अविनाशको आँखामा बिम्बित विनाश

अविनाशको आँखामा बिम्बित विनाश

अविनाश श्रेष्ठको अधिकांश कविता पढ्दा मलाई जहिल्यै कुनै पौष्टिक स्वादिष्ट व्यञ्जन लिँदाजस्तै अनुभूति हुन्छ । यस्तो अनुभूति मलाई उनको पछिल्लो कवितासंग्रह 'करोडौं सूर्यहरूको अन्धकार'ले दिएको छ । यसको शीर्षकबाटै यो काव्यकृतिको स्वर तथा सौन्दर्यानुभूति उनका अघिल्ला तीन संग्रह 'परेवा सेता काला', 'संवेदना ओ संवेदना' र 'अनुभूति यात्रामा'भन्दा निकै भिन्दै भएको संकेत मिल्छ । ती अघिल्ला तीन काव्यकृतिहरूले छुट्टै अध्ययनको माग गर्छन् । कवि अविनाशको समग्र काव्यकृतिमा पाइने विशिष्ट शैली-शिल्प र बिम्ब-विधान यौटा यस्तो आकर्षक फाँट हो जसले पहिलेदेखि नै सिर्जनात्मक समालोचनाको नांगो दृष्टि पर्खिराखेको छ ।

यो लेखमा 'करोडौं सूर्यहरूको अन्धकार'का केही कवितामाथि एक पाठकीय चर्चा राख्ने प्रयास गरिएको छ । आधुनिकतावादी प्रभाव-अवधि पार गरिसकेपछि समकालीनताको विस्तृतिमा तीक्ष्ण संवेदनाको मसीले सूक्ष्म सृजनमय स्वरांकन गर्न थालेका कवि श्रेष्ठको यो कवितासंग्रहमा अधिकतर कविता पर्यावालोचनात्मक अर्थात् पारिस्थितिकीय (इकोक्रिटिकल) सौन्दर्यचेतले बढी प्रेरित भएको पाइन्छ ।

पर्यावरणीय चिन्ता र चिन्तनले साहित्य सिर्जनामा साठीको दशकदेखि नै सचेततापूर्वक भूमिका खेल्न थालेको भए पनि एक विशिष्ट विमर्शकै रूपमा पारिस्थितिकीय सौन्दर्यचेत उपस्थित भएको भने ढाई/तीन दशकभन्दा बढी भएको छैन । समकालीन साहित्यमा पर्यावालोचना विविध क्षेत्र समेटेको विमर्श हो । यसले संस्कृति, विज्ञान, राजनीति, भूगोल, इतिहास, समाजशास्त्र, अर्थशास्त्र, धर्मशास्त्र, नैतिकता, मनोविज्ञानजस्ता विविध विषयलाई अक्टोपसीय अँगालोले समेटेको हुन्छ । यस्ता बहुविध ज्ञानानुशासनको अन्तर्सम्बन्धबाट उठ्ने विमर्शकै दृष्टिले नियाल्दा 'करोडौं सूर्यहरूको अन्धकार'ले सिर्जेको आख्यान तथा वाक्वैधिग्ध्य बढी स्पष्टतासित दृष्ट हुनसक्छ अनि आस्वाद्य पनि ।

सन् १९६२ मा प्रकाशित अमेरिकी आख्यानकार रेचेल कार्सनको पुस्तक 'साइलेन्ट स्प्रिङ' (मौन वसन्त)ले पहिलोपल्ट भावी पर्यावरण तथा पारिस्थितिक प्रणालीको भयावह चित्रण गरेर मानिसहरूको चेतनालाई बेस्सरी झक्झकायो । अविनाशको कविता 'भोलिको गीत' कार्सनको त्यही आख्यानात्मक परिकल्पनासँग तुलनीय छ ।

हुन त साहित्यमा पर्यावरणिक चेतले अघि सारेको चिन्ता र चिन्तनलाई एक विशेष वर्गको सोचबाट बुनिएको एक निर्मिति (कन्स्ट्रक्सन) मात्र हो भन्ने आलोचक तथा अध्येताहरू पनि छन् । प्रकृति पनि एक सांस्कृतिक रचना (कल्चरल कन्स्ट्रक्सन) मात्र हो भन्छन् उनीहरू । (निर्मिति भन्नेबित्तिकै त्यसले परोक्षतः ध्वंशपनि निम्त्याइरहेको हुन्छ) र यो रचना देखाउन सर्जकले अलंकारको माध्यम अपनाउँछ । महाप्रालयिक अलंकार (अपोक्यालिप्टिक रेटोरिक)को यौटा नमुना उक्त कविताको पुछारतिरबाट टिपौं -

'मेरो खनातिकी आमाले
आफ्नो नाबालक छोरालाई
सबैभन्दा पहिले चिनाउनेछिन दुःखजस्तै फैलिएको मरुभूमि
र भन्नेछिन्ः
'बाबा !
तिम्रा जिजु-पुर्खा अदूरदर्शी पिचास थिए...'

