दूरद्रष्टा राजनेता किसुनजी

दूरद्रष्टा राजनेता किसुनजी

नेपाल दिनप्रतिदिन जटिलताको भुमरीमा भासिँदैछ । देशको निर्णायक व्यक्ति हुन रुचाउने नेताहरू कुहिरोको काग भएका छन् । क्रान्तिबाट आएको भन्न रुचाउने प्रधानमन्त्री उनकै समूहभित्रबाट नचिनिने व्यक्तिको रूपमा चित्रित हुन थालेका छन् । नेताहरू नेपाल र नेपालीको भन्दा विदेशीको स्वार्थ र हितमा काम गरिरहेका छन् भन्ने आरोप चौतर्फी लागिरहेको छ ।

जेलनेल खेपेका, संघर्ष गरेकै व्यक्तिहरू आखिर किन देश र जनताको स्वार्थभन्दा सत्ता र सम्पत्तिका स्वार्थमा समर्पित भए भन्ने चिन्ता चौतर्फी भइरहँदा यी सबै अवस्थाभन्दा भिन्न राजनीतिलाई देशभक्ति र जीवनमुक्तिको एक मार्ग मान्ने कृष्णप्रसाद भट्टराईको आज त्रियान्नब्बेऔं जन्मोत्सव मनाइँदैछ । के पथप्रदर्शकहरूको अभावमा नेपालको राजनीति यो दुर्दशाको अवस्थामा आइपुगेको हो त ? पाँच वर्ष अगाडिसम्म हाम्रो अगाडि रहेका ती नेताको इतिहास हेर्दा भने त्यो स्वीकार्न सक्ने देखिँदैन ।

किसुनजी जनताको अपार श्रद्धा र विश्वास पाएको नेता हुनुहुन्थ्यो । आज पनि नेपालको पहिलो राजनीतिक दल रहेको नेपाली कांग्रेसलाई दुईतिहाइ बहुमत दिलाउने श्रेय किसुनजीलाई जान्छ । कांग्रेसको सभापति र अन्तरिम सरकारको प्रधानमन्त्रीको हैसियतमा सरकार बनेको ६ महिनामा नेपालको इतिहासमा पहिलोपटक संवैधानिक रूपमा नेपालको सार्वभौमसत्ताको स्रोत नेपाली जनता कायम गर्ने नेपाल अधिराज्यको संविधान २०४७ जारी गराई १३ महिनाभित्र सम्पूर्ण राजनीतिक शक्तिको सहभागितामा शान्तिपूर्ण आमनिर्वाचन गराएकाले कांग्रेसलाई प्रतिनिधिसभामा स्पष्ट बहुमत मिल्यो ।

निर्वाचनपछि किसुनजी प्रधानमन्त्री बन्दै हुनुहुन्छ भन्नेमा कसैमा द्विविधा नरहेकाले पनि कांग्रेसप्रति जनताले समर्थन दिएका थिए । दुर्भाग्य अस्वाभाविक रूपमा उहाँले निर्वाचनमा पराजय भोग्नुपर्‌यो । धेरैले नेपालको पछिल्लो दुई दसकभन्दा लामो समयदेखिको दुर्भाग्यको मूल कारण त्यसैलाई मानेका छन् ।

२०५६ मा तत्कालीन कांग्रेस सभापति र प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला स्वयंलाई थाहा थियो, उहाँको नेतृत्वमा कांग्रेसको बहुमत आउने छैन । २०५१ सालको मध्यावधि निर्वाचनमा उहाँले आफ्नो अवस्था देखिसक्नुभएको थियो । त्यसपछि रहरले होइन, बाध्यताले निर्वाचनपछिको भावी प्रधानमन्त्री किसुनजी भनेर पार्टी सभापति गिरिजाप्रसाद कोइराला र कांग्रेस पार्टीले घोषणा गरी नेपाली जनतालाई आश्वस्त पारेपछि पुन कांग्रेसलाई नेपाली जनताले स्पष्ट बहुमत दिए ।

तर त्यो पर्दापछाडि मञ्चन गरिएको नाटक मात्र भएको तथ्य सोचेभन्दा धेरै छिटो उदांगो भयो । नेपालमा राष्ट्रभक्तविरुद्ध भएका पटकपटकका यस्ता षड्यन्त्र र राष्ट्रको अस्मितामाथिका खेलबाडको शब्दचित्र खिचिएको २०५६ चैत ३ को प्रतिनिधिसभाको सम्बोधनसँगै किसुनजी १० महिनामा नै पद छोड्न बाध्य हुनुपर्‌यो ।

आखिर किसुनजी के त्यस्ता राजनीतिक गुणहरू थिए ? जसका कारण उहाँ प्रधानमन्त्री हुनुहुन्छ भन्ने विश्वासमा दुईदुईपटक नेपाली जनताले बहुमत कांग्रेसलाई दिए । अर्को शब्दमा किसुनजीले नेपालीमाझ छोडेको लिगेसी के हो ?

