्कर्ष हो भने नेपालको धारणा सत्ताधारीको सत्ता टिकाउने ‘लहड'। तसर्थ नेपालका उत्तरी र दक्षिणी दुवै छिमेकी देशहरूलाई नेपालको विदेशनीति भरपर्दो नभएको गुनासो छ ।

हेनरी किसिन्जरले आफ्नो किताब बल्र्ड अडर' मा नेपालको बारेमा सदियौंसम्म कुशलतापूर्वक चीन र भारतबीच आफ्नो कूटनीतिक सम्बन्ध सन्तुलित राख्न सफल भएको देश भनेर लेखेका छन् । तर दोस्रो जनआन्दोलनपश्चात् नेपालको विगतको सन्तुलित नीतिमा विचलन देखिन सुरु भएको छ ।

भारत नेपाललाई ‘बाह्रबुँदे सहमति' मार्फत सहयोग गरेवापतको प्रतिफल चाहन्छ भने चीन नेपालमा विगतकै नीतिको निरन्तरता चाहन्छ । भारतको नेपालप्रतिको सोचाइ बढी प्राविधिक, एकतर्फी र शंकालु रहेको पाइन्छ भने नेपाल ढुलमुले, कमजोर र मौकापरस्त रहेको देखिन्छ ।

नेपाल र भारतको सम्बन्धलाई दाजु र भाइबीचको सम्बन्ध जस्तो पनि भन्ने गरिन्छ । यस अर्थमा यो सम्बन्ध स्पष्ट, पारदर्शी र निष्कपट हुनुपर्ने हो । तर हालको यो सम्बन्ध दुवै तर्फवाट शंकास्पद र ढोग जस्तो देखिन पुगेको छ । नेपाल भारत सम्बन्धका बारेमा भारतमा आम जनता खासै सरोकार राख्दैनन् तथा सरकार र आम जनता एकमत देखिन्छन् भने नेपालमा सरकार र आम जनताको राय फरक रहेको र सरकार भन्दा जनता बढी प्रभावशाली रहेको देखिन्छ ।

जनसंख्याको तथ्यांकको बारेमा पनि भारतमा ठूलो भ्रम देखिन्छ । भारतीय सञ्चारमाध्यममा आउने विवरणमा नेपालको तराईमा ५१ प्रतिशत जनसंख्या रहेको र त्यसमध्य सबै तराईमूलका भएको जस्तो गरी देखाइन्छ, जबकि तराईको जनसंख्यामा ३९ प्रतिशत पहाडी, ३८ प्रतिशत मधेशी, १६ प्रतिशत थारू र अरू अन्य छन्। नेपाली पहाडका ‘खस—आर्य' भनेर भनिने जाति र भारतका उत्तराखण्डका जाति एकै मुलका हुन् भन्ने कुरा पनि धेरैलाई थाहा छैन ।

भारत एक ठूलो र विश्वको उदाउँदो शक्ति हो । विश्वमा प्रभावशाली भूमिकाका लागि भारतले आफूलाई जिम्मेवार र उदार देशको रूपमा पनि विश्वसामु स्थापित गर्न सक्नुपर्छ । हाल भारतको नेपाललाई हेर्ने दृष्टिकोणमा यस्तै उदारताको भने अभाव देखिन्छ ।

नेपालीको मन जितेर नेपाललाई आफ्नो अनुकूल बनाउन भन्दा आफ्ना चाहनाहरू लाद्न खोजेमा असल नियतले गरेका कुराहरूको समेत विपरीत प्रभाव पर्न सक्छ । नेपालसँग सम्बन्ध चाहेअनुसार नभएको भारतलाई चीन, पाकिस्तान, बंगलादेशसँग सन्तुलन मिलाउन अझ गाह्रो हुने नै छ ।

नेपालजस्तो समानता रहेको देशसँग समेत भारतको सम्बन्ध राम्रो हुन नसके अरूसँग यो कसरी सम्भव होला र ?

भारतले नेपाल सम्बन्धी नीति बनाउन सल्लाह लिनमा नेपालसँग सीमा जोडिएका विहार या उत्तर प्रदेशका ‘विज्ञ' हरूको महत्वपूर्ण भूमिका देखिन्छ । यी विज्ञहरूमा नेपालसम्बन्धी ज्ञान र पूर्वाग्रह दुवै हुने सम्भावना रहन्छ र हालसम्म निष्पक्ष भन्दापनि कुनै पक्षको नजिक रहेर विश्लेषण हुने गरेको अधिकतर नेपालीको बुझाइ छ ।

खुला सीमा रहेका नेपाल र भारतका जनताको सम्बन्ध सौहार्दपूर्ण छ । नाता, व्यापार, तीर्थयात्रा आदिले जोडिएको सम्बन्ध चीरकालदेखि रहिआएको हो । केही समस्या रहेको औपचारिक र राजनीतिक सम्बन्धमा हो ।

नेपालीलाई भारत ठूलो र शक्तिशाली राष्ट्र हो भन्ने राम्रोसँग थाहा छ, साथसाथै कहिल्यै पराधीन नभएको देशको स्वाभिमान पनि छ । नेपालीहरू यो स्वाभिमान जोगाइराख्न चाहन्छन् र यसमा कतैबाट आँच आउला कि भनेर सचेत पनि रहन्छन् । नेपालीहरू यो स्वाभिमानलाई भारतले पनि कदर गरिदेओस् भन्ने चाहना राख्दछन् ।

अन्य छिमेकीसँग भारतको सम्बन्ध राम्रो बनाउन नेपालसँगको राम्रो सम्बन्धको ठूलो महत्व राख्दछ । नेपालजस्तो समानता रहेको देशसँग समेत भारतको सम्बन्ध राम्रो हुन नसके अरूसँग यो कसरी सम्भव होला र ? चीनमा तीव्र रूपमा भइरहेको यातायातको सञ्जालले नेपालमा सम्पर्क र व्यापारको नयाँ सम्भावनाहरू खोल्ने नै छन् । समय र परिस्थितिअनुसार सबै पक्षले आफ्ना क्रियाकलापलाई अझ उदार र प्रतिष्पर्धी बनाउनैपर्ने हुन्छ ।

भारत प्रगतिपथमा उच्च गतिमा लम्कन थालेको धेरै भएको छैन र चाहिँदो उदारता र परिपक्वता आइसकेको पनि देखिँदैन । यसका लागि समय लाग्ने छ र समयसँगै सुधार हुँदैजाने अपेक्षा राख्न सकिन्छ । भारतद्वारा नेपाल र नेपालीको खास भावना बुझेर गरिएका क्रियाकलापहरू मात्र दिगो र फलदायी हुनेछन् र यसले मात्र दुई देशबीचको सम्बन्ध सुमधुर हुनेछ ।



प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.