०००

कुनै विशेष राजनीतिक उद्देश्यले निर्देशित भएर होस् वा वैज्ञानिक तथ्यका आधारमा उभेर होस्, रचना सिद्धान्तका प्रवक्तालाई त्यसै पन्छाउन भने मिल्दैन । पर्यावालोचकहरूले यो चुनौती स्वीकार्दै अवधारणा साथै प्रकृति साँच्चै अस्तित्ववान् हुनुको वास्तविकतालाई समानान्तर दृष्टिमा राख्नुपर्ने हुन्छ । अलंकार पनि एक रचना नै हो । यसलाई माक्र्सवादी समालोचक टेरी इगल्टनले 'संसारमा साहित्यिक समालोचनाको प्राचीनतम रूप' मान्छन् ।

कवितामा कविले जीवन-जगत्बारे यस्ता अलंकारहरू कल्पेका अर्थात् सिर्जेका हुन्छन् । म्याथ्यु आर्नोल्डले पनि कवितालाई 'जीवनको समालोचना' भनी परिभाषित गरेका छन् । कवि अविनाश श्रेष्ठले उक्त कवितामा तथा पछिल्ला पृष्ठका अन्य कवितामा सिर्जेका अपोक्यालिप्टिक रेटोरिक (महाप्रालयिक अलंकार) पनि वास्तवमा समकालीन पर्यावरणिक स्थितिको तीव्र्र काव्यिक समालोचना नै हो ।

मान्छे जिउने प्रकृति र पृथ्वीको वर्तमान स्थिति एवं अवस्थाप्रति अतीव संवनशील भई तीक्ष्ण पर्यावालोचकीय दृष्टिले हेर्दा कविले मान्छेको भयावह भविष्य भेट्टाउँछन् । मान्छेले आफ्नै असंवेदनशील हातले द्रुत गतिमा लेख्दै गइरहेको भावी जगत्को विद्रूप चित्र ती आँखाले मात्र देख्न सक्छ जसले मान्छे र प्रकृतिलाई अद्वैत अस्तित्वको रूपमा देख्छ ।

पर्यावरणवादी सिद्धान्तका केही उग्र रूपमध्ये गहन पारिस्थितिकी (डिप इकोलजी) बढी प्रभावकारी रहेको देखिएको छ । साधारणतः पर्यावरणवादी अवधारणाहरू मानवकेन्द्रित रहेका देखिन्छन् भने गहन पारिस्थितिकी प्रकृतिकेन्द्रित हुन्छ जसभित्र अभेद्य छ मानव अस्तित्व । अघिल्लोले यावत् प्रकृतिलाई मानिसको रचना मानेर वस्तुवादी दृष्टि राख्छ भने पछिल्लोले जीव-अजीव समग्रप्रति समतावादी दृष्टि राखी सबै नै एकापसमा अन्योन्याश्रित रहेको देख्छ । पारम्परिक पाश्चात्य सांस्कृतिक तथा धार्मिक मूल्यले मानव र प्रकृतिको द्वैत अर्थात् पृथकपृथक सत्ता देख्छ अनि प्रकृतिलाई मानिसहरूको निमित्त भोग्या ठान्छ जसको सोझो प्रतिपक्षमा उभिन्छ डिप इकोलजी । पूर्वीय सांस्कृतिक मूल्यले प्रकृतिलाई सदैव पूज्य ठान्छ ।

आधुनिक युगसँगै पाश्चात्य सभ्यताको विश्वव्यापी विस्तार भएपछि उतैको मूल्य-मान्यताको प्रभाव एसियाली-अफ्रिकेली परम्परा र संस्कृतिमा पनि पर्‌यो । तथापि पूर्वमा प्रकृति पुज्ने संस्कृति निमिट्यान्न भइहालेको छैन । कार्ल युङ्लाई अनुसरण गर्दै भन्दा- युगौं पुरानो पूर्वीय सांस्कृतिक मूल्य यहाँको सामूहिक अवचेतनमा सञ्चित छ अनि त्यही मूल्य कवि अविनाशको अवचेतनमा पनि ।

पञ्चमहाभूत, भोलिको गीत, जंगलः एउटा सलिलकी, निर्जल प्रलय, करोडौं सूर्यहरूको अन्धकार, चोभार जस्ता कविताहरू गहन पारिस्थितिकीको प्राणले ढुकढुकाइरहेको संवेदनाबाट मात्रै निःसृत हुन सम्भव छ । सारा परिवेशमण्डल (इकोस्फेयर)कै आफू एक अक्षुण्ण अंग रहेको अनुभूत गरेपछि नै यति सूक्ष्म संवेदना जागृत हुन्छ तर त्यसरी संवेनशील हुनु यौटा कुरो हो, त्योे संवेदनशील चैतन्यलाई सजीवतापूर्वक काव्यचित्रमा उभ्याउनसक्नु अर्कै कुरा । त्यसका लागि त्यही तहको कवित्वशक्ति आवश्यक हुन्छ जुन यी कविताहरूमा देखिन्छ । जंगल मासिएपछिको भावी परिवेश कविले यसरी चित्रण गर्छन् -

'बिलखबन्दमा पर्नेछ बतास
पातहरूसित हातेमालो हराउँदा
विषादमा डुब्नेछ जून
खोला र जंगलसित लुकामारी बिलाउँदा
निसास्सिनेछ रात
रूखहरूसँग निर्धक्क निदाउन नपाउँदा
लहडी घामले सूर्यको प्रशंसामा
युगौंदेखि गाउँदै आएको न्यानो गीत
एक दिन अलप हुनेछ'
(जंगलः एउटा सलिलकी)

