वर्णविन्यास विद्रूपीकरण

वर्णविन्यास विद्रूपीकरण

नेपाली लेखनपद्धति अर्थात् वर्णविन्यासलाई विकृत तुल्याउने कामको सूत्रपात २०३४ बाट त्रिविका गुरुहरूले गरेका हुन् । यसको संस्थागत कार्यान्वयन २०४० सालमा प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित नेपाली बृहत् शब्दकोश मार्फत भयो । त्यसमा आगन्तुक शब्दमा रहेका दीर्घ ई-ऊ लाई नेपालीकरण र नेपाली उच्चारणका नाममा ह्रस्व, जस्तैः जागिर, जुलुस, नतिजा, मन्जुर आदि पारियो भने पद वा दर्जा जनाउने शब्दलाई भने बहुप्रचलित भन्दै यथावत् राखियो, जस्तैः डीन, चीफ, ग्रीस ।

यस्तै श लाई स बनाएर शुरू लाई सुरु, स्टेशन लाई स्टेसन पारियो । आगन्तुक शब्दको वर्णविन्यासलाई यसरी बिगारिए तापनि त्यसको प्रखर विरोध भने भएन । त्यसका पछाडि कारण थियो- विकल्पमै भए पनि शुद्ध शब्दलाई स्थान दिनु । अरू अगाडि नआए पनि यसको विरोधमा पोखराका मुकुन्दशरण उपाध्याय उत्रनुभएको थियो ।

यसैबीच त्रिविका गुरुहरूले भाषाविज्ञान र उच्चारण अनि तद्भवीकरणका नाममा चाहिँदा नचाहिँदा नियम र उपनियम बनाउन थाले । यही मेसोमा नेपाली बृहत् शब्दकोश २०५८ को संस्करणको तयारी ५३-५४ सालदेखि शुरू भयो । यसका लागि तत्कालीन प्राज्ञ सदस्य डा. केशवप्रसाद उपाध्यायको संयोजकत्वमा 'शब्दकोश संशोधन मण्डल' बनेको थियो । त्यसका सदस्यहरूमा शरच्चन्द्र शर्मा भट्टराई, पं. हर्षनाथ भट्टराई तथा खगेन्द्रप्रसाद लुइँटेल हुनुहुन्थ्यो । शुरूमा संशोधन मण्डलले तीन महीनामा संशोधन 'पूरा गरेको' थियो, जुन त्यतिवेला हाँसो र व्यंग्यको विषय बनेको थियो ।

यो पंक्तिकार २०४९ सालदेखि प्रज्ञा प्रतिष्ठानमा सम्पादन पदमा कार्यरत थियो र प्रा.डा. योगेन्द्रप्रसाद यादवको संयोजकत्वमा गठित प्रज्ञा नेपाली कोश (व्युत्पत्तिमूलक) को कार्यकारी सम्पादकका रूपमा कार्य गरिरहेको थियो । यसैबीच केशव गुरुले मलाई संशोधन मण्डलमा समावेश गर्दै नेपाली बृहत् शब्दकोशको उक्त संशोधनलाई फाइनलाइज गर्न अनुरोध गर्नुभयो । त्यस क्रममा जब उहाँले शब्दकोशको प्रविष्टिको ढंग देखाउनुभयो, म स्तब्ध भएँ ।

भाषाविज्ञानका नाममा शब्दकोशको परम्परित प्रविष्टिलाई विस्थापित गर्ने अराजक प्रयास थियो त्यो । मैले उहाँलाई 'यसरी नै संशोधन भएको हो भने यस शब्दकोशको रहेसहेको साख पनि नरहने' भनेर अनुरोध गरें । केशव गुरु लगायत दुवै भट्टराई गुरुहरूलाई पनि त्यो मन परेको रहेनछ । अन्ततः त्यस प्रविष्टिले स्थान पाएन । त्यसपछि म लगायत शरच्चन्द्र शर्मा भट्टराई र पं. हर्षनाथ भट्टराई त्यस शब्दकोशको संशोधन कार्यमा लाग्यौं । दुई वर्षको परि श्रमबाट जे जस्तो हुन सक्थ्यो त्यस्तै निस्क्यो ।

म भने यस शब्दकोशको प्रविष्टिमा देखिएको विकृतिबाट सन्तुष्ट थिइनँ । नेपाली वर्णविन्यासलाई विकृत र अराजकताग्रस्त तुल्याउने काम मूलतः यसै शब्दकोशले गरेको हो । यसको पृष्ठभूमि तयार पार्ने काम २०५७ सालमा प्रज्ञाद्वारा आयोजित नेपाली वर्णविन्यास विषयक अधिगोष्ठीबाट भएको हो । गोष्ठीको छलफल र निर्णयका दस्तावेजलाई गहिरिएर हेर्ने हो भने त्यसले अति सामान्य प्रस्ताव बाहेक अरू केही गरेको थिएन ।

