सरकारी निर्माण र भ्रष्टाचार

सरकारी निर्माण र भ्रष्टाचार

विभिन्न कालखण्डको भौतिक निर्माणको आआफ्नै विशेषता छ । लिच्छवी, मल्ल, शाह, राणा, २००७ सालपछिको खासगरी पञ्चायत, २०४६ पछिको बहुदलीय कालका निर्माणका स्वरूपहरूबीचको भिन्नता प्रत्यक्ष देख्न सकिन्छ ।

लिच्छवी र विशेषगरी मल्लकालका काष्ठकलाले भरिपूर्ण मन्दिर, दरबारहरू, शाहकालका दरबार तथा मन्दिर र राणाकालमा भित्र्याइएका बेलायती शैलीका भवनहरू देख्न पाइन्छन् ।

पञ्चायतकालमा निर्मित सामान्य देखिने गारो'ढलान र पिल्लरवाला भवनहरू, बहुदलीयकालमा त्यसैको निरन्तरता (बढ्दो पिल्लर सिस्टम) र केही वर्षयता आधुनिक र आकर्षक देखिने अलुमिनम पाता र बेल्जियम सिसाले छोपिएका पिल्लरवाला भवनहरूको निर्माण बढ्दो छ ।

२०७२ वैशाख १२ को विनाशकारी भूकम्पबाट लाखौं घर भत्किए, चर्किए । तीमध्ये ११ हजार सरकारी भवन पूर्ण रूपमा र १५ हजार आंशिक रूपमा क्षति भए । पुराना र जीर्ण सरकारी भवन भत्किनु स्वाभाविक हो ।

नागरिकका पुराना र जीर्ण घरहरूबारे चासो र निगरानी राखेर धनजनको क्षति हुनबाट बचाउनुपर्ने राज्यले आफ्नै स्वामित्व र नियन्त्रणमा रहेका पुराना र जीर्ण भवनहरूको बेवास्ता किन गर्‍यो ? यसको आशय, भूकम्पले सरकारी भवन भत्किनै नपर्ने भन्ने होइन । कुरा हो, नयाँ बनेका पनि भत्किए वा नराम्ररी क्षतिग्रस्त भए ।

कतिपय मल्लकालीन धरोहरहरू पूरै ढले । राणाकालीन बेलायती शैलीका सिंहदरबार, शीतल निवास, सिंहमहल, शशीभवनलगायत ठूला भवनहरूका आयु ढल्किएकै ठहरियो । सर्वोच्च अदालतलगायत तुलनात्मक रूपमा नयाँ भवनहरू पनि क्षतिग्रस्त भए ।

ठूलाठूला नयाँ सरकारी भवन र संरचनाहरू पनि कमजोर र जोखिमयुक्त ठहरिए । भर्खरभर्खर बनेका ठूलाठूला अपार्टमेन्टहरू चर्किए, क्षतिग्रस्त भए ।

ठाउँ विशेषका कारण (विज्ञहरूका भनाइअनुसार)ले पनि होला कतिपय क्रंक्रिटका नयाँ घरहरू पनि नराम्ररी ढले । ती नयाँ भवनहरू क्षतिग्रस्त हुनुमा प्राविधिक त्रुटि र ज्ञानको कमीलगायत निर्माणमा हेलचेक्रयाइँ र मनपरी, आर्थिक प्रलोभन र कमसल निर्माण सामग्रीको प्रयोग आदि उत्तिकै जिम्मेवार छन् ।

एउटा सुखद् पक्ष, कंक्रिटका अधिकांश निजी घरहरू ढलेनन्, केही सामान्य चर्किए पनि बस्नै नहुने भएनन् । माथिका दुवै अवस्थाबाट प्राविधिक र निर्माण व्यवसायीहरूले पाठ सिक्नुपर्छ । कस्ता घर ढले'ढलेनन्, सुरक्षित रहे'रहेनन् ? भन्नेबारे अध्ययन र अनुसन्धान भइरहेका होलान् । पहाडी भेगका घरहरू जुन आकारप्रकार नमिलेका गोला र ससाना ढुंगाहरूले बनेका छन्, ती एकले अर्कालाई राम्ररी नअँठ्याइएका कारण भूकम्पबाट सन्तुलन सजिलै खल्बलिएर भत्किए ।

नयाँ सविधानअनुसार संघीय र प्रदेशका संसद्, न्यायालय, नगरपालिकालगायतका भवन बन्लान् । कम्तीमा तिनका बनोट र स्वरूपमा एकरूपता दिई राष्ट्रियताको पहिचान दिन सकिन्छ । कम्तीमा यो संसद् भवन, यो न्यायालय, यो नगरपालिका भन्ने त झल्कियोस् ।