यो सूक्ष्म र मर्मस्पर्शी शब्दचित्रले प्रकृतिका जम्मै तत्त्वहरूको महत्त्वबोध गराउँछ । उन्नाइसौं शताब्दीको थालनी हुँदानहुँदै अंग्रेजी साहित्यमा स्वच्छन्दतावादी युग लिएर आउने त्यस युगका शीर्ष कवि विलियम वर्ड्सवर्थको (साथै अन्य रोमान्टिकहरूको) प्रकृतिप्रतिको उत्साह आजको पारिवेशिक चिन्तासित मेल खाँदैन । साधारणतः पाश्चात्य रोमान्टिकहरूको प्रकृतिप्रतिको सरोकार मानवकेन्द्रित नै देखिन्छ । निजी अनूभूतिसहितको प्रकृति चित्रण नै उनीहरूको बढी सरोकार थियो ।

उनीहरू प्रकृतिलाई केवल भावनाको आँखाले हेर्थे । नदीका छाल हेरेर तरंगित हुने तिनका आँखाले छालहरूमा हराउँदै गइरहेको वेग देख्ने दृष्टिको निर्माण भइसक्ने बेला भइसकेको थिएन सायद त्यति बेला । तर आजका कवि अविनाशको कवितामा अत्यन्त संवेदनमय र अनुभूतिमय प्रकृति निजी सत्वको श्वास फेर्दै हामीसित आत्मीय संवाद गर्छ । हुन त हामी स्वयंले आफैंलाई 'सर्व श्रेष्ठ' प्राणी भन्न थालेका हौं, स्वघोषित 'सर्व श्रेष्ठ' !

त्यसो त रोमान्टिकहरू जुन प्रकृति हेरेर मक्ख पर्थे, आज पर्यावरणवादीहरूले जोगाउन खोजेको प्रकृति त्यो होइन । त्यस समयमा प्रकृतिमाथि आजजस्तो गम्भीर खतरा आइपरेको थिएन पनि । रोमान्टिकहरू प्रकृतिप्रति त्यसको बाह्य सौन्दर्यले मोहित हुन्थे । तर आज गहन परिवेश विमर्श गर्नेहरू प्रकृतिको हृदय-स्पन्दन सुनेर संवेदित हुने गर्छन् । र प्रकृतिको यै सूक्ष्म हृदय-स्पन्दन प्रतिध्वनित सुन्छौं अविनाशका यी कविताहरूमा ।

पुस्तककै नाम बन्न पाएको कविता 'करोडौं सूर्यहरूको अन्धकार' कथ्य र कथनले मात्र होइन आयतनकै हिसाबले पनि संग्रहको प्रमुख कविता हो भन्न मिल्छ । यस कवितामा देखिन्छ कविको सबभन्दा बृहत्, सबभन्दा त्रासद अलंकार । मानौं, गहन परिवेश-विमर्शको थानमा चिन्ता बसेको कवि-झाँक्रीले यो अन्तिम वाण मन्त्र फलाकेर हानिपठाएको हो ! पाँच भागमा विभक्त अनि पुग, नपुग नौ पृष्ठ ओगट्ने यो कविताले चर्को आवाजमा बकेको छ पृथ्वीको आयुबारे । अनि 'हाम्रो समयका ईश्वरको अवसान'बारे ।

विभिन्न धार्मिक ग्रन्थमा संसार र सृष्टिको प्रालयिक अन्त्य भएको वा भविष्यमा पुनः हुने मिथक छन् । तीमध्ये 'ओल्ड टेस्टामेन्ट' बाइबलको जिनेसिस र अध्याय ६, ७, ८ मा वर्णित जलप्रलय बढी प्रसिद्ध छ । त्यस्तै जलप्रलयको मिथ इमानसिंह चेम्जोङको 'किरात मुन्धुम'मा पनि पाइन्छ । हिन्दु धर्मशास्त्रहरूमा पनि सृष्टि, अन्त्य, पुनःसृष्टिबारे कथाहरू छन् । सत्य, त्रेता, द्वापर, कली- यी चार युगको समाप्तिपछि महाप्रलय हुने भन्ने हिन्दु विश्वास छ ।

श्रीमद्भागवत महापुराणको अष्टम् स्कन्धको चौबीसौं अध्यायमा मत्स्यावतार धारण गरेका भगवान् विष्णुले जलप्रलय गरी सृष्टि अन्त्य गरेको अनि फेरि दीर्घ निद्राबाट ब्रह्मा ब्यूँझेपछि नयाँ सृष्टि भएको कथा छ । चाखलाग्दो के हो भने यहाँ उल्लेखित तीनै धर्मग्रन्थमा जलप्रलयद्वारा नै प्रलय हुने र ती सबै प्रलय पृथ्वीमा पाप बढेर त्यसलाई विनष्ट गरी नयाँ सुरुआत गर्नुपर्ने आवश्यकताका कारण रहेको उल्लेख छ ।

समसामयिक वैज्ञानिक अध्ययनअनुसार पृथ्वीको बढ्दो तापमान (ग्लोबल वार्मिङ)का कारण उत्तरी र दक्षिणी ध्रुवको हिममहादेश पग्लँदै गइरहेको अनि समुद्रको सतह वर्षैपिच्छे बढिरहेको सन्दर्भले भविष्यमा जलप्रलय नहोला भन्न सकिन्न । पर्यावरण-सचेत कवि अविनाश श्रेष्ठ यस्तो 'निर्जल प्रलय'को तीव्र सम्भावना व्यक्त गर्छन्-

'सुदूर भविष्यको
कुनै भष्मासुर प्रहरमा
पृथिवीले
झेल्नुपर्ने त हैन कतै
निर्जल प्रलय !'