भन्नेबारेमा जनस्तरको कुरै छोडौं, बौद्धिकस्तरमा समेत बहस छलफल जति हुनुपर्ने हो, त्यति भएको पाइन्न । आज हामी राम्रा उदाहरण वा आदर्श व्यक्तिको खडेरी परेको बन्जर मुलुकका नागरिक भएका छौं । जुन आजको वास्तविक भए पनि केही वर्ष अघिसम्म त्यो अवस्था नरहेको तथ्यबाट नयाँ पुस्ता अवगत हुन जरुरी छ ।

निडर राष्ट्रवादी

२०५७ सालबाट करिब-करिब सक्रिय राजनीतिबाट अलि टाढा रहनुभएका किसुनजी २०६३ पछि पटकपटक बक्तव्यमार्फत पुनः राष्ट्रियतासँग जोडिएका मुद्दाहरूमा सक्रिय देखिन भयो । उहाँलाई चिन्ता परिवर्तनको नाममा २०४७ को संविधानबाट प्राप्त राजनीतिक स्थिरतासहितको उपलब्धि कतै गुम्ने हो कि भन्नेमा बढी नै थियो । २०६३ वैशाखको पहिलो हप्ता राजाको आह्वानमा छलफलका लागि किसुनजी नारायणहिटी दरबार जानुभयो ।

निकै ठूलो हल्ला चलेको थियो, किसुनजीको नेतृत्वमा सरकार बन्दैछ । भित्र राजालाई संवैधानिक मर्यादामा बसेर २०४७ को संविधानको पूर्ण परिपालनाको प्रतिबद्धता अघि कुनै कुरा नबढ्ने कडा सन्देश दिएर फर्कंदै गर्दा दक्षिण ढोकामा पत्रकारहरूले घेरे, किसुनजी भन्नुभयो, 'म त राजावादी हुँ ।' ठिटा पत्रकारहरूले जिब्रो टोके । २०६३ पुसमा उहाँको ८४ औं जन्मदिन हिमालयन होटेलमा मनाइयो, सत्ता राजनीतिले बहिस्कार गरेर निलम्बनमा राखिएका राजा र राजपरिवारका सदस्य पनि किसुनजीका आमन्त्रित पाहुना थिए ।

किसुनजीले घोषणा गर्नुभयो, 'अरू तीन सय वर्ष नेपालमा राजतन्त्र चाहिन्छ ।' २०६४ असोजमा कांग्रेसले गणतन्त्रमा जाने निर्णयको भोलिपल्ट स्वहस्ताक्षरित पत्र पार्टी सभापति र महासमिति सदस्यलाई सम्बोधन गर्दै किसुनजीले कांग्रेस पार्टी त्यागेको घोषणा गर्नुभयो । ०६२÷६३ को जनआन्दोलन वरिपरिका यी ऐतिहासिक घटनाहरू नेपालका कतिपय पेसेवार बुद्धिजीवी र राजनीतिकर्मीको लागि किसुनजीमाथि घृणा र अनर्गल प्रचार गर्न पर्याप्त सामग्री थिए ।

जुन संस्थासँग आबद्ध राजाहरूले ३२ वर्षको उमेरमा २०१६ सालमा प्रतिनिधिसभाको सभामुख भइसकेको व्यक्तिलाई १४ वर्षभन्दा बढी समय जेलमा कोचे त्यसको आवश्यकता र औचित्यको वकालत किन किसुनजी गर्दै हुनुहुन्छ भनेर यसको गहिराइमा जाने प्रयास कसैले गरेन ।

न त राजतन्त्र विस्थापनपछि अति आवश्यक राष्ट्रवादी वैकल्पिक संस्था वा शक्ति निर्माणमा कसैको ध्यान गयो । २०३३ सालपछि बीपीमाथि भएको मण्डले आक्रमणको पुनरावृत्ति किसुनजीमाथि भयो । प्रजातन्त्रको लागि जीवनभर संघर्ष गर्नुभएका किसुनजी राजावादी र राजाहरूको दौराको फेरो समातेर जीवनभर सत्ता र शक्तिमा पुगेकाहरू ठूला हैसियतका गणतन्त्रवादी भएको झूटो प्रचार गरियो । बौद्धिक दिवालियापनको योभन्दा टिठलाग्दो दृश्य सायदै विश्वमा कहीँ देखिएला ।