धेरै सरकारी भवन र संरचना जीर्ण छन्, जोखिमयुक्त छन् । ती कुनै पनि बेला ढल्न सक्छन्, जसका लागि अर्को ठूलो भूकम्प कुर्नु पर्दैन ।

सरकारी संरचनाहरू पुराना भएकाले मात्र जीर्ण भएका होइनन्, न्यूनतम स्याहार र मर्मतसम्भार नभएर भएका हुन् । केही वर्षअघि मैले सिंहदरबारदेखि विभिन्न सरकारी भवन र दरबार स्क्वायरमा उमे्रका झारपातबारे झक्झक्याउने प्रयास गरेँ । विभिन्न तस्बिरसहित प्रधानमन्त्री (त्यतिखेर माधवकुमार नेपाल) लाई नै सम्बोधन गरेर निवेदन दिएँ । सुनुवाइ भएछ, प्रधानमन्त्रीले उक्त कुरा बैठकमा उठाएछन् ।

भवनको आयु घटाउने अर्को प्रमुख कारण हो, छाना । समथर छाना चुहिने सम्भावना बढी रहन्छ । कम्तीमा सरकारी भवनहरूमा भिरालो छाना अनिवार्य गर्नुपर्ने भनी केही वर्षअघि झक्झक्याएको थिएँ । अहिले सिंहदरबारभित्रका धेरै नयाँ भवनहरूमा तल्ला थपेर भिरालो छाना राखिएका छन् ।

मेरै पूर्व कार्यालय नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)का केन्द्रदेखि विभिन्न जिल्लास्थित छाना चुहिने समस्या भएका कार्यालयहरूमा ट्रस राख्नमा मैले जोड दिएँ । यसले पानी चुहिने समस्या समाधान भयो भने अर्को गर्मी ठाउँमा तलको तलामा शीतलसमेत भयो ।

निजी घरहरूमा पनि पछिबाट ट्रस राखिएको धेरै देखिन्छन् । मुख्य कुरा, पानी नचुहिएपछि भवनको टिकाउ बढी हुन्छ । कम्तीमा सरकारी भवनहरूमा भिरालो छाना अनिवार्य गर्नैपर्छ ।

भूकम्पपछि भवन निर्माणसम्बन्धी नयाँ मापदण्डहरू बने । ती लागू भए भएनन् ? सम्बन्धितले नै जानून् । संरचना निर्माण गर्न नक्सा पास गर्नुपर्छ । नक्साबमोजिम बने बनेनन् त्यो पाटो बेग्लै छ । तर, अधिकांश सरकारी संरचना बिनानक्सापास बनेका छन्, बन्ने गरेका छन् ।

अर्को, सरकारी निर्माणका लागि कुनै निश्चित आकृति र मापदण्ड छैन, जसलाई जे मन लाग्यो त्यही र जहाँ मन लाग्यो त्यहीँ निर्माण गर्ने गरेका छन् । बजेटमुताबिकको ड्रइङ, डिजाइन र इस्टिमेट हुने गर्छ । इन्जिनियर'ओभरसियर सीधै सोध्छन्, बजेट कति छ ?

झ्वाट्ट सुन्दा जो कसैलाई लाग्छ, बजेटअनुसारै त हुन्छ । हाँसोलाग्दो कुरा के छ भने बजेट पुग्दैन भनेर भर्‍याङै नराख्ने, भर्‍याङै नछोप्ने, झ्यालै नराख्ने आदि किसिमले डिजाइन इस्टिमेट गरी भवन निर्माण गर्छन् । यो म आफैले अनुगमनमा देखेको छु ।

नयाँ सविधानअनुसार संघीय र प्रदेशका संसद्, न्यायालय, नगरपालिकालगायतका भवन बन्लान् । कम्तीमा तिनका बनोट र स्वरूपमा एकरूपता दिएर राष्ट्रियताको पहिचान दिन सकिन्छ । कम्तीमा यो संसद् भवन, यो न्यायालय, यो नगरपालिका भन्ने त झल्कियोस् ।

अमेरिकामा मैले एकरूपता दिएको देखेँ । यसको अर्थ अरूकै अनुसरण गर्ने भन्ने होइन । राम्रा कुरा लिँदा नराम्रो हुन्न ।