पर्यावरणविद्हरू अहिले नै भन्न थालेका छन् संसारमा अब हुने युद्ध पानीको निमित्त हुनेछ । दृष्टान्तहरू ठाउँठाउँमा देखिन थालेका छन् । 'जंगलः एउटा सलिलकी'मा पनि उस्तै शुष्क प्रालयिक भविष्यवाणी छ ।

'करोडौं सूर्यहरूको अन्धकार'मा कवि सृष्टिविनाशको प्रारम्भिक भूमिका यसरी लेख्छन्ः
लुप्त हुँदैछ/बाघ जसरी नै- आस्था/घट्दै छ/माटोभित्र पानीको सतह जसरी नै- मित्रता/झर्दैछन्/एक-एक गरी/शिशिरमा रूखका पातसरि - शिष्टता/भद्रता/आचार/विचार/सदाचार...

दाशयी मानवीय गुणहरूको ह्रासलाई पर्यावरणिक क्षयीकरण तथा विलुप्तिसित सामञ्जस्यमा राखी अघि सारिएको यो काव्यिक कोलाजचित्र कविताका पछिल्ला भागहरूको प्रिल्युड हो । पृथ्वी र प्रकृतिमाथि जबरजस्ती गर्ने तथाकथित सभ्य मानिसहरूमाझ सदाशयता, सहृदयता अर्थात् संवेदना सुकेपछि नै 'पृथ्वीको मृत्यु अनिवार्य' देख्छन् कवि । तर 'फेरि पनि र अकाल मृत्युबाट जोगाउँदै धरतीलाई र बनाउनैपर्छ दीर्घजीवी ।'

कविताको दोस्रो भागमा कवि प्रकृतिसितको तादात्म्यबाट उत्प्रेरित हुने सौन्दर्यबोध र जिजीविषा तरंगित गर्छन् । यो सौन्दर्यबोधको चाक्षुष र आनुभूतिक चित्र हाराहारी राखेर कविले बढो आकर्षक ढंगमा हाम्रा आँखाअघि टाँगिदिएका छन् । यसरी -

'पृथिवीगर्भको आगोसँगै रातो रंग - उन्मत्त संघर्षको ।
आकाशसँगै नीलो रंग - सुकोमल सपनाको
घामसँगै स्फटिक रंग - अलभ्य जीवन्तताको
रूखसँगै हरियो रंग - अपार्थिव सजीवताको
तोरीका फूलसँगै पहेँलो रंग - अधीर जिजीविषाको
चराको प्वाँखसँगै छिरबिरे रंग - उड्ने आकांक्षाको
प्रगाढ रातसँगै कालो रंग - निविड रहस्यको
आमाको दूधसँगै सेतो रंग - अमर अपनत्वको'

यी सबै हराउनु मान्छे र प्रकृतिबीच तादात्म्य हराउनु हो । यसरी एकापसको आडभरोसा बिलाउनु भनेको पृथ्वीमा मृत्युको चिसो हिउँ निम्त्याउनु हो । अनि करोडौं सूर्यहरूको अन्धकार ! हो, यिनै कुरा बिलाएर गइरहेको देखेर असाध्य चिन्तित बनेका कविका आँखाअघि पृथ्वीको अन्धकारमय भविष्य उभिन्छ । यस कवितामा टड्कारो विपर्यास उभ्याइएको उक्त उद्धृतांशको स्वर सबैभन्दा सुन्दर र कोमल सुनिन्छ । यो विपर्यासको काव्यप्रविधिद्वारा कविताको रहल अंशमा देखाइएको मानिसहरूको असंवेदनशील कृत्य अनि त्यसको परिणाम सम्भावित प्रलयको अन्धकारमय विद्रुपता ज्यादै टड्कारो गरी खिँचिएको छ ।

कविताको तेस्रो खण्डमा देख्छौं वनविनाश र सिमसारहरूको लोप । यहाँनेर कवि श्रेष्ठ एक सामान्य पर्यावरणवादी सचेतक तथा उपदेशक जस्तो बोल्छन् ।

खण्ड चार अनि पाँचमा चित्रण छ पारमाणविक विभीषिकाको र त्यसपछिको सर्वग्रासी खग्रासको जसको त्रासद छायाँ मानिसको चेतनामा पर्न थालेको हो बीसौं शताब्दीको उत्तराद्र्धदेखि । पृथ्वी र प्रकृतिलाई असाध्यै माया गर्ने कवि, त्यो अग्घोर अँध्यारो अनिश्चित क्षणको सम्भाव्यता देखाउँछन् कविताका पंक्तिहरूमा ।

पाश्चात्य अवधारणाले कल्पेको पारमाणविक प्रलयपछिको अवस्थामा मानिस निमिट्यान्न मासिएको हुँदैन । एक-दुईजना कुनै प्रकारले बाँचेकै हुन्छन् जसरी बाइबलमा वर्णित जलप्रलयपछि नोहा र उनको परिवारद्वारा फेरि धरती आवाद हुन्छ । उसरी नै किराँत मुन्धुममा प्रलयमा परमात्माद्वारा बचाइएको लेप्मुहाङ अनि श्रीमद्भागवत महापुराणमा मत्स्यावतार विष्णु भगवान्ले बचाएका राजा सत्यव्रत छन् । साधारणतः यी प्रलयवादी (अपोक्यालिप्टिक) आख्यानहरू मानवकेन्द्रित छन् । तर, गहन पारिस्थितिकीका अटल हिमायती अविनाश श्रेष्ठले देखेका भावी महाप्रलयपछिको अवस्था त्यस्तो छैन ।

