मेरा दृष्टिकोणहरू-किन फेरिए अचेल ?
समय उस्तै रहेन
- तर म उही ।
किन फेरिँदै गए मेरा दृष्टिकोण अचेल कुन्नि ?
अचेल फेरिएका छन्
- मेरा आँखाहरू टक्क अडिने बिन्दुहरू ।
कहिले- तिल चामल केशहरूमा
कहिले- बैंसले कोरेका
असमय उम्रेका धर्साहरूमा ।
तिनीहरू पनि त
इस्त्री गरिएका लुगाजस्तै
फुलेका रोटीझैं त होलान् नि ।
कठै बैंसमा !
कहिले
- समयले चुस्तै लगेका दृष्टिहरूमा
- क्षीण हुँदै गरेका श्रवण शक्तिहरूमा
- लौरोसँग मीत लगाएका पाइलाहरूमा ।
थाहा छ,
मेरा दृष्टिहरूले बिझ्न सक्छ उनीहरूलाई ।
तैपनि मेरा संवेदनाहरू
मुठ्ठी फुकाई फुकाई
बुरुक्क बुरुक्क उफ्रिन्छन् यत्रतत्र
एकअर्काका अशक्त हात समाउँदै
जेब्राक्रसिङ पार गर्न खोजिरहेका
निरीह बृद्धजोडीका कम्पित पाइलाहरूमा ।
सयौं गाडीहरू हुइँकिन्छन् समय आफ्नो बनाउने हतारमा ।
तर, यी अशक्त वर्तमानहरूलाई
तिनका गन्तव्यसम्म पुर्याउने भविष्यहरू
खोइ, कता छन् खोइ ?
म खोतल्न थाल्छु
सायद ती भोलिका हातहरू
परदेशबाट
काठका बाकसमा
कार्गो भई पो आइसकेछन् कि ?
छिः
किन हो अचेल मेरा दृष्टिकोणहरू
-हातेमालो गरी खुब संवेदनशील हुन थालेका छन् ।
-'अनिच्चावत संखारा' को
गूढ अर्थसँग आफैं पनि अब
-लीन हुने अवस्थासँग नजिकिएर हो कि ?