सरकारीस्तरमा २५'३० वर्षयता बनेका संरचनाहरू त्यसअघि बनेकाभन्दा कमजोर, गुणस्तरहीन र दूरदृष्टिविहीन छन् । यो मैले नार्कमा काम गर्दा देखेको छु । यसो हुनुमा चरम आर्थिक चलखेल, प्राविधिक कमजोरीलगायत हेलचेक्रयाइँ, गुणस्तरहीन निर्माण सामग्री आदिको प्रयोग प्रमुख कारण हुन् ।

ठेक्का पाएपछि ठेकेदारले मोबिलाइजेसनबापत सुरु किस्तास्वरूप बुझ्ने चेकदेखि काम गर्दै जाँदा पहिलो, दोस्रो, तेस्रो आदि (रनिङ बिल) बिलको भुक्तानी पाउन र काम सकेर अन्तिम बिलको भुक्तानी र जाँचपास (अहिले छैन) सम्म कमिसनको चक्कर छ ।

ठेकेदारले प्रत्येकपटक चेक हात परेपछि निश्चित रकम बुझाउँछन् । यो ‘ओपन सेक्रेट' टेन्डरद्वारा गरिने ठूला रकमदेखि ससाना कोटेसन र अमानतमा गरिने निर्माणकार्यसम्ममा लागू हुन्छ । केही महिनाअघि व्यवस्थापिका संसद्को सम्बन्धित समितिमा यसबारे ठेकेदारहरूले २५ प्रतिशतसम्म मन्त्रीलगायतले सीधै माग्छन् भनेकै हुन् । यी सबै अतिरिक्त खर्चसहित ठेकेदारले नाफा निकाल्नुपर्ने हुन्छ ।

यतिमात्र हो भने त ठेकेदारले १५-२० प्रतिशत थप गरी टेन्डर भर्दा पुग्थ्यो । ठेकेदारले पनि बढीभन्दा बढी फाइदा लिनै पर्‍यो, अनि अरूसँग प्रतिस्पर्धा गरी ठेक्का आफ्नो पक्षमा पार्नै पर्‍यो । यी सबै खेलबीच हुने निर्माण कस्तो होला ?

चाहे त्यो पिच गरेको एक हप्ता नबित्दै भत्केको कालोपत्र होस्, भर्खरै बनेको भवनमा उप्केका प्लास्टर'भुइँ, चर्केका गारो, चुकुल नलाग्ने झ्यालखापा, चुहिएको छाना, छत आदि ।

१२'१५ वर्षयताको स्थिति अझ फरक छ । कुनै पक्षहरूको मिलेमतोमा डनहरू प्रयोग गरी अरूलाई टेन्डर फाराम नै खरिद गर्न नदिने वा टेन्डर फाराम दर्ता गर्न नदिने गर्छन् । टेन्डर खोल्ने दिन सम्बन्धित कार्यालयमा बिहानैदेखि प्रहरी तैनाथ गरिन्छ ।

किनकि बिहानैदेखि ठेकेदारहरूले खटाएका र स्थानीय डनहरू आफ्नो पक्षलाई टेन्डर पार्न वा टेन्डर पार्नेबाट निश्चित भाग लिन तम्तयार भएर बसेका हुन्छन् । यो चलन प्रारम्भ भएका सुरुका वर्षहरूमा ती जत्थाबीच झगडा हुने गथ्र्यो र ‘जसका लाठी उसका भैंस’ हुन्थ्यो । कार्यालयमा तनाव हुन्थ्यो, दबाब पथ्र्यो ।

अहिले धेरैजसो शाखा कार्यालयले केन्द्रीय कार्यालयमा टेन्डर बुझाउने र खोल्ने गर्छन् । स्थानीयस्तरमा झमेला र तनाव कम भए पनि कामको गुणस्तरमा सुधार आएको छैन । आजभोलि ठेकेदारीमा मिलेमतो व्यवसायकै रूपमा फस्टाएको छ ।

आपसमा झगडा नगरी आआफ्नो औकातअनुसार मिलिजुली भागबन्डा मिलाउँछन् । यिनै कुरालाई निरुत्साहित गर्न भनी इ–बिडिङको थालनी भयो । ५० लाखभन्दा माथिको अनुमानित लागत कार्यका लागि ई–बिडिङ अनिवार्य गरियो । यो करिब तीन वर्षअघिको कुरा हो ।

तथापि, यसका विज्ञहरू स्वयं यो खासै प्रभावकारी नभएको दाबी गर्छन् । ई–बिडिङले गुन्डा लगाएर बाहिर बलजफ्ती गर्नेलाई रोक्ला तर भित्रभित्रै खेल्नेहरूलाई र ठेक्कामा प्रवेश गरेपछिको कमिसनको चक्करलाई रोक्दैन ।