त्यहाँ मान्छे त के, ईश्वरकै पनि अस्तित्व रहने छैन !
'न कुनै रंग रहनेछ र न दृष्टि
न कुनै जीवन रहनेछ र न सृष्टि
... ... ...
हाम्रो समयको ईश्वरको पनि
हुनेछ अन्त्य त्यहीँ'

के मात्र रहन्छ त त्यसपछि ? उत्तर पाउँछौं कविताको उही अंशमा-'रहनेछ/मात्र/चिसो/स्थिर/शून्य !/...एउटै मात्र सत्य / अस्तित्वमा रहनेछ--/ सर्वग्रासी र खग्रास/ अन्धकार !' अनि 'करोडौं सूर्य बल्दा पनि/ हुनेछैन त्यसपछि/उज्यालो' ।
धर्मग्रन्थका मीथकमा प्रलयकर्ता ईश्वर छन् जसले आफूले चुनेका व्यक्तिलाई पूर्व सूचना दिई बाँच्ने /बचाउने उपाय बताउँछन् । तर 'करोडौं सूर्यहरूको अन्धकार'को प्रलयकर्ता मानिस स्वयं छ । त्यस प्रलयमा बाँच्ने /बचाउने उपाय दिनसक्ने कोही छैन । कोही छ यदि भने कवि छन् जसले यो पैगम्बरी (प्रोफेटिक) भविष्यवाणी गरिरहेका छन् ।

तर कवितामा यो भविष्यवाणीभन्दा बढी वर्तमान युगलाई सावधानी हो, चेतावनी हो । परमाणु बमको विस्फोटन र विस्फोटनको तुरुन्तै पछि देखिने भयंकर रूप र विभत्स दृश्यको चित्रण प्रभावकारी ढंगमा उतारिएको देख्न पाइन्छः दोस्रो विश्वयुद्धको अन्त्यतिर हिरोशिमा (१९४५)मा पड्काइएको पहिलो परमाणु बमको परिणाम पढेका, चित्र देखेका कविले त्योभन्दा सयगुणा शक्तिशाली अनि हजारौंको संख्यामा थुपारिएका बमहरूको सम्भावित विस्फोटन कल्पेर यस्तो ताण्डव चित्रण गरेको अनुमान पाठकहरूले लाउनेछन् ।

यसबेला स्मरण हुन्छ एक पत्रकारले भावी तेस्रो विश्वयुद्धबारे प्रश्न गर्दा आइन्स्टाइनले दिएको जवाफ- 'तेस्रो विश्वयुद्ध त कुन्नि, तर चौथो विश्वयुद्धमा मानिसहरूले ढुंगा हानाहान गर्नेछन् ।' हाम्रा कवि भने फरक धारणा राख्छन् । भन्छन्, पारमाणविक विध्वंशपश्चात ढुंगा हानाहान गर्ने मान्छे नै कोही रहने छैन । कवितामा कवि निश्चयतः अतिशयोक्ति (हाइपरबोल) अलंकारमा बोलिरहेका छन् ।

१९२५ मा आधुनिकतावादी अंग्रेज कवि टीएस इलियटले संसारको अन्त्य तर त्यस्तो कुनै विस्फोटक ढंगले होइन, बरु झिनो रुन्चे आवाजसित हुने भविष्यवाणी गरेका थिए उनको कविता हलो मेनको अन्तिम चार पंक्तिमा ।

अनि संसार त्यसरी अन्त्य हुनुको पछि इलियटले देखेका मूल कारण थियो मानिसहरूमा आध्यात्मिक आस्थाको अभाव । त्यै अभाव नै उनको निम्ति मानिसहरूको बाह्य रूपभित्रको खोक्रोपन थियो । अविनाश पनि 'करोडौं सूर्यहरूको अन्धकार'को प्रारम्भमै यसो भन्छन्- 'लुप्त हुँदैछ/बाघ जसरी नै- आस्था' । आस्था त्यो आध्यात्मिक तथा नैतिक मूल्यहरूको द्योतक जसको न्यूनता अर्थात् अभावमा बाक्लिँदै बढ्छ दुष्कृतिको अन्धकार ।

आस्थाको घट्दो अवस्था बिम्बित छ यहाँ विलुप्तिँदो बाघमा । वनविनाशसँगै विविध वन्यजन्तुको विलुप्तिँदो अवस्थाले उब्जाएको चिन्ता पनि परिवेश विमर्शमा एक चिन्तनीय अध्ययनको विषय बनेको छ । निकट भविष्यमै मासिने सम्भावनासित द्रुत गतिमा घटिरहेको बाघको संख्याजस्तै भइसक्यो आस्था, ठान्छन् कवि ।

लोपान्मुख अरू धेरै जनावरहरू छन्, तर कविले बिलाउँदो आस्थाको प्रतीकको रूपमा बाघ नै किन रोजेका होलान् ? जिज्ञासु बन्दै हेर्छौं बाघलाईः दृढता अनि साहसको अत्यन्त आकर्षक प्रतीक बाघ । झलल्ल बल्दो आँखा अनि सुनौलो र कालो धर्साहरूभित्र लुकेको भय/रहस्य एकैसाथ उद्रेक गर्ने व्यक्तित्वशाली बाघ ! र यति बेला सम्झना हुन्छ अठारौं शताव्दीका कवि विल्यम ब्लेकको प्रसिद्ध कविता 'द टाइगर'को ।

