शंकास्पद पाकिस्तानी निष्कासित

शंकास्पद पाकिस्तानी निष्कासित

काठमाडौः सरकारले नेपाललाई ट्रान्जिट बनाई अवैध ढंगले क्यानाडा र अस्ट्रेलिया जान लागेका दुई पाकिस्तानी नागरिकलाई निष्कासन गर्ने निर्णय गरेको छ । सरकारले अवैध क्रियाकलापमा संलग्न भएको सूचनाका आधारमा गत कात्तिकमा ठमेलको एक होटेलबाट पक्राउ गरेका पाकिस्तानी नागरिकहरू मेहदी र इम्तियाजलाई निष्कासन गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को मंसिर ७ गते बसेको बैठकले ती दुई पाकिस्तानीलाई पाँच वर्षसम्म नेपाल प्रवेश गर्न नपाउने गरी निष्कासन गर्ने निर्णय गरेको हो गृह प्रवक्ता बालकृष्ण पन्थीले जानकारी दिए । अध्यागमन कानुन उल्लंघन गरी आपराधिक क्रियाकलापमा संलग्न भएको ठहर गर्दै उनीहरूलाई निष्कासन गर्ने निर्णय गरिएको उनले जानकारी दिए ।

उनीहरूले २० हजार अमेरिकी डलरमा अहमद भन्ने व्यक्तिले ठमेलको एक होटलमा आफूहरूलाई अस्ट्रेलिया र क्यानाडाको राहदानी दिएको बताएका छन् । नेपालबाट अस्ट्रेलिया र क्यानाडा जान सजिलो हुने भन्दै अर्का एक पाकिस्तानी नागरिकले नेपाल ल्याएको बयान उनीहरूले दिएको स्रोतले बताएको छ ।

मन्त्रिपरिषद्को निर्णयसँगै अध्यागमन विभागले उनीहरूलाई निष्कासनका लागि प्रक्रिया अघि बढाएको छ । अध्यागमन विभागका महानिर्देशक केदार न्यौपानेले उनीहरूले पाकिस्तानसम्मको हवाई टिकटको व्यवस्था गरेलगत्तै पठाइने बताए । उनीहरूसँगै पक्राउ परेका अर्का एक बंगलादेशीलाई भने विभागले निष्कासन गरिसकेको छ ।

हिरासतमा रहेका दुई पाकिस्तानी स्वयंले पाकिस्तान जाने हवाई टिकट किन्नुपर्ने भएकाले टिकट किनेलगत्तै अध्यामगनले पठाउनेछ । स्रोतका अनुसार आतंकवादी गतिविधिमा ती दुई पाकिस्तानीको कनेक्सन नदेखिएपछि उनीहरूलाई प्रहरीले अध्यामगन विभागमा बुझाएको थियो ।

प्रहरीका अनुसार उनीहरूले अस्ट्रेलिया र क्यानाडाको नक्कली राहदानी लिएको २० मिनेटभित्रै प्रहरीको विशेष ब्युरोले पक्राउ गरेको थियो । मेहदी अस्ट्रेलिया र इम्तिहाज क्यानडा जाने तयारीमा थिए ।

उनीहरू पाकिस्तानबाट श्रीलंका हुँदै काठमाडौं आएका थिए । काठमाडौं आउने क्रममा भने उनीहरूले पाकिस्तानी राहदानी प्रयोग गरेका थिए । उनीहरू कुन प्रयोजनका लागि नेपाल आएका हुन् भन्नेबारे प्रहरीले समेत गम्भीर अनुसन्धान गरेको देखिँदैन । प्रहरीले उनीहरुको साथमा अस्ट्रेलिया र क्यानाडाको राहदानी र केही थान नेपालको खाली भिसा स्टिकरसमेत भेटेपछि थप अनुसन्धानका लागि अध्यागमन विभागमा बुझाएको हो ।

काठमाडौं जिल्ला अदालतले जाली राहदानी प्रयोग गरेबापत उनीहरूलाई प्रतिव्यक्ति पाँच हजार जरिबाना र एक महिना कैद सुनाएको थियो । अदालतको सजाय काटिसकेपछि सरकारले उनीहरूलाई निष्कासन गर्ने निर्णय गरेको हो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.