सार्वजनिक खरिद ऐन र नियमावलीको विडम्बना सस्तोमा जसले कबोल गर्‍यो त्यसैले ठेक्का पाउनुपर्नेछ । अर्कोतिर ठेकेदारले लागत अनुमानभन्दा ४०'५० प्रतिशतसम्म घटेर ठेक्का कबोल गर्ने । अनि हुन्छ के ? त्यसरी कम रकममा ठेक्का कबोल गर्नेहरूको एउटा तरिका हुँदो रहेछ । पहिला गर्नुपर्ने, सजिलो र सस्तो कामको महँगो दरभाउ राख्ने र पछि गरिने र कठिन कामको दरभाउ सस्तो राख्ने ।

अनि सजिलो र सस्तो काम सक्काएर त्यसको भुक्तानी लिएपछि बाँकी काम छाडेर हिँड्ने । कतिपय सरकारी निर्माणकार्य वर्षौंवर्षसम्म पनि सम्पन्न नभई लथालिंग हुनु यसैको परिणाम हो । यस्तोमा दोषीलाई कुनै ठोस कारबाही गर्न सकिने प्रावधान छैन ।

मेरो एउटा अनुभव यस्तो छ— करिब १४ वर्षअघि धनुषाको हर्दिनाथस्थित कार्यालयमा दुइटा आवास भवन निर्माण सम्पन्न नगरी ठेकेदारले बीचैमा छोडेर हिँडे । त्यसलाई पूरा गराउन धेरै प्रयास गरियो, सकिएन । बल्ल दुई वर्षपहिले नयाँ प्रक्रिया र नयाँ बजेटले ती भवनको निर्माण कार्य सम्पन्न भयो ।

केही दिनअघि प्रधानमन्त्रीको कार्यालयसम्बद्ध सार्वजनिक खरिद अनुगमनका एकजना पूर्वसहसचिव, जो आफैं पेसाले सिभिल इन्जिनियर पनि हुन्, उनीसँग सार्वजनिक खरिदसम्बन्धी केही कुराकानी गर्ने मौका पाएँ । उनका अनुसार हामीकहाँ करारबमोजिम काम नगर्ने फर्म वा निर्माण कम्पनीलाई कालो सूचीमा राख्ने नियम छ तर तिनका मालिक (व्यक्ति) कालो सूचीमा पर्दैनन् ।

सबैलाई थाहा छ, समस्या यहीँ छ । बदमासी मानिसले गर्छ, फर्म'कम्पनीले होइन । फर्म'कम्पनी बन्द हुन्छ, अर्को नयाँ नामले फेरि ठगी सुरु हुन्छ । सरकार र नीतिनिर्माण तहमा रहेकाहरूलाई यो थाहा छ, तर किन यस्ता प्रवृत्तिलाई निरुत्साहित गर्ने नियमकानुन बन्दैन ? जबसम्म सार्वजनिक खरिद ऐनमा आमूल परिवर्तन गरिन्न र कमिसनतन्त्रलाई कडाइका साथ नियन्त्रण गरिन्न तबसम्म गुणस्तरीय निर्माण र खरिद कार्य सम्भव छैन ।

अब बन्ने सरकारी संरचनाहरूका लागि आकारप्रकारसहितका निश्चित मापदण्ड बन्नुपर्छ । सबै कार्यालयले आफ्नो कामका अतिरिक्त निर्माण तथा मर्मतसम्भार पनि सम्हाल्दै आएका हुन्छन् । तिनलाई निर्माणसम्बन्धी कुनै ज्ञान नहुन सक्छ । त्यसले गर्दा कतिपय सरकारी संरचना गतिला बनेका हुन्नन् ।

यसरी निर्माण कार्यमा संलग्न हुनुपर्दा सम्बन्धित कार्यालयको मूल काममा बाधा पर्ने र कुनै कुनियत नराख्दा नराख्दै पनि व्यवस्थापन आर्थिक मामिलामा फस्न सक्छन् र फसेका छन् । तसर्थ, सरकारी संरचनाहरूको निर्माण तथा मर्मतसम्भार कार्य सम्बन्धित कार्यालयको आवश्यकताबमोजिम सहरी विकास तथा भवन निर्माण विभाग र अन्य सम्बन्धित निकायअन्तर्गतका संयन्त्रबाट गराइनुपर्छ । यसले निर्माण र गुणस्तरमा एकरूपता कायम हुन्छ र विभिन्न प्रयोजनका लागि स्थापित कार्यालयहरूले बिनाझन्झट आफ्नो काम गर्न पाउनेछन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.