रातको जंगलमा झलल्ल बलिरहेको बाघको बिम्बमा रोमान्टिक/रहस्यवादी कवि ब्लेकको आध्यात्मिक भाव प्रकट छ उक्त कवितामा । अज्ञानताको रात जंगल फैलेको छ जसभित्र सही बाटो पहिल्याउन कसैले सक्छ भने तेजिलो नेत्रधारी साहसी 'बाघ'ले मात्र । द्रष्टव्य छ यो कविताबारे स्ट्यान्ले गार्डिनरको टिप्पणी । भनेका थिए- 'अवरोधहीन प्राकृतिक ऊर्जाद्वारा बल प्राप्त आध्यात्मिक विद्रोहको एक प्रतीक हो बाघ ।'

नेपाली जनजीवनको मानसिकतामा बाघको विशेष व्यक्तित्ववान उपस्थिति रहेको नेपाली भाषामा प्रयुक्त केही शब्दबाट बुझिन्छः बाघचाल, बाघजुँगे, बाघवीर, बाघपाइले, बाघचुली, बाघमुखे थैली, बाघको जुँगा उखेल्नु इत्यादि । वामन शिवराम आप्टेको 'संस्कृत-हिन्दी कोश' अनुसार व्याघ्रः (बाघ) शब्दले (समासको अन्तमा बसेर) सर्वोत्तम, प्रमुख, मुख्य भन्ने पनि बुझाउँछ, जस्तो 'नरव्याघ्र' ।

पारिवेशिक तथा सांस्कृतिक तहमै यतिका प्रतीक र अर्थ बोक्ने बाघलाई आस्थाको प्रतीक तुल्याइनु उपयुक्तमात्र होइन यो त आफैंमा जीवन्त विम्ब पनि बनेको छ । संग्रहका अन्य पारिस्थितिकीय कवितामा पनि जीवजन्तुहरू पर्याप्त देख्न पाइन्छ । स्वार्थलोलुप सभ्यताले मास्न आँटेको 'चितुवा जस्ता जाँगरिला/फुर्तिला नदी', 'पुतलीहरूका हजारौं हजार बटालियन' 'रूखका साथी चरा' इत्यादि ।

अब फेरि महाप्रलय (अपोक्यालिप्स) सिद्धान्तबारे थप चर्चा । स्टेफन ओलियरीको मतअनुसार महाप्रलयको नाट्याख्यान मानव-मिजासको स्वीकृतिको प्रकारान्तर अनुरूप बन्दछ- 'हास्यद' (कमिक) या त 'त्रासद' (ट्रयाजिक)। त्रासदीले दोषलाई दण्डनीय खराबबाहेक अरू क्यै देख्दैन अनि त्यसको कलंक अर्थात् पापको निमित्त उत्सर्ग गर्नुपर्ने, बलिदान नै हुनुपर्ने अर्थात् त्यसको त्रासद परिणति हुने दिशातर्फ यो अग्रसर हुन्छ । तर कमेडीले दोषलाई खराब नै ठान्नुपर्ने एकतर्फे निर्णयमा अडिग नबसेर त्यसलाई भूल (एरर) मात्र मान्छ अनि त्यो भूललाई अन्तिम परिणतितिर नधकेलेर बरु त्यसका मूर्खतापूर्ण तत्त्वहरू उद्घाटित गर्नपट्टि लाग्छ ।

महाप्रलयको अवधारणा त्रासद सोचको उपज हो जो टुंगिन्छ एक भीषण युगान्तक (इपोकल) घटनासित, जसको कुनै विकल्प हुँदैन । तर, हास्यद समय बहुविकल्पमा फैलिएको ओपन(एन्डेड) तथा बहुप्रकरणयुक्त हुन्छ । ईश्वरको अस्तित्व समेत नरहने करोडौं सूर्यहरूको अन्धकार त्यस्तै एक त्रासद अवधारणाको पराकाष्ठा हो । तर 'हाम्रो समयका ईश्वर' भनेका छन् अविनाशले । महाप्रलयपूर्वको समयका मानिसद्वारा अस्तित्वमा उभ्याइएको ईश्वर ! कविको आशय स्पष्ट छ- ईश्वरको अस्तित्व मानिसकै अस्तित्वमा निर्भर छ ।

अनि अनादि-अनन्त ईश्वरको अवधारणा खारेज भएको छ कवितामा । ईश्वर सोच्ने र कल्पने चेतनशील मान्छे नै नरहेपछि ईश्वरको अस्तित्व रहने कुरै पनि आएन । हुन त आस्थाहीन नास्तिक जीवित रहँदै पनि उसको दृष्टिमा ईश्वरको अस्तित्व छैन ! तर नास्तिकताको अर्थ तबसम्म नै मात्र सम्भव छ जबसम्म त्यसको द्विचरविरोधी (बाइनरी अप्पोजिट) शब्द 'आस्तिकता' छ । अविनाश श्रेष्ठको पैगम्बर कवि, 'करोडौं सूर्यहरू'ले डढाएर छोडेको अन्धकारमा त्यस्ता कुनै द्विचरविरोधी तत्त्वहरू देख्दैनन् ।

बस्, अन्धकारको निरन्तर सत्ता मात्र । अनि अन्धकार पनि हो के त्यो जसको सत्ता चिनाउने एकै छेस्का उज्यालो छैन भने ? सायद सृष्टिपूर्वको अवस्था अर्थात् भौतिकशास्त्रीहरूको भनाइमा बिग व्यांग अघिको अवस्था ।

कविको यो प्रलयाख्यान सुनेर सामान्य स्रोताले सोध्लान्ः करोडौं परमाणु बम एकसाथ पड्के पनि खुप्पै भए यो यौटा ग्रह पृथ्वी नै त ध्वंश होला, ब्रह्माण्ड अर्थात् सृष्टिलाई के हुन्छ र ? अनि कविले सायद यसरी उत्तर दिनेछन् - हाम्रो चेतनामा छ यो सृष्टिको अस्तित्वः मान्छे भनिने चेतनाधारीको अस्तित्वै नरहेपछि सृष्टिको अस्तित्व हुनु/नहुनुको के अर्थ ?