यो बौद्धिक स्तरले नेपालको राष्ट्रियताको संवेदनशीलतालाई पटक्कै बुझ्न नसकेका कारण पछिल्लो एकदसकका एकपछि अर्को घटनाले देश विभाजन र विखण्डनको सँघारमा उभिएको छ । यो दृश्य झल्झल्ती देखेका कारण किसुनजीले २०६४ असोज ९ को सन्देशमा संघीयता र गणतन्त्रको निरर्थकको अभ्यासमा लागेर कांग्रेसले आफ्नो ऐतिहासिक जिम्मेवारी बिर्सेको उल्लेख गर्नुभएको थियो ।

त्यसैगरी धर्म निरपेक्षको विषवृक्षको पक्षमा किसुनजी कहिल्यै हुनुहुन्थ्यो । २०६६ फागुनमा वनकालीमा कालीबाबाबाट आयोजित एउटा धार्मिक अनुष्ठानमा पत्रकारले सोधेको प्रश्नमा किसुनजीले भन्नुभयो, 'नेपाल फेरि हिन्दु राष्ट्र हुन्छ । नेपाललाई धर्म निरपेक्ष बनाउने नेताहरू अदूरदर्शी, पटमूर्ख र अविवेकी मात्र होइनन्, चण्डाल पनि हुन् । ८५ प्रतिशत हिन्दु भएको मुलुक हिन्दु राष्ट्र नभए के हुने ? नेपाल हिन्दु राष्ट्र थियो, आज पनि छ र भोलि पनि हिन्दु राष्ट्र नै रहनेछ ।' (बाइबल र माओवाद, चौथो संस्करण, ६९) ।

जनआन्दोलनको आधारपत्र तथाकथित बाह्रबुँदे दिल्ली सहमतिमा समेत धर्म निरपेक्ष, गणतन्त्र र संघीयता उल्लेखसम्म नगरिएकोमा जनतालाई झुक्काएर भित्र्याइएका यी एजेन्डाले देश कमजोर पारेर नेपालीको अस्तित्व संकटमा पर्ने स्पष्ट देखेकाले तत्कालमा जति नै अलोकप्रिय भए पनि आफूले देखेको दूरगामी दृष्टिकोण कठोरतापूर्वक राख्नुभएकाले नै किसुनजी हिजोभन्दा आज बढी सान्दर्भिक देखिनुभएको छ ।

यसै सन्दर्भमा प्रा.डा. दुर्गाप्रसाद भण्डारीले लेख्नुभएको छ, 'किसुनजी आफैंमा अध्ययनशील हुनुहुन्थ्यो । हाम्रा धेरै राजनेताहरू अध्ययनबाट मुक्त भइसकेका छन्, त्यही भएर कल्पनाशीलता छैन अरूमा । कल्पनाशील र सिर्जनात्मक हुन पनि पढ्नुपर्ने हुन्छ । पढाइका नाममा प्रागैतिहासिक सिद्धान्त र मेनुफेस्टो घोकेर समाजमा सुगा सवाइ सुनाउने नेताहरूको यहाँ कुरा गर्न खोजिएको होइन । पछिल्लो समयमा उहाँका अभिव्यक्तिलाई लिएर धेरैले उहाँलाई एन्टिकरेन्ट भन्ठाने । वास्तवमा उहाँले दूरदर्शितासहितको कुरा गर्नुभएको रहेछ । आजको असहज स्थिति, अराजक माहोलप्रति किसुनजीको भविष्यवाणी धेरैअघि आइसकेको रहेछ ।' (किसुनजी, २८०)

सच्चा प्रजातन्त्रवादी

२०१७ साल पुस १ गतेको घटनापछि श्रद्धेय नेताहरू बीपी कोइराला र गणेशमान सिंहसहित किसुनजी सुन्दरीजलको बन्दीगृहमा राखिनुभयो । राजासँगको लामो आन्तरिक छलफलपछि तत्कालीन कार्यवाहक सभापति सुवर्णशमशेरले १६ मे १९६८ मा संवैधानिक विकासको निम्ति राजालाई सहयोग गर्ने वक्तव्य जारी गर्नुभयो । बीपी र गणेशमानजीले उक्त वक्तव्यको समर्थन गर्नुभएकाले उहाँहरू त्यसको पाँच महिनापछि रिहा हुनुभयो भने किसुनजी एक्लो व्यक्ति थप २० महिना जेलमै रहनुभयो किनकि रिहाइको लागि कुनै पनि सर्त उहाँले स्विकार्नुभएन । (यस सम्बन्धमा किसुनजी स्वयंको महत्त्वपूर्ण कथन पढ्नुहोस्, मेरो म, ८९) ।

