‘बाइनाले’मा नेपाली कलाकार
बंगलादेश शिल्पकला एकेडेमीले हरेक दुई वर्षमा गर्ने विश्वस्तरीय कलाकारको प्रदर्शनी ‘बाइनाले’को १७ औं संस्करणमा नेपालका चार कलाकार सहभागी छन् । ५४ देशका कलाकार सहभागी प्रदर्शनीमा रवीन्द्र श्रेष्ठ, जुपिटर प्रधान, कर्मा छेटु गुरुङ र लक्ष्मण श्रेष्ठ छनौटमा परेका छन् । प्रदर्शनीमा बंगलादेशका दुई सय २० र अन्य देशका एक सय ४३ कलाकारका कृति राखिएका छन् ।
डिसेम्बरभर चल्ने प्रदर्शनीमा नेपाली कलाप्रति निकै उत्साहजनक प्रतिक्रिया आइरहेको कलाकार रवीन्द्र श्रेष्ठले बताए । ‘नेपाली कलाबाट प्रभावित भएर अन्य देशका कलाकार र कला पारखीबाट अफर आएको छ,’ उनले भने ।
प्रदर्शनीमा आएको प्रतिक्रियापछि इमान्दारिताका साथ मिहिनेत गरेर काम गर्यो भने नेपाली कलाले विश्वमा आफ्नो छुट्टै पहिचान निर्माण गर्नसक्छ भन्ने अनुभूत भएको कलाकार गुरुङले बताए ।
प्रदर्शनीमा गुरुङको श्रमजीवी वर्गलाई चित्रित गरिएको दृश्य समावेश छ भने रवीन्द्रको मानवीय संवेदना प्रतिविम्वित चित्र छ । जुपिटरले ‘होम अवे होम’ शीर्षकमा प्रतिस्थापन कला प्रस्तुत गरेका छन् भने लक्ष्मण श्रेष्ठले भूकम्पको तरंगलाई अमूर्त चित्रमार्फत प्रस्तुत गरेका छन् ।