कवितामा यस किसिमको महाशून्यको अथवा पूर्ण अनस्तित्वको आख्यान प्रस्तुत गरेर कविले कलियुगको अन्त्यपछि सत्ययुग सुरु हुने पारम्परिक हिन्दु विश्वासप्रति साथै युटोपियन ख्रिस्टेली मिलेनियम (भावी सुवर्णयुग)प्रति रत्तिभर चासो नरहेको पनि संकेत गरिदिएका छन् । यसो हेर्दा निहिलिस्टजस्तो लागे पनि कवि अविनाश विनाशवादीचाहिँ पटक्कै होइनन् यसलाई कविताका अघिल्ला अंशहरूले पर्याप्त प्रमाणित गर्छन् ।

'उदारता, सदाशयता, मानवता' जस्ता मानवीय सद्गुणहरूप्रतिको तीब्र चाहना निहिलिज्मको सीमारेखादेखि कोसौं टाढा पर्छ । वास्तवमा यो महाप्रलय अनि महाशून्यको काव्यिक अलंकार पृथ्वी तथा प्रकृतिमाथि 'सभ्य' मानिसहरूले गरिरहेको असंवेदनशील अविवेकी कृत्यविरुद्ध कविको मनमा उठेको विराट वैरोध्यको चरम रूप मात्र हो, चेतनामा चिच्याउँदो चेतावनीको चित्र मात्र नै हो ।

०००

संग्रहको अन्त्यमा छ १० वटा छरिता कविताहरूको एक गुच्छा- 'केही कवितामा काठमान्डु'... जसमध्ये 'चोभार' पर्यावरणिक चिन्ताकै एक तिक्खर व्यंग्यात्मक अनि चित्रात्मक प्रस्तुति छ । चोभार काठमान्डुको एक विशेष मिथकीय स्थान जहाँनेर मञ्जु श्री (एक बौद्ध महापुरूष)ले तरवारले जमिन काटेर काठमान्डु खाल्डोमा जमेको पानी बगाइपठाई आवादयोग्य बनाएको लोककथा छ । तर अचेल- 'यो ठाउँ, यो थलो/भित्रभित्रै/कति घिनलाग्दोसँग कुहिसकेको छ ।'

यस कविताले नारीवादी पर्यावालोचक (इकोफेमिनिस्ट)को आँखामा भने कविलाई निःसन्देह पुरुषकेन्द्रित (एन्ड्रोसेन्ट्रिक) देखाउनेछ । नारीवादी परिवेशविमर्श अनुसार पितृसत्तात्मक मानव समाजमा प्रकृतिलाई सधैं नारीको पर्याय मानिन्छ- नारी जसलाई पुरूषहरू अबला, भावुक, भोग्य वस्तु ठान्छन् भने आफूलाई सामथ्र्यवान्, विवेकी, अवस्तु र संस्कृत मान्छन् । माथि उद्धृत कवितांशमा काठमान्डु (धरतीर प्रकृति)लाई सुन्दरी मात्र भनिएको छैन तर जोसित चोभारको रूपमा 'सिफिलिस सल्केको योनी' छ जहाँबाट 'कुहेको दूषित पिप र सडेको रगतको लेदो' बग्छ ।

नारीलाई (प्रकृतिलाई) भोग्य वस्तु ठानी यस्तो दुरवस्थामा पुर्‌याउने पुरुषविरुद्ध उठेका छन् नारीवादी पर्यावालोचकहरू । ती पुरुष जसलाई आफ्नो 'तलबारजस्तो दह्रो लिंग'को दम्भ छ, साहस र वीरत्वको प्रतीक तलबारजस्तो लिंगको दम्भ !

अविनाशले अर्को कविता 'अश्व-राग'मा पनि 'कलमजस्तो कठोर लिंग'-को कुरा गरेका छन् । मानवीय सृजना र बौद्धिकताको प्रतीक कलमलाई यहाँ 'कठोर लिंग'को उपमा उभ्याइएको छ । पुरुषदृष्टिमा यो अस्वाभाविक लाग्दैन तर नारीवादी नजरमा यस किसिमको अभिव्यक्ति अहंपूर्ण पुरुषपूर्वाग्रहकै रूपमा देखिनु पनि अस्वाभाविक होइन । यस किसिमका काव्यिक पंक्ति कवि अविनाशमा अन्तर्निहीत पुलिंगी प्रवृत्तिको प्रकटीकरण पनि हुन् भन्न सकिन्छ ।