निसर्त रिहाइ उहाँको बटमलाइन रह्यो । अरूको स्वतन्त्रताको हनन नगरेसम्म व्यक्तिको मानवीय स्वतन्त्रताको सीमा र सर्त राखिनु हुँदैन भन्नेमा उहाँ दृढ निश्चित हुनुहुन्थ्यो । कृत्रिम रूपमा व्यक्तिगत स्वतन्त्रताका अगाडि जतिसुकै शक्तिशालीबाट छेकबार खडा गरिन्छ भने त्यो आफूलाई स्वीकार्य छैन भन्ने उहाँको अविचलित अडान रहन गयो । यसरी नेपालमा प्रजातान्त्रिक शासन व्यवस्था स्थापनार्थ किसुनजीले सुरुमा लगातार १० वर्ष ३ महिना र पछिसमेत गरेर जम्मा १४ वर्ष ३ महिना बन्दी गृहमा बिताउनुभयो ।

त्यसको अलावा बीपी र गणेशमानजीले २०२५ सालमा छुटेर भारत निर्वासनमा गई हिंसात्मक सशस्त्र संघर्षको आह्वान गर्नुभयो, जसलाई किसुनजीले स्विकार्नुभएन र बीपीलाई त्यो मार्ग त्यागेर नेपाल फर्किएर अहिंसाको मार्गबाट प्रजातन्त्रको संघर्ष अघि बढाउने उत्पे्ररित गरिरहनुभयो । विदेशमा बसेर मुलुकसमेत कमजोर बन्ने उहाँको विश्लेषणलाई कालान्तरमा बीपीले स्विकार्नुभयो र २०३३ पुस १६ मा राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर नेपाल फर्कनुभयो ।

मतदानबाट निर्वाचित भएर आउने अनि गैरजिम्मेवार ढंगले जसरी पनि शासन चलाउनुलाई किसुनजीले प्रजातन्त्र मान्नुभएको छैन । जनतालाई सुसूचित गराई जनअभिमत प्राप्त गरी शासन सञ्चालन गर्ने अवसर प्राप्त गर्नु एउटा पक्ष हो भने प्रजातन्त्र त्योभन्दा ठूलो र संवेदनशील विषय हो । २०५६ चैत ३ गते प्रतिनिधिसभामा दिएको लिखित सम्बोधनमा आफ्नो झन्डै ६ दसक लामो राजनीतिक प्रयोग र अनुभवको सार खिच्दै किसुनजीले भन्नुभयो, 'मुलुक नसोचेको संकटको अवस्थामा छ । यो संकटको अवस्थाको कारण कहीं बाहिर छैन, हामीभित्रै छ । यसमा पद्धतिको कुनै दोष छैन । हाम्रो प्रवृत्ति दोषी छ ।

प्रजातन्त्रमा हुने राजनीति र गैरप्रजातान्त्रिक अवस्थामा हुने राजनीति एकै किसिमको हुँदैन तर हाम्रो राजनीतिका केही पात्रले दुवैलाई एकै ठानेको प्रतीत हुन्छ । प्रजातन्त्रको राजनीतिमा मूल्य, पद्धति र नैतिक पक्ष सशक्त हुन्छन् । तिनको अभावमा प्रजातान्त्रिक शासन पद्धति निर्धो हुन जान्छ र आजको हाम्रो संकट पनि त्यही नै हो ।' किसुनजीले आजभन्दा १७ वर्षअघि व्यक्त गर्नुभएको यी विचार आज अझ शाश्वत र सान्दर्भिक देखिएका छन् ।

किसुनजी प्रजातन्त्रको मूल्य, पद्धति र नैतिक पक्षलाई सजीव राखेर नेपालमा राजनीति नेतृत्व गर्ने झन्डै अन्तिम व्यक्तिको रूपमा रहनुभएको छ । देश, प्रजातन्त्र र पार्टीलाई आफूभन्दा धेरै ठूलो ठानेकै कारण आफूलाई पाँच वर्षको लागि प्रधानमन्त्री बनाउने भनी बहुमत ल्याइएको अवस्थामा आफ्नै नेतृत्वमा मध्यावधि निर्वाचनको घोषणा गर्ने सशक्त नैतिक आधार हुँदाहुँदै पनि उहाँले १० महिनामै प्रधानमन्त्रीबाट राजीनामा दिएर राजनीतिबाट झन्डै हराएको अवस्था स्विकार्नुभयो ।

मूल्य, पद्धति र नैतिकताको खडेरी परेकाहरूसँग सत्ता झगडामा अल्झिएमा ठूलो कष्टका साथ स्थापित प्रजातन्त्र संकटमा पर्ने र देश र जनताले अझ दुःख पाउनुभन्दा स्वयंले अपमानको घुट पिउनुलाई उहाँले श्रेयस्कर देख्नुभयो । निस्पृयताका यस्तै गुणहरूका कारण उहाँलाई सन्तनेता भनिएको हो । यो महानताको कोसौं टाढासमेत आजका राजनीतिक नेताहरू नभेटिनु नेपालले भोगेको आजको दुरवस्थाको प्रमुख कारण रहेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.