तर त्यसैको जगमा टेकेर, २०४० सालले खनेको खाल्डोलाई अझ व्यापक बनाई नेपाली भाषालाई त्यहाँ जाक्ने काम यो शब्दकोशले गर्‌यो । शब्दका दुई रूपलाई 'अब्लिक' दिएर एउटै प्रविष्टिमा राख्ने अराजकता रोक्न सफलता पाए पनि यसले भित्र्याएका अन्य विविध विकृति रोक्न हामी असमर्थ भयौं । आगन्तुक शब्दका शुद्ध रूपलाई पूर्णतः हटाएर तिनका वैकल्पिक र यथार्थतः अशुद्ध रूपलाई मात्र राख्ने योजना थियो त्यसमा । मैले भने जे पर्ला देखा जाएगा भनेर आफूले भ्याएसम्मका ठाउँमा शुद्ध रूप यथावत् राख्ने काम गरें ।

त्यसमा आगन्तुक शब्दका जे जति शुद्ध रूप रहन पुगेका छन् त्यसलाई यस पंक्तिकारले ' अनुशासनहीन' तवरमा तत्कालीन सिद्धान्तको अतिक्रमण गरेको रूपमा हेर्नुपर्छ । यस कोशमा संलग्न हुनुपरेकोमा मलाई आजसम्म पनि आत्मग्लानि भइरहेको छ । हुन त दुवै भट्टराई गुरुहरू पनि सन्तुष्ट हुनुहुन्नथ्यो, तथापि किन किन त्यसको प्रतिवाद उहाँहरूबाट भएन । आज दुवै जना स्वर्गे भइसक्नुभएको छ ।

२०४० सालको नेपाली बृहत् शब्दकोश भन्दा थप चार कदम विकृतितिर उन्मुख छ २०५८ को शब्दकोश । कुनै पनि सचेत भाषाप्रेमी प्रज्ञा प्रतिष्ठानको यस गतिविधिसँग सन्तुष्ट थिएन । यस्तै विकृतिको विरोधमा नेपाली भाषा प्रयोगकर्ता समूहको गठन भयो, जसको नेतृत्व प्रा. शरच्चन्द्र वस्तीबाट भयो । यसै क्रममाः २०६९ वैशाखमा पाटनमा प्रयोगकर्ता समूहको भेला भएको थियो । त्यस भेलामा, जसजसले भाषा बिगारेका छन् तिनीहरूलाई बहिष्कार गरिएको थियो । म चाहिँ डराई डराई र केही नबोली एउटा कुनामा बसेको थिएँ ।

त्यहाँ अनेकौं वरिष्ठ भाषासेवीहरूको उपस्थिति देखेर गद्गद पनि भएको थिएँ । किनभने, म पनि त त्रिवि र प्रज्ञा प्रतिष्ठानको गतिविधिसँग असन्तुष्ट थिएँ । हुन त नेपाली विषयकै प्राध्यापक भएको नाताले केन्द्रबाट जेजस्तो निर्देश आउँछ त्यसैलाई मान्न हामी बाध्य छौं । तर, साँच्चै भन्ने हो भने करीब करीब पञ्चान्नब्बे प्रतिशत त्रिविमै कार्यरत प्राध्यापकहरू त्रिविको यस क्रियाकलापबाट पूर्णतः असन्तुष्ट थिए र छन् । यसैको प्रतिक्रियास्वरूप नेपाली भाषा बचाऔं नामक एउटा अर्को संगठन पनि जन्म्यो जसको नेतृत्व गाउँले बलदेवले गरेका छन् ।

अहिले आएर २०५८ को शब्दकोशकै केही पात्रहरूले त्यसैलाई मानक मानी २०७२ को कोशलाई खारेज गर्नुपर्ने भनेर प्रज्ञा प्रतिष्ठानलाई जुन दबाव दिइरहेका छन त्यसभित्र निहित अन्तर्य बुझ्न गाह्रो छैन । आपूmलाई नेपाली वर्णविन्यासको सुधारका मसीहा भनेर तिनले जेजस्तो गतिविधि गरिरहेका छन्, त्यो भनेको आफैं धामी आफैं बोक्सी हुन खोजेको अवस्था हो । यतातिर सबै भाषाप्रेमी चनाखो हुनुपर्ने बेला भएको छ ।

सहप्राध्यापक, पाटन संयुक्त क्याम्पस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.