गुच्छामा रहेका अरू नौ कविता पनि उत्तिकै आस्वाद्य छन् । तीमध्ये पनि 'गणेशः वसन्तपुर दरबार स्क्वायर'ले पाठकको ध्यान विशेष किसिमले समात्छ । हिन्दु देवालय तथा पूजाथानमा पुजिने गणेश, शिव, पार्वती, कालीहरूको विनिर्मित रूपभन्दा पनि बढी विकृत र स्खलित रूप देख्छौं यो कवितामा । मन्दिरहरूको सहर काठमान्डुमा जताततै देखिइने यी देवीदेवताहरू आआफ्ना मिथकबाट बाहिर निक्ली नेपाली समाजको तल्लो तप्काका यथार्थ पात्रहरूको जीवनचर्यामा सल्बलाइरहेका देखिन्छन् यस कवितामा ।

गणेश अब देवत्वबाट गिरेर गनेस भएको छ जो वेदव्यासको महाभारतका लिपिक होइन, दुईचार रूप्पे पारि श्रमिक थाप्ने फुच्चे खाते भएको छ । कहिलेकाहीँ युरोपेली पर्यटकलाई मन्दिरको टुँडालमा कुँदिएको कामक्रीडातिर संकेत गरेर बक्सिस थाप्छ । 'गनेसको बाउ शिवे/बिहान उठेदेखि नै टन्न जाँड धोक्छ र/गनेसकी आमा पावर्तीलाई लात्तैलात्ताले भकुर्न थाल्छ ।' सुरुदेखि अन्त्यसम्मै व्यंग्य बेजोड बजेको छ कवितामा ।

पुस्तकमा अर्को उल्लेख्य कविता छ, 'पहाड' । दुई-तिहाइ भूखण्ड पहाडले ढाकेको नेपाल देशको राजधानी काठमान्डुले धेरै कुरा केन्द्रीकृत गरेकैले पनि दुर्गम पहाडी इलाकाबाट राजधानीतर्फ मानिसहरूको निरन्तर पलायनले पहाड एक्लो, भोको र रोगाएको बूढो मान्छेजस्तो जर्जर बनेको अवस्था मार्मिक ढंगले चित्रित छ कवितामा ।

पुस्तकमा अन्य विविध विषयमा केन्द्रित सुन्दर कविताहरू छन् जसबारे यस्तै छलफल गर्न सकिन्छ । पुस्तकको प्रारम्भमै छ 'प्रवेश' शीर्षक ओढेको कविता । यो कविता कवि र कविताबारे एक विनम्र समालोचना हो । अनि हो आफ्ना कविताहरूबारे एक भूमिका पनि । अविनाश भन्छन्, 'कवि हुनसक्ने प्रमाणपत्रको हकदार' ऊ मात्र हुनसक्छ 'जसले/गन्धलाई गाउँछ/रूपलाई सुन्दछ .../सुँघ्दछ रंगहरूलाई सुगन्धलाई झैँ'। यी शब्दहरूले देवकोटाको 'पागल'का प्रारम्भिक पंक्तिहरू 'म शब्दलाई देख्दछु !/दृश्यलाई सुन्दछु !/बास्नालाई स्वाद लिँदछु !' पनि सम्झना गराउँछन् । कविताको मध्यतिर अत्यन्त विनम्रतापूर्वक उनी '...कतै शब्दको अभावमा भावझैँ मरिरहेको/एक जना सिकारु कवि हुँ' भन्दै कतिपय कवितामा देखिने तडकभडकप्रति मीठो व्यंग्य गर्छन् ।

विशिष्टीकरण गर्न अर्थात् विशेष ढंगले आकर्षक बनाउन खोजिएका कवितामा देखिने अस्वाभाविकता, अचाहिँदो असहजतालाई औंल्याउनकै निम्ति यस पद्यांशमा विशिष्ट, आभूषण, अद्भुत, भयंकरजस्ता असाधारण बज्ने शब्दहरू प्रयोग गरिएका छन् । विशेषतः 'अद्भुत अलंकार र भयंकर भ्रम' -ले आलोचकीय आँखा ठूलो फारेर हेरिरहेको दृश्य टड्कारो उभ्याउँछ । यति गरेपछि हाम्रा अघिका विनम्र 'सिकारु कवि'भित्र लुकेर बसेको ठूलो आत्मविश्वास हठात् पाठकहरूअघि प्रकट हुन्छ ।
म, एक सामान्य पाठक, आफ्नो पाठकीय अघिल्तिर राख्दै यसो भन्छु, 'करोडौं सूर्यहरूको अन्धकार'ले वास्तवमै नेपाली समकालीन कवितामा निकै ताजा र स्वच्छ काव्यिक अभिव्यक्ति लिएर आएको छ ।

यद्यपि संग्रहका कतिपय कविताहरू कविले आजभन्दा २२/२३ वर्षअघि 'उमेरको उनन्चालीसौं मैनबत्ती बालेर' लेखेका हुन् जुन बेला नेपाली साहित्यमा पर्यावरण विमर्शको सौन्दर्यचेत आजजस्तो टड्कारो भइसकेको थिएन । कविको निजी काव्यशिल्पले कति विम्बहरूलाई वाग्धाराकै ज्यान दिएको छ । पारिस्थितिकी विमर्शलाई आत्मसात् गरी अनि यसै चेतनाले भिजी लेखिएका यति प्रभावी कविताको पुस्तक नेपालीमा सन् २००३ (यस पुस्तकको प्रकाशन वर्ष) अघि अरू कुनै कविको प्रकाशित थियो/थिएन विद्वान्हरूले खोज